ढिलो चाँडो कोरोनासँग मित्रता गाँस्नु पर्नेछ, एक वर्ष अघि नै सोचेको थिएँ। अन्ततः १ वर्ष पुगेको अवसर पारेर मेरो परिवारलाई कोरानाले पकड्यो।
सधैँ डर थियो जब म कोरोनाको साथ हुन्छु बुढी आमालाई कसरी जोगाउन सकूँला? आमा झण्डै ८० पुग्न लाग्नु भएकी, दमको बिरामी र नियमित अक्सिजन दिनुपर्ने। भगवानसँग यही प्रार्थना गर्थेँ, आमासँग कोरोना डराओस्।
त्यतिकै डर थियो मसँगै बाचिरहेका १६ जना बालबालिकाको। उनीहरुको पनि माया गर्ने म र मेरो परिवारमात्र थियौं। त्यसकारण आमा र बालबालिकाबाट टाढा हुने प्रयास गर्थेँ।
म रोटरी क्लबदेखि अन्य केही समाजिक संघ-संस्थाहरुमा संलग्न, विभिन्न कार्यक्रमहरु भ्इरहने। भौतिक सहभागितालाई अति कम गर्न कोसिस गर्दागर्दै पनि सहभागी हुनुपर्ने। घरमा कडा अनुशासनमा बस्ने कोसिस गर्दथेँ।
घरमा जेष्ठ सदस्य र बालबालिकासँग टाढा रहन्थेँ। म बाहिर गएको, घर आएको आमालाई थाहा नदिने प्रयास गर्थेँ। आमा कौसीमा बस्ने, मेरो गाडी आएको गएको हेर्ने। दुई/चार दिनमा कौसीमा बसेको आमालाई टाढैबाट 'आमा, सन्चो छ नि? आफ्नो ख्याल गर्नु है' सोध्न नपाई भाग्थे। यसले आमालाई पीडा हुन्थ्यो।
उता सकेसम्म बालबालिका बसेको घरमा नजाने र टाढैबाट 'के छ नानीहरु? अनलाइन कक्षा राम्रोसँग लिनु है' भन्दै टाढैबाट बाई बाई गर्थेँ।
जर्मनले दीर्घरोगी, जेष्ठ नागरिक र बालबालिकासँग दूरी कायम गर्न र नसके सरकारलाई खबर गर्न उर्दी नै दिएको रहेछ। जोखिम समूहलाई टाढा राख्ने, भौतिक दूरी, मास्क र सेनिटाइज गर्ने विधिबाट जर्मनले लगभग लकडाउन बिना नै कोरोना नियन्त्रण गरेको रहेछ।
मैले पनि यो सिद्धान्त अनुसार पहिलो वर्षदेखि नै आमा र बालबालिकालाई टाढा राख्ने गरेको थिएँ। एक्कासी रुघा लागे जस्तो गरी जिउ दुख्यो। एक हप्ता पहिला तिलिचो तालको यात्रा गरेर फर्केकोले चिसो लागेको भान भयो। म नियमति साउना लिने, लिन मन लाग्यो र झण्डै २ घन्टा लिएँ।
तर अप्ठ्यारो महशुस भने कम भएन। साथी तुलाजीको फोन आइरहेको थियो। पक्कै भोलिबाट लकडाउन, तिलिचो यात्राको कथा सुन्नको लागि होला भन्ने लाग्यो।
एक मनमा कोरोना संक्रमति भएँ कि शंका लाग्यो तर भर्खर तिलिचो यात्राबाट आएको, पिसीआर परीक्षण गरेर अमेरिकाबाट आएका एक मित्र सौरभ बाहेक मैले शंका गर्नुपर्ने व्यक्ति भेटेको थिइनँ।
