समयले कति बेला कुन मोड लिन्छ पत्तै नहुने रहेछ।
'हाम्रो अनलाइन क्लास कहिलेबाट सुरु हुन्छ?'
'वि आर हेल्थ कन्सियस।'
'हाम्रो ज्यानलाई जोखिममा राखेर तपाईंहरुले के गर्न खोज्नु भएको?'
यी प्रश्नहरु त्यतिबेलाका हुन् जतिबेला निषेधाज्ञा लागु होला भन्ने छनकसम्म थिएन नेपालमा। अझ नेपाल के भन्नू, काठ्माडौँ उपत्यका भित्र।
आफ्नै ज्यान जोखिममा राखेर कसैलाई ज्ञान दिन अथवा भविष्य बनाइदिन भनेर बिहान सबेर निस्केको एउटा शिक्षकले अपेक्षा नगरेको प्रश्न आफ्नै विद्यार्थीले तेर्स्याउँदा त्यो शिक्षक को मन कस्तो होला?
तीनका प्रश्न जायज जरुर थिए, तर परिस्थितिले जायज कुराहरु पनि स्वीकार गर्न सक्ने क्षमता दिइरहेको थिएन। किनभने एउटा शिक्षक भएर बाँचिरहेको थुप्रैलाई थाहा छ ती अनलाइन कक्षा पढाउनुपर्ने बाध्यात्मक दिन कति भयानक छन् भनेर।
यहाँनेर आएर विभेदकारी बन्न खोजेको त होइन तर आफूले अलि बढी प्राथमिकता दिइरहेको विद्यार्थीहरुबाट यो प्रश्न सुन्दा मलाई झट्का नलागेको त होइन, तर आफूलाई सम्हालेँ।
किनभने ती अबोध बालकहरुबाट आएको त्यो प्रश्न नियोजित थिएन। तर झट्का किन पनि लाग्यो भने, पोहोर सालको लकडाउन भोगिसकेको शिक्षक जीवनले अब सायदै जीवनमा यस्ता लकडाउन अपेक्षा गर्दैनन्।
तिनलाई थाहा छ आफू पीडा लुकाएर अरुको लागि खुसी दिनु के हो भन्ने कुरा, राज्यले हरेक तह र तप्कालाई प्राथमिकता दिइरहँदा आफ्ना योगदानहरु छायामा पर्नुको पीडा के हो भन्ने कुरा निजी संस्थाका शिक्षकहरुलाई राम्रोसँग थाहा छ।
दु:ख पनि सुरुसुरुमा आउँदा खुसीको मुहार लिएर आउँछ क्यारे, पहिलो चरणको लकडाउन त्यस्तै भएको थियो। तर जब लकडाउन लम्बिँदै गयो र आफूले प्राप्त गर्नुपर्ने आर्थिक श्रोतको मुहार खुम्चिँदै गयो। तब सुरु भयो जीवनको अर्को समस्या।
धेरैलाई अभ्यस्त नभएका कुराहरुमा लाग्नु पर्यो। जीवनमा सबैलाई प्राथमिकता दिँदैगर्दा प्राथमिकता दिन बिर्सिएको प्रविधिमय जीवनलाई एकपल्ट बाध्यात्मक प्राथमिकता दिनुपर्दा सायदै समस्या नभएको कमै होलान्। परिस्थिति यस्तो आयो कि त्यहाँ अप्सन भनेकै 'कि गर कि मर'को थियो।
आफू पोख्त नभएको क्षेत्र इन्टरनेटको माध्यमबाट बल्लतल्ल कक्षा सञ्चालन गर्नू, त्यसमाथि पनि केही उच्छृङ्खल विद्यार्थीहरुले बीच-बीचमा बाधा व्यवधान पुर्याउनु, जीवन त्यति सहज पक्कै पनि थिएन।
भोलि केही गरी खुसी आउला नि त भन्ने आशा च्यापेर आजको कक्षा अन्त्य गर्नू र फेरि अर्को निराशासँगै अर्को कक्षा सञ्चालन गर्न हँसिलो मुहार लगाएर तयार हुनु सजिलो पक्कै थिएन ती शिक्षकहरुलाई।
