कोरोना भाइरस ‘कोभिड-१९’ विरूद्ध निर्दिष्ट औषधि नभएकाले यसका एकपछि अर्को लहर आउन थालेका छन्। यस्तो बेला आम चासो नै इम्युनिटी, बानीव्यहोरा, सावधानी-अनुशासन एवं खोप (भ्याक्सिन) मा छ।
समाजका अधिकांश व्यक्ति संक्रमित भइ या खोप लगाइसकेका भएमा समूह-प्रतिरक्षा (हर्ड-इम्युनिटी) मार्फत् बचेखुचेका थोरै व्यक्ति पनि सुरक्षित हुने स्थिति आउन सक्छ।
सन्तुलित पोषण, पर्याप्त निद्रा, सामान्य शारीरिक क्रियाशीलता, तनावरहित अवस्था आदि हाम्रो इम्यूनिटीलाई सही ढंगले काम गर्न चाहिने आधारभूत तत्व हुन्। निरन्तर सामाजिक दुरी, हात र सतहको सरसफाई तथा मास्क लगाउनेजस्ता रोकथामका तरिका अवलम्बन त गर्नैपर्छ। तर कोरोनाबिरूद्ध विशिष्ट प्रतिरक्षा विकासको लागि खोपनै हालसम्मको सबैभन्दा उत्तम उपाय हो।
प्राप्त वैज्ञानिक आधार (इन्डेक्स्ड मेडिकल जर्नल, सेज (SAGE), डब्ल्यु.एच.ओ. (WHO), सि.डि.सी. (CDC), आदिमा प्रकाशित तथ्य) अनुसार कोभिडबिरूद्धका खोप (कोभिड भ्याक्सिन) बारे प्रस्तुत छ- साझा जिज्ञासा, जवाफ र तथ्यबारे महत्वपूर्ण जानकारी।
कस्ता प्रकारका छन् कोभिड भ्याक्सिन?
कोरोनाभाइरस (SARS-COV2) बिरूद्ध विशेष इम्युनिटी प्रदान गर्न अहिले पुरा या आपतकालीन मान्यता पाएका भ्याक्सिन मुख्यतया ४ समूहका छन्: आरएनए भ्याक्सिन (फाइजर खोप, मोडेर्ना), भेक्टर भ्याक्सिन (अक्सफोर्ड अस्ट्राजेनेका, स्पुत्निक-V), पूरा निस्क्रिय भाइरस खोप (कोभ्याक्सिन (भारत), कोरोनाभ्याक (चीन), बीबीआईबिपी-कोरभी साइनोफार्म) , भाइरस एकाई भ्याक्सिन (नोवा-भ्याक्स, सनोफी-जीयसके)।
मान्यता पाइसकेका केही खोप
खोप | प्रकार | डोज | खोप अन्तर | तापक्रम | बच्चाको लागि प्रयोग? |
अक्सफोर्ड-अस्ट्राजेनेका (यु.के.) | भेक्टर भ्याक्सिन | २ | ४ देखि १२ हप्ता | २-८°C | ६-१७ वर्ष समूहमा अध्ययन हुँदै |
फाइजर-बायोनटेक, (अमेरिका-जर्मनी) | आर एन ए भ्याक्सिन | २ | ३ हप्ता | -७0°C | ६ महिनादेखि ११ वर्ष र १२-१५ वर्ष समूहमा अध्ययन हुँदै |
स्पुत्निक-V, गामालेय, (रसिया) | भेक्टर भ्याक्सिन | २ | ३ हप्ता | ≤-१८°C | बाल समूहमा अध्ययन हुँदै |
बीबीआईबिपी साइनोफार्म (चीन) | निस्क्रिय (भेरोसेल) भाइरस खोप | २ | ३ देखि ४ हप्ता | २-८°C | - |
मोडेर्ना (अमेरिका) | आर एन ए भ्याक्सिन | २ | ४ हप्ता | ≤-२०±५°C (फ्रिजर) | १२-१५ वर्ष समूहमा अध्ययन हुँदै |
जान्सेन, जोन्सन & जोन्सन (अमेरिका) | भेक्टर भ्याक्सिन | १ | - | २-८°C | १२-१७ वर्ष समूहमा अध्ययन हुँदै |
कोरोनाभ्याक, साइनोभ्याक (चीन) | निस्क्रिय (भेरोसेल) भाइरस खोप | २ | ३ हप्ता | २-८°C | बाल समूहमा अध्ययन हुँदै |
कोभ्याक्सिन, (भारत बायोटेक) | निस्क्रिय (भेरोसेल) भाइरस खोप | २ | ४ हप्ता | २-८°C | २-१७ वर्ष समूहमा अध्ययन हुँदै |
कोभीड़ेन्सिया क्यान्सिनो (चीन) | भेक्टर भ्याक्सिन | १ | - | २-८°C | बाल समूहमा अध्ययन हुँदै |
स्पुतनिक-लाइट गामालेय (रसिया) | भेक्टर भ्याक्सिन | १ | - | २-८°C | - |
के भ्याक्सिन प्रभावकारी हुन्छन् ?
