घाम ताप्दै, आनन्दले सुन्तलाको स्वाद चाख्दै थिएँ। फोनको घण्टी बज्यो।
झल्याँस्स हुँदै फोन उठाएँ।
'हेल्लो'
'नमस्कार बहिनी। तपाईंको डिग्रीवाली गृहिणी असाध्यै मनपर्यो।'
'धन्यवाद! मलाई चिन्न गाह्रो भयो त, को बोल्नुभएको होला?'
'तपाईं डिग्रीवाली गृहिणी, म चाहिँ डिग्री, गृहिणी र जागिरेको सम्मिश्रण। अँ साँच्चै, तपाईंलाई एउटा सल्लाह दिन फोन गरेको। अब जागिरे महिलाको कथा लेख्नुस्। सत्य लेख्नुस्, हृदयबाट लेख्नुस्, यथार्थ लेख्नुस्।'
'हार्दिक धन्यवाद दिदी। हजुरहरूको प्रेरणा मिलिरहोस्। निजी अनुभव लेख्दा सबैको हृदय छुन्छ दिदी! कसरी लेखौं, म यथार्थमा बसेर, अनुभव नगरेका कुराहरू।'
'समाजशास्त्रको विद्यार्थीलाई समाजको यथार्थ चित्रण गर्न किन निजी अनुभव चाहियो?'
'त्यो त हो दिदी,' म हाँसेँ।
'निकै संवेदनशील पाटो हो बहिनी महिलामाथि हुने विभेद , हत्या, हिंसा, बलात्कार, शारीरिक अनि मानसिक यातना। इतिहास साक्षी छ, हिजोदेखि आजसम्म महिलामाथि भएका विभेद उस्तै छन्। रूप बदलिएको मात्र हो।'
'हो दिदी! सती प्रथा समाप्त भएर पनि कयौं नारीहरू, अन्याय र अपमानको चितामा जलिरहेका छन्।'
'तपाईंलाई फुर्सद छ? तपाईंको कलमले मेरा अनुभव लेख्न मन लाग्यो। एकचोटि भेटौं न।'
'हस् दिदी। फुर्सद नै छ, कहाँ आऊँ?'
'म तपाईंलाई ठेगाना पठाउँछु है त।'
ठेगाना खोज्दै म पुगेँ दिदीनेर। दिदीको नाम माया रहेछ। पुरानो घर पूर्व। हाल बानेश्वर बस्नु हुँदोरहेछ। तीसौं वर्ष बैंकको जागिरे जीवन बिताउनुभएको। निकै आदर्शवादी हुनुहुँदो रहेछ।
दिदीले आफ्नो अनुभव सुनाउन थाल्नुभयो -
'अठार वर्षको उमेरदेखि जागिर खान थालेको। विवाह चाँडै भयो। दुवै जना बैंकका जागिरे। परिवार, पढाइ र जागिरलाई सँगसँगै लैजान निकै कठिन थियो। चुनौतीहरूको महासागरमा पौडेर बाँचेको छु, आज पनि। चुनौती नै चुनौती थिए वरिपरि।
आँखा खोल्न नपाउँदै समयको लठ्ठीले पछाडिबाट कुट्न थाल्थ्यो। घडीको सुइभन्दा चाँडो दगुर्नुपर्थ्यो। सास फेर्ने फुर्सद थिएन। श्रीमानलाई चिया सात बजे ओछ्यानमा पुगेन भने उहाँको प्रेसर बढ्थ्यो।
चिया सँगसँगै पत्रपत्रिका उहाँको खुराक थियो। मलाई पनि पत्रपत्रिकाको सोख नभएको त होइन तर बिहानको समय सम्भव थिएन। हरेक दिन युद्ध जितेझैं हुन्थ्यो। आमाको दायित्व, श्रीमतीको कर्तव्य, कर्मचारीको भूमिका सबै कुशलतापूर्वक निर्वाह गर्दै थिएँ। कविहरूले आफ्ना कवितामा बिहानीको आनन्द र सौन्दर्यको बयान गरेका छन्।
