कति नेपाली आमाहरूले आफ्नो छोरीलाई नुहाएपछि जिउ र गुप्तागंमा पाउडर दलिदिन्छन्। यसो गर्दा उनको शरीरबाट बास्ना आउँछ सफा देखिन्छ भन्ने विचार होला।
तर, वास्तवमा यस्तो पाउडरले हानी गर्छ। अमेरिकामा ‘जोनसन एण्ड जोनसन’को पाउडर अहिले बेचिन्न। किनभने त्यहाँ केही महिलाहरूलालई यो पाउडर प्रयोग गरेपछि पाठेघरको क्यान्सर भयो।
‘जोनसन ऐन्ड जोनसन’ शिशु पाउडरमा मिसाइएको तत्व महिला तथा बालबालिकाहरूलाई हानिकारक मानिँदै आएको छ। हजारौं महिलाहरूले उक्त कम्पनीलाई उक्त पाउडर प्रयोग गरेर क्यान्सर भएको भनेर अदालतमा मुद्दा लगाएका थिए।
मुद्दा अनुसार माहिलाहरूको क्यानसर भएर मृत्यु भएको थियो। त्यही मुद्दामा २२ जना महिलाहरूले मुद्दा दायर गरेका थिए।
सन् २०२०, १९ मे मा ‘जोनसन एण्ड जोनसन’ले बेबीको पाउडरलाई अमेरिका र क्यानडाका बजारबाट हटायो।
तर, त्यही पाउडर चाहिँ नेपाल, भारत र बंगलादेशमा त सहजैसँग बिक्री भइरहेछ। अफ्रिका राज्यको कङ्गोमा पनि त्यहाँको सरकारले नोबेम्बर, सन् २०२० मा आफ्नो देशभित्र बेबी पाउडरको विज्ञापन गर्न, बेच्न रोक लगायो।
बच्चाहरूलाई प्रयोग गर्ने पाउडरमा ‘एबसटस’ले स्वास्थ्यमा नकारात्मक असर पार्ने भएकोले त्यस्तो पाउडर प्रयोग नगर्नु भनेर अमेरिकन भोजन र औषधी प्रशासनले नोटिस निकालेपछि ‘जोनसन एण्ड जोनसन’ नामक कम्पनीलाई विभिन्न व्यक्तिहरूबाट दुई हजार भन्दा बढी मुद्दा लाग्यो। तर, नेपालमा पनि औषधी व्यवस्था विभागले जनस्वास्थ्यलाई खासै चासो दिएको पाइएको छैन।
घाममा राखेर तोरीको तेल लगाउने परम्परागत राम्रो चलन आजकल हराउँदै गएको छ।
तर, कति जनाले बच्चालाई तोरीको तेलले मालिस गर्नु हुँदैन भन्छन्। यो सल्लाह ठिक होइन भन्ने बुझे हुन्छ। कुनै पनि स्वास्थ्यकर्मीले बच्चालाई तोरीको तेलले मालिस नगर्नु, बच्चालाई घाममा नराख्नु भनेर सिकाउँदैन। किनभने तेल लगाउनाले अर्थात् मालिसले हाड, जोर्नी बलियो बनाउँछ। साथै बच्चाको तनाव पनि कम गराउँछ। बच्चाको व्यायाम पनि हुन्छ।
जाडोमा घाममा बसेर तेल लगाउनाले बच्चाले भिटामिन डी पनि पर्याप्त पाउँछ। अनेक थरीका पाउडर छोडेर स्वस्थकर तेल लगाउनु फाइदा हुन्छ।
विदेशमा घाम नलाग्ने ठाउँमा बच्चालाई भिटामिन डी पुगोस् भनेर विशेष प्रकारको व्यवस्था गरिएको हुन्छ। नेपालमा भने सित्तैमा पाइने घाममा रहेको भिटामिन डी प्रयोग नगर्न सल्लाह दिइन्छ।
हामीहरू ६० वर्षका मान्छेहरू अहिले घाममा तेल लगाउँदैछौं। आफ्ना सन्तानलाई त्यसैगरी तोरीको तेल लगाएर हुर्कायौं। अहिले कति जनाले म त बेबी लोशन लगाउँछु मेरो बच्चालाई, तोरीको तेल त गनाउँछ भन्नुको अर्थ बजारको फन्दामा परेर आफ्नो बालबालिकाको स्वास्थ्य नराम्रो पार्नु हो।
जब स्कूलहरूमा साना बालिकालाई ओठमा लिपिस्टिक, गालामा रातो र मुखमा पाउडर लगाउँछन्, तब कसैले पनि विचार गर्दैनन् कि यस्तो सौन्दर्य प्रशाधनमा मिसाइएको सिसा र मर्करीले गर्दा शारीरिक र मानसिक स्वास्थ्यमा पनि प्रभाव पार्छ। लाली लगाएर रातो पारेको अनुहार र रातो ओठ बालिकाको देख्दा मेरो मन कटक्क काट्छ- सानैदेखि यिनीहरूको मिर्गौला खराब हुने काम स्कुलका शिक्षक र अभिभावकले गरे भन्ने ठानेर।
