नेपाली समाजको आजसम्मको परिस्थितिलाई हेर्ने हो भने न्याय, स्वन्त्रता र समानताको वर्ग संघर्षमा होमिएका ती सम्पूर्ण नेपाली योद्धाहरूले केवल आफ्नो ज्यान त दिए तर अझै पनि समस्या उस्तै छ।
योगमाया लगायत ५८ जनाले यसैको निम्ति अरुण नदीमा जलसमाधि गरे। २००७ साल, २०३६ साल, २०४६ साल, ०६२/६३ को ऐतिहासिक जनआन्दोलन, जनयुद्ध, मधेस र थारु आन्दोलन हुँदै आजको यस परिस्थितिसम्म आइपुग्दा धेरैले केवल ज्यान गुमाए तर पनि मूख्य समस्या विभेद रोकिएको छैन।
किनभने आज पनि हाम्रो नेपाली समाजमा महिलामाथिको भेदभाव, पानी लिन जाँदा धारा-पँधेरोमा दलितमाथि गरिने विभेद, निर्घात कुटपिट गरेको समाचार, भर्खर विद्यालय जान थालेर क, ख सिक्दै गरेकी बालिकामाथिको बलात्कार, महिलामाथि बोक्सी आरोप लगाएर गाउँ निकालिएको समाचार, दलितमाथि मन्दिर प्रवेशमा रोक आदि।
भर्खरै मात्र एक वर्ष पुग्दैछ दलित भएकै कारण नवराज विकलगायत उनका साथीहरूको समग्र गाउँ नै ओइरिएर हत्या गरी भेरी नदीमा बगाएको। निर्मला पन्तमाथि बलत्कार गरी मारिएको घटनाले आजसम्म पनि न्याय पाउन सकेको छैन।
यी प्रतिनिधिमुलक घटना त आजको विज्ञान प्रविधिको युगमा छल्न नसकेर, लुकाउन नसकिएर पोखिएको २/४ प्रतिनिधि घटना मात्र हुन्। यस्ता विभेद, अमानवीय व्यवहार, दलित माथिको अन्याय, महिला माथिको अत्याचार, बलात्कारहरू त कति दबिएर बसेको होलान् हाम्रो समाजमा! हामी कल्पना गर्न सक्छौं?
अझै कहिलेसम्म यस्तो रहला हाम्रो नेपाली समाज? आखिर किन मानिसहरू अमानवीय हर्कत गर्न लालयित हुन्छन्। एउटा जातले अर्को जातमाथि किन गर्छ यस्तो अमावीय व्यवहार? कुनै एउटा जातले अर्को अन्तरजातीय प्रेम गरेकै कारण किन मारिनु परिरहेको छ?
के छ त्यस्तो यो जातमा अदृष्य शक्ति जसले कसैको केही बिगारेको जस्तो?
हाम्रा महिला दिदीबहिनी देशभित्रै कतै अन्य सहरहरूमा साथीसँग केबल घुम्न जाँदा पनि हजार प्रश्न सोध्छन् हाम्रो घरपरिवार। किन, कोसँग भनेर। छोरी मान्छे भएर त्यसरी हिँड्न, बरालिन हुँदैन भनेर घरबाट कतै जाँदा निस्कँदा आज पनि स्पष्टीकरण दिनुपर्छ हाम्रा दिदीबहिनीले। के यो संविधानले बन्देज गरेको छ?
तर त्यहीँ छोरीचेली सात समुन्द्रपारि बिरानो भूगोल अपरिचित सहर युरोप, अमेरिका, अस्ट्रेलिया, जापान जाँदा कति खुसी र हर्षले बिदाइ गर्छन् परिवार।
के यो कुरा सत्य हैन र? के आजको दिनमा धन पैसाले मात्र सबैथोक सुरक्षित हुन्छ?
श्री ३ चन्द्र समशेरले तत्कालीन समयमा सती प्रथाको अन्त्य नगरेको भए आज पनि हाम्रो छोरीचेली, महिला दिदी-बहिनी, आमाहरू जलिरहेको चितामाथि जिउँदै जलेको हेर्न हामी बाध्य हुन्थ्यौं होला।
किन बेचिएकी छे गाउँघरका सोझा चेलीहरू बम्बैको अँध्यारो कोठीहरूमा? तराई मधेसमा दाइजो नल्याएको भनेर आज पनि कति महिलाहरू जिउँदै जलाइका, कुटिएका घटनाहरू बारम्बार आइरहन्छन्? हजारौं छोरीहरू त आमाको गर्भमै तुहाइन्छन्, जो केबल छोरी र महिला भएकै कारण।
विभेदको साङ्लोले कहिलेसम्म बाँधिराख्ने, हाम्रो देश र समाजलाई। अब यस्ता घटानाक्रमहरू अन्त्य नभएसम्म देशले सुनौलो बिहानीको अनुभूत गर्नेछैन।
हाम्रो देशमा २०७२ सालमा जारी गरेको प्रगतिशील संविधान जसले किन रोक्न र छेक्न सकेको छैन यस्ता विभेदहरू, बन्धनहरू? संविधान नियम कानुन कसका लागि?
