भाइवरमा नेपालबाट नयाँ नम्बर बज्यो। उठाउ कि, नउठाउ भयो। नयाँ नम्बर हतारमा उठाउन पनि गाह्रो लाग्यो।
यता मैले फोन उठाइनँ। उताबाट अंग्रजीमा मेसेज आयो। ‘हेलो म्याम। म सुगन्ध (नाम परिवर्तन) नेपालबाट। नेपाल आएदेखि त्यहीँ मेरो स्वाथ्यको कारण म्यामसँग सम्पर्कमा आउन सकेको थिइनँ। तर अब म पूर्ण रुपमा सन्चो भइसकेँ त्यसैले तपाईँलाई धन्यवाद दिन फोन गरेको।
मेसेज देखेपछि मैले तुरून्तै फोन रिप्लाई गरिहालेँ। फोनमा भाइ मजाले सुरमा नै कुरा गरिहेको थियो। उसँग कुरा गरिरहँदा कुनैबेला उ बिरामी अनि वेहोसी पनि थियो र? भन्ने भयो।
‘मेलवर्न आउन मन छैन फेरि?,’ कुरैकुरैमा मैले सोधेँ।
‘फेरि त्यो दिन सम्झन चाहन्नँ... जस्तै भएको छ म्याम मलाई।’
सम्झन नचाहनेलाई मैले सम्झाउन पनि चाहिनँ। बरू सोधेँ, ‘नेपालमा आजकाल के गर्दैछौ?’
‘म्याम नेपाल आएपछि केही महिना रिह्याभमा बसेँ। मन भुलाउन ट्रेकिङको काम पनि गरेँ। अन्नपूर्ण बेस क्यामदेखि एभरेष्ट क्याम्पसम्म कुईरेको भारी बोकेर हिँडे नि। प्रकृतिसँग रम्न पाउँदा मन शान्त पनि भयो तर कोरोनाले सबै चौपट पारिहाल्यो। अहिले त यस्तै हल्लिरा’छु म्याम काम दाम सबै बन्द छ,’ उनले सविस्तार भने।
उसको ‘यस्तै हल्लिरा’छु’ भन्ने वित्तिकै मेरो मनमा च्वास्स घोचिहाल्यो। अब यसरी नै उसको मन भुल्ने बाटो भएन भने फेरि उ पुरानै स्थितिमा फर्कने हो कि भन्ने पनि डर लाग्यो।
‘अब त विस्तारै बोर्डर पनि खुल्दैछ। पुनः ट्रेकिङको कामतिर गए हुन्छ नि। खाली दिमाग सैतानको घर भन्छ’, हत्तपत्त सम्झाएँ।
‘अब ट्रेकिङ होइन म्याम राम्रो पायकको ठाउँ पाए एउटा क्याफे खोल्न मन छ। त्यहीँ एलिजावेथ स्ट्रिटमा थियो नि स्टारवक्र्स क्याफे, हो त्यही स्टाण्डर्डको क्याफे खोल्न मन छ’, सुगन्धले एकदमै जोशिलो पारामा भने।
फोनमा उसले आफ्ना रहरका कुरा गर्दै थियो। उ आफ्नो सपनाको कुरा गर्दै थियो। सबैभन्दा ठूलो जे अहिले छ त्यसैमा उ खुशी भइरहेको थियो। उ र म बीच लामै कुरा भयो, कुरा रमाईलो पनि भयो।
केही वर्ष अगाडिको कुरा हो। अफिसमा एक जना जवान त्यस्तै १९-२० वर्षको केटा रिसेप्सनमा आएर उभिरहेको रहेछ। शिलाले पासपोर्टसम्बन्धी बुझ्न नेपाली केटा आएको छ भनेपछि म बाहिर रिसेप्सनमा आएँ।
मैले ‘हेलो’ भनेँ। उसले अलि नजिक आएर सुस्तसँग ‘हेलो’ भन्यो। उसको सास ह्वास्स गनायो। उसले फेरि अर्को शब्द बोल्न मुख खोल्ने वित्तिक्कै पुनः नमिठो गन्ध आयो।