खोपहरू अत्यन्त चुस्त बस्तुगत वैज्ञानिक अध्ययनबाट प्रमाणित भएर उल्लेख्य प्रभावकारिता पाइए र खास चिन्ताजनक खराब असर नभेटिएमात्र प्रयोगमा आउँछन्।
वैज्ञानिक अध्ययनमा कोभिडविरूद्धका खोप पनि उल्लेख्य प्रभावकारी पाइएका छन्। संसारका कुनै पनि खोप १००% प्रभावकारी हुन्नन्। चाहे ७०% होस् या ९५% प्रभावकारी होस्, प्रमाणित र मान्यताप्राप्त खोप लगाउँदा उल्लेख्य बचाउ हुने पाइएको छ। लाक्षणिक र गम्भीर बिमारी हुनबाट त खोपले झनै बचाएको देखिन्छ। खोपले एक अर्काको बीच संक्रमण रोक्ने भए पनि पूर्ण रूपमा संक्रमण नरोक्ने हुँदा अहिले खोप लगाए पनि सामाजिक दुरी, मास्क प्रयोग, स्यानीटाइजर प्रयोग जारी राख्नुपर्छ।
बच्चालाई कोभिड खोप लगाउन हुन्छ/ पाइन्छ?
खोप वैज्ञानिक रूपमा प्रमाणित भएपछि मात्र प्रयोग हुने र हालसम्म १८ वर्ष माथिका उमेर समूहमा प्रमाणित भइसकेकाले उनीहरूलाई खोप लगाइएको हो। माथि तालिकामा उल्लेख गरेजस्तै थुप्रै खोप अहिले बच्चा र किशोर समूहमा पनि अध्ययन भइरहेको छ। यदि ती अध्ययनबाट बच्चामा पनि बिना कुनै खराब असर प्रभावकारी देखिए चाँडै बच्चाका लागि पनि खोप लगाउन सुरू हुनसक्छ।
हालसम्म फाइजर खोप अमेरिकामा १२-१५ वर्ष समूहमा करिब ६ लाख बच्चामा दिईसकिएको छ भने ६ महिनादेखि ११ वर्ष उमेर समूहमासमेत अध्ययन भइरहेको छ। प्रारम्भिक नतिजा विवरण अनुसार यो खोप यी उमेर समूहमा अत्यन्तै प्रभावकारी देखिएको छ। खास ठुलो खराब असर केही पाइएको छैन।
यस्तै रिपोर्ट आएमा आउँदो अगस्ट-सेप्टेम्बरसम्म यसले एफ.डी.ए. मान्यता पाउने आँकलन छ। ‘एन्टीबडी डिपेन्डेन्ट इन्हान्समेन्ट’ भनिने एक प्रक्रियाको सम्भावनालाई गहिरो चासोसाथ अध्ययन गरिए पनि बयस्कमा जस्तै किशोरमा पनि कुनै त्यस्ता प्रभाव देखिएका छैनन्।
फाइजर खोप अमेरिका साथै क्यानाडा, संयुक्त अरब इमिरेट्स्, सिंगापुरलगायत देशले समेत हाल १२ वर्ष माथिका उमेर समूहमा दिन सुरू गरिसकेका छन्।
तालिकामा देखाइएझैं अरू खोप पनि बाल र किशोर समूहमा अध्ययन भइरहेका छन्। छिमेकी मुलुक भारतमा ‘कोभ्याक्सिन’ खोप २ देखि १८ वर्ष समूहमा अध्ययन मान्यता पाईसकेको छ।
कसले खोप लगाउनु हुँदैन?