तर मेरा आँखाले कहिल्यै त्यो अनुभव गर्न सकेन। सधैं बिहानीसँग युद्ध नै गरिरहेँ। आरामले बसेर न कुनै पुस्तक पढ्न सकेँ, न कुनै सिनेमा नै हेर्न भ्याएँ। छोराहरूको जिद्दी बेग्लै हुन्थ्यो। समयमा खाना नखाने, टिफिनमा विविधता, होमवर्कको सहयोगी किताब कापी र ड्रेसको सहजता र निश्चितता।
श्रीमानसँग सहयोग माग्दा ठाडै 'तेरो जागिर छोड्दे, घर सम्हाल्न नसक्ने भए। आखिर जागिरले के लछारपाटो लगाएकी छस् र? बिहान-बेलुकाको रोइलो मात्र, छोडी हाल्। खान दिएकै छु। तँलाई र तेरा छोराहरूलाई पालेकै छु' भन्नुभयो।
मेरो मनमा भुइँचालो जान्थ्यो।
'पालेकै छु', यो कस्तो शब्द हो? के हामी भेडाबाख्रा हौं? चिच्याएर सोध्न मन लाग्थ्यो विश्वविद्यालयका प्राध्यापकहरूलाई। 'पाल्ने' शब्दको अर्थ सिकाइदेऊ तिम्रा असल विद्यार्थीहरूलाई। भित्र-भित्र विद्रोही हुन थालें। उहाँ हाकिम हुनुहुन्थ्यो, म चौथो तहमा उहाँको नजरमा मेरो हैसियत केही थिएन।
मेरो काम गर्ने साहसलाई कयौंचोटि निमोठ्न खोजिन्थ्यो। तर म चट्टानझैं बन्दै गएँ। बरू गुनासो गर्न बन्द गरिदिएँ। म शक्तिशाली छु भन्ने मन्त्र जप्न थालेँ।
समयको सदुपयोग गर्दै गएँ।
म पनि हाकिम हुन्छु भनेर भित्र अठोट गरेँ।
रिसलाई शक्तिमा रूपान्तरण गर्दै गएँ।
अपमान त सहन सक्छु भने जीवनमा जे पनि गर्न सक्छु भन्ने आँट पलाउँदै गयो।
म आमा थिएँ। आमा कहिल्यै थाक्नु हुँदैन। आफूले आफैंलाई तालिम दिँदै गएँ। समय पाउन साथ अध्ययनमा चुर्लुम्म डुब्थेँ। लुगा र भाँडा धुने ठाउँका भित्तामा नियमावली, संविधानका धाराले पानीको धारालाई चुनौती दिन थाल्यो। ड्रेसिङ टेबलका सिसामा लोक सेवाका पुस्तकहरूले लाली पाउडर लगाएर मलाई आकर्षित पार्न थाले।
छोराहरूलाई स्कुल पठाउँथेँ। आफ्नो र श्रीमानको लुगा आइरन गरेर चिट्टिक पार्थेँ। खानासँगै बसेर खान्थ्यौं। मिठो र नमिठोको किस्सा कहिल्यै सकिएन।
सधैं सुन्ने गर्थेँ, 'खाना बनाउने कला नै छैन हातमा, खाना बनाउँदा कसलाई सम्झेर बसेको हो, कुन्नि? कस्तो खाना हो यो? एक मुठी खाना पनि मिठो र आनन्दले खान पाइँदैन, कसैको नभाको जागिर।'
बिस्तारै मैले सुन्न छाडिसकेकी थिएँ। भान्साको उचित व्यवस्थापन गरिसकेपछि छोराहरू भरे आउँदा के खान्छन, ठिक्क पारेर जान्थेँ। अफिस जाने बेला फेरि एकचोटि नराम्रोसँग चिमोटिन्थेँ।
सोच्दै नसोची प्याच्च बोल्ने बानी थियो। बोलीले लागेको घाउ वर्षौंसम्म निको नहुँदो रहेछ।
'निकै, साजसज्जा छ त! को छ हँ अफिसमा? कसलाई देखाउन हो यो श्रृंगार?'
