‘कोरोनाको महामारीको बेला काली ढुसीको संक्रमण हुने व्यक्तिलाई जटिलता बढी हुने सम्भावना छ, मधुमेह भएका व्यक्तिलाई ‘स्टेरोयड’ चलाउँदा ‘कालो ढुसी’ भएर आँखामा समस्या पर्नेको साथै ज्यानै नै खतरामा पर्न सक्छ,’ विज्ञहरूले भनेका छन्।
मधुमेह, मोटोपन, भएका व्यक्तिलाई कोरोना भएर जटिलता हुने सम्भावना बढी हुन्छ भन्ने तथ्य थाहा थियो। ‘कालो’ ढुसीको समस्या पनि यसमा जोडियो। ‘मधुमेह नभएका व्यक्तिलाई पनि ‘स्टेरोयड’ चलाउँदा एक्कासी शरीरमा चिनीको मात्रा बढ्न सक्छ,’ विज्ञहरूले भन्छन्।
जटिलतामाथि जटिलता हुन थालेको छ कोरोनाको संक्रमणले। यद्यपि, एउटा कुरा त स्पष्ट छ कि कोभिड भएका सबैलाई जटिलता हुँदैन, तर अहिले केही जटिलता नभए पनि एक्कासी श्वासप्रश्वासमा समस्या परेर ‘प्राणवायु’ दिन नभ्याउँदै मृत्यु भएको समाचार छ। कतिचोटि कोरोनाबाट बच्न घरबाट बाहिर ननिस्केका तर बाहिरबाट आएका मानिसहरूसँग कुराकानी गर्दा, भेटघाट गर्दा पनि संक्रमण भएको घट्ना छ।
‘मेरो त रोग प्रतिरोधात्मक शक्ति बलियो छ’ भनेर हात हल्लाएर मास्क नै नलगाई हिँड्ने, विवाह, ब्रतबन्धमा गएर रमाइलो गर्नेलाई पनि कोरोना भएकोलाई त व्यक्तिगत रुपमा मैले चिनेकी पनि छु। कोरोनाबाट सकेसम्म बच्न मास्क लगाउने र साबुनले दात धुनेबाहेक जीवनशैली र खानपिनमा ध्यान दिनु जरुरी छ। तर, के स्पष्ट बुझ्नुपर्छ भने खानपिन र जीवनशैली परिवर्तन गरेर एक दुई दिनमा नै ‘रोगसँग लड्ने शक्ति’ बढ्छ भन्ने पक्कै होइन, दिगो रुपमा स्वस्थ रहन, भविष्यमा पनि कोरोना र कोरोनाजस्तै अन्य संक्रमबाट बच्न हामीलाई समयले सिकाएको छ।
‘मोटोपन कम गर्ने, स्वस्थ जीवनशैली र खानपिन अपनाउने’ स्वस्थ जीवनशैलीमा नै खाना, योगासन, व्यायाम, तनाव कम गर्ने व्यवहार पर्छ। खानपिनमा खाना मात्र होइन पिउने कुरा पनि स्वस्थ हुनुपर्छ भन्ने तथ्य सबैले बुझ्नै पर्ला।
‘पिउने’ भनेर मदिरा, रक्सीको मात्र कुरा हैन, दैनिक जीवनमा पिउने ‘गुलियो चिसो पानी’, ‘बट्टाका फलफूको रस’ पनि प्रयोग गर्नु हुँदैन भन्ने सिकाउँछन् पोषणविद्।