मैले फोन उठाएँ र भेट्न गएँ। अति मिल्ने साथीहरु तुल, प्रकाश, मात्रिका, राजन सहित हामी ६ जनाको भेटघाट भयो। तिलिचो तालको यात्रासँगै हाम्रो नियमित कुराहरु भयो, रमाइलो पनि भयो।
हामी रेष्टुरेन्टको भित्री कोठामा नबसेर बगैँचामा बस्यौँ। यसरी खुला ठाउँमा दूरी बनाएर बस्दा भाइरस सर्ने सम्भावना कम हुन्छ। मैले वेटरलाई सेनिटाइजर टेबलमा नै राखिदिन अनुरोध गरेँ। हामीले बसाइभरि पटक पटक सेनिटाइजर प्रयोग गरिरह्यौं।
मेरो भने शरीरको दुखाइ झनै बढिरहेको थियो। ज्वरो पनि आएको महशुस भयो। महाराजगन्जबाट भक्तपुर कटुन्जे ड्राइभ गर्न मलाई अति गाह्रो भयो। साउनाको कारणले जिउ तातेको जस्तो लाग्यो तर शरीर सहनै नसक्ने गरी दुख्दै थियो।
पहिला पहिला साउना बसेपछि दुखाइ कम हुन्थ्यो तर त्यो दिन भने अत्याधिक बढेको थियो। घर पुगेँ, मैले श्रीमतीलाई कोरोनाको शंका लागेकोले पाहुना कोठामा छुट्टै बस्छु भनेँ र खान नखाने जानकारी दिएँ।
नियमित खाने औषधि लिएँ, ज्वरो र जिउ दुखेको हुनाले ५०० एमजीको फ्लेक्सोन खाएँ। तर पनि राति निदाउन कठिन भयो, मध्यरात तिर निदाएछु। बिहान छिटै बिउझिएँ। शरीरको दुखाइ कमी भएको थिएन। ज्वरो झण्डै १०० थियो।
कोरोनाको शंका बीच त्यो दिन पनि साइनेक्स र फ्लेक्सोनको भरमा बिताएँ, ज्वरो अलि घटेको थियो तर जिउको दुखाइ कम भएको थिएन।
त्यो दिन पनि दुखसुख बसेँ तर जिउको दुखाइ कम नभएकोले ३ दिनमा कारोना टेस्टको लागि गएँ। छोरीले लिएर जाने कुरा भयो तर कोरोनाको शंकाले एक्लै गएँ। जसोतसो रगत दिएर आएँ। मेरा शरीरको दुखाइ घटेको थिएन। ज्वरो भने ९८/९९ मात्र थियो।
श्रीमतीलाई पनि खोकी लागेको, घाँटी सुख्खा भएको, जिउ दुख्ने अनि ज्वरो पनि आएको रहेछ। नभन्दै ल्याबबाट एसएमएस आयो- 'तपाईंलाई कारोना पोजिटिभ भएको छ।'
जब मोबाइलमा मेसेज पढेँ मन ढुकढुक भयो। मेरो मनोबल आधा घट्यो। मनको मनोविज्ञान बुझ्ने मेरो लागि यो ठूलो अवसर रह्यो। धेरै साथीहरुलाई भन्ने गर्थेँ- 'मनलाई बलियो बनाएर कोरोनालाई जितिन्छ।'
कुनै पनि ज्ञान लिन र दिन जति सजिलो छ, त्यति नै गाह्रो रहेछ व्यहारमा उर्तान। मसँग मन नियन्त्रण गर्नुपर्छ भन्ने ज्ञान त थियो तर मनलाई नियन्त्रण गर्ने विधि/प्रक्रिया थिएन। आफूलाई बलियो बनाउने कोसिस भने गरिहेको थिएँ।