बल्ल पत्ता लगाएँ- यो नमिठो गन्ध चुरोटको थियो। चुरोटको मात्रै होइन अरुरू केहीको पनि चुरोटसँगै मिसिएको गन्ध आइरहेको थियो। थाहा नपाउने तरिकाले म एक पाइला पछि सरेँ।
सायद उ धेरै समयसम्म ननुहाएको हुनुपर्छ नत्र एक पाइला पछाडि जाँदा पनि उसको शरीरको अमिलो गन्ध नाकसम्म ठोकिरहेको थियो। उसको हुलिया नियाल्न भ्याएँ।
कपाल जिङ्ग्रीङ्ग थियो। आँखामा चिम्रा टाँसिएको। स्वेटर पनि मैलो र ठाउँठाउँमा च्यातिएको थियो। नङमा फोहोर जमेर कालो थियो। हातमा महेलको कत्तला परेको। दाँत पनि फोहोरले जमेर पहेँलो देखिएको बरा! कति दिन भएको थियो होला नमाझेको। उसको त्यो स्थिति देखेर दया लागेर आयो। मनले यो सबै कुरा महसुस गरेर दया गरे पनि उसको अगाडि सिधैँ कमेन्ट गरिनँ। अनि त्यहीँ माथि सबै कुरा थाहा नपाइ मनले सोच्यो भन्दैमा यसरी कसैको बारेमा कमेन्ट गरिहाल्नु ठिक पनि थिएन।
मैले पासपोर्टको बारेमा के बुझ्न आउनुभएको भनेर सोध्दै के थिएँ। उसले ‘पानी दिनु न तिर्खा लागेको छ’ भन्यो। म आफैं भित्र गएर एक बोत्तल पानी ल्याएर दिएँ। एकै सासमा आधा लिटर पानी पूरै खायो।
मन कटक्क खायो। कसको छोरा होला। कति सपना देखेर छोरोलाई विदेश पठाएको थियो होला। यो हालतको बारेमा उसको बुबा आमालाई थाहा होला कि नहोला। यस्तै यस्तै मनमा कुरा खेल्यो।
खाली बोत्तल मैले मागेँ अनि मेरो नजिकको विनमा राखेँ।
‘मलाई नेपाल जानु छ। पासपोर्ट पनि हरायो। अनि भिसा पनि सकिइसक्यो। म नेपाल जान के गर्नुपर्ला?,’ उसले सोध्यो।
मैले उसलाई ट्राभल डकुमेन्टको बारेमा भनेँ। अर्थात् आपत्तकालिन अवस्थामा एकतर्फी नेपाल जान दूतावासबाट बनाइने कागजपत्रको बारेमा जानकारी दिएँ। साइडमा रहेको एउटा जानकारी पत्र पनि देखाउँदै कागजपत्र बनाउन के के चाहिन्छ भनेर बुझाएँ।
त्यसका साथै फर्म लगायत दुई वटा फोटो, खाम, डिजिटल पासपोर्ट र सर्भिसमा लाग्ने रकम क्यानवेरा दूतावासमा पठाउनुपर्ने बताएँ।
‘फर्म भर्न सहयोग गरिदिनुस् न’ भन्यो। मैले दुई मन नगरी सहजै हुन्छ भने तर फर्ममा फोटो टाँस्नुपर्छ भनेर फोटो मागेँ। उसले फोटो छैन भन्यो।
मैले अष्टेलियन पोष्टले फोटो खिचिदिन्छ यहीँ तल छ फोटो खिचेर लिएर आउनू भनेँ।
उसले हुन्छ भन्यो अनि म भित्र आफ्नै कामतिर लागेँ। एक घण्टासम्म पनि फोटो लिएर नआएपछि मलाई शंका लाग्यो र बाहिर आएर हेरेँ। उ त्यही रिसेप्सनको एउटा कुनामा घोप्टिएर एकोहोरो हल्लिरहेको देखेँ। उसका हात काँपिरहेको थियो। अब मलाई शंका लाग्यो पक्कै केही गडबडी छ। उसको नजिक गएर बोलाएँ। उसले झस्किएर मलाई हेर्यो। अनि ‘चुरोट छ?’ भनेर सोध्यो।