मिस टिन, मिस बालिका आदि प्रतियोगितामा भाग लिँदा पनि यसै गरी रातो ओठ हुन्छ।
अफ्रिका र युरोपका विभिन्न मुलुकमा समेत सौन्दर्य प्रसाधनमा मर्करीको प्रयोग गर्न बन्देज लगाइदिएको छ।
तर, नेपालमा कुन सौन्दर्य प्रशाधनमा कति मर्करी हुन्छ भनेर त्यसलाई बन्देज लगाउनुपर्छ भनेर प्राय: कमै छलफल भएको छ।
उपभोक्ताहरू पनि एकछिन सुन्दर देखिन सौन्दर्य प्रशाधन अनुहारमा पोति हाल्छन्। त्यसको दूरगामी प्रभाव कस्तो हुन्छ भनेर विचार गर्दैनन् वा उनीहरूलाई जानकारी नै छैन। वैज्ञानिकहरूले यस्तो विषयमा अनुसन्धान गरेर जनसमक्ष ल्याउनको लागि काम गर्नै पर्छ।
यो विषयमा काम गरिराखेका डा.राम चरित्र शाहले एउटा छलफलमा भन्नु भएको थियो, ‘मर्करी र सिसा प्रयोग भएको गोरो बनाउने पाउडर र लिपिस्टिकहरू नेपालमा धेरै बिक्री हुन्छन्। यस्ता वस्तुहरू ओठबाट शरीरभित्र जान्छन्। यसले गर्भवती आमाको स्वास्थ्यलाई मात्र होइन उनको बच्चालाई समेत नकरात्मक असर पर्छ। आमाले प्रयोग गरेको लिपिस्टिकले बच्चाको मस्तिष्कमा नकारात्मक असर पर्छ।’
भ्रुण जन्मिँदै कहिले विकलाङ्गता भएको जन्मिन सक्छ। आमाले यसरी सिसायुक्त लिपिस्टिक अन्य सौन्दर्य प्रशाधन प्रयोग गर्दा उनलाई गर्भपतन पनि हुन सक्छ। महिलाहरूले यस्ता विषादी तत्व भएको सौन्दर्य प्रशाधन प्रयोग गर्दा प्रजनन् स्वास्थ्यमा समेत असर पर्छ। महिनावारी समस्या पर्छ। युवकहरूले अहिले गोरो र राम्रो बन्ने धुनमा सौन्दर्य प्रशाधन प्रयोग गर्न सुरू गरिसकेका छन्। यसले गर्दा किशोर अवस्थादेखि नै प्रजनन अङ्गमा नकारात्मक असर पर्न सक्छ।
डा. राम चरित्र शाहले एक दौरानमा भन्नुभएको थियो, ‘लिपिस्टिकको प्रयोग गर्ने महिलाले आफ्नो जीवनभरि भण्डै चार पाउण्ड अर्थात् झण्डै दुई किलो जति लिपिस्टिक खान्छिन् होली। अर्थात् यसमा भएको सिसा पनि उनको शरीरभित्र जान्छ। यो सिसा त उनलाई चुम्बन गर्दा श्रीमान् वा यौन साथीको शरीरभित्र पनि जान्छ।’
डा. राम चरित्र शाहले काठमाडौंको बजारमा पाइने विभिन्न लिपिस्टिकहरू लिएर त्यसमा कति सिसा हुँदो रहेछ भनेर अनुसन्धान गर्दा पाइयो कि यसमा चार सयदेखि एक हजार ४५० गुणासम्म बढी सिसा रहेछ।
अमेरिकाको खाद्य र औषधी विभागले बनाएको मानकलाई ध्यानमा राखेर यो अनुसन्धान गरिएको थियो।
यो भन्दा अगाडि सन् २०१६ मा पनि यस उद्योगले यही समस्याका कारणले क्यान्सर पिडितलाई ५.५ करोड डलर जरिवाना तिरेको थियो। तर, यस्ता ठूला उद्योगले गर्ने बदमासीहरू हामी समक्ष आइपुग्दैन। आमसञ्चारको मुखमा पनि यस्ता कम्पनीले ‘बुजो’ लगाइदिएका हुन्छन्।
ठूला-ठूला विज्ञापन दिएपछि यस्ता उद्योगहरूको वस्तुको नकारात्मक असरको बारेमा कसैले लेख्दैनन्। तर, आफ्नो छोरीहरूको स्वास्थ्य राम्रो राख्ने अभिभावके छोरीको गाला र गुप्ताङ्गमा यस्ता वस्तुहको प्रयोग नगरी उनीहरूलाई सफा पानी र साबुनले नुहाए पुग्छ, पाउडर चाहिन्न।