अहिलेसम्म प्राप्त प्रमाण अनुसार पहिले खोपसम्बन्धित एलर्जी या गम्भीर एलर्जी ‘अनाफाईलेक्सिस’ भएकाले खोप लगाउनु हुँदैन। ‘पोलीएथिलिन ग्लाईकोल’ ‘पोलीसोर्बेट’ जस्ता तत्वसँग एलर्जी हुनेले पनि कोभिड विरूद्धका खोप लगाउनु हुँदैन। हालै एमआईएससी भएका या कोभिडबिरूद्ध ‘मोनोक्लोनल एन्टीबडी थेरापी’ या ‘प्लाज्मा थेरापी’ लिएकाले पनि कमसेकम नब्बे दिन खोप लगाउनु हुन्न (तर सिडिसीअनुसार अरू नै बिमारीको लागि शिराबाट दिइने इम्युनोग्लोब्युलिन लिएका व्यक्तिले यो अवधि कुरिरहनुपर्दैन)।
यीबाहेक कुनै अन्य दिर्घरोग (दम, मधुमेह, बाथ, मिगौला, मुटुरोग आदि) भएकाले यी खोप लगाउन हुन्छ। एचआईभी हेपाटाईटिस ‘बि’, ‘सी’ आदि भएका रोगीमा खोपको वृहत अध्ययन नभएकाले तिनले चिकित्सकको परामर्शसित मात्र यी खोप लगाउनुपर्छ।
गर्भवती र स्तनपान गराउने महिलाले खोप लगाउन हुन्छ कि हुन्न?
गर्भवती महिलामा खोपको क्लिनिकल ट्रायल नभएकाले यसको लागि ठोस प्रमाण छैन। तर यी महिलामा अरू महिलाभन्दा बढी खतरा हुने हुँदा अधिकांश देशका निर्देशिकामा यी महिला समूहमा पनि खोप दिइएको छ।
प्रारम्भिक नतिजाअनुसार प्रतिरक्षा प्रदान गरेको छ र कसैमा नराम्रो असर भेटेको रिपोर्ट छैन। स्तनपान गराउने महिलाको हकमा आमालाई अरू बयस्क बराबरको सुरक्षा त दिन्छ नै, खोपले बच्चामा स्वास्थ्यलाभ दिने संकेत पाइएका छन्। तसर्थ अधिकांशत: कोरोनाका खोप निर्देशिकामा स्तनपान गराउने महिलालाई खोप लगाउने निर्देश छ।
खोप लगाइसकेकालाई पनि कोरोना हुनसक्छ?
कुनै पनि खोप प्रभावकारी देखिए पनि शतप्रतिशत प्रभावकारी हुन्न। तसर्थ खोपपछि संक्रमण हुँदै हुन्न भन्ने हुँदैन। तर अहिलेसम्मको आँकडाअनुसार दोस्रो डोज खोप लगाइसकेर करीब २ हप्ता भइसकेकामा राम्रो सुरक्षा दिएको पाइएको छ। संक्रमण देखिए पनि अति कम लक्षण देखिने र गम्भीर कोभिड बिमार नदेखिने पाइएको छ।
कोभिडको पहिलो डोजभन्दा पछि प्रारम्भिक इम्यूनिटी सिर्जना मात्रै हुने हुँदा उल्लेख्य प्रतिरक्षा देखिन दोस्रो डोजपछि करीब २ हप्ता लाग्छ। हालको खोपको उपलब्धतामा समाजतहको प्रतिरक्षा नआइसक्ने हुँदा खोपपछि पनि एक अर्कोबाट संक्रामक बुँद आफूसम्म आउनसक्ने हुनाले सावधानीका उपाय अवलम्बन गरिरहनुपर्छ।
पहिलो खोप लिएर दोस्रो खोप लगाउन केही ढिलो भए के हुन्छ?
वैज्ञानिक तथ्यका आधारमा दुई खोप बिचको अवधि तोकिएको हो। यो अवधिअघि दोस्रो डोज लगाएमा पूर्ण प्रतिरक्षा पाइन्न। यो अवधिभन्दा पछि लगाउँदा के कस्तो नतिजा आउँछ भन्नेबारे अहिले धेरै प्रमाण छैनन्। तसर्थ सकेसम्म सही अवधिमै दोस्रो डोज लगाउनुपर्छ। तर समय घर्के पनि सबभन्दा चाँडो उपलब्ध समयमा दोस्रो खोप लगाउनु बान्छनीय हुन्छ। यसो गर्दा पनि उल्लेख्य प्रतिरक्षा प्रदान हुन्छ। कहिँ दिन घर्केर फेरि पहिलो पुरा तालिका खोप दोहोर्याउनु पर्दैन।
पहिलो एक भ्याक्सिन लगाएकोले दोस्रो डोजमा अर्कोथरी खोप लाउन हुन्छ?
