आइतबार बिहान करिब ८ बजेको थियो। भान्सामा आमाको आवाज सँगसँगै भाँडाका आवाज पनि जुवारी खेलिरहेका थिए।
'सधैं हतार हुने, कस्तो काम हो त्यस्तो? न त एकदिन छुट्टी भएर आरामले घर बसेको दिन छ, उल्टो सर/म्यामले गाली गरे भन्दै मैसँग रिस देखाउँछे!' आमा एकोहोरो कराउँदै हुनुहुन्थ्यो।
अचानक दिदी सधैँ झैँ, 'आमा, हतार भयो के पाक्यो?' भन्दै भान्सा छिरेपछि त फेरि आमाको स्वर ठूलो हुन थालिहाल्यो। दिदी फेरि आज पनि आमाको कुरा नसुनी अफिसको मिटिङ र हाकिम साबको डरले टेबलको खानेकुरा छोडेर दौडिहाल्नु भयो।
छेउमै आमा र दिदी नियालिरहेकी मेरो मनमा केबल एउटै प्रश्न आयो, हाकिमको डरले आफ्नो खाना पनि छोड्नुपर्ने?
घरमा त सधैं यस्तै नै हो, बाबा हाकिम साबको डरले फुल्न आँटिसकेका दारीसम्म नकाटी दौडिनुहुन्छ। दाइको त के कुरा र, हाकिम साबको काम मरिमेटेर गरिदिएर खुसी पार्न पाए प्रमोसन होला कि भनेर घरको बाटो नै बिर्सिएजस्तो लाग्छ। अनि! काम गर्न थालेपछि हाकिमकै मात्र इसारामा चल्नुपर्ने होर?
केही महिना अगाडिको कुरा, डकुमेन्ट बनाउने चक्करमा म धेरै अफिस धाएको थिएँ। सायद उहाँ अफिसको हाकिम साब नै हुनुहुन्थ्यो। एकोहोरो भाषण सुनाए झैँ आफ्नो स्टाफलाई काम दिँदै हुनुहुँदो रहेछ- मेल गर, फोन गर, फाइल एरेन्ज गर आदि/इत्यादि। एकैछिन त निशब्द भएँ अनि मनमनै सोचेँ, अझै दास प्रथा हटेको रैनछ। काम गर्ने र गराउने बहानामा आज पनि कोही दासी बन्दै रहेछन् त कोही दास बनाउँदै! नत्र त उसलाई सास पनि फेर भन्न हाकिम साबको मुखबाट वाक्य फुर्नु पर्ने हो! हुन त सायद कसैको अन्डरमा काम गरेपछि यस्तो गराइन्छ र भोगिन्छ पनि...।
हिजो छुट्टीको दिन, धेरैपछि स्कुलको बेस्ट-फ्रेन्ड भेटेको थिएँ। विचरा ऊ पनि हाकिम साबकै कुरा गर्दै थिई।
'गर्दा गर्दै काम बिग्रिन्छ, नजानेर पनि हैन, तर पनि बोसले कुरै नबुझी अफिसबाट निकाल्ने धम्की दिनुहुन्छ। यार! हाम्रो पनि त प्रब्लम हुन्छ, किन बुझ्दैनन्? जति नै घुँडा धसेर काम गरेपनि खुसी नहुने जातलाई नै होला हाकिमको सज्ञा दिएको' एकोहोरो बरबराउँदै थिई ऊ। सायद अफिसमा कैद गरिएका आक्रोस यता निकाल्दै थिई।
अक्सर बसमा, बाटोमा या त अन्यत्र, एउटै आवाज सुनिन्छ- अफिसमा मिल्दैन। अफिस पुग्न ढिला भयो, हाकिमको डर, केही दिनको लागि छुट्टी चाहियो, तर माग्नका लागि पनि हाकिमको डर, राम्रो गर्दागर्दै पनि काममा केही बिग्रियो, त्यसमा पनि हाकिमको डर।
हाकिम साब, तपाईं पनि सुरुआतमै 'हाकिम साब' त पक्कै कहलिनु भएन होला, कि कसो? काम गर्दा जति नै आरामले गर्न चाहे पनि दिमागी प्रेसर त बढ्छ-बढ्छ। यो कुरा अलिअलि त हाकिमलाई पनि जानकारी हुनुपर्ने हो। आखिर उहाँको पनि बाटो यही नै त थियो। अनि डर या अन्य केही कुराले केही काम या कुरामा अब्बल मानिने मान्छे पनि कहीँकतै चुकिरहेको हुन्छ। त्यसको अर्थ, उसले काम सिक्नै चाहेन या काममा मन लगाउनै छोड्यो भनेर तथानाम भन्न कतिको उचित होला?
मान्छे हो, गल्ती मान्छेबाटै हुन्छ, हिँड्न र दौडिन खोज्ने मान्छे एक दिन, दुई दिन लड्छ तर एकदिन त अवश्य उठ्छ नि?
अफिसको कामका कारण हाकिमलाई कोही/कसैले तथानाम गाली गर्ला त्यो रिस पनि स्टाफलाई, अझै घरमा श्रीमान/श्रीमती कसैको रिस पनि फेरि त्यही स्टाफलाई। छोराछोरी बिग्रिएर स्कुल/कलेजबाट फोन आउँछ। त्यसको रिस पनि त्यही स्टाफलाई। ए बाबा! सारा रिस पोख्ने एउटै भाँडो उही स्टाफ त हैनन् होला नि?
आफ्ना कर्मचारीलाई धेरथोर रिस, डर देखाएर, स-साना कुरामा पनि अफिसनै टाउकोमा उचालेर, ऋण नै खाएका साहुहरु झैँ बारम्बार कराएर, कहिलेकाहीँ उनीहरुका साना-साना खुसी र अधिकार नै खोसेर पैसा दिँदा मात्रै हाकिम साब भइन्छ र भन्या? आखिर उनीहरुकै दिमाग र परिश्रमको कमाइ उनीहरुलाई नै दिँदा पनि हाकिम साबको त्यति ठूलो रवाफ किन र?
अफिसको कामले थकित बनाएको हाकिम साबको ज्यानले कहीँकतै आराम खोज्छ भने हजुरकै कामको लागि आधा खाना छोडेर, दिनरात मेहनत गरेर एउटा उचाइमा पुर्याउने कयौं ज्यानले पनि आराम खोज्दो होला नि हाकिम साब!
आफ्नो अफिसलाई चौघेरामा मात्रै सीमित नगरी कहिलेकाहीँ आजाद घुम्न चाहने, आजाद दौडन चाहने हजारौँ मन अनि दिमागलाई केही पल स्वतन्त्र छोडिदिए, त्यस स्वतन्त्रताले हजुरप्रति पनि पक्कै न्याय गर्ला नि!
अनि स्टाफले कहिलेकाहीँ काम बिगार्दैमा, नजान्दैमा सारा रिस पोख्नु सट्टा चाहिने-नचाहिने हरेक कुरामा हिटलरकै रुप देखाउन सट्टा, लामो सास फेरेर उसको ठाउँमा आफूलाई राखेर हेरेर ओठमा सानो हाँसो दिएर आरामले केही सिकाइदिए उसले आफ्नो काम पनि बिना भय गर्छ होला नि! 'एक मुस्कान ठूलै औषधि' भन्छन् नि, त्यस्तै। कि सधैं झैँ सबै सारा रिस उही स्टाफलाई नपोखी खानै नरुच्ने बानी परिसक्यो र हाकिम साब?