विश्व कोभिड-१९ को महामारीले ग्रसित नै छ। २० महिनादेखि नेपाली व्यवसाय थला परेको छ। आम व्यवसायीमा कसरी आफ्नो व्यवसाय बचाइराख्ने‚ कसरी आफ्नो घाटा कम गर्न सकिन्छ भन्ने चिन्ता बढेको छ। यस्तो अवस्थामा व्यापारलाई कसरी बचाइराख्ने भन्ने नयाँ-नयाँ तरिका निस्कँदै आइरहेका छन्।
नेपालमा पनि धेरै न्यून संख्यामा साना तथा मझौला व्यापारीहरुले नयाँ तरिका अपनाएर व्यापारबाट राम्रो फाइदा गरेको देखिएको छ। तर आम व्यापारी व्यवसायीले यस्तो गर्न सकेका छैनन्। हालको यस महामारीसँग जुध्न नसकेर कति व्यवसाय बन्द भएका छन् भने कति आफ्नो लगानी सुरक्षित गर्न तिर लागेका छन् तर यस्तो अवस्थामा पनि नयाँ-नयाँ व्यवसाय नेपालमा खुल्दै आइरहेका छन्।
मन्दीसँग डराएर नयाँ व्यवसाय नगर्ने भनेको होइन तर नेपालमा नयाँ व्यवसाय गर्ने प्रायः युवाहरु छन्। यस्तो अवस्थामा युवाहरु रोजगारीका लागि न त विदेश जान सकिरहेका छन् न अध्ययनको लागि नै। जुन यस्तो किसिमको अवस्था सिर्जना भएको छ यसबेला नेपाली युवाहरु नेपालमै आफ्नो व्यवसाय गर्न खोज्नु राम्रो पक्ष हो तर यो सँगसँगै हालको व्यापार मन्दीको बेला नयाँ व्यवसाय संचालन गर्न निकै कठिन छ।
यस्तो अवस्थामा अर्थ तथा वाणिज्य सँगसँगै युवाहरुले धेरै अध्ययन गर्नु जरुरी छ। हाल व्यापार गर्ने नयाँ युवाहरुले केही नियम पालना गर्नु अपरिहार्य रहेको देखिन्छ जसमध्ये केही तल उल्लेखित गरिएका छन्।
• कानुनी प्रकृया राम्ररी बुझ्नुस्
नयाँ लगानीकर्ताले व्यवसाय गर्दा सम्पूर्ण कानुनी प्रकृयाहरु बुझ्नुपर्ने हुन्छ। कर कहिले तिर्ने, कुन ठाउँमा कम्पनि दर्ता गराउने, फर्म दर्ता गराउने, कुन निकायबाट मनसाय, स्वीकृति लिनु पर्ने, विदेशमा कसरी कारोबार गर्ने यस्ता सम्पूर्ण कानुनी दयारा बुझ्नुपर्ने हुन्छ।
कानुनन रुपमा कसरी काम गर्ने, कसरी काम सुरुआत गर्ने, कर कुन समयमा तिर्ने, कहिले फर्म/कम्पनी नवीकरण गर्ने, अडिट कहिले गर्ने यो सम्पूर्णको समय सारणी तयार गर्नु पर्ने हुन्छ। यस्ता कानुनी प्रकृया समयमा नगर्नाले ठूलो नोक्सानी हुने तथा व्यापार व्यवसाय प्रति कति जागरूप छ भन्ने कुरा ज्ञात हुन्छ। समयमै ठूलो हानि नोक्सानीबाट बच्न कानुनी प्रकृयाको पूर्ण जानकार हुनुस्।
• आफूले जानेको काम मात्र गर्नुस्
नेपालमा धेरै युवाहरु यो काम गर्ने, यस्तो नगर्ने भन्ने अलमलमै रहेको देखिन्छ। नयाँ युवाहरुले यो काम गर्ने हो र गर्न सक्छु भन्ने संकल्प गर्नुपर्ने हुन्छ। कुन काम संचालन गर्ने भन्ने विषय गम्भीर भएकोले आफ्नो पारिवारिक दक्षता वा आफ्नो क्षमता तथा क्षेत्रसँग मात्र सम्बन्धित काम गर्नुस्। आफ्नो क्षमता तथा क्षेत्रभन्दा बाहिर काम गर्दा ज्ञान सीप तथा अध्ययनको कमिले व्यापारमा घाटा हुने सम्भावना बढी हुन्छ। त्यसैले गर्दा आफनै क्षेत्रसँग मात्र सम्बन्धित व्यापार गर्नुस्।
• आफ्नो आवश्यकताको स्तरमा बुझ्नुस्