तुरुन्तै बितेको हप्ता भित्र मसँग जोडिएका साथीहरुलाई मेरो पोजिटिभ भएको जानकारी गराएँ र क्वारेन्टाइनमा रहन आग्रह गरेँ। सबै साथीहरुले शुभलाभको कामना गर्नु भयो र म कोरोनासँग लड्न मानसिक रुपमा तयार भएँ।
एक हप्ता अस्पताल बसेर कोरोनालाई जितेका साथी ललितलाई फोन गरेँ र मेरो बारेमा सुनाएँ। ललितजीले उहाँको उपचार गर्ने बी एण्डी बीका डाक्टर फिलिपको नम्बर दिनुभयो र मैले डाक्टरलाई फोन गरेँ।
डाक्टर फिलिपले भिटामिन सी, डी, जिंक र प्यारासिटामोल आवश्यकता अनुसार लिन र सास फेर्न गाह्रो भएमा हस्पिटल आउन सल्लाह दिनु भयो। ज्वरो कम भएको र खोकी नभएकोले एन्टिबायोडिक लिनु नपर्ने उहाँको सल्लाह थियो।
अब म निश्चित भएँ श्रीमतीलाई पनि पोजिटिभ छ। छोरा, छोरी र आमालाई कुनै लक्षण नदेखिएकोले म र श्रीमती छुट्टै-छुट्टै आइसोलेसनमा बस्ने, छोराछोरी क्वारेन्टाइनमा र आमालाई हामी सबैबाट टाढा गर्ने निर्णय गर्यौं।
अस्ट्रेलियामा बस्ने छोरी ममताले फोन गरेर सबैको जाँच गर्न अति नै अनुरोध गरिन्। म पोजिटिभ भएको ४ दिनपछि आमा बाहेक सबैको टेस्ट गरियो।
भोलिपल्ट मोबाइलमा मेसेज आयो छोरी बाहेक श्रीमती र छोरोलाई पोजिटिभ। हामी ३ जनासँगै आइसोलेसनमा, छोरी क्वारेन्टाइनमा र आमा पहिले जस्तै आइसोलेसनमा रहने निर्णय भयो।
यसरी १५ दिनको दिनचर्याको तालिका बन्यो र जिम्मेदारी बाँढफाँढ भयो। छोरीलाई किचेनको जिम्मा, सबभन्दा कठिन काम थियो। तीन जना कोरोना संक्रमित र एक जना संक्रमित नभएको त्यो पनि ८० वर्षको आमाको एकसाथ सेवा गर्नु।
आमालाई जसरी नि कोरोनाबाट जोगाउनु थियो। छोरीले आमालाई सुरक्षित राख्नको लागि अध्यधिक सवधानीका साथ काम गर्दै थिइन्। म ३ दिनपछि सहज भएँ। श्रीमतीलाई पनि खोकी र ढाड दुख्ने अलि कम हुँदै थियो। छोरोलाई कुनै लक्षण थिएन।
यो ८ दिनको बसाइपछि लगभग श्रीमतीको सबै लक्षण हराएको हुनाले टेस्टको लागि अनुरोध गरेँ। श्रीमती, छोरा र छोरीलाई परीक्षणको लागि पठाएँ। साँझ मोबाइलमा जानकारी आयो- श्रीमती र छोरा नेगेटिभ तर छोरी पोजेटिभ।
हंशले साथ छोड्ला जस्तो भयो। पक्कै आमालाई पनि छोएको छ। झण्डै १/२ दिन पहिलेदेखि जिउ दुख्ने, अलि अलि ज्वरो जस्तो संकेत आमालाई भएको रहेछ तर छोरीले बढी चिन्ता हुन्छ भनेर हामीलाई भनेको रहेनछिन्।
