लामो समयको अन्तरालपछि एकदिन बालसखीले अचानक म्यासेन्जरबाट कल गरेर मेरो दैनिकीबारे चासो राखिन्।
'ए साँच्चै! कति पढिस् हँ?'
'स्नातकोत्तर, समाजशास्त्रमा।'
'के काम गर्छेस्?
'घर-व्यवहार सम्हालेको छु।'
खित्का छोडेर हाँसेको आवाज मेरो कानमा आयो।
'केही काम गर्दिनस्? उसो भए किन पढेको त त्यत्रो! किन चाहियो त्यो जाबो डिग्री घरधन्दा गर्नलाई मात्र? छ्या! एसएलसी र एमएमा के फरक भयो त? कम्तीमा खरदार त हुनू। त्यो नभए बोर्डिङ स्कुल भए पनि त पढाउनू। के फाल्तुमा घर बसेकी? सड्नी नै भइस्।'
उसका विचार सतप्रतिशत गलत पनि त थिएनन्।
आफूलाई नियाल्छु, कता-कता मन भारी हुन्छ। कोसिस नगरेको त होइन नि। सरकारी जागिरे हुन कम्ता दौडधुप गरिनँ। स्टाफ कलेजको तयारी कक्षामा पनि आफूलाई उपस्थित गराएँ। लोक सेवाको कार्यालयमा फारम भर्ने लाइनमा पनि कतिचोटि बसेँ।
मेरो क्षमता, अवस्था र परिस्थितिले साथ नदिएर होला वा म लगनशील नभएर हो, मैले गोडा कमाएँ। कमजोरी मेरै थियो। दोषी म आफैं हुँ।
समाजशास्त्रको डिग्री हातमा थियो। अवसरको रूपमा प्रोजेक्टको जागिर पनि हाजिर थियो। जिल्ला जिल्ला कुद्नु पर्ने, घर लथालिंग हुने डरले मैले अवसरको ढोका आफ्नै हातले बन्द गरेँ। छोरीहरूको लालनपालन र जिम्मेवारीले जित्यो, रोजगारी हार्यो।
पुनः सरकारी जागिरे हुने अभिलाषाका साथ विद्यालय निरीक्षकको तयारीमा लागेँ। साथमा घर निर्माणको चटारो, दुइटी छोरी अनि सासू-ससुराको जिम्मेवारी काँधमा थियो। तयारी प्रतिको बफादारिता कमजोर भयो। हारेँ, नालायक भएँ। नाम कतै निक्लेन। अब पूर्ण रूपले गृहिणी भएँ। अरु पहिचानको चिहान मैले नै खनेको थिएँ। तर म बेकम्मा कुनै हालतमा थिइनँ।
शिक्षाप्रेमी जीवनसाथीको साथ। हौसला र प्रेरणाले अध्ययनशील भई नै रहेँ। दुवैको सल्लाह र समझदारीमा एक जनाले सम्पूर्ण घरको व्यवस्थापन गर्ने र अर्कोले व्यवस्थापनका लागि अर्थ संकलन गर्ने निधो भयो।
गृहस्थी राम्रैसँग अगाडि बढ्दै गयो। दुवैको जिम्मेवारीको चटारो उत्तिकै थियो। व्यस्त हामी दुवै नै थियौं- एउटा देखिने, एउटा नदेखिने।
घरबाहिर जाने मान्छेलाई कुनै अप्ठ्यारो नपरोस्, तनावरहित भएर आफ्नो जिम्मेवारी सकुशल बहन गर्न सजिलो होस् भन्दै मैले घरको सबै जिम्मेवारी आफ्नो टाउकोमा लिएँ। छोरीहरूको पढाइ, होमवर्क, रिजल्ट, स्कुल भर्ना, स्कुलको समस्या अनि समाधान।
छोरीहरू, सासू-ससुरा सबैको औषधि-उपचार। अस्पताल जाने-आउने। नियमित रूपमा औषधि सेवन गराउने। मानौं, म कुनै नर्स हुँ।