जुन स्तरमा तपाईं बाचिरहेको हुनुहुन्छ, हुनसक्छ त्यो स्तरमा बढी खर्च भइरहेको छ कि? यस कुराको राम्ररी आकलन गर्नुस्‚ अध्ययन गर्नुस् तथा न्यूनतम आवश्यक स्तरमा जीवनयापन गर्ने कोसिस गर्नुस्। अरुको देखासिकीमा नजानुस्। अस्तित्वको किनारामा बाच्नुस् र त्यही नै खर्च गर्नुस्।
अधिक समयसम्म लड्नका लागि न्यूनतम आवश्यकताको स्तरमा बाच्नुस्। बढी बचत गरी सुरक्षित लगानी गर्नुहोस्। तपाईंले राम्रो प्रतिष्ठा कमाउनका लागि भविष्यको धनमा जाँच गरी लगानी गर्नुस्। पैसा निशुल्क कमाइँदैन। त्यसकारण कमाउने शुल्क जम्मा गर्नुस्।
• बजेटको विकास गर्नुस्
उद्योग व्यवसायमा एक फरक प्रकारको बजेट चाहिन्छ। तपाईं बजेट बनाउँदा वार्षिक खर्च र आय कसरी गर्ने भनि बजेट तयार गर्नुस् अनि बजेटमा विभिन्न आय र व्ययको विश्लेषण गरी शीर्षक राख्नू। नयाँ व्यावसायीहरुले बजेट निर्माण गरी काम गरेको धेरै नै कम पाइन्छ। फलस्वरुप व्यापारमा हानी हुने बढी जोखिम रहन्छ।
यदि तपाईंसँग वासलात नै छैन भने तपाईंले पैसा कमाएको वा गुमाएको पत्तो रहँदैन। त्यसकारण व्यवस्थापन प्रभावकारी रुपमा ल्याउन बजेट बनाउनुस्। यस बजेटमा आपतकालीन कोषको पनि सिर्जना गर्नुस्।
• वित्तीय प्रकृयामा आधुनिकीकरण गर्नुस्
तपाईंले गरिरहेको काम प्रकृया वित्तीय विचार प्रकृयाभन्दा आफ्नै तरिकाको हुन सक्दछ। तपाईं वित्तीय विचारमा अधुनिकीकरण ल्याउनुस्। तपाईंले निःसन्देह वित्तीय शिक्षाको सही महत्व थाहा पाउने कोसिस गर्नुस्। आफ्नो वित्तीय प्रकृयामा नयाँपन ल्याउनुस्।
यस्ता महामारीले भविष्यमा आर्थिक मामिलामा नमेटिने छापहरु लगाउँछ। त्यसकारण आफ्नो वित्तीय प्रकृया प्रणालीमा सुधार ल्याउनुस्। हालको मन्दीले भोलि वित्तीय अवशेष रहने कुरामा शंका नभएको कारण आजैदेखि विचार‚ प्रकृयामा परिवर्तन गर्नुस्।
• पैसालाई विवेकपूर्ण परिचालन गर्नुस्
पैसामा शक्ति हुँदैन, वास्तवमा पैसाको शक्ति परिचालित गर्ने व्यक्तिको दिमागमा हुन्छ। जसले पैसा राम्ररी नियन्त्रण गर्न सक्छ, परिचालन गर्न सक्छ, सही गलत पत्ता लगाउन सक्छ, त्यो नै पैसाको रक्षा गर्दछ। पैसा भनेको एक उपकरण (साधन) मात्र हो जसलाई वस्तु र सेवाहरु खरिद गर्ने प्रयोग गरिन्छ।
त्यसकारण पैसालाई नियन्त्रण गर्नुस् र यस्तो महामारीको बेला सही रुपमा प्रयोग गर्नुस्। नयाँ व्यापार गरिरहँदा पैसाको उपयोगका विकल्पका बारेमा पटक-पटक सोच्नुस्, अनि मात्र उत्तम विकल्पमा पैसालाई परिचालन गर्नुस्।
• विविधता लगानी गरी जोखिम कम गर्नुस्
आम नेपालीको विविधता लगानी गर्ने बानी छ तर अनावश्यक रुपमा बढी लगानी भएको देखिन्छ। नयाँ व्यावसायीले विविधतामा सुरक्षित लगानी गरी आफ्नो व्यापारको जोखिम कम गर्न सकिन्छ। आधुनिक वित्त तथा अर्थ शास्त्रले विविधिकरणको उपयोगिता अपनाएको छ।
म्युचल फन्ड यसको अकाट्य उदारण हो। रियल स्टेट‚ केही शेयरहरु, कृषिमा लगानी नेपालका लागि उपयुक्त लगानी गर्ने ठाउँ हुन्। आफ्नो नियन्त्रणमा रहने गरी दर्जनौँ ठाउँमा विविधता गरी खर्च गर्नुस् जसले तपाईंको जोखिमलाई कम गर्नेछ। तर त्यति मात्र लगानी गर्नुस जसलाई नियन्त्रणमा राख्न सकिन्छ।