यसरी एकपछि अर्को खोप बदलेर लगाउँदा कति प्रतिरक्षा दिन्छ र कस्ता हानी हुनसक्छन् भन्ने अहिलेसम्म अध्ययन बाहिर आइसकेको छैन। क्रस-भ्याक्सिनेसन पनि वैज्ञानिक अध्ययन भइरहेको छ। त्यसको नतिजा नआउन्जेल पहिले जुनथरी खोप लगाएको हो त्यही खोपकै दोस्रो डोज लगाउनु उचित हुन्छ। पहिलो आरएनए खोप लाउँदा केही प्रतिक्रिया भइ दोस्रो लगाउन नपाएकाको लागि जान्सेन खोप लगाउन कमसेकम २८ दिन अवधिपछिलाई तोकिएको छ।
सिफारीसभन्दा बढी पटक डोज लगाउन हुन्छ?
बढी डोजको लागि कुनै वैज्ञानिक आधार नभएकोले अहिले सिफारिस अनुसार उल्लिखित डोज मात्रै लगाइनुपर्छ।
कोभिड भइसकेकाले भ्याक्सिन लगाउन हुन्छ/पर्छ?
संक्रमणपछि ३ देखि ६ महिना प्रतिरक्षा हुनसक्ने भनिए पनि रक्षित अवधि पूर्णरूपमा थाहा नहुँदा र कोभिड भइसकेकालाई समेत पुन:संक्रमण देखिएकाले संक्रमितले पनि लक्षण र आइसोलेशनपछि तोकिएको समयमा खोप लगाउन हुन्छ। संक्रमणमुक्त भएको ठ्याक्कै कतिदिनपछि खोप लगाउनेबारे सबै खोपमा एकनास नियम छैन। फाइजर र बीआईबीपी (साइनोफार्म) को निर्देशिन अनुसार संक्रमण सकिएर आइसोलेशन बाहिर आएपछि लगाउन हुने भनिएको छ भने कतिपय देश (जस्तै हङकङ, आदि) ले संक्रमणपछि एक डोज मात्रै दिने नियम बनाएका छन्। भारतमा संक्रमणपछि खोपबीच ४ हप्ताको अवधि राख्ने निर्देशिका छ। खोपको उपलब्ध मात्राअनुसार देशले संक्रमण पश्चातका व्यक्तिको निम्ति अवधि निर्धारण गरेका छन्।
एक डोज लगाएपछि कोभिड संक्रमण भएकामा दोस्रो डोज के गर्ने?
यो अवस्थामा सिडिसी र फाइजर खोप निर्देशिका अनुसार आइसोलेसन सकिनासाथ तोकिएको समय आएमा दोस्रो डोज लगाउन सकिनेछ भने भारतको आईसीएमआर निर्देशिकाअनुसार भने लक्षणसहितका संक्रमितमा ४ हप्तापछि मात्रै दोस्रो डोज लगाउने निर्देश छ। कोभिड भएका, कोमभिडविरुद्ध मोनो-क्लोनल एन्टीबडी दिईएका वा प्लाज्मा दिइएको भए पनि कोभिड दोस्रो डोज नब्बे दिन अघि लाउनु हुन्न।
कोभिड खोपले नयाँ भेरियन्ट-रूप बिरूद्ध प्रतिरक्षा प्रदान गर्छ?
अध्ययन गरी विकास गरिएका खोपले सामान्यतया बृहत प्रतिरक्षा सृजना गर्ने हुँदा भेरियन्टबिरुद्ध पनि केही न केही प्रतिरक्षा दिन्छन्। कोभिड खोपहरू मुलरूपको भाइरसविरुद्ध परीक्षण गरिएकाले भेरियन्ट/ उत्परिवर्तित रुपको भाइरस बिरुद्ध कस्तो प्रभाव देखाउँछ भन्नेबारे दरिलो ट्रायल नतिजा आएको छैन। अत: सबैखाले लहरका बेला खोप लगाउनु सुरक्षादायी हुन्छ।
प्रारम्भीक रिपोर्ट अनुसार खोप लगाएका व्यक्तिमा संसारका विभिन्न भागमा फरक फरक खोप समूहमा पनि गम्भीर रोगबाट बचाएका रिपोर्ट आएका छन्। साथै नयाँ भेरियन्टको लागि खोपमा झिनो परिवर्तन गर्नुपरेमा के गर्ने भन्ने बारेमा पनि थप अध्ययन चलिरहेका छन्।
कोभिड खोपले कति समयसम्म उल्लेख्य सुरक्षा दिन्छ?