एक दिन पहिलाबाटै आमालाई बान्ता हुन लागेको रहेछ। पटक-पटक बान्ताले आमा थकित। आमा दमको पुरानो बिरामी भएकोले अक्सिजन कन्सर्टेसन लगायत सबै आवश्यक उपकरण घरमा थियो। मैले तुरुन्त परीक्षण गर्ने निर्णय गरेँ। झण्डै छोरीलाई पोजेटिभ भएको ३ दिनमा आमालाई घरमै परीक्षणको व्यवस्था गरेँ।
ल्याब २ जनाको परीक्षण गर्नेभए मात्र घरमा आउने रहेछ। मैले आमालाई र केही पनि लक्षण नै नभएको हुँदा छोरीलाई परीक्षण गर्न लगाएँ। साँझ छोरीको ३ दिनमै नेगेटिभ र आमा संक्रमित भएको जानकारी आयो।
आमालाई बान्ता रोकिएको थिएन। त्यो रात भयानक रात हुन पुग्यो। आमा छटपटिएर बस्नु भएको। म आमासँगै आमालाई केही हुँदैन भनेर सम्झाउँथेँ। विभिन्न अस्पतालहरुमा आइसियूको लागि अनुरोध गर्दथेँ। त्यो रात मैले १० अस्पतालमा फोन गरेँ, सबैले खाली नभएकोले भर्ना लिन नसक्ने जवाफ आयो।
यता आमाको छटपटाहटबीच उहाँले रात बिताउनु भयो। बिहान छोरीले डाक्टरसँग कुरा गरिन्। आमाले खाइरहेको ६ प्रकारको औषधि र सबै लक्षण बारे जानकारी पश्चात बान्ता रोक्ने र स्टेरेटाई ०.५ एमजीको लिन भन्नु भयो।
हामी आमालाई अक्सिजन लगाउन कर गर्ने, आमा नमान्ने। मलाई अक्सिजनले गाह्रो भयो भन्नु हुने। डाक्टरसँग कुरा गर्यौं। डाक्टरले अक्सिजन लेभल ९४/९५ छ भने अक्सिजन रोक्न सल्लाह दिनुभयो। अक्सिजन बढी हुँदा बान्ता, मुख सुन्निने लगायत असर हुन सक्ने रहेछ। हामीले आमाको चाहाना अुनसार अक्सिजन दिन रोक्यौँ।
विस्तारै आमाको छटपटाहट कम हुन थाल्यो र ३/४ घन्टापछि आमा बोल्न थाल्नु भयो। २ दिनदेखि खाना खान नसकेकी आमाले केही खाना खानु भयो। आमालाई ८ घन्टा अक्सिजन रोक्दा पनि ९४/९५ थियो।
म आमासँग बस्थेँ। उहाँको खुट्टा मिच्थेँ, गाँउमा उहाँले गरेका संघर्षका कथा सुनाउन आग्रह गर्थेँ। आमा बलियो भएको र कुनै पनि रोगले केही गर्न सक्दैन भनेर साहास दिन्थेँ। तपाईं बलियो हुनु हुन्छ भन्दा हाँस्नु हुन्थ्यो। हामीले उहाँलाई कोरोना भएको भनेनौँ।
स्वर्गीय नारायण पोख्रेलको भागवत सप्ताहाको रेकर्ड युट्यूबबाट खोली दिन्थेँ। आमा मजाले सुन्ने र भजनमा नाच्ने गर्नु थाल्नुभयो। म पनि सुन्थेँ र कम्प्युटरमा व्यस्त हुन्थेँ। आमा भन्नु हुन्थ्यो- 'तेरो त कम्प्युटरमा सबै आइहाल्छ किन टिभी हेर्नु पर्यो र!'