मैले, ‘भाइ फोटो ल्याउनुभयो?’ भनेर उल्टै उसलाई प्रश्न गरेँ।
‘कुन फोटो?’ भनेर भन्यो। यताउति हेरेर म कहाँ छु भनेर सोध्यो। अब मलाई पूरै शंका लाग्यो अनि उसलाई हस्पिटल लानुपर्छ भन्ने भयो। यताको हस्पिटलमा मेन्टल वलविङ्ग डिर्पाटमेन्ट हुन्छ बरू त्यही फोन गर्नुपर्ला भनेर सोचेँ।
एकदमै भोक लागेको छ केही खानेकुरा छ? एकदमै मायालाग्दो तरिकाले सोध्यो। मैले ‘हिँड्नुस् भित्र जाऔँ’ भनेर बोर्ड रूपमा लगेँ। बोर्ड रूमको टेबलम रहेको स्याउ दिएँ। दुई वटा स्याउ कतै ध्यान नदिइ एकैचोटि खायो। सहज वातावरण बनाउन उसँग कुरा गर्न थालेँ। उसको पर्सनल कुराहरू, घर, परिवार, अष्टेलिया आएको समयको कुराहरु गर्न थालेँ।
घरी उ चुप लाग्थ्यो घरी बोलेको बोल्यै गर्थ्यो। घरी सुरमा कुरा गर्थ्यो घरी बेसुरमा।
कोठाको भाडा तिर्न नसकेर साथीहरूले दुई महिना अगाडि घरबाट निकालिदिएपछि दुई महिनादेखि उ सडकमै मागेर खाइरहेको रहेछ। कुरा बुझ्दै जाँदा उसलाई क्यासिनो र गाँजाले बिगारेको रहेछ।
उसको त्यो हालत हेर्दा मलाई लाग्यो उसँग दश डलर पनि गोजीमा छैन।
सिधैँ प्रश्न गरेँ-फोटो खिच्न पैसा छैन हो?
‘दुई महिनादेखि भात मुखमा परेको छैन म्याम। बाटोमा माग्दा दिएको पाउरोटी खाएर बसेको छु। फोटो खिच्ने पैसा कहाँबाट हुनू?’
तपाईँको कोही आफन्त छ ? मैले अर्को प्रश्न गरेँ।
‘भात खान त नबोलाउने आफन्त छ भनौं कि, छैन भनौं। दुई महिनादेखि सडकको यो चिसोमा गुम्सिदाँ खोज्न पनि आएन त्यस्ता आफन्त छ भनेर के भनौं म्याम। कुरा नगरौँ ती दाइ पर्ने आफन्तको, ’ उसले भन्यो।
मैले दूतावासमा तुरून्तै फोन गरेर उसको अवस्थाका बारेमा जानकारी गराएँ। फोटो खिच्नेदेखि एक्सपेस फर्म पठाउने वातारण मैले यता मिलाएँ अनि उता दूतावासले यो परिस्थितिमा निःशुल्क डकुमेन्ट बनाउन तयार भयो।
ट्राभल डकुमेन्ट बनेर आउँदा त्यस्तै एक हप्ता लाग्थ्यो। त्यसैले मैले उसलाई बरू एक हप्ता हस्पिटल भर्ना भएर राम्ररी आफ्नो मानसिक तथा शारीरिक स्वाथ्य जाँच गर्न सुझाएँ। तर उ हस्पिटल जान मानेन। अनि फेरि एक हप्ता दाइ भन्ने आफन्तकोमा गएर बस्ने भनेँ। त्यसमा पनि उसले नाइँ भन्यो। समुदायको संघसंस्थासँग भनेर कि त एक हप्ताको लागि होटल अथवा अन्त बस्न व्यवस्था गरिदिन्छु भन्दा पनि उसले मानेन।
‘म अब जान्छु। मलाई कानमा आएर उसले बोलाइसक्यो। अब म निस्कन्छु। हेर्नुस् त त्यो ढोकाबाट पनि मलाई बोलाइरहेको छ,’ भनेर उसले देखाउन थाल्यो। मैले नसुनेको आवाज उसले सुनिरहेको थियो। मैले नदेखेको मान्छे उसले देखिरहेको थियो।