पोषण, रोग प्रतिरोधत्मक शक्तिको बारेमा जान्न र त्यसलाई व्यवहारमा ल्याउन त कोरोना संक्रमण भएर घरमा बसेकालाई जरुरी त छ, यो बिरामीबाट उठेर तंग्रिन लागेकालाई पनि जरुरी छ। ताकि भविष्यमा उनीहरूलाई संक्रमणको सम्भावना कम होस्। मैले सम्भावना लेखी हुँ, किनभने कतिचोटि त अनेक तरिकाले बचावट गर्न खोज्दा खोज्दै पनि रोगले समातिहाल्छ। तर हामीले समसया नहोस् भनेर प्रयत्न गर्न त छोड्दैनौं।
पारु नामकी ४० वर्षीया महिलाको आमालाई मधुमेह छ। पारुका बुबा पनि मधुमेहले बितेका थिए। त्यसैले पारुलाई मधुमेह हुने सम्भावना एकदम बढी छ। ‘कोरोनाको बेला तपाईँ र तपाइँको आमालाई यो संक्रमणबाट बचाउन जरुरी छ है,’ मैले केहीअघि पारुलाई भनेकी थिएँ।
‘मधुमेह भए पनि लड्डु, पेडा, लालमोहन र चिसो पेय पदार्थ खानबाट रोक्न नै नसक्ने आमालाई त मैले कोरोना संक्रमण भए जीउ ज्यानमा नै खतरा पर्छ, अक्सिजन कम भए अस्पताल पनि कता लैजानु र? भनेपछि त मेरी आमालाई चेत आएको छ। पछिल्लो तीन महिनामा त उहाँको तौल ८ किलो घटेर मधुमेहको औषधी पनि डाक्टरले घटाइदिएको छन्। ‘कोरोनाको डर’ नभएको बेलामा मैले जति भने पनि वास्ता नगर्ने मेरी ६८ वर्षीय आमाको स्वास्थमा सुधार आएको छ। मान्छेलाई अरुले भनेर होइन, भित्रबाट डर पलाएपछि मात्र ज्ञान आउने रहेछ,’ उनले भनिन्। पारुको कुराले हामीलाई सोच्न बाध्य गराउँछ किन हामी समस्या आउनुभन्दा पहिले त्यसबाट बच्ने उपायमा ध्यान नदिने होला?
मोटोपन, मधुमेह, विभिन्न मुटुरोगको बीचमा घनिष्ठ सम्बन्ध छ भन्ने प्राय:लाई थाहा भए पनि बेवास्ता गरिन्छ। अनि जब रोग लाग्छ ‘ऐया र आत्था’ गरेर अस्पताल, औषधी र डाक्टरको खोजी हुन थाल्छ।
सबै रोग र समस्यालाई रोक्न नसके पनि कतिपय समस्या रोक्ने त हाम्रो हातमा हुन्छ। हामी भविष्यमा गाह्रोसाह्रो पर्ला भनेर बैंकमा पैसा जम्मा गर्छौ, सुन किनेर लगानी गर्छौं। समस्या परेको बेलामा कसैको अगाडि हात फैलाउन नपरोस् भनेर तर ‘पैसा सुरक्षा गर्न’ जान्ने हामीले ‘आफ्नो स्वास्थ्यको सुरक्षा’ गर्न किन हेलचेक्र्याइँ गरेको होला बुझिनसक्नु छ। आफ्नो जीवन सुखी राख्न हामी मेहनत गर्छौं, कमाइ गर्छौं, पैसा जोगाउँछौं तर यी सबै कुराको आनन्द लिने शरीरमा रोगको संक्रमण नहोस्, मन र शरीर आनन्दित होस् भन्ने कुरा चाहिँ किन ध्यान नदिने होला?
