डेरावालको पीडा पढ्दा पढ्दै, मैले पनि माइती बिर्स्याउने घरबेटीहरूलाई झलक्क सम्झन पुगें।
१७ / १८ वर्षको उमेरमा माइतीको घर, आँगन ,खेत,खल्यान सबै- सबै छोडेर -भर्खर भर्खर, म डेरावाल भएकी थिएँ।
सानो कोठा नै, मेरो घर संसार भएको थियो। नौलो समाज र समुदाय मेरो लागि चुनौती थियो।
मनमा अनगिन्ती कुरा खेल्थे। डर र त्रास पनि उत्तिकै थियो। व्यवहारिकता पटक्कै थिएन।
भाडावाल र घरबेटी बीचको सम्बन्ध कस्तो हुनुपर्छ, केही थाहा थिएन। कोरा कागज झैं थिएँ।
नकर्मी सरले खोजिदिनु भएको,बनेपाको त्यो भाडाको घर। डेरावाल बन्न हामी पोकोपन्तेरो बोकेर काठमाडौंबाट लाग्यौं बनेपातिर।
श्रीमानको कर्म क्षेत्र काठमाडौं विश्वविद्यालय, चैतन्य बहुमुखी क्याम्पस,मेरो अध्ययन थलो।
साँझ पर्नपर्न लाग्दा डेरावाल भएर माया दिदीको घरमा पोको खोल्न हामी पुग्यौं।
जीवनभरको लागि सम्झनयोग्य डेरा भैदियो, हाम्रो डेराको बसाइ।
सानो परिवार। ठूलो हृदय। विराट सोच। सहयोगी हात उहाँहरूको विशेषता थियो।
हाम्रो भाग्य भनौं वा उहाँहरूको सु-संस्कार , हाम्रा दिनहरू आनन्दले नै बित्दै गए।
घरबेटी आमाले लगाएको गुण कति कति। उल्लेख गर्न योग्य केही घटना व्यक्त गर्न चाहन्छु।
चामल किनेर कहिल्यै नखाएकी म चामल किन्न, छान्न जानिनछु, सँगै जानु भएको साथीले भन्नु भयो ‘तरकारी मिठो भएपछि , चामलजस्तो भए पनि हुन्छ’ सस्तै चामल लैजाऊ’ भन्नुभयो।
म अनभिज्ञ, किनेर ल्याएँ। बिहान पाँच बजे बनाएको खाना ११ बजे खानुपर्ने बाध्यता,अहिले जस्तो तातो भाँडाको अभाव। ६ -११ बजेसम्म क्याम्पस जानुपर्ने। ११ बजे भात खाँदा, भात चपाउनै नसकिने। निल्नै गाह्रो- कान्छी छोरी भएर ,आफ्नै खेतको भात खाएकी म, सधैंजसो भात फाल्न थालें, घरबेटी आमाले मेरो चालामाल देखिरहनु भएको रहेछ।
‘खाना किन फालेको,नानी ?’
‘निल्नै सकिनँ आमा’
‘खोइ ! कस्तो छ चामल’
एक मुठी चामल ल्याएर देखाएँ।
आमा हाँस्नु भयो - यो त रक्सी बनाउने चामल हो!
म पनि हाँसे , तातोमा चाहिँ खान सकिने नै हुने रहेछ क्यारे श्रीमानले गुनासो गर्नुभएन।
मायाले हो वा डेरावालको पीडा बुझेर हो, घरबेटी आमाले सकी-नसकी लुगा धुने बाटाभरि आफ्नै खेतको लोकल चामल लिएर मेरो कोठामा आउनु भयो - अर्को महिनादेखि चामल किन्न मलाई लिएर जानू, अहिले यही खानू।
घरबेटी आमाको व्यवहारमा मैले आमाको छवि देखें ।
पीडा पोख्नु अगाडि नै मेरो हृदय छाम्ने ममतामयी आमाको सानिध्यता प्राप्त भयो। म कति भाग्यमानी।
कलेज गएको बेलामा पानी आउँथ्यो, आमाले नै भरिदिनु हुन्थ्यो। सुकाएका लुगा पानी परे उठाई दिने, माथि मीठो पाक्दा कचौरामा ल्याइदिने, बिरामी पर्दा हेरचाह गर्ने। घरबेटी आमाबाट मेरा लागि उहाँमात्र आमा हुनुभयो सदाका लागि।
माया दिदी आमाको कान्छी छोरी। हाम्रो लागि जेठी दिदीभन्दा कम हुनुहुन्नथ्यो। सादा जीवन उच्च विचारकी धनी। हाम्रो कोठामा टेलिभिजन थिएन- आठ बज्नै लाग्दा समाचार सुन्न र हेर्न बोलाउन आउनु हुन्थ्यो - नजाँदा नराम्रो मान्नु हुन्थ्यो हामी सहर्ष जान्थ्यौं।