अबको पाँच दिनपछि अफिस आउनू तर बीचमा केही पर्यो भने मलाई फोन गर्नू भनेर मैले आफ्नो कार्डसहित पर्सनल फोन नम्बर उसलाई दिएँ। उसको लागि टिकटको व्यवस्था गर्न मैले एनआरएनए संस्थासँग कुरा अघि बढाएँ। यसैबीचमा अफिसमा उसको दाइ पर्ने आफन्तले फोन गर्यो। सुगन्ध अघिल्लो दिन दाइकोमा नेपाल जान घरबाट पैसा मगाइदिन सहयोग गर्नू भन्न गएको रहेछ। त्यसैबीचमा कन्सुलेट अफिस आएको पनि कुरा गरेछ।
उसको बारेमा नै कुरा गर्न दाइले फोन गर्नुभएको थियो। सुगन्धको क्यासिनो जाने र गाँजा, ड्रग्स खाने बानीले बर्बाद गरेको कुरा पनि दाइले खोल्नुभयो। ‘साथीहरूले निकालेपछि मैले केहीदिन घरमा ल्याएर पनि राखेको हो। तर उसको व्यवहारले एक हप्तामा नै हामी दिक्क भयौ अनि गाँजा खान र क्यासिनो जान पैसा मागेको माग्यै गर्ने र यदि हामीले दिएनौं भने बौलाएर घरको सामान फ्याक्न थालेपछि बाध्य भएर घरबाट निकालिदिएको हौ’, दाइले सुगन्धको बारेमा लामो गुनासो गर्नुभयो।
ट्राभल डकुमेन्ट भोलिसम्म आइपुग्ने अनि तीन महिनाभित्र सुगन्ध नेपाल उड्नुपर्ने कुरा पनि गरेँ। त्यही अनुसार सुगन्धको दाइले टिकट मिलाउनुभयो र हामीले सोच्यौं सबै ठिक भयो होला। तर सुगन्ध फेरि एकदिन टुप्लुक्क सुटकेस बोकेर अफिस आयो।
‘एर्यरपोर्ट जाने पैसा पनि छैन। भोक पनि लागेको छ। आज बेलुका फ्ल्याइट छ। तपाइँहरुले पुर्याईदिनु न’ भनेर सहयोग माग्न आयो।
उसलाई फेरि भित्र वोर्ड रूपमा बस्न आग्रह गरेँ। लन्च टाइम थियो सोचेँ-नेपाल जाँदाजाँदै उसलाई केएफसी खुवाएर पठाउँ। केएफसी अर्डर गरेर उसलाई बोर्ड रूपमै राखेर त्यही भित्र केही घण्टा बस्न आग्रह गरेँ।
यसैबीच उसको दाइलाई पनि फोन गरेँ। दाइसँग झगडा गरेर बसेको रहेछ। दाइले एयर्रपोर्टसम्म जान पैसा पनि दिएको रहेछ तर उसले अन्तै खर्च गरेछ। दाइले उल्टै एयरपोर्टसम्म पुर्याउने र उसको उद्धार गर्न आग्रह गर्नुभयो। नेपाली समुदायको एकदमै मनकारी र सहयोगी भावनाको दाइ गौतम लामिछानेलाई फोन गरेँ। उहाँलाई पाँच वजे अफिस आएर सुगन्धलाई एयरपोर्टसम्म पुर्याउन आग्रह गरेँ। दाइ खुशीसाथ आग्रहलाई मान्नुभयो।
सुगन्ध बोर्ड रूममा के गरेको छ भनेर चेक गर्न जाँदा उ त मस्तसँग बोर्डरूममा पोजेक्टर अन गरेर म्यूजिक घन्काउँदै कोरोना वियर खाएर बसिरहेको रहेछ। चार वोतल कोरोना वियर खाएछ। प्रायः शुक्रवार साँझ स्टाफ ग्यादरिङ हुँदा मात्रै खोलिने बोर्डरुमको त्यो कुनाको वार सुगन्धले खोलेछ र खान थालेछ। अनि बल्ल उसको दाइले भनेको कुरा याद आयो।