पाहुनाहरूको स्वागत, पारिवारिक कार्यक्रमहरूमा उपस्थिति। सामाजिक, सांस्कृतिक र पारिवारिक जिम्मेवारीको उचित व्यवस्थापन। चाडपर्व, रीतिरिवाजको मानसम्मान आदि मेरो पोल्टामा थियो। मानौं मेरो डिपार्टमेन्ट थियो।
मेरो कामको कुनै मोल चाहिँ थिएन परिवार र समाजको नजरमा? मेरो जिम्मेवारीको कुनै गणना थिएन? डिग्रीलाई जहिले पनि पैसा र पदसँग मात्र नापेर हेरिन्छ। विद्याआर्जन केवल जागिर खानका लागि मात्र हो त? पैसा कमाउन या कुनै ठूलो पदमा बस्नलाई मात्र हो त? आफैंलाई प्रश्न गर्न विवश हुन्थेँ र हुन्छु। आफैं भित्र-भित्र रूमलिन्छु समाजलाई बुझाउन नसक्दा।
म एक संस्थामा आवद्ध पनि छु। एकदिन म त्यहाँ एउटा कार्यक्रम सञ्चालन गर्दै थिएँ। कार्यक्रमलाई स्तरीय बनाउन थोरै मेहनत पनि गरेकी थिएँ। सन्दर्भ मिलाएर कविता वाचन पनि गरेँ। समय र सन्दर्भको तालमेल मिलेछ क्यारे! सबै स्रोताहरू मख्ख हुँदै तालीको गड्गडाहट गुन्जियो। कार्यक्रम सफल भयो।
कार्यक्रममा मलाई सुन्ने एक जना शुभचिन्तकले अरूको सामुन्नेमा मेरो प्रशंसा गर्नुभयो। एक जना जागिरे साथीले फ्याट्ट बोलिहाल्नुभयो, 'एमए गरेर जागिर खान नपाएको पीडा र उकुसमुकुस यस्ता सानातिना काममा भए पनि उपयोग भएछ।'
मुहारमा कुटिल हाँसो थियो। फेरि डिग्री गलपासो भइदियो अरूका लागि। डिग्री र रोजगारी किन यति भारी भएको हो? शिक्षाले त मान्छेलाई नरम र हलुको बनाउँछ भन्ने बुझेकी थिएँ।
'फलेको वृक्ष नझुकेको कहाँ छ र' लेखनाथलाई नमन गरेँ। अनि उसलाई सही आफूलाई गलत हुन दिएँ।
प्रफुल्ल, आनन्दित हुँदै, आफू र आफैं नै गल्ती, कमी-कमजोरीलाई सच्याउने विद्यालमा भर्ना भएकी थिएँ। विश्वविद्यालय पूरा गरेर पनि। जसले जे भने पनि पचाउने अभ्यास गर्दै थिएँ।
विवेकको ढोकालाई फराकिलो बनाउन उद्धत हुँदै थिएँ। आफैंमा रमाएर खुसीसाथ छोरीहरूको सेवामा आफूलाई होमिदिएँ। आफ्ना आवश्यकताको प्राथमिकीकण गरेँ। उनीहरूको आवश्यकतालाई प्राथमिकता दिएँ। स्वतन्त्रता र स्वच्छन्दतालाई जिम्मेवारीको ताला लगाइदिएँ। थकाइ र गुनासोलाई लाटो बनाइदिएँ। रहर र इच्छाहरूलाई पर सारिदिएँ। मेरो प्राथमिकतामा मैले मेरालाई भर्ति गरिदिएँ, अनवरत रूपमा। गुनासो नगर्ने अठोट लिएँ, आफ्नो अधिकार कहिल्यै खोजिनँ। अरूको खुसीमा म रमाउँदै गएँ।
मानवीय स्वभावको शिकार म पनि हुन्थेँ। दुःख, पीडा, अभाव, थकाइ सबैको अनुभव हुन्थ्यो। म बुद्ध भइसकेको छैन, कोसिस गर्दैछु। तर पनि यो मन विचलित हुँदा, पीडा पोख्न खोज्दा, फेरि मेरो डिग्री तगारो हुन्थ्यो।
'डिग्री गरेको मान्छे, कस्तो सानो कुरा गरेकी!'