यसरी हामी आमाछोराको तीन दिन र २ रात बित्यो। सप्ताहासँगै उहाँमा सबै कोरोनाको लक्षण सकियो। खाना मिठो भएको, स्वाद आएको भन्नु भयो। आमालाई संक्रमण देखिएको १ हप्तापछि परीक्षणको लागि गयौं। साझ जानकारी आयो आमालाई नेगेटिभ र मलाई भने फेरि पोजिटिभ।
यो साँझ मेरो जीवनको थुप्रै खुसीहरु मध्ये एक थियो। लामो सास फेरेँ र ढुक्क भएँ। अब हामी कोरोनालाई बिदा गर्ने दिनको अति नै नजिक पुगेका छौं। आमालाई हाँसेर भने- 'आमा तपाईंलाई कोरोना रहेनछ, तर मलाई कोरोना अझैँ छ।'
आमाले तुरुन्तै भन्नु भयो- 'त्यसो भए तँ तल्लो कोठामा बस्, तुरुन्तै जा।'
भित्रभित्रै हाँसे, आमालाई हेरेँ। धेरै माया लाग्यो, एक चुम्मा दिएँ र मेरो सबै समानहरु तलको कोठामा सारेँ। आमाको त्यो कोठालाई पुरै स्यानिटाइज गरेँ। अन्ततः मेरी ८० वर्षको रोगी आमाको उच्च मनोबलको अगाडि कोरोना नतमस्तक हुनपुग्यो।
मेरो फेरि २४ दिनपछि तेश्रो पटक परीक्षण गरेँ। यो पटक पनि पोजिटिभ नै आयो। धेरै साथीहरुको नेगेटिभ आएर पनि पछि निमोनिया भएको अनुभाव सुनेको थिएँ। घाँटीको खसखस र खोकी जस्तो अझै बाँकी भएकोले अस्पताल गएँ। डाक्टरलाई भेटेँ र सबै कुरा बताएँ।
उनले मेरो छातीको जाँच गरिन्, इसिजी र छातीको एक्सरे गर्न लगाइन्। सबै जाँच पश्चात 'सबै ठिक छ, यसको असर ३ महिनासम्म हुने हुनाले ढुक्कसँग पोषिलो खाना खाएर ३ महिना जति आराम गर्नुहोला' भन्नु भयो।
अन्तमा उहाँको सुझाव थियो 'चौथो पटक भने परीक्षण नगर्नु होला, बरु त्यो पैसाले पोषिलो कुरा खानुहोला।'
यो एक महिनाको कोरोनासँगको सहकार्यमा मेरो केही सिकाइ र भोगाइहरु रहे। जो भोलिको दिनमा शिक्षा हुन सक्ने देखेकोले यहाँ राख्ने प्रयास गर्दछु।
अनिवार्य परीक्षण
कोरोनासँग मिल्ने लक्षण देखिएमा परीक्षण अनिवार्य गर्नु होला। आज आइसियू र भेन्टिलेटरमा बस्ने अबस्था हुनुमा ढिला परीक्षण गर्नेहरु देखिएका छन्। परीक्षण ढिला हुँदा आवश्यक सुरक्षा, तयारी ढिलो हुने र अन्तिम अबस्थामा थाहा पाउँदा उपचार ढिलो हुने हुँदा सिकिस्त अवस्थामा पुगेको देखियो। त्यसकाराण परीक्षण गर्न नहिच्किचाउनु होला।
डाक्टरसँग सल्लाह
कुनै पनि औषधिहरु प्रयोग गर्दा डाक्टरको सल्लाह अनिवार्य लिनुहोला। सोसल मिडियामा गरेको पोष्टको आधारमा औषधिहरु प्रयोग गर्दा घातक हुने र यसले झन् उल्टो असर हुन्छ। कम्तीमा फोनबाट नै भए पनि डाक्टरसँगको सल्लाहबाट मात्र प्रयोग गर्न अनुरोध गर्दछु।
अक्सिजनको प्रयोग गर्दा होसियार
अक्सिजन औषधि होइन रहेछ। त्यसकारण यसको प्रयोग पनि आवश्यक हुँदा मात्र प्रयोग गर्ने र डाक्टरको सल्लाहमा मात्र गर्नुपर्ने रहेछ। मेरो आमालाई अक्सिजन बढी भएको देखियो। यसकारण अक्सिजन घरघरमा डाक्टरको सल्लाह बिना प्रयोग नगर्न अनुरोध गर्दछ।