मानसिक यातनाले म निस्सासिन्थेँ। मुटु फुत्तै बाहिर आउलाझैं हुन्थ्यो। तर आँखामा आँसु होइन बरफ जमाउन थालिसकेकी थिएँ। छुद्र कुराहरूमा बहस गरेर समय बर्बाद गर्न मन लाग्दैन थियो। 'आर्ट अफ लिभिङ' को सेसनमा आफूलाई सशक्त बनाउँदै थिएँ।
हाँसेर भन्थेँ- के घर बस्दा लगाउने म्याक्सी नै लगाएर जाऊँ त? कपालै नकोरी, मुखै नधोई, के भन्लान्! लोग्नेले भुतालेछ कि क्या हो भन्दैनन्, हजुरकै इज्जत जाला त।'
निकै संवेदनशील कुरा थियो। संस्कारलाई परिवर्तन गर्न निकै गाह्रो हुँदो रहेछ।
कोशिस नगरेको होइन, थाकेँ।
आफूलाई परिवर्तन गर्न थालेँ, अरूलाई सकिनँ। भित्रभित्र आँधी आउँथ्यो। जति-जति मलाई बिथोल्ने प्रयास हुन्थ्यो, झन्-झन् ऊर्जा जागृत हुँदै गयो।
उद्देश्य स्पष्ट हुँदै गयो। म पनि ज्याद्रो हुँदै गएँ। मस्तिष्कमा तर्कहरू मडारिन्थे, कसका लागि सफा हुन्छ, मान्छे? सफा र चिटिक्क परेर मान्छे अरूलाई देखाउन हिँड्छ र? संवेदनामा कति प्रहार गर्छौ? मेरो आफ्नो इज्जत छैन? जस्तोसुकै अवस्थामा पनि सफा र सुन्दर भएर बस्ने बानी थियो। तर बारम्बार स्पष्टीकरण दिनुपर्थ्यो। अपराधीले झैं। मानसिकतामा निकै चोट पुग्थ्यो।
नारी हिँड्दा, हाँस्दा, बोल्दा, आफ्नो ल्याकतले जागिर खाँदा पनि चरित्रको हत्या किन गरिन्छ? कति गाह्रो छ महिलाहरूलाई रोजगारी र गृहिणीको भूमिकामा स्वस्थ, शान्त र शितल बनाउन।
अपवादलाई छोडेर भन्नुपर्दा महिला सहकर्मीलाई हेर्ने संस्कार निकै संकुचित छ। संस्कार, शिक्षा र वातावरणका कारण बाटो बिराएका नारी र पुरूषहरू यत्रतत्र छन्। सबैलाई एउटै टोकरीमा हालेर मूल्यांकन गर्नु, बौद्धिकताको दुरूपयोग हुन्छ। फुर्सदको समयमा अन्तरंगी कुरा झिकेर महिला सहकर्मीलाई गफको विषय बनाएर रमाउने पुरूष सहकर्मीहरूको पनि कमी थिएन।
आफूलाई विवादमा नपार्न प्रयासरत हुन्थेँ। खुलेर हाँस्न, बोल्न सक्दिनँ थिएँ। कसका अगाडि हाँस्नु, कसको अगाडि रूनु। जब संवेदनशील पाटोलाई बिथोल्न थालिन्छ आशा मर्दै जाँदो रहेछ। भरोसा टुट्न लाग्दो रहेछ।'
दिदीले लामो सुस्केरा तान्नुभयो।
'खाजा खाऊँ दिदी, निकै समय भएछ, के खाने?'
'चिसो छ, भेज म:म खाँदै गरौं, हुँदैन?'
'स्कुलदेखि अदालतसम्म। घरदेखि वनसम्म। सभादेखि सदनसम्म। कार्यालयदेखि कामयावीसम्म। अस्पतालदेखि आर्यघाटसम्म। किन महिलाहरूलाई गिद्दे नजरले हेरिन्छ?'