'तँलाई सुहाउँदैन गुनासो गर्न। तँ त बुझ्ने मान्छे, तैंले बुझ्न नै पर्छ,' परिवारमा केही समस्या आइलाग्दा फेरि मेरो डिग्री मेरो श्रीपेच हुन्थ्यो। अरूको गल्तीहरूमा मैले सहकार्य गर्नु पर्थ्यो।
'तँ त पढेकी मान्छे, अरुले नबुझे पनि तैंले त कुरा बुझ्नु पर्छ नि! के अनपढ्झैं गरेकी! आफ्नो डिग्रीको मान त राख् जागिर खान नसके पनि।'
मलाई खुलेर हाँस्दा पनि डिग्री भारी हुन्थ्यो। खुलेर रून खोज्दा पनि डिग्री भारी हुन्थ्यो। त्यसैले म जब्बर भएँ।
एकदिन बिहान ४ बजे नै उठेर खाना तयार पारेँ। अफिस जानेलाई सहज बनाएँ, छोरीहरूको माग पूरा गरेँ अनि सबैलाई आ-आफ्नो गन्तव्यतिर पठाएर घरका जेष्ठ नागरिकहरूलाई नियमित उपचारका लागि अस्पताल जानु थियो। निकैबेर लाइनमा बसेर टिकट काट्दै डाक्टरको प्रतीक्षा गरिरहेका थियौं।
एक जना ससुराकै उमेरको बुवाले सोध्नुभयो, 'छोरी कि बुहारी?'
'बुहारी, कान्छी।'
प्रसंगबिना नै ससुराले भन्नुभयो, 'एमए गरेकी छन्। काम केही छैन, घरै बस्छिन्। एमएसम्म छोराले पढायो, के गर्नु? जागिर छैन।'
म आफ्नो जिम्मेवारीलाई हेरेर आफैसँग हाँसेँ।
घडीमा तीन बजिसकेको थियो। घरमा ताल्चा लगाएको छ। थाकेर, भोकाएर छोरीहरू स्कुलबाट आउने बेला भइसकेको छ। मन भुट्भुटियो।
हतार-हतार औषधि किनेर दुइटा हातले दुईतिर बुढाबुढीलाई समाउँदै गाडीभित्र छिराएँ र घर आएँ। धन्न! नानीहरू आइपुगेका रहेनछन्।
'चिया खाऊँ न, थकाई लागेर भुतुक्क भैएछ?' ससुरा बा बोल्दै हुनुहुन्थ्यो, 'भोक पनि लाग्यो।'
हतार-हतार हातमुख धोएर भान्सातिर पसेँ। उपलब्ध जे छ तयार पारेर सबैको भोक र थकाइ मेटाइदिएँ। आफू पनि आराम गरेँ। नानीहरूलाई खाजा खान दिँदै दिनभरि उनीहरूको स्कुलमा भएका घटनाहरूलाई चाख दिएर एक-एक गरेर सुनेँ। होमवर्क गर्न सघाउँदै पुनः रातिको खाना बनाउने तयारीमा जुटेँ।
ढोकाको घण्टी बज्छ। यसो तल हेरेको, दुई/तीन जना गाउँतिरबाट आएका रहेछन्। बिहान ४ बजेको उठाइ, दिनभरि अस्पतालको बसाइ। मेरो मुखको कान्ति क्षिण भइसकेको थियो। तर पाहुनाका अगाडि थकाइ देखाउन मिलेन। मानौं म कुनै कलाकार हुँ।
एकैछिनमा म निकै फूर्तिलो भएर प्रस्तुत भएँ। नत्र बुहारी पाउनाहरूलाई देखेर अँध्यारो मुख लगाई भन्ने आरोप लाग्ला भन्ने डर।
मुसुक्क हाँस्दै स्वागत गरेँ। चियापानीको व्यवस्था मिलाएर आफ्नो काममा लागेँ। जागिरेलाई घर आउँदा ७ बज्यो। सबैको पेट पूजा गराएर आरामले सुत्ने व्यवस्था पनि मिलाएँ। भान्साको कामधन्दा सकेर एकछिन यसो मनको शान्ति र आनन्दको लागि हार्मोनियममा भजन गाउँदै थिएँ। उताबाट बोलेको आवाज सुनेँ।
'के गर्नु एमए पास छन् त नि, काम छैन। अनि यो ट्याँ-ट्याँ बजायो बस्यो। कमाएर ल्याइदिने छँदै छ, मोज छ। केही गर्नु पर्दैन। विचरा राति नै उठेर कमाउन जान्छ, दिनभरि गोरुझैं एक्लै जोतिन्छ। बिहे गर्दा त आइए मात्र पास हो नि! बिहेपछि पढाएको एमएसम्म। खर्च मात्र भयो, काम लागेन। सुक्को पैसा कमाएको छैन। माइतीबाट पनि दाइजो ल्याछैन, अभागी रहेछ। एक्लै धानेको छ यो भवसागर।'
मलाई आफ्नो कर्तव्य देखेर खित्का छोडेर हाँस्न मन लाग्यो।
रोजगारी नितान्त आवश्यक पक्ष हो आर्थिक पाटोलाई मजबुत पार्न। आर्थिक पक्ष जबसम्म बलियो हुँदैन तबसम्म गुणस्तरीय जीवन कोरा कल्पना मात्र हो। आर्थिक पक्ष सबल पार्न आयआर्जनका विविध आयामहरु छन्। पैसा कमाउन र रोजगारी पाउनका लागि मात्र शिक्षा आर्जन गर्ने होइन। मानवको सर्वाङ्गीण विकासका लागि शिक्षा महत्त्वपूर्ण हुन्छ।
शिक्षा रोजगारीको लागि मात्र हो त? शिक्षा प्राप्त नगरेका व्यत्ति के बेरोजगार छन् त?