कोभिड खोपहरू हालै मात्र विकास गरिएकाले कति लामो अवधिसम्म यसमार्फत सुरक्षा मिल्छ भन्नेबारे ठोस तथ्यांक छैन। यो बिस्तारै अध्ययनबाट थाहा हुनेछ। तर हालसम्म पाइएका आँकडाअनुसार संक्रमणपछि र खोपपछि केही महिनाको अवधिसम्म पुन:संक्रमणबाट बचाएको स्पष्ट छ। यो अवधि कति लामो समयसम्म रहन्छ भन्ने कुराको अहिल्यै निर्क्यौल गर्न गाह्रो छ।
इम्यूनिटी बढाउने औषधि पनि हुन्छन्?
खोप नै एउटा प्रतिरक्षावर्धक चिज हो जसले कुनै विशेष किटाणुबिरूद्ध प्रतिरक्षा दिन्छ। हामीले खाने खानेकुराले इम्यूनिटी प्रणालीको हरबखतको कामको लागि चाहिने उत्प्रेरक पदार्थ प्रदान गर्छ। अहिले चर्चामा आएका उत्प्रेरक जस्तै जिंक, आइरन, भिटामिन ‘सी’, भिटामिन ‘डी’ आदि चाँही प्रतिरक्षा प्रणालीका कोष, तन्तुलाई सुचारू काम गर्न कुनै स्थानमा जरूरी पर्ने तत्व हुन्।
तसर्थ यिनले प्रचार गरिएजस्तो ‘इम्यूनिटी बुस्ट’ गर्ने होइनन्, बरू सुचारू राख्न मद्दत गर्ने हुन्। अत्यन्त मिहीन मात्रामा चाहिने र हामीले खाने सन्तुलित भोजनमा नै यी चिज जति चाहिने हो त्यति पाइने हुनाले कुपोषित या विशेष तत्वको कमीको अवस्था बाहेक ट्याब्लेटको रूपमा लिन जरूरी हुन्न। प्रतिरक्षा बढाउन खोप साथै पोषण, निद्रा, अभ्यास, तनावमुक्त शरीर र मनले टेवा पुर्याउँछन्।
कोभिडका अब आउने लहरबाट बच्न के गर्नुपर्छ?
फेरि पनि कोभिडबाट आफू र समाज बचाउने एक मात्र रोकथाम भनेको खोप नै हो। तसर्थ बढीभन्दा बढी व्यक्तिलाई खोप लगाउन सकिए समाजका कोही व्यक्ति संक्रमण भैसकेका र अधिकांश खोप लगाईसकिएको अवस्थामा मात्र कोभिड़का आगामी लहर हावी हुन पाउने छैनन्। दोस्रो कुरा हो, हाम्रो आनी बानी। एक लहर जानुसँगै हामीले सावधानी (सामाजिक दुरी, मास्क प्रयोग, हातसफाई) मा लापरवाही गरेमा हामी पुन: अर्का लहर या फेरिएका भेरियन्टको चपेटामा पर्न सक्छौं।
तेस्रो कुरा, सामाजिक-प्रतिरक्षा बिन्दु हो, यसको लागि बढीभन्दा बढी व्यक्ति तन्दुरूस्त, खोप लगाइसकेका हुन जरूरी हुन्छ। चौथो, संक्रमण फैलने शृंखलालाई कहीँ तोड्नु। यसको लागि सामाजिक दुरी नै उपाय हो। भाइरस उत्परिवर्तित भएमा कमजोर पनि हुन सक्छ, झन् बढी फैलने या बढी घातक पनि हुन सक्छ। दुवै स्थतिको लागि खोप र सावधानी नै बुद्धिमतापूर्ण अस्त्र हुन्।
(लेखकले पेडियाट्रिक इम्युनोलोजीमा विद्यावारिधि गरेका छन्।)
(माथि लेखिएका सम्पूर्ण तथ्य बिभिन्न इन्डेक्स्ड मेडिकल जर्नलहरु, सेज (SAGE), डब्ल्यु.एच.ओ. (WHO), सि.डि.सी. (CDC) आदिमा प्रकाशित तथ्यमा आधारित हुन्।)