म निकै भावुक भएछु।
'बहिनी अफिसको वातावरणदेखि सार्वजनिक यातायातभित्रको दुर्दशा। भिडभाडमा हुने अनैतिकता। घरघरमा हुने महिला हिंसा देखेर र भोगेर, मलाई मार्क्सवादी महिलावाद मनपर्न थालिसकेको थियो। फेरि आफूलाई सम्झाउँथेँ। मेरा पनि त छोराहरू छन्। दाजुभाइ छन्, पिता छन्। कति पुरूषहरू आदर्शवादी हुनुका साथसाथै समाजमा उदाहरणका पात्र बनेका छन्।
महिला सशक्तीकरणका पक्षमा आवाज उठाएका छन्। कयौं नारी आफ्ना श्रीमानको सहयोगले उच्च पदमा पुगेका छन्। आफू पछाडि परेर पनि श्रीमतीलाई अगाडि बढाएका छन्। श्रीमतीको बेग्लै पहिचान बनाउन आफैं दत्तचित्त भएर लागेका छन्। यसलाई नजरअन्दाज गर्न सक्दैनौं।'
दिदीको मुहारमा विश्वास ओतप्रोत थियो।
दिदी भन्दै हुनुहुन्थ्यो- म माया मात्र होइन नि योगमाया पनि हुँ। बेजोडको साहस जागेर आउँथ्यो। अधिकृत बन्नै पर्छ। घर पुग्दानपुग्दै झमक्क साँझ पर्थ्यो। गेटदेखि जुठा भाँडा र लुगा उठाउँदै भित्र पस्थेँ। पस्न नपाउँदै छोराहरू चिच्याउन थाल्थे- जहिले पनि चाउचाउ मात्र कति खानु। चाउचाउ र बिस्कुट गनाइसक्यो छि, नखाने।'
भुतुक्क भएर आएको शरीरमा कताबाट हो ऊर्जा आउँथ्यो। छोराहरूको मेनु पूरा गरिदिन्थेँ। खुसी भएर गालामा च्वाम्म म्वाइँ खान्थे- मामु भोलि पनि मिठो खाने ल।
'हुन्छ' भन्दै म फेरि रातिको खाना बनाउन तर्खर गर्थेँ।
मेरो मनोविज्ञान कसैले बुझ्दैन थियो। मैले सबैको बुझ्नुपर्थ्यो। भोक, थकाइ, रिसले असर गरे पनि म हाँसीहाँसी प्रस्तुत हुनुपर्थ्यो।
कहिलेकाहीँ आफ्नो व्यथा भन्न खोज्यो भने उल्टो सुनिन्थ्यो, 'जहिले पनि तेरो यही गनगन कति सुन्नु!'
आफन्त नभएको बस्तीझैं लाग्थ्यो आफ्नै घर। न घरायसी कामको मूल्य थियो न जागिरे जीवनबाट सम्मान नै थियो। न शरीर बलियो। पैसा ल्याएको दिन मेरो पैसा सबैभन्दा अगाडि सकिन्थ्यो। माग्नुपर्दा फेरि दुई-चार वटा बचन सुन्नुपर्थ्यो।
शरीरको वास्ता नगरी घुँडा धसेर तयारी गर्न थाले भाग्य गतिलै रहेछ। म अधिकृत भएँ। भित्रैबाट बल आयो। संसारै फाँडेर खान सक्छुझैं भयो। घर र कार्यालय दुवैतिर जिम्मेवारी बढ्दै गयो। सहयोग गर्ने कोही थिएनन्।
कोही केही नगर्ने म नै जोतिनु पर्ने, जतिसुकै बेला। यसो गर न भनेर धेरैचोटि भन्यो भने सुनिन्थ्यो, 'खपिसक्नु भाछैन, के अधिकृत भई, भुइँमा खुट्टै छैन।'
मैले बोल्दा, हिँड्दा, हाँस्दा जे गर्दा पनि अरूको नजरमा म घमण्डी हुँदै गएँ। नाइँ, हुँदैन र सक्दिनँ त भन्नै नहुने। हाँसेर बोल्दा भुइँ न भाँडामा भएकी भन्थे। गम्भीर हुँदा भाउ खाएकी भन्थे। के घर, के बाहिर सबैको मानसिकता अचम्मको थियो। अरूको नजरमा म घमण्डी भएँ अधिकृत भएर।
आर्थिकरूपले म सशक्त हुदै थिएँ तर मानसिक र शारीरिक रूपले कमजोर हुँदै गएँ। महिनावारी रोकिने बेला पनि हुँदै थियो। कसले बुझ्ने त्यो बेलाको मानसिक अवस्था। मानसिक रूपमा विछिप्त हुँदै गएँ।
आफैंलाई डर लाग्न थालेको थियो। पागल हुन लागेकी त होइन? किन मेरो हिम्मत डगमगाउँदै छ? किन म हतास निराश हुँदैछु? किन छट्पटी हुँदैछ?
