१८ वर्षअघि कामको सिलसिलामा मुस्लिम बाहुल्य देश अफगानिस्तान जाँदा त्यहाँको मुल्लाले महिलामाथि गर्ने व्यवहार देखेर छक्क पर्थेँ।
महिलाले घर भित्रै बसिरहनुपर्ने, बाहिर काम गर्न जान नपाउने, कुनै काम परेर बाहिर जानु परेमा कुनै पुरूषलाई सँगै लिएर जानुपर्ने बाध्यता देखेर विरक्त लागेर आउँथ्यो।
यहाँका महिलाको यस्तो अवस्था देखेर नेपाली महिला हुनुमा आफूलाई गौरवान्वित महसुस गर्थेँ।
धार्मिक रूपमा अन्धा व्यक्तिले राजनीतिको गलत प्रयोग गरि कसरी महिलाको जीवनमा कष्ट थोपर्छन् भन्ने म अफगानिस्तानमा रहँदा त्यहाँको अनुभवले सिकाएको थियो।
अफगानिस्तानका धार्मिक गुरूहरूले आफूले व्यभिचार गर्ने किशोरी र महिलामाथि दम गर्दै आफ्नो काम सुचारू रुपले चलिरहोस् भनेर जनतालाई र विशेष गरी महिलाहरूलाई शिक्षा र कामबाट बन्चित गर्ने गरेका थिए।
तालीवानहरू धर्मको नाममा बदमाशी गर्थे, गुण्डागर्दी गर्थे, महिलालाई बन्धनमा राख्थे। त्यो बेला तालीवानले महिलालाई दिएको पिडा सम्झेर अहिले पनि मलाई कहालीलाग्छ।
पछिल्लो समय सम्पूर्ण अफगानिस्तान पुनः एक पटक तालिवानको कब्जामा छ। पहिलेको तालीवान शासनमा त्यहाँको महिलाको अवस्था देखेको मलाई अहिलेको अवस्थाबारे कल्पना गर्दै कहाली लागेर आउँछ।
अफगानिस्तानकी चालिस वर्षीय ताहिरा शिक्षित महिला थिइन्। उनका ६ जना छोराछोरी थिए। ‘मलाई पढ्न धेरै रहर थियो। तर तालीवानले केटीलाई विद्यालय जान नदिने नियम बनाए। अनि मेरो स्कूल यात्रा रोकियो’, ताहिराले त्यतिबेला मसँग भनेकी थिइन्, ‘मेरा दश दिदी बहिनी थिए। मेरो दिदीको १२ वर्ष नपुग्दै बिहे भयो। मेरो पनि १४ वर्षमा एक युवकसँग विवाह गराएदिए तर मेरा श्रीमानले मलाई पढ्न रोकेनन्।’
छोराछोरीका सम्बन्धमा ताहिरासँग जिज्ञासा राख्दा उनले हाँसेर जवाफ दिएकी थिइन्, ‘अफगानी संस्कृतिमा धेरै छोराछोरी हुनु शुभसूचक मानिन्छ, पाँच छोराछोरी भएपछि हामी सन्तान पुगेको निष्कर्षमा पुगेका थियौं।’
उनले तालिवानी साशनमा आफूलाई काम गर्न, घरबाट बाहिर निस्कन र बोल्न नदिएको भन्दै अफगानी समाजको शिक्षा, राजनीति र स्वास्थ्यलाई नराम्रोसँग तालिबानले भत्काइदिएको बताइन्।
‘मेरो एक डाक्टर साथीले पेसासँगै र अफगानिस्ताननै छोडिन्। उनी अहिले पाकिस्तानमा आश्रय जीवन बिताइरहेकी छन्’, उनले भनिन्।
अहिले ताहिरा कहाँ होलिन्? मसँग उनको सम्पर्क नभएको धेरै भयो।
अफगानिस्तानमा महिला डाक्टरको पीडा पनि उस्तै थियो। उनीहरूले कडा नियम पालना गर्नुपर्थ्यो। अस्पताल जाँदा बुर्का लगाएर जानुपर्थ्यो। त्यसमा पनि कुनै पुरूषलाई थमा लिएर अस्पताल जानुपर्थ्यो नत्र प्रहरीले लखेट्थे।
‘म बाटोमा हिजाब लगाएर हिँड्दासमेत तालिवानले डण्डाले हिर्काए। मेरो शरीरमा घाउ बनाए, म रोएँ, कराए तर तिनीहरूले वास्तै गरेनन्। म रूँदै अस्पताल गएर नियमित काम गरेँ,’ एक डाक्टरले मलाई त्यतिबेला घटना विवरण सुनाएकी थिइन्।
अफगानिस्तान बस्दा मलाई मलाई आफ्नो धर्मप्रति गर्व लागेर आउँथ्यो। यद्यपी हिन्दु धर्ममा पनि केही विकृतिहरू नभएका भने होइनन्।
मलाई अफगानिस्तान बस्दा ‘कसैले तिम्रो धर्म केहो भनेर सोधेमा ‘बौद्ध धर्म’ भन्नू’ भनेर मसँगै काम गर्ने एक पाकिस्तानी सलिमले सिकाएका थिए, ‘यहाँ हिन्दुलाई त्यति रूचाउँदैनन्। बुद्ध चाहिँ यिनीहरूले पनि मान्छन्।’
त्यसपछि म सबैलाई ‘बुद्ध जन्मेको देशबाट आएको म बुद्ध धर्म मान्छु’ भन्थेँ।