कथा धेरैका आए, सामान्य जीवन बाँच्नेदेखि अग्रस्थानमा कार्य गर्नेहरुका कथा आए, तर भोलिको भावी पुस्तालाई तयार गर्दै गरेका ती शिक्षकहरुका कथा गुमनाम भए शिवाय ट्रोल र केही अनलाइन कक्षाका भाइरल भिडिओ बाहेक।
जीवनमा चाहेका मात्र पाटाहरु कहाँ आउँछन र? आफूले पढाइरहेका त्यो पनि कक्षा ११ का विद्यार्थीहरु मार्फत अनलाइन कक्षाको माग गर्नू, मनमा नराम्रो त पक्कै लागेको थियो। त्यसमाथि पनि परीक्षा बहिस्कार गर्न अनलाइन श्रोत मार्फत दबाब दिनु सकरात्मक पक्कै लागेको थिएन।
जीवनमा केही स्वार्थ जरुर हुन्छन्, तर एउटा शिक्षकको स्वार्थ भनेको नै उसका विद्यार्थीहरु अरुभन्दा अब्बल बन्नू भन्ने हुन्छ।
जीवनमा आफूले अध्यापन गराएको विद्यार्थीको सफलतामा ती विद्यार्थीले ढोल पिटेर खुसीयाली मनाउँदै गर्दा कुनै एउटा कुनामा ती शिक्षक मुसुक्क मुस्कुराएर सगरमाथा चुमे झैँ गरी खुसी भैरहेको हुन्छ। सायदै ती विद्यार्थीले जीवनमा ती शिक्षक पनि कुनै दिन थिए भन्ने बिर्सिसकेका हुन्छन् होला।
सकरात्मक पक्ष पनि नभएका होइनन्। कोही ती भिडमा यस्ता विद्यार्थी पनि छन् जसले आफ्ना जमातका साथीहरुले शिक्षकको ट्रोल बनाउँदै गरेको देख्दा सुटुक्क शिक्षक सामु ती कुरा पोख्छन् र भन्छन्- 'नकाम गरे साथीहरुले।'
हामी बुझ्छौँ ती इमान्दार विद्यार्थीहरुको बाध्यता पनि। साथीभाइ सामु एक्लिनुपर्ला र भोलि आफूलाई आपत आइपर्ला भनेर चाहेर पनि खुलेर आफ्ना साथीहरुका हर्कतलाई समर्थन गर्न नसक्दा नसक्दै पनि खुलेर बिरोध पनि गर्न सक्दैनन्। तीप्रति सदैव सद्भाव जागेर नै आउँछ।
'आफूलाई पर्दा जसोतसो सहिँदो रहेछ, तर ह्वेन इट कम्स टु योर प्यारेन्ट्स, सहन गार्हो पर्दो रैछ म्याम्।'
एकजना शिक्षकको यो पीडा फेसबुकको म्यासेजमा पढ्दै गर्दा मुटु चिरिएर आयो। जिन्दगीले कहिलेकाहीँ यस्तो ठाउँमा ल्याइदिँदो रहेछ जहाँ चाहेर पनि केही गर्न नसक्दा केवल थकथाकाउनु र मुर्मुराउन सकिँदो रहेछ।
आफू काठमाडौँको कोठामा, कोठाको छुट्टै अर्को कोठामा कोरोना पोजिटिभ बहिनी। तिनको स्याहार सुसार र दिनभर संस्थाको रुटिन अनुसारको अनलाइन कक्षा। त्यति नै बेला घरबाट बुवालाई आइसियूमा राखिएको खबर अनि आफू निषेधाज्ञाका कारण जान नसक्नुको पीडा।
यतिका सबै भोगेर पनि अनलाइन कक्षा पढाउँदै गर्दा विद्यार्थीले गरेको नराम्रा हर्कत। जीवनमा जस पाउन अरु नै भएर जन्मिन पर्दो रहेछ भन्ने भान शिक्षकहरुलाई यति बेला लाग्दो रहेछ।
अर्का एकजना शिक्षक साथी, जो बुवा बिरामी भएर घर जानु परेको, अस्पताल धाउनुसँगै अनलाइन कक्षा संचालन, खुलेर आफू जागिर छोड्न पनि नसक्नु किनभने डर छ भोलि बुवाको उपचारमा आर्थिक भार उठाउनु पर्दा त्यो पल्ला निकै भारी पर्छ भन्ने कुरा।