एक परिवारजस्तै हुँदै गयौं। चाडपर्व, जात्रामा माथि नै हाम्रो लागि भान्सा तयार हुन्थ्यो।
मानौं हामी त्यो घरका नै सदस्य हौं। कुनै दिन पनि मैले भाडामा बसेको महसुस गर्नु परेन।
मैले पनि व्यवहार सिक्दै गएँ। व्यवहार गर्दै गएँ। परिपक्वताले मलाई पनि गाँज्दै गयो।
समाज, संस्कृति र सम्बन्धहरूको अध्ययन गर्दै गएँ।
श्रीमान ज्वरोले निकै गल्नुभयो। फार्मेसीबाट औषधि ल्याएँ। ज्वरो घट्ने मेसै गर्दैन। धुलिखेल अस्पताल लग्यौं। टाइफाइड भएको रहेछ। औषधिमा निकै खर्च भयो।
कोठामा आयौं पोसिलो खाना र आरामले तङ्गरिने देखियो। घरबेटी आमाको निर्देशनमा सेवा गर्दै गएँ। महिना पनि मर्यो।घर भाडा दिनुपर्ने।
दिदी ‘यो महिनाको घर भाडा’
‘ओहो! अनिता जी, यो महिना म भाडा लिन्नँ, सर त्यत्रो बिरामी पर्नु भयो।फलफूल खुवाउनू यो पैसाले’ भन्दै मलाई नै भाडा फिर्ता दिनु भयो,जिद्दी गर्दा पनि लिनु भएन। दिदीको उदारताले म नतमस्तक भएँ। दिदीलाई भित्रैदेखि सलुट गर्दै, प्रेरणाको स्रोत मानें।
अनि त्यही बेला मैले पनि भित्रभित्रै संकल्प गरें, कुनै दिन म पनि घरबेटी भएँ भने, भाडामा बस्ने भाडावालाहरूलाई मानवीय व्यवहार गर्नेछु ,सहयोग गर्नेछु।
आमाको सुसंस्कारले नै होला त्यो घरका सबै सदस्य संस्कारी र सहयोगी थिए। मन र मस्तिष्कमा अमिट छाप भएर त्यो डेरा बसाइ जीवन्त बनिदियो।
दोस्रो घरबेटी पनि फेरि उस्तै फेला परे। हाम्रो भाग्य निकै बलियो रहेछ। घरबेटी दिदी शिक्षित गृहिणी, घरबेटी दाइ सोल्टी होटलको क्यासिएर भाडा नलगाउने सोचले बस्नुभएको, खोइ कस्तो संजोग हो हामीलाई सहर्ष आफूहरूले प्रयोग गरिएको माथिल्लो तलाको दुइटा कोठा दिनुभयो।
आफ्नो भान्सा तल्लो तलामा सारेर। हाम्रो पहिलो सन्तान जन्मिएको त्यो सुन्दर घर,सुत्केरी हुँदा घरबेटी दिदीले गरेको सहयोग अवर्णनीय छ। सायद यहाँ व्यक्त गर्दा दन्ते कथाझैं लाग्छ , तर यथार्थ हो। बिएड तेस्रो वर्षको वार्षिक परीक्षा थियो, हरेक दिन दिउँसोको खाजा र चिया दिदीले नै जिम्मा लिनुभएको थियो।
दिदीका दुई छोरी स्कुलबाट आउँदा मलाई पनि कोठामै आउँथ्यो, मानौं म घरबेटी दिदीको तेस्रो छोरी हुँ। मलाई अठ्यारोलाग्थ्यो।
‘अनिता! तिम्रो जाँच नसकिउन्जेल खाजा चिया मै बनाउँछु , तिमी पढ, जाँच आइसक्यो, तिमी एक्लै छौ, मैले खाजा बनाउनु नै पर्छ , जीउ पनि यस्तो छ।’
परीक्षा सकियो मेरो र दिदीको मेहनत खेर गएन,नतिजा राम्रो आयो। म आमा बनें, नवजात शिशुको लालनपालन गर्ने शिक्षा घरबेटी दिदीले दिनुभयो।
बच्चाको स्याहार सुसारको राम्रो तालिम प्राप्त भयो। आमा जसरी दिदी सानी नानीप्रति निकै सचेत हुनुहुन्थ्यो। राति सुतेको बेला किचेर मार्ने पो हो कि , आमा नै बच्चा छ , सुत्दा चुकुल नलगाऊनू, भन्नूहुन्थ्यो।
हाम्रा सुत्ने कोठा सँगसँगै थिए, राति छोरी रूँदा दिदी नै पहिला बिउँझनु हुन्थ्यो दगुर्दै आएर छोरी काखमा लिनुहुन्थ्यो। जीवनको निकै अप्ठ्यारो समयमा उहाँ मेरो सहारा हुनुभयो। मेरो गुरू हुनुभयो। मेरो आमा भएर घरबेटी दिदीले जीवनभरको गुण लगाउनुभयो।
