निमको डाँठले दात माझ्ने पुरानो चलनले दाँत र छालालाई मजबुत र स्वस्थ्य बनाउन सहयोग गर्छ।
पछिल्लो समय निमको तेलबाट साबुन, मञ्जनलगायत विभिन्न प्रकारका छाला रोगका औषधिको बनाएर बिक्री वितरण गरिन्छ।
हामी हाम्रो गाउँ घरमै सहजै उपलब्ध हुने निमको प्रयोग गर्न नजानेर हामीले महंगोमा प्रशोधित औषधि किनेर प्रयोग गर्ने गरेका छौं।
यदि हामीले परम्परागत ज्ञानलाई सही प्रयोग गर्ने हो भने त महंगोमा सोही निमबाट बनेको औषधि किन्नुपर्दैन।
अझै पनि भारतका कतिपय स्थानमा परम्परागत रूपमा दादुराका बिरामीलाई निमको पातबाट बनाइएको ओछ्यानमा सुताएर उपचार गर्ने गरिन्छ।
निमको प्रयोगले रोगसँग लड्ने शक्ति बढाउँछ भन्ने थाहा पाएपछि पछिल्लो समय कोरोना महामारीको बेला यसको प्रयोग बढ्यो।
विभिन्न वैज्ञानिक अनुसन्धानलेसमेत निमको प्रयोगबाट औलो रोगको निदान हुनुका साथै किटनाशक शक्ति, संक्रमणबाट रोक्ने शक्ति, शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउने शक्तिको बारेमा स्पष्ट पारिसकेका छन्। तर अझै पनि नेपालका ग्रामिण भेगमा प्रसस्त पाइने निमको महत्वबारे हामीले बुझ्न सकेका छैनौं।
३४ वर्षको मेरो अनुभवले भन्छ-आधुनिक औषधिको प्रयोगको साथै घरेलु औषधिको प्रयोगले पनि कतिपय समस्याको समाधान हुन्छ।
गाउँ र शहरका स्वास्थ्यकर्मी, विशेष गरी महिला स्वास्थ्य स्वयम्सेविका र आफ्ना छिमेकी साथीभाइबाट अनुभव गरेको हुँ।
मैले भारतीय वैज्ञानिक डा.बन्दना शिवाबाटसमेत यसबारे थप ज्ञान सिकेकी हुँ। मैले प्रयोग गर्ने र प्रयोग गर्न सिकाउने एउटा महत्वपूर्ण वनस्पतिनै निम हो।
निमका बारे धेरै अध्ययन भएका छन्। ती अध्ययन र अनुसन्धानले यो एक अचुक औषधि भएको प्रमाणित गरिसकेको छ। नेपालसहित भारत, श्रीलंका, वर्मा, थाइल्यान्ड, इन्डोनेसिया, अफ्रिका, अष्ट्रेलिया, दक्षिण तथा मध्य अमेरिकादेखि साउदी अरेबियामासमेत निम पाइन्छ ।
निमको पात र विउमा विशेष किसिमका किटनाशक पदार्थ पाईन्छन् त्यसैले यसलाई किटनाशकको रूपमा हजारौं वर्षदेखि प्रयोगमा ल्याइँदै आएको छ। अपशोच, यो ज्ञान अहिले हराउँदै गएको छ।
महिला स्वास्थ्यको लागि आधुनिक औषधिको सुरूवातअघि परम्परागत औषधीले ठूलो भूमिका निभाएका थिए। परम्परागत ज्ञान, वनस्पति आदिका प्रयोगले विभिन्न ठाउँमा स्वास्थ्य सम्वन्धी र विशेषगरी महिलाका सम्पूर्ण स्वास्थ्य र प्रजनन स्वास्थ्य प्रवर्द्धनमा परम्परागत औषधिले ठूलो भूमिका निभाएको छ।
तराईको घर, घर बाटोमा हुने निमको रूख औषधिको भण्डार हो, सौन्दर्य र स्वास्थ्य कायम राख्न एउटा वरदान हो।
चामलमा निमको पात मिसाएर राखे लामो समयसम्म घुनलगायतका किराहरूबाट सुरक्षित रहन्छ।
हुन त हामी घरघरमै हुने यस निमको वास्ता गर्दैनौं।
निमको तेलबाट विभिन्न औषधि बन्छन्। निमको बारेमा एउटा भनाई छ, ‘जहाँ निमको रूख हुन्छ, त्यहाँ बिरामी भागिहाल्छ।’ वास्तवमा यदि निमको प्रयोग गर्न जान्ने हो भने मानव शरीरमा आइपर्ने अधिकांश समस्याबाट मुक्ति मिल्छ। त्यसैले अहिले निमको क्याप्सुल बनाएर बेचिन्छ।