जीवनमा हर कोहीको आफ्नै समस्या छन्, मानिस हरेकको हरेक तह र तप्का अनुसारका समस्या छन् हुन्छन् पनि। तर तीबीच पनि मेहनत गरेर एकोहोरो अनलाइनमा निर्जीव ल्यापटप अघि चिच्याउनु र दोहोरो कुराकानी गर्न खोज्दा ती अफ भएका भिडिओ र म्युट गरिएका माइकहरुमा नाउँ बोलाउँदै चिच्याउनु र उताबाट जवाफ नआउनू, मसान घाटमा एक्लै प्रत्युत्तरको आशामा चिच्याए सरह हुन्छ।
दिनभर ढाँड दुख्ने गरेर बनाएको स्लाइड, बत्ती जाँदा डाटा लिएर सञ्चालन गरिएको कक्षा, अनि स्कृनअघि बस्दा बस्दा थाकेका आँखा, अन्त्यमा अभिभावकका गुनासा, अनलाइन पढाइले गर्दा केही बुझिएन, यी सब सुन्न मुस्किल नपर्ने सायदै कम नै होलान्।
खैर पेशाले शिक्षक भैसकेपछि परिस्थितिलाई अनुकूल बनएर सकरात्मक सदैव रहनु भन्ने कुरा गुणमै हुने रहेछ। भलै राज्यले बेवास्ता किन नगरोस्, भलै गुनासाहरु किन नआउन्, तर पनि आफूलाई अध्यापन गराउनु भएको एकजना गुरुआमा मङ्गला मानन्धर म्याडमले मास्टर्स केमिस्ट्रीको क्लासमा भन्नुभएको थियो, 'जीवनमा विद्या बाँड्नु पनि धर्म नै हो।'
यहीँ वाक्य सम्झिन्छु र ती सारा बेवास्ताहरुलाई बेवास्ता गरिदिन्छु। आज नहोला कहीँ न कहीँ कतै न कतै यि कामहरुको मूल्यांकन जरुर होला।
दु:ख त्यतिबेला मात्र लाग्दोरहेछ जतिबेला आफूले अनुशासन संस्कार सिकाएर हुर्काउँदै गरेका विद्यार्थीहरु मध्येबाट आफू ट्रोलको शिकार बन्नु पर्छ। आफू जस्तै दु:ख गरिरहेका अरु शिक्षकहरु मजाकको पात्र बनिरहेका देख्दा जरुर मन दुख्दो रहेछ।
पेशाले जोडिएको यो भावनात्मक नाता पनि अचम्मैको हुने रहेछ। खैर! जीवनमा कुनै पनि कुरा सतप्रतिशत लागु भने हुँदैन। त्यही सम्झेर चित्त बुझाउनु पर्ने रहेछ। एउटा शिक्षक भएको नाताले आग्रह गर्न सकिन्छ कि अप्ठ्यारो सबैलाई छ, यी अप्ठ्याराहरुमा हातमा हात एउटा न्यानो साथ काफी छ।
फ्रन्ट लाइनमा काम गर्ने ती अरु कर्मचारी झैँ शिक्षकको देनलाई पनि अलिकति मात्र पनि प्रशंसा गरिदिने हो भने ती सबै शिक्षक फुरुङ्गै हुन्छन्। अनलाइन ह्यारासमेन्टदेखि लिएर आफूले भोगेका सप्पै पीडा बिर्सन्छन्।
शिक्षक मात्र किन? प्रहरी प्रशासन, हस्पिटलमा खटिएका नर्स-डक्टर, बैंकका कर्मचारी, अनि बाध्य भएर अनलाइन पढिरहनु परेका प्यारा-प्यारा विद्यार्थी भाइबहिनीहरु। सबैजनाको यो योगदानको प्रतिफल भोलि राष्ट्रले पाउनेछ जरुर।
हामी मिल्न सक्यौँ भने हाम्रै जीवन सहज हुन्छ। गाह्रो सबैलाई छ। यो गाह्रोहरु बीच एउटा मिठो मुस्कान साटौँ अलिकति भएपनि माया बाडौँ ताकि एकैछिनलाई भएपनि दु:ख बिर्सिने मल्हम बनोस्।
आग्रह यति कि यी अप्ठ्यारा परिस्थितिको सामना सबै मिलेर गरौँ, कसैको आलोचना गर्नुभन्दा पनि तिनको योगदानको थोरै कदर गरौं। यो समय पनि बितेर जानेछ। भोलि कसो उज्यालो मुहारको सूर्य नउदाउँला!