यो प्रश्नलाई पनि मन्थन गर्न जरुरी छ। शिक्षाले ज्ञानको ढोका खोलिदिन्छ। शिक्षा जन्मेदेखि चितामा नजाउनजेल सम्मको यात्रा हो। जे-जति कुराहरू देखिन्छ, भोगिन्छ, अनुभव गरिन्छ, ती सबै शिक्षा हो। शिक्षाले मानवलाई सही र गलत छुट्याउन मद्दत गर्छ। सरस्वतीको बहानको प्रतीकले पनि यही सन्देश दिन्छ। दूधको दूध, पानीको पानी छुट्याउन सक्ने कलाले परिपूर्ण हुनु नै शिक्षित हुनु हो। के शिक्षाको यो मूलमन्त्र लागू भएको छ त हामीमा?
यो गहन प्रश्न हो। शिक्षाले बृहत क्षेत्रलाई ओगटेको छ।
अब प्रश्न उठ्छ 'के सबै डिग्रीधारी शिक्षित छन् त?'
वास्तविक अर्थमा शिक्षा के हो? खोजी हुन जरुरी छ। हरेक मानवले त्यो विराट ज्ञानको खोजी गर्नुपर्छ। अक्षर नै नचिनेका व्यक्ति मूर्ख छन् त? हाम्रा पिता-पुर्खा के अज्ञानी थिए?
कदापी होइन। असीमित ज्ञानका भण्डार थिए हाम्रा पुर्खाहरू। शिक्षा, संस्कार, वातावरण र वंशाणुगत गुणले मानव विकासलाई प्रभाव पारेको हुन्छ। मान्छेले जस्तो कुरा र कामको अभ्यास गर्यो, ऊ त्यही कुरा र काममा माहिर हुन्छ। सकारात्मक कामको अभ्यास गरे सकारात्मकता जागृत हुन्छ, नकारात्मक कामको अभ्यास गरे नकारात्मकता उजागर हुन्छ।
हामीले कुन पक्षलाई बढी जोड दिने त्यो हाम्रो हातमा छ। समझदारी, इमान्दारी र जिम्मेवारी, यी तीन गुणलाई आत्मसात गर्ने हो भने हरेक मान्छे मानव भएर बाँच्न सक्छ। वास्तविक ज्ञानले आफूलाई चिन्ने अवसर प्रदान गर्छ। आफ्नो कमीकमजोरी केलाएर आफूलाई सच्याउन शिक्षाले मद्दत गर्छ। ज्ञान कुनै विद्यालय वा विश्वविद्यालयमा मात्र सीमित हुँदैन। आफैंभित्रको खोज, अनुसन्धानमा जोड दिनुपर्छ। आफैंले आफ्ना विचार, व्यवहार र बुद्धिलाई नियाल्नु पर्छ। विवेकको बृहत पाटो खोल्नु पर्छ।
शिक्षाले व्यतिलाई गतिशील बनाउँछ। शरीरले साथ दिउन्जेल क्रियाशील हुनुपर्छ। काममा समर्पित हुनुपर्छ। काम सानो वा ठूलो हुँदैन। काम पूजा हो। हरेक क्षेत्रमा हरेक व्यत्तिको उत्तिकै महत्त्व हुनुपर्छ। हरेक पद र पेसा सम्मानित हुनुपर्छ। हरेक तह र तप्कामा आसीन पदाधिकारीहरू उत्तिकै आदरणीय र सम्माननीय हुनुपर्छ।
विडम्बना! हामी पद सोपानमा रुमलिएका छौं। कामभन्दा पदलाई मान गर्छौं। हाम्रो परिवेश यस्तै छ। हामी यसैमा हुर्कियौं, यही सिक्यौं अब परिवर्तनको खाँचो छ।
अरु त के कुरा! आफ्नै घरको काम गर्छु भन्दा लाज हुन्छ हामीलाई। घरबाहिर जानेलाई त भ्याइ-नभ्याइ हुन्छ घरको काम। सहयोगी राखे राम्रो एउटाले रोजगारी पाउने अर्कोलाई सहज हुने। तर घरमै बसेर पेटमा बोसो बढाउन हामी राजी छौं। रोगी हुन तयार छौं। हात चलाउन लाज लाग्छ। घरधन्दा गर्न मन लाग्दैन। बरु दिनभर टिकटक र सामाजिक संजालमा समय बिताउन पाउँदा मख्ख छौं। पुरातनवादी सोच अझ हाबी छ। समयको व्यवस्थापन छैन। के यही हो शिक्षा?