एकदिन साथीलाई सुनाएँ। अनि पो थाहा भयो 'मेनोपोज' को बारेमा। महिलाहरूको शारीरिक समस्या रहेछ।
डा. नुतन शर्मालाई भेटेँ। बिस्तारै समस्याको समाधान हुँदै गयो। पछि पो थाहा पाएँ म अलि चिड्चिड् भएको त थिएँ तर अधिकृत भएर होइन रहेछ। आफैं हाँसेँ।
कुमारजीले अगत्स्य मुनिलाई स्वस्थानीको कथा सुनाएझैं दिदीका मुखबाट नेपाली समाजको तीतो यथार्थ सुन्दै थिएँ।
'बिस्तारै म रोगी हुँदै गएँ। श्रीमान घर बाहिर रमाउन थाल्नुभयो। राति टेलिभिजन हेर्दा होस् वा तरकारी छान्दा मेरो इच्छाको कदर हुँदैन थियो। रिमोट मेरो हातमा कहिल्यै भएन। आफूलाई मनपर्ने कार्यक्रम कहिल्यै हेर्न पाइनँ। बहिनी उपन्यास लेखे पनि सकिँदैन मेरा कथा र व्यथा।
अवकासपछि साथीहरूसँग मिलेर एउटा समूह खोलेका छौं। जहाँ नारीलाई आर्थिक रूपले सशक्त बनाउने कोशस गर्दैछौं। सकारात्मक कामलाई महत्व दिँदा असम्भव केही रहेनछ। साथीहरूसँग मिलेर एउटा सहकारी पनि खोलेका छौं। बैंकबाट आर्जेको ज्ञान प्रयोग गर्दैछु।
सहकारी निकै राम्रो हुँदैछ। जबसम्म महिलाहरू आर्थिक रूपले सशक्त हुँदैनन्, तबसम्म दासी नै बन्ने छन्। तपाईंलाई पनि भन्छु बहिनी! आजैबाट आफ्नो लागि कमाउन थाल्नुस्। हामी सहयोग गर्छौं। सहकारीबाट ऋण लिनुस्। सानो भए पनि लगानी गर्नुस्। योजना बनाउनुस्। आफ्नो कारोबार थाल्नुस्।'
'हस् दिदी, आजलाई बिदा माग्छु। म भोलि हजुरहरूको संस्थामा आउँछु। म पनि सदस्य हुन्छु' भनेर घर आएँ। सबै काम सकेर ओछ्यानमा गएँ। निद्रा पटक्कै लागेन।
विचारहरूको दौड हेर्न थालेँ- नारीलाई देवी, दुर्गा, कालीको उपमा दिनुको अर्थ केलाउँदै थिएँ।
दु:ख, अप्ठ्यारो अनि असहज परिस्थितिमा पनि सकारात्मक सोच र कामले मान्छेलाई कहाँबाट कहाँ पुर्याउने रहेछ। दिदीले हतास, निराश भएर, रोएर जीवन बिताएको भए आज यो स्थान कहाँ सम्भव थियो? कयौं वर्ष दिदीले मानसिक पीडा सहनुभयो। तर हिम्मत हार्नु भएन। नारीको त्याग, तपस्या र लगनशीलताले आमूल परिवर्तन हुने रहेछ।
साँच्चै नारीहरूले सिंगो समाजलाई नै परिवर्तन गर्न सक्ने तागत राख्ने रहेछन्। चुनौती र अप्ठ्यारो कहाँ छैन र?
दिदीले भनेको एउटा कुरा याद आयो- 'जीवन चुनौती नै चुनौतीको महासागर हो। शिक्षा भनेको पौडने कला हो, अर्थ भनेको हात हो। समुद्रको पानी सुकेपछि आनन्दले तरौंला भन्नु मूर्खता हो।
समस्या र चुनौती कहिल्यै सकिँदैन। बुद्धिमतापूर्वक जीवन बाँच्नुपर्छ। भौतिक शिक्षाले मात्र जीवन निरश हुन्छ। दिगो शान्ति र आनन्द प्राप्त गर्नु छ भने आध्यात्मिक शिक्षाको शरणमा जानैपर्छ। एउटा बलेको मैनबत्तीले लाखौं निभेको मैनबत्तीलाई बाल्ल सक्ने तागत राख्दो रहेछ।
मैले पनि निरास अनि हतास नहुने कसम खाएँ सोच्दासोच्दै कतिबेला हो कुन्नि भुसुक्क निदाएछु।
भोलिपल्ट नयाँ योजना लिएर हतार-हतार दिदीको संस्थातिर लागेँ।