प्रायः अफगानिस्तामा कसैलाई भेट्दा उनीहरूले ‘तिमी श्रीमानसँग यहाँ आएको हो? भनेर बारम्बार प्रश्न गर्थे। म पनि होइन एक्लै अफगानिस्तान आएको भन्दा उनीहरू अचम्म मानेर भन्थे, ‘अहो, तिम्रो देशमा महिलालाई यसरी एक्लै हिड्न दिँदा रहेछन् कस्तो अचम्म।’
मैले पनि उनीहरूलाई सगर्व भन्थेँ-‘अफगानिस्तान मात्र होइन, नेपाली महिलाहरू संसारभर एक्लै काम गर्न र घुम्न पाउँछन्।’
मैले यस्तो जवाफ दिँदा उनीहरूले नेपाल कति राम्रो देश है भनेर भन्थे। ‘अहो, तिम्रो देशमा त राम्रो चलन रहेछ। हामीकहाँ त यस्तो कतै एक्लै जाने त कुरै छैन। घरबाट त एक्लै निस्कन पाइन्न,’ उनीहरूले भन्थे।
उनीहरूको कुरा सुनेर म अत्यन्त दुःखी भएँ। तर केही गर्न पनि सक्दिँन थिएँ नि। उनीहरूको धर्म र संस्कृति विरुद्धमा बोल्न मिल्दैन थियो।
मलाई यसअघि नै मसँगै काम गर्ने पाकिस्तानी साथीले सम्झाएका थिए- ‘यहाँको धार्मिक रिती रिवाज, चलन, कुरानको बारेमा केही नबोल्नू, आलोचना नगर्नू। कठोर सजाय हुनसक्छ।’ त्यसैले पनि मैले त्यहाँ रहुन्जेल कहिल्यै पनि उनीहरूको धर्म, संस्कृतिका बारे केही कुरा गरिनँ।
म त्यहाँ ६ महिना बसेपछि, त्यो भन्दा बढी बस्न सकिनँ, किनभने मलाई त ‘डिप्रेशन’ जस्तै भयो।
हुन त अफगानी जनता मायालु र अतिथी प्रेमी थिए तर उनीहरूको धार्मिक परिबन्ध र बाध्यता धेरै थियो। महिलाहरू प्रति गरिने बहस पनि १४०० वर्ष अघिको कुरानमा आधारित भएकोले त्यहाँ महिलालाई साह्रै गाह्रो थियो।
१८ वर्षअघि पनि तालीवानले कब्जा गरेका शहरमा ‘इस्लामिक कानुन’ नै चल्थ्यो। त्यहाँ महिलालाई घरमै बस्नु पर्ने, घर बाहिर जाँदा बरू ५ नै वर्षको भए पनि आफ्नो घरको कोही केटा मान्छे लैजानुपर्ने नियम थियो। यसबाट एकल महिला वा घरमा पुरुष नभएका महिलालाई पसल जानसमेत कठिनाइ थियो। कति महिलाहरू भोकै बस्नु पर्ने अवस्था थियो।
त्यहाँका महिलाहरू सबै बुर्का लगाएर हिँड्दा र अनुहार नदेखिँदा पनि एक अर्कालाई चिन्ने र कुरा गर्ने गर्थे। कसरी तिमीहरू बुर्का लगाउँदा पनि परिचितलाई चिन्छौं? भनेर मैले आश्चर्य चकित भएर सोध्दा एक अफगानी महिलाले भनेकी थिइन्, ‘हामी त जुत्ता हेरेर एक अर्कालाई चिन्छौं।’
तालिवानले कब्जा जमाएका शहरमा अफगानी महिलाहरू साह्रै दुःखी, पीडित र अस्वस्थ थिए। उनीहरूलाई कुनै स्वास्थ्य समस्या भए पनि अस्पतालमा जान एक्लै जान नपाइने, पुरूष डाक्टर भएको ठाउँमा गएर जचाउन नपाइने कस्तो पिडा थियो।
‘हामी कहाँ त स्त्री रोग विज्ञ पुरूषहरू पनि छन्। पुरुष डाक्टरले सजिलैसँग महिला बिरामी जाँच गर्छन्,’ मैले यसो भन्दा अफगानी साथीले जिब्रो टोकेका थिए।
अहिले तालीवानले ‘अब महिलालाई इस्लामिक कानुन अंतर्गत रही अधिकार दिने’ भनेका छन्। यसको अर्थ महिलाहरू कुन्ठित हुनेछ। उनीहरू आफ्नो इच्छा अनुसार लुगा लगाउन, बाहिर जान, विवाह गर्न पाउने छैनन्। शायद परिवार नियोजनका साधनहरू पनि प्रयोग गर्न पाउने छैनन्। महिला डाक्टर र नर्सको कमि भएको ठाउँमा महिलाहरू प्रसुती हुँदा गाह्रो पर्नेछ। अफगानी मानिसको पनि जीवन सजिलो हुनेछैन। त्यसैले होला अफगानी महिला, पुरूष देश छोडेर भाग्ने कोशिश गर्दैछन्। तर जो जान पाउँदैनन् उनीहरू कठोर अन्धकारमा बाँच्नेछन्।
अब त सम्पूर्ण रूपमा तालीवानको हातमा सत्ता छ। महिलाहरूको अवस्था कति दयनीय होला? यद्यपी आशा गरौं अब त्यस्तो नहोला कि!