विचारमा परिवर्तनको खाँचो छ। पैसा कमाउन र जागिर खान मात्र शिक्षा चाहिँदैन। शिक्षाको सही अर्थ खोज्न कुन ठाउँमा जाने? त्यस्तो कुन क्षेत्र छ जहाँ शिक्षितहरू मात्र छन्? हामीलाई खोज्न मुस्किल पर्छ।
भर्खरै एउटा बौद्धिक जमातबीच हात हालाहाल भयो। 'केलाई भन्दा देख्नेलाई लाज!' जहाँ बोलेर युद्ध गरिन्छ, बोलेरै युद्ध लडिन्छ, बोलेरै युद्ध जितिन्छ, बोलेरै युद्ध हराइन्छ। त्यस्तो जमातमा पनि किन विवेक गुम्छ? के शिक्षाको उपलब्धि यही हो?
वास्तविक रूपमा के हो शिक्षा? शिक्षित व्यक्तिहरूले खोज्न आवश्यक छ।
आफैंमा मस्त, व्यस्त र स्वस्थ भएर दैनिकी बिताइरहेकी म अचानक एकदिन पुरानो अर्थशास्त्रको प्रोफेसरसँग जम्का भेट भयो।
मेरो हालखबर सोधपुछ गरेपछि सोध्नुभयो, 'कति पढिस्?'
'समाजशास्त्रमा एमए गरेँ।'
'के गर्छेस्?'
मैले आँखा तल नझारी प्रोफेसरको आँखामा हेरेर भनेँ, 'म सतप्रतिश गृहिणी हुँ।'
प्रोफेसरको मुखाकृति बिग्रेको स्पष्ट देखिन्थ्यो।
'तँ केही काम गर्दैनस्?'
म चित खाएँ। मेरा हात-खुट्टा सद्दे थिए। जीउडाल हेर्दा पनि भर्खर आर्मीमा भर्ना भएर आएजस्ता। मुहारमा कान्ति छर्लङ्ग थियो। मस्तिष्क सक्रिय नै थिए। कस्तो गलत प्रश्न तेर्स्याएको ममाथि।
प्रोफेसरको मान राखेँ, 'जागिर खाएको छैन सर। घरको व्यवस्थापनमै व्यस्त छु।'
'ए, उसो भए तँ पनि घरेलु!'
फेरि कुटिल हाँसो देखियो। मानौं मैले गृहिणी भएर ठूलै गल्ती गर्दैछु।
कक्षामा अर्थशास्त्रको वास्तविक अर्थ अर्थ्याएको याद आयो, मुख फर्काउन मलाई नैतिक शिक्षाले दिएन।
भन्न त मन थियो- सर मेरो रोजगारी छैन। एक महिना काम गरेर तलब आउँदैन तर म २४ घन्टामा १६ घन्टा काम नै गरेको हुन्छु। न शनिबार, न दसैं, न तिहार न बिदा। अझ अरूको बिदामा मेरो थप काम हुन्छ। न तलब, न भत्ता, न मान, न सम्मान, न इज्जत।
केबल काम, मात्र काम।
पहिचान नखुलेको काम!