जोखिम समूहलाई सुरक्षित गर्ने
तपाईंको घरमा जेष्ठ नागरिक, बालबालिका र रोगी समूहका व्यक्तिहरु हुनुहुन्छ भने उहाँहरुलाई अत्यन्त सबधानीपूर्वक परिवारको सदस्यहरुबाट टाढा राख्नु होला।
झन् घरमा कुनै व्यक्ति संक्रमित भएको अवस्थामा सक्नु हुन्छ भने अर्को फ्ल्याटमा राख्नुहोस अथवा अन्य परिवारिक सदस्यहरुको घरमा पठाउनुहोस। नसक्ने अबस्थामा पिपिई नै लगाएर उहाँहरुलाई सेवा गर्नुहोस। मैले जतिसुकै सुरक्षित गराउन खोजे पनि आमालाई संक्रमण हुनबाट जोगाउन सकिनँ।
आहारमा विशेष ध्यान दिने
रोग उत्पत्ति आधार हो खाना। खानाकै कारण हामीले विभिन्न रोग र समस्याहरुलाई शरीरमा निमन्त्रणा गरिरहेका हुन्छौं। आहारको विशेष ध्यान दिनु स्वस्थ्य रहने आधारभूत पक्ष हो। त्यसमा पनि कोरोनाको संक्रमणको बेला विशेषत चिसो, चिल्लो, रक्सी, चुरोटबाट पूर्णत टाढा रहनुहोला।
नियमित तातो पानी, झोलिलो खाना, प्रोटिन युक्त उमारेको गेडागुडिहरु लिने र सुगर प्रेसर बढाउने खानालाई तल्काल नखाने। हाम्रो किचेनमा हुने औषधिजन्य दालचिनी, ल्वाङ, सुकुमेल, पिपरा, लसुन, अदुवा, तेजपत्ता, तुलसीपत्ता र बेसार मिस्रित काडाँ बनाएर खानुहोला। यो काडाँले तपाईंको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन सहयोग गर्दछ।
शारीरिक व्यायम
अर्को महत्वपूर्ण हो व्यायम। मनलाई मात्र होइन, हामीले शरीरलाई पनि नियन्त्रित र व्यवस्थित गर्नुपर्ने हुन्छ जसले हाम्रो प्रतिरोधी क्षमतालाई चुस्त राख्न र शरीरका अंगहरुलाई चलायमन गराउन मद्धत गर्दछ।
जति हाम्रो शरीरको अंगहरुलाई सक्रिय बनायो त्यही ती अंगहरुको कार्य क्षमता बढ्ने हुँदा कम्तीमा योगासन, हिँड्ने, नाच्ने अथवा अन्य कुनै शरीरिक व्यायम कम्तीमा ३० मिनेट अनिवार्य गर्नुहोला।
मनको नियन्त्रण
कुनै पनि युद्ध होस अथवा समस्याहरु जित्न उच्च मनोबल पहिलो सर्त रहेछ। यसको लागि हामीले मनलाई नियन्त्रण गर्न सक्नुपर्दछ। हाम्रो मन हार्यो भने सम्झिनुहोस हामी हार्यौं। मैले आमालाई कोरोना संक्रमित भएको जानकारी नै दिइनँ र आमालाई हामी सबैलाई कोरोना हुँदा पनि तपाईंलाई भएन, तपाईं बलियो हुनुहुन्छ भनिरहेँ। यसरी उहाँको मन उच्च राख्न प्रयास गरेँ।
मनको नियन्त्रण ध्यानबाट मात्र गर्न सकिन्छ। त्यसकारण ध्यानलाई आजबाटै जीवनको एक अंग बनाउने प्रयास गरौं। हामी बाँच्नु अझ धेरै छ। कोरोनासँग मात्र होइन जीवनका हरेक समस्याहरुलाई सहज र सरल तरिकाबाट नियन्त्रण गर्न यसले ठूलो योगदान दिनेछ।
अन्त्यमा जीवन स्वस्थ्य रहने तीन प्रमुख आधार- आहारको उचित प्रयोग, शारीरिक व्यायम र तनाब व्यवस्थापन हो। हामी आजैबाट सात्विक भोजन, योग तथा प्रणायम र ध्यानलाई जीवनशैलीमा परिणत गरौं। सबैलाई शुभेच्छा।