छोरी बिस्तारै हुर्कंदै गई। विश्वविद्यालयमै आवासको व्यवस्था मिल्यो, त्यो प्यारो डेराको घरलाई छोडेर हामी आवासीय भवनमा गयौं।
करिब ९ वर्ष धुलिखेल र बनेपाको आवासीय घरमा बस्दा ती डेराका घरहरू मेरो लागि माइती घर बने। चाडपर्व, जात्रा, दसैं , तिहार हामीलाई निम्तो आउँथ्यो। मैले माइती नै बिर्सिएको थिएँ।
दुबै डेराको घरबाट मैले नेवारी संस्कृति सिकें ,नेवारी खाना बनाउन जानें, सुकुल भोजको रमाइलो अनुभव गरें , योमरी पकाउन सिकेँ ,आज पनि हरेक धान्यपूर्णिमाको दिन मेरो घरमा योमरी पाक्छ, म्हपूजाका दिन त्यहाँ बिताएका क्षण ताजा हुन्छ र त्यो संस्कृतिलाई सदैव हृदयमा राखेर नमन गर्छु, अनि म पनि मेरो आत्माको पूजा र ध्यान गर्छु।
पुनः काठमाडौं फर्कियौं, घर निर्माण गर्ने शिलशिलामा। अन्तिम पटक फेरि भाडावाली हुन पुगें। घडेरीसँगै जोडिएको डेरा, झ्यालबाट हेर्दा पनि निर्माण क्षेत्र देखिने, निकै सजिलो हुने देखेर एउटै कोठा भए पनि हामी दङ्ग पर्यौं। इन्जिनियरको घर रहेछ , सुनमा सुगन्ध भयो ।
फेरि हामीलाई दिशानिर्देश गर्ने अभिभावक पायौं। करिब नौ महिनामा निर्माण सम्पन्न भयो। महर्जन दाइ समाजसेवी पनि हुनुहुँदो रहेछ, घरको नक्सा कोरिदिनु भयो। फोटोकपी पनि गरेर ल्याइदिनु भयो। हामीले सल्लाह गरेर चलनचल्तीको पारिश्रमिक महर्जन दाइलाई दिन लाग्यौं। दाइले पारिश्रमिक लिन मान्नु भएन।
‘हामी छिमेकी भयौं। मैले जानेको काम हो यो, म छिमेकीबाट कुनै चार्ज लिन्नँ, सानो सहयोगमात्र हो यो’।
फेरि म नतमस्तक भएँ।
वास्तवमा जात,धर्म ,समाज ,समुदाय ,सम्प्रदाय अनि संस्कृतिको मेरूदण्ड नै सेवा, सहयोग, प्रेम अनि सद्भाव हो। जात भनेको केवल मानवमात्र हो जस्तो लाग्छ मलाई।
मानवमा हुनुपर्ने वास्तविक गुण पनि त यिनै हुन्। समृद्ध समाज निर्माणको विशेषतालाई पनि यी गुणले टेवा पुर्याउने देखिन्छ।
‘चरित्र विज्ञान’ मा स्वामी विशुद्ध देवले निकै राम्रो लाइन प्रस्तुत गर्नु भएको छ।
‘मस्तिष्कमा समझदारी -हृदयमा इमानदारी र्काँधमा जिम्मेवारी’।
यी तीन गुणलाई जीवनको आधार बनाउने हो भने, नौलो समाजशास्त्रको उदय हुने थियो।
पुँजीवादी हावी हुँदै जाँदा, समाजवाद ओझेलमा परेको हो कि ? विश्वब्राह्मणलाई बुझ्न सायद निकै सजिलो छ तर हामीले हामीलाई बुझ्न नसक्दा हामी रूमलिएका छौं। भौंतारिएका छौं। मानवताविरोधी गतिविधि हामीमा ज्यादा मैलाउँदै गएको महसुस हुनेगर्छ।
आजको मानव भौतिक शिक्षा र ज्ञानले भरिपूर्ण छ। प्रविधि हात हातमा छ। संसारलाई नाप्न एक औंला काफी छ तर यान्त्रिक हुँदै गइरहेको छ। संवेदना हराउँदै छ। मानवीय गुण लोपोन्मुख पन्छी झैं लोप हुँदैछन्। सायद ,उत्तरआधुनिकवादका अनुयायी हुँदै गएर होला!
खाँचो छ पूर्वी संस्कृत र सभ्यताको जगेर्ना गर्न। उपयोगमा ल्याउन। अनि मात्र व्यक्ति, परिवार र समाजलाई परिवर्तन गर्न सकिनेछ।
सायद मेरा ती घरबेटीमा मानवता मरेको थिएन, पूर्वीय संस्कृत र सभ्यता भुलेका थिएनन्।