• बचत तथा लगानी अनेक विकल्पमा गर्नुस्
अर्थशास्त्रले पैसालाई चालायमान बनाएन भने त्यो पैसा ढुंगा हो भन्छ। यदि तपाईंसँग दश लाख रुपैयाँ छ र तपाईंले त्यो दश लाख ६ महिना घरमै राख्नु भयो र त्यसको प्रयोग गर्नु भएन भने त्यो पैसा राख्नु र ढुंगा घरमा राख्नुमा फरक हुँदैन बरु ६ महिनामा त्यो दश लाख पैसाको क्रय शक्ति घट्दै जान्छ।
त्यसकारण तपाईं पैसा बचत गर्नुहोस् र लगानी गर्नुस् तर लगानीका लागि मात्रै लगानी नगर्नुस्। पैसा खर्च गर्दा अहिले गर्ने कि पछि खर्च गर्ने विकल्प खोज्नुस्। नयाँ व्यावासायीको लागि लगानी बचतको एक हिस्सा ।हो यदि तपाईं गलत ठाउँमा लगानी गर्नुहुन्छ भने तपाईं धेरै कुरा गुमाउन सक्नु हुन्छ। लगानी र जोखिम व्यवस्थापन गर्ने गरी लक्ष्य लिई लगानी गर्नुस्। तपाईंका लगानी बचत जति दरिला हुन्छन् त्यति नै बढी तपाईंको भविष्य सुनिश्चित हुन्छ।
• कुशलतापूर्वक व्यक्तिगत कोष प्रयोग गर्नुस्
नयाँ तथा युवा व्यावसायहरुले यस्तो महामारीले मन्दी भएको बेला अनावश्यक बोझ थपेर व्यावसाय नगर्नुस्। बैँक तथा वित्तीय संस्थाहरुमा निक्षेप संकलन भइरहेको अवस्थामा सजिलै ऋण पाइन्छ भनेर पनि ऋण लगानी नगर्नुस्। त्यो ऋण जुनसुकै हालतमा पनि तिर्नु पर्ने नै हुन्छ। त्यसकारण कुशलतापूर्वक व्यक्तिगत कोषको मात्र प्रयोग गर्नुस्।
नयाँ व्यवसायका लागि त व्यक्तिगत कोष बाहेक अरु सोच्ने अवस्था नै नरहेको बेला छ। बिना कोष व्यवसाय नहुने भएता पनि यस्तो बेला व्यक्तिगत कोषको मात्र प्रयोग गर्नुस्।
• सम्पत्तिमाथि नियन्त्रण लिइराख्नुस्
नेपालमा अनावश्यक रुपमा धेरै ठाउँमा लगानी तथा स-साना सर समानमा रकम खर्च गर्ने नयाँ व्यावसायीहरुको बानी रहेको अध्ययनले देखाउँछ। त्यसकारण आफूले लगानी गरेको धन/सम्पत्ति चाहे त्यो भौतिक रुपमा होस् या नहोस्, त्यसको सही सदुपयोग गरौँ।
आफ्नो लगानी परेको जुनसुकै धन/सम्पत्तिमा आफ्नो नियन्त्रण लिने काम गर्नाले यस अवस्थामा आफ्नो व्यापार घाटा हुने जोखिम घटाउन सकिन्छ। त्यसकारण सम्पत्तिमाथि नियन्त्रण राख्ने काम अनिवार्य रुपमा गर्नुस्।
निष्कर्ष
युवा लगानीकर्तालाई नेपालजस्तो देशमा ठूलो जोखिम छ। नयाँ लगानीकर्ता तथा युवाहरुमा अनुभव तथा अध्ययनको कमि देखा परेको छ। अनुभवको कमीले युवा तथा नयाँ लगानीकर्ता घाटा व्योहोरी रहेको उदाहरण नयाँ छैनन्।
युवा तथा नयाँ व्यावसायी वित्तीय रुपमा पूर्ण साक्षर हुन्थे भने अर्थशास्त्रीहरुले सोच्ने विषय थिएन तर नेपालमा यस्तो अवस्था छैन। नयाँ तथा युवा व्यापारीले आफ्नो सार भविष्यको लागि योजना बनाएर वरिपरि घुम्नु पर्ने हुन्छ। यसैमा सबै केन्द्रित रहनु पर्ने देखिन्छ। तब मात्र हामी हुने व्यापार घाटा जोखिमबाट बच्न सक्छौँ।
शेरजंग बहादुर चन्दका अन्य लेखहरु