म आफैंले पोजेक्टर र म्यूजिक बन्द गरेँ। भुइँमा लडेको वियरको वोत्तलमा आँखा लगाएँ अनि सुगन्ध झस्कियो।
उसले सरी केही भनेन। फेरि घोप्टो परेर हल्लिन थाल्यो। म आफैंले वियरको बोतल, केएफसीको बट्टा लगेर वीनमा राखिदिएँ। अनि ‘पाँच बजे तिमीलाई एयरपोर्ट पुर्याउन मान्छे आउँदैछ’ भनेँ।
उसले यो कुराको प्रतिक्रिया दिएन। ‘मासु भात खान मन लागेको छ’ भन्यो।
मेरो मन एकदमै रोयो यतिखेर। उसको यो शब्दले मैले आफ्नो घर, देश सबै सम्झिएँ एक पलमा नै। आँखा रसाइहाल्यो। म केही नबोलि ढोका खुल्लै राखेर आफ्नो क्याविनमा गएँ।
गौतम दाइ आउनुभयो। दाइलाई सबैभन्दा पहिला यसलाई कतै नेपाली रेष्टुराँमा लगेर मासु भात खुवाउनुपर्यो दाइ भने। मेरो कुरा सुनेर दाइ पनि अवाक हुनुभयो।
दाइले आठ बजेतिर एयरपोर्टबाट फोन गर्नुभयो। ‘बहिनी गुर्खाज् रेष्टुराँमा लगेर उसलाई मासु भात खुवाएँ। बिचरा उसले भात खाएको देखेर मेरो त आँखा नै रसायो,’ भन्नुभयो। ‘अहिले चेक इन गरेर भित्र पठाएर म निस्किएँ’ भन्नुभयो। ढुक्क भएर म सुत्न गएँ।
त्यसको पर्सिपल्ट बिहान चार बजे एउटा नम्बरबाट फोन आयो। ‘फलानो नाम गरेको युवक एयरसोर्ट अगाडि २४ घण्टाभन्दा बढी समयदेखि बसिरहेकोले पुलिस स्टेसनमा ल्याएका छौं। उसको ब्यागबाट तपाईँको कार्ड भेटेर सम्पर्क गरेको’, भिक्टोरीयाको पुलिस बोलेको रहेछ। तुरून्तै उठेर तयार भएर कन्सुरल जेनरल चन्द्र दाइलाई पनि सम्पर्क गरेर हामी पुलिस स्टेसन गयौं।
चुरोटको तलतल लागेर एकछिन चुरोट पिएर भित्र जाउँला भनेर उ सुटुक्क बाहिर निस्केको रे अनि पछि भित्र जानै विर्सिएछ। हामीले उसको सबै स्थिति पुलिसलाई जानकारी दियौ। अनि पुलिसले नै उसलाई इपिङ हस्पिटलमा लगेर साइक्यस्टिक डिर्पाटमेन्टमा भर्ना गरिदियो।
यो देशमा मानवतालाई कति प्राथमिकता दिन्छ भनेर त्यो दिन थाहा पाएँ। भिसा सकेको एउटा युवकलाई पुलिसले चाहेको भए ओभर स्टे गर्यो भनेर जेल पठाउन सक्थ्यो। तर जेलभन्दा पनि उसलाई उपचारको जरूरत छ भनेर अस्पताल पुर्यायो। उसलाई पुरै एक महिनाको निगरानीमा राखेपछि स्वाथ्यमा अलि सुधार देखेर हस्पिटले नै नेपालको टिकट काँटेर उसलाई पठाइदियो।
हो उही सुगन्धको फोन थियो। फोन राख्दै गर्दा भन्यो, ‘तपाइँको विजनेस कार्ड आँधा च्यातिदाँ नि टेप लगाएर अझै राखेको छु,’ अनि हामी दुवै मस्तसँगै हाँस्यौ।