आज यी सरल तर गम्भीर प्रश्नहरू नवराज विकको परिवार, निर्मला पन्तको परिवारको मनभित्र कति धारिलो तरबार बनेर तेर्सिएको होला? हामी त निरीह जनता केवल कल्पना मात्र गर्न सक्छौ।
सामाजिक सञ्जालमार्फत भए पनि प्रतिरोध गर्न सक्छौँ। तर ती प्रश्न सुन्नु पर्ने सम्बन्धित निकाय मौन छ, मानौ कुनै एकान्तमा बसेर योग गर्दैछन्। आखिर किन जातीय विभेदको अन्त्य हुन सकेन नेपाली समाजमा? किन बारम्बार दोहोरिरहन्छ बलात्कार र महिला हिंसा?
आज पनि हामी बाहिरी समाजमा देखावटी एउटा अनि भित्री यथार्थ अर्को व्यवहार गर्छौं।
मैले देखेको नेपाली समाजमा रहेको जातमाथिको विभेदको अन्त्य गर्न त्यति सजिलो छैन। यहाँ आफूलाई अब्बल र शिक्षित भन्नेहरूले हरप्रत्येक दिन विभेद गरिरहेका छन्।
बाहिरी आवरण र भित्री आवरणमा १८० डिग्रीको अन्तर छ। धेरै आफूलाई शिक्षित वर्ग र प्रगतिशील ठान्नेहरूले दलित हो भन्ने कुरा थाहा पाउने बित्तिकै नाक खुम्चाएको हामीले हाम्रै समाजमा आज पनि प्रत्यक्ष देखिरहेका छौं, भोगिरहेका छौं नि हैन र?
कुनै छिमेकी, आफन्त, साथिभाइले अन्तरजातीय विवाह गर्यो भने बाहिरी आवरणमा असंख्य निकै भारी शब्दहरूले गुणगान गाउँछन्। तिनै छिमेकी, आफन्त, साथीभाइ लाग्छ यस्ता प्रगतिशील विचारको मान्छे सायद यो धर्तीमा कहिकतै छैनन्।
तर वास्तवमा उनीहरू आफ्ना छोराछोरी, परिवारको अन्तरजातीय विवाह भने भित्री हृदयबाट रुचाउँदैनन् र चाँहदैनन् पनि। यो कुरा सत्य हो कि पित्तलबाहिर जतिसुकै सुनको जलपले पोते पनि अन्तत: भित्री यथार्त त्यो पित्तल नै हुन्छ।
च्याउसरी उम्रिएका एनजियो, आइएनजियोले वर्षौदेखि समाज परिवर्तन, जातीय विभेद अन्त्य, महिला हिंसा जस्ता विरुद्धमा अर्बौं डलर खर्च गरिसकेका छन्। तर पनि समस्या यथावत छन्।
माओवादीको १० वर्षको जनयुद्धमा १०औं हजारले बन्दुक उठाएर समानताको लागि बलिदान गरे। अन्तत: फेरि जनयुद्धको एक प्रमुख किल्ला रुकुममा नवराज विकहरूले कसैलाई प्रेम गरेकै भरमा अमानवीय तवरबाट भेरीमा फालिनु पर्यो।
त्यो विभत्स हत्या देखेर भेरी नदी पनि कति छट्पटाइन् होला? नवराज बिकको सच्चा प्रेमप्रतिको त्याग देखेर आज पनि मुना-मदन, लैला-मज्नु, रोमियो-जुलियट अमर छन् भन्ने अनुभूत भएको छ।
जातीय विभेद, अन्याय-अत्याचार, शोषण, दमन, महिला हिंसा आदि घटनाहरू नेपाली समाचारको फ्रन्ट पेजमा आउने क्रम निरन्तर छ।
यस्ता घटनाहरू नेपाली समाज र वर्ग संघर्षको इतिहासमा समेटिने क्रम पनि जारी रहनेछ, जबसम्म हाम्रो नेपालको राजनीतीक भूगोलमा रहेका प्रत्येक नेपालीले भित्री हृदय र मस्तिष्कबाट मानवतालाई ध्यानमा राखी २१ औं शताब्दीको यथार्थ प्रगतिशील विचारलाई आत्मसाथ गर्दैनन्।
त्यसैले वर्ग संघर्ष तबसम्म निरन्तर रहने छ, जबसम्म न्याय, स्वतन्त्रता र समानताको महशुस प्रत्येक नेपाली बस्ती र झुपडीहरूसम्म पुग्दैनन्।
आज हामीले भन्ने गरेको अबको समृद्ध नेपाल केवल भौतिक पूर्वधारहरूले मात्र सम्पन्न हुने भए, त्यो युगौंयुगसम्म अधुरो र अपुरो रहनेछ। त्यहाँ जनता रोइरहेका हुनेछन् न्यायको लडाइँमा, समानताको लडाइँमा, जातीय विभेदको विरुद्धमा। त्यैसैले विकसित चेतनशील समाज अनि मात्र समृद्ध नेपाल।
विश्वको शक्तिशाली राज्य अमेरिका जतिसुकै शक्तिशाली र भौतिक पूर्वाधारहरूले संमृद्ध बने पनि आजको दिनमा अमेरिकामा घटेका रंगभेदी व्यवहारले काला र गोराबीचको विभेदले दिन डाहाडै मुख्य सहरहरूमा वर्षे ने अत्याधुनिक गोलीका आवाजले अमेरिकालाई गिज्याइरहेको छ।
त्यसैले नेपाली वर्ग संघर्षको इतिहासमा पटक-पटक दर्ज भएर पनि पूर्ण रुपान्तरण हुन नसकेको नेपाली समाजको पूर्ण रुपान्तरणको सुरुआत पहिला आफू र आफ्नो परिवारबाट गर्न जरुरी छ।