महिलाको प्रजनन् अंगको समस्या, जस्तो महिनावारी हुँदा गुप्ताङ्ग चिलाउने समस्या, सेतो पानी बग्ने आदि समस्यालाई पनि गाउँ घरका महिलाले निमको प्रयोगबाट समाधान हुन्छ।
निमको पात पानीमा उमालेर मन तातो भएपछि बाटा वा चौडा मुख भएको भाँडोमा राखेर त्यस पानीमा बसेपछि गुप्ताङ्ग चिलाउने समस्याबाट केही आराम मिल्छ।
धेरै पसिना निस्किएपछि कापामा चिलाएर घाउ हुँदा वा फोहोर पानीमा खेलेपछि बालबालिकाको जिउमा खटिरा आँउदा पनि निमको पात पिसेर लगाएपछि बिस्तारै सन्चो हुन्छ।
आज भन्दा १० वर्षअघि जब स्वास्थ्य विज्ञ भएर म दक्षिण सुडान गएकी थिएँ। त्यहाँको राजधानी जुबामा पनि निमका ठूला ठूला रूख थिए। ‘निम त अहिले जताततै छ। तर यसको औषधिको प्रयोग कसैले गर्दैन। गाउँमा बुढाबुढीले औलोबाट बच्न र छालाको रोग भएको बेला प्रयोग गर्छन्। तर नयाँ पुस्ताका मानिसलाई त यसको बारेमा थाहा छैन,’ एकजना सुडानी नर्सले मसँग भनेकी थिइन्, ‘तर म त महिलालाई यसको प्रयोग कसरी गर्न सकिन्छ भनेर सिकाउँछु।’
उनको कुरा सुनेपछि मैले उनकै सल्लाह अनुसार सुडानमा बस्दा बिहान ३–४ वटा निमको पत्ती चपाउन थालेँ। अति नै तितो पातले पहिले त साह्रै वाक्क गरायो। तर पछि बानी पर्दै गयो र निमको प्रभावले हो कि के हो त्यहाँ बसुन्जेल मलाई कुनै शारीरिक समस्याले सताएन। मलाई सामान्य रूघाखोकी र ज्वरो पनि आएन अर्थात निमले मेरो स्वास्थको रक्षा गर्यो। अहिले त निमको पातको पानी खाएर मेरो दैनिकी शुरू हुन्छ।
निममा रहेको एउटा ठूलो गुण किटाणु मार्ने शक्ति हो। त्यसैले लुतोको रोग र छालाका कतिपय समस्यालाई समाधान गर्न निमको पात उमालेर त्यो पानीले बच्चालाई नुहाउने गरिन्छ।
निमको पात पानीमा उमालेर कपालमा जुम्रा मार्न उत्तर प्रदेशको एक गाउँकी मेरी हजुर आमाले प्रयोग गरेको मलाई अझै याद छ। निमको पातलाई उनको तातो लुगाको बीचमा राखेर किरा लाग्नबाट बचाएको आजै जस्तो लाग्छ।
निमको पात, रुखको छाल, काठ आदि सबै प्रत्येक कुनै न कुनै काममा प्रयोग हुन्छ।
अझै पनि कतिपय गाउँघरका किसानले पशुलाई लागेको घाउ ठिक पार्न निमको प्रयोग गर्ने गर्छन्।
अलिकति तितो भए पनि निमलाई औषधिको रूपमा प्रयोग गरे यसको तितोपनाले सम्पूर्ण स्वास्थको रक्षा हुन्छ र दाँत, छाला, कपाल आदि स्वस्थ रहन्छ।
गाउँघरमा पहिले पहिले निमलाई किटनाशक र औलोबाट बचाउने औषधिको रूपमा प्रयोग गरिन्थ्यो। डिडीटीको प्रयोगपछि यसलाई प्रयोग गर्न छोडियो।
मैले आधुनिक औषधिको ज्ञान पाएपछि पनि कसरी परापूर्व कालदेखि हाम्रा पूर्खाले विभिन्न खाले स्वास्थ्य समस्याको समाधान गर्दा रहेछन् भनेर सोध खोज गरेँ। विधिन्न आलेखहरू पढेँ। अनि थाहा भयो। गाउँघरमा वनस्पतिको प्रयोग गर्ने राम्रा चलन अझै पनि हराएका छैनन्।