सुत्केरी भएपछि पारुको तौल ५६ किलोबाट ७६ किलो भएको थियो। चकलेट, मिठाइ, गुलियो पेय पदार्थ खान भनेपछि हुरुक्कै हुने पारुलाई आफूलाई मधुमेह हुने सम्भावना ‘अति धेरै’ छ भन्ने कुरा थाहा नभएको पनि होइन। तर, जिब्रोको स्वादको अगाडि पारुले केही वास्ता गरेकी थिइनन्। जब उनलाई मोटोपनको कारणले ढाड र घुँडा दुख्यो अनि बल्ल उनलाई चेत आएछ।
पारूले खाना, मिठाइ, चिनी, चकलेट र कोल्ड ड्रिंकको सेवन चट्टै छोडेर योगासनलाई जीवनमा भित्र्याएपछि तीन महिनामा उनले १५ किलो घटाइन्। जब मोटोपन घट्यो। उनको कतिपय समस्या त आफैं ठिक भए, बल्ल पारुलाई स्वाद नियन्त्रण नगरी नहुने रहेछ भन्ने लाग्यो। कोरोनाको बेला पारुले घरमा बस्दा पनि स्वस्थकर खाना मात्र खाइन र अर्को तीन किलो तौल घटाइन्। अहिले पारु र उनको परिवारले प्रतिज्ञा गरेका छन्, ‘कोरोनाको संक्रमणबाट बच्न सबै उपाय अपनाउने। स्वस्थकर खाना र योगासन, हिडाइको मात्रा नछोड्ने।’
स्वस्थ मानिसलाई कोरोना संक्रमण हुँदै नहुने भन्ने त अवश्य होइन तर सम्भावना कम हुने र यदि कोरोनाको संक्रमण भई हालेमा त्यसबाट हुने जटिलता हुने सम्भावना कम हुन्छ।
अहिले कोरोनाको संक्रमणबाट बच्ने प्रयास मात्र होइन, मधुमेह भएको व्यक्तिले त कोरोना संक्रमण र ‘कालो ढुसी’को संक्रमणबाट पनि बच्ने प्रयास गर्नैपर्छ। ‘कालो ढुसी’ भारतमा धेरै कोरोना संक्रमितलाई जटिलता उत्पन्न गराएको छ। दृष्टिमा समस्या उत्पन्न गराएर जीवन बचाउन आँखा नै झिक्न परेको घटनाहरू प्रकाशमा आएका छन्।
शरीरको रोगसँग लड्ने शक्ति कोरोनाको बेला मात्र होइन अन्य बेलामा पनि सुदृढ राख्नुपर्छ। ‘क्षयरोगबाट बच्न’ पनि रोगसँग लड्ने शक्ति बलियो हुनु पर्यो। कुनै चोटपटक लागेर तग्रिंन पनि रोग प्रतिरोधात्मक शक्ति बलियो हुनु पर्यो।
मधुमेह भए पनि रोगसँग लड्ने शक्ति कम हुन्छ, त्यसैले मधुमेह सकेसम्म नहोस् भनेर प्रयत्न गर्न पर्यो।
आज भन्दा ३८ वर्षअघि म क्षयरोग भएर अस्पतालमा उपचार गराउँदा मलाई डाक्टरहरूले भनेका थिए। ‘औषधीसँगै तिमीले स्वस्थ खानपिनमा ध्यान दिन जरुरी छ। नत्र रोग ठिक भए पनि बल्झन सक्छ’ त्यो कुराले मलाई पोषणको महत्व बुझाएको थियो। म तत्कालीन सोभियत संघको युक्रेन सहरमा चिकित्सा विज्ञानको छात्रा थिएँ। मलाई केही रसियन साथीहरूले ‘घिउ कुमारी’को रस खानु भनेर ‘मह र घिउकुमारी हालेको’ औषधी ल्याइदिएका थिए। त्यो देखेर मलाई उपचार गर्ने डाक्टरले भनेका थिए, ‘यस्तो खान दिने तिम्रा साथीहरूले साँच्ची नै तिमीलाई माया गर्दा रहेछन्।’
त्यो बेलामा औषधीसँग मन नलागी नलागी खाएको घिउकुमारीले मलाई क्षयरोगबाट तग्रिंन मद्दत गर्यो। अनि त्यही बेलादेखि मलाई वनस्पतिहरूको चिकित्सकीय महत्व पनि बुझ्न सिकायो। त्यो ज्ञान मैले अहिले पनि व्यवहारिक रुपमा प्रयोग गर्ने कोशिश गर्दैछु।
अहिले कोरोना कालमा त संक्रमण भएर घरमा बसेका मानिसहरूले, बिरामीले स्वस्थ जीवनशैली र खानपिनको महत्वको बारेमा बढी बुझ्ने मौका पाएका छन्। तर कति प्रयोग गर्छन्, हेर्न पर्नेछ।