चौधरी थरकी एक महिला स्वास्थ्य स्वयसेविकाले तराईमा मलाई तितेपातीको प्रयोगले के कस्ता समस्याको समाधान हुन्छ भनेर सुनाएकी थिइन्। उनको कुरा सुनेर पहिले विश्वास लागेको थिएन। तर पछि गाउँघरमा जाँदा अरू पनि केही स्वास्थ्य स्वयंसेविका र त्यहाँका महिलाले तितेपाती प्रयोगबाट महिलाको प्रजनन अंगमा समस्या हुँदा निको पारेको अनुभव बाँडेका थिए।
मर्किएको ठाउँमा तितेपातीको बाफ लगाएर आराम गरेपछि ठिक भएकोसमेत केहीले बताए।
त्यसपछि मैले तितेपातीका बारेमा थप अध्ययन अनुसन्धान गर्न थालेँ। अध्ययनबाट थाहा भयो- तितेपाती त संक्रमण रोक्न र घाउ खटिरा निको पार्ने अचुक औषधि रहेछ।
सुरूमा ती चौधरी दिदीले ‘यो औषधी हो’ भन्दा मैले नाक खुम्च्याएको थिएँ । तर मलाई पछि मात्र थाहा भयो तितेपातीको त चिकित्सा महत्व बोकेको वनस्पतिमध्ये एक रहेछ।
अहिले तितेपाती प्रयोग म पनि गर्छु। गाउँ घरमा जाँदा धेरै महिला स्वास्थ्य कार्यकर्ता र महिला स्वास्थ्य स्वयंसेविकालाई पनि निम जस्तै यसको महत्वबारे बुझाउन थालेकी छु।
म तितेपातीको रसलाई विभिन्न देशमा र गाउँघरतिर जाँदा सँगै लैजान्छु। छाला चलाए, घाउ भएमा यसको प्रयोग गर्छु। काठमाडौंदेखि रसुवा, अछामका विभिन्न ठाउँमा मैले तितोपातीको रसको बारेमा स्वास्थकर्मीलाईसमेत भनेकी छु।
तितोपातीको गुणको बारेमा भन्दा केही वास्ता नगर्नेलाई म जब तितोपातीको तेल लिटरको ‘रू.१५००० मा बिक्री हुन्छ’ भन्छु, अनि सबै जना चासो राख्न थाल्छन्।
तितोपातेबाट निकालेको तेल र अन्य तत्व अकुप्रेसर र चाइनिज औषधिको विधिमा प्रयोग हुने भएकाले यो नेपालबाट जापान पठाइन्छ।
गाउँघर र वरिपरि हुने तितेपातीको वास्तविक रूपमा प्रयोग अझ पनि हामीले गर्न सकेका छैनौं। ‘नजिकको तिर्थ हेला’ भनेझैँ वरिपरि भएका वस्तुको मूल्य हामीलाई छैन।
काठमाडौंकी सामाजिक कार्यकर्ता उमा लोहनी सधैं गाउँघरतिर महिला स्वास्थ्यका बारेमा जागरूकता फैलाउँदै हिँड्ने गर्छिन्।
उनले तितेपातीको बारेमा भन्छिन्, ‘तराईकी ४० वर्षीया गंगा श्रेष्ठ नाम गरेकी एउटी महिलालाई योनीबाट सेतो पानी बग्ने, चिलाउने जस्ता समस्या थिए। अनेक आधुनिक औषधिले ठिक नभएर उनले हजुरआमाको सिकाइ अनुसार तितेपाती उमालेको पानीले धोइन् त्यसपछि उनका सबै समस्या हटेर गए।
त्यसपछि गंगाले यसको महत्व बारेमा आफू जस्तै समस्या भएका २ महिलालाई सिकाइन्।
घुँडा दुख्ने समस्या भएकी मेरो साथी अपर्णा भट्ट पेशाले नर्स हुन्। उनले भनेकी थिइन्, ‘म तितेपाती उमालेर त्यसको बाफले घुँडामा सेक्छु। कहिले तितेपाती उमालेपछि सुतीको कपडा त्यो पानीमा भिजाएर घुँडामा राख्छु। राती सुत्दा तातो कपडाले घुँडामा हलुका तरिकाले बाँधेर सुत्छु र यसले मलाई धेरै फाइदा गरेको छ,’ उनले खुसी हुँदै आफ्नो अनुभव साटिन्। उनको अनुभव मैले पनि प्रयोग गरेकी छु।
तितेपातीलाई सुकाएर पोलेर त्यसको धुवाँले लामखुट्टे नआउने भएकाले कतिपय ठाउँमा यसको प्रयोग गरिन्छ। तितेपातीको रस निकालेर घाउमा लाउनाले पनि फाइदा हुन्छ।