राम्रैसँग खाना खाएर सुत्नु भएको साथी मध्यराततिर उठेर धरधरी रून थाल्नुभयो।
हामी सबैले के भयो भनेर सोध्यौं। यदि कोही पीडामा हुँदा उसका बारेमा सोध्यौं भने सम्हालिन सकिँदैन नि! हो, उहाँ पनि हामीले सोधेपछि झन् रून थाल्नुभयो। सायद सम्हालिन गाह्रो भो होला।
एक साथीले एक गिलास पानी ल्याएर उहाँलाई दिनुभयो। तर उहाँलाई पानी पिउने मन भएन।
हातमा रहेको मोबाइल देखाउँदै हामीलाई सानो स्वरमा भन्नुभयो, ‘आमा बित्नु भयो।’
व्यथा थाहा पाएपछि हामीलाई पनि सम्हालिन गाह्रो भो।
के कसरी मृत्यु भएको हो भनेर सोध्ने हिम्मत हामीमा थिएन।
सोधौं पनि कसरी ?हिजो मात्र रमाइ, रमाइ आमासँग म घर आउँदै छु भनेर मीठा, मीठा कुरा गर्दै हुनुहुन्थ्यो। आज अचानक मृत्यु भएको खबरले हामी सबै स्तब्ध भएका थियौं।
उहाँलाई सहानुभूति दिने प्रयास गरिरहेका थियौं।
साथी दस दिनपछि घर जाँदै हुनुहुन्थ्यो। आमाको लागि किनेका कोसेली रूममा छरपस्ट थिए।
उता आमाको शव आँगनीको डिलमा।
धेरै बेरको रुवाइपछि साथीलाई सम्झाइबुझाइ गरी शान्त पार्यौं। अनि तुरून्त कसरी घरजान व्यवस्था मिलाउने भन्ने सोच्न थाल्यौं। एकातर्फ कोरोना महामारी, टिकट पाउन मुस्किल नै हुन्छ त्यसमाथि पिसिआर रिपोर्ट अनिवार्य चाहिने।
घर त जसरी पनि जानु नै थियो।
साथी सहर बसोबास गर्ने भए पनि उहाँको गाउँमा पुर्ख्यौली घर थियो।
आमालाई पुर्ख्यौली घर जान मन लागेकोले उतै जानुभएको रहेछ।
आमाको मन त हो नि,आफू पहिलो पल्ट भित्रिएको घर नै खास हुन्छ, संसार हुन्छ। साथीको मन एकोरिएको थियो।
फेरि घरबाट फोन आयो।
फोन मैले उठाएँ। उहाँको परिवारसँग मेरो पनि राम्रो सम्बन्ध थियो। आमासँग पनि पहिला पहिला धेरै कुरा हुन्थ्यो। उहाँ एकदम मायालु स्वभावको हुनुहुन्थ्यो। मलाई पनि एकदम माया गर्नुहुन्थ्यो।
फोन गर्ने साथीसँग कुरा हुँदै थियो। हामी हरसम्भव छिटो साथीलाई घर पठाउने छौं भनें।
अनि खासमा आमालाई के भएको हो भनेर पनि सोधें।
‘खासै केही पनि भएको थिएन।’ उनले छोटो जवाफ फर्काउँदै फेरि थपे।
‘गाउँमा आएपछि खाना पनि आफैं बनाउने गर्नुभएको थियो। नातिनातिना आउँछन् भनेर त्यो दिन अति खुसी हुनुहुन्थ्यो। दिनभर उनीहरू कतिबेला आउँछन् भनि बाटो हेर्दै बस्नु भएको थियो। दिनभर घरको सफाइ पनि आफैं गर्नु भएको थियो। नातिनातिनाको लागि ठूलै तयारीमा हुनुहुन्थ्यो। अझ बढी खुसी अर्को हप्ता लामो समयपछि परदेशदेखि आउने छोराको पर्खाइ थियो।
आमा यस्तै कुरामा रम्दै हुनुहुन्थ्यो। आमाका यी सपना एकैछिनमा विलिन हुन्छन् भन्ने झनक कसलाई थियो र! छोरो आउन त एकहप्ता बाँकी थियो। नातिनातिना भने आँगनमा आइसकेका थिए। जब नातिनातिना कारबाट झरेर आमाको अगाडि उभिए। आमाको खुसीको सीमा रहेन।
अर्को कुरो नातिले पहिलोपल्ट कार गाउँको घरको आँगनमा राख्दा। सबै खुसी एकैपल्ट आएको अनुभव गर्नु भयो। सबै जना खुसीको हाँसो, हाँस्दा हाँस्दै समय दुखदायी हुन पुग्यो। हाँस्दै गर्नु भएकी आमा हाँस्दै मुख पनि बन्द नगरी जमिनमा लडनु भयो।
हामी सबैले उहाँलाई गाडीमा राखेर हस्पिटल पुर्यायौं। तर सबै प्रयास असफल भयो। आशा निराशामा परिणत भयो। अन्तत आमालाई आगँनको डिलमा तुलसीको मोठ नजिक राख्न बाध्य भयौं।
यति कुरा सुनेपछि मेरा आँखाबाट पनि आँसु तप्कियो। अनि फोन काटें।
दैव कति निष्ठुरी! मान्छे मार्न एउटा बहाना पनि नचाहिँदो रहेछ। एकै छिनमा सबथोक समाप्त गर्न सक्ने शक्ति हुँदो रहेछ।
मेरो मनमा तर्क वितर्कको आँधी नै आएको थियो। साथीभाइलाई भन्न सक्ने अवस्था पनि त थिएन।
सबै चिन्तामा थियौं। मलाई रातो बाकसको पनि सम्झना आएको थियो।
जब परदेशमा रातो बाकस तयार हुन्छ त्यो बेला पनि घरतिर हामीलाई यहाँ भएजस्तो त हुन्छ नि। फरक यति हो, रातो बाकस कानुनी प्रकियाबाट जानुपर्ने हुन्छ। तर आँगनीमा राखिएको शव छिटो मसानघाट लान सकिन्छ।
रातो बाकस परदेशबाट घरकालाई पीडा दिँदै आउँछ। आँगनीमा भएको शव परदेशीलाई पीडा दिँदै घर ल्याउँछ।
रात बित्दै थियो। अब सोचेर बस्ने समय थिएन। साथीको लागि घर जाने बेव्यवस्था गर्न हामी सबै जानु थियो। कोही ट्राभलतिर। कोही साथीलाई लिएर पिसिआर गर्न।
कम्पनीमा त इमेल गरिसकिएको थियो।
उज्यालोसँगै हामी सबै काम सक्यौं। दिनभरिको प्रयासपछि राति एयरपोर्टमा साथीसँगै हामी पनि गयौं। साथीका आँखा पिलपिल भएका थिए। मन थियो साथीसँग गला मिलाई बिदाइ गरौं तर त्यो पनि सम्भव थिएन। कोरोना प्रकोपले टाढैबाट बिदा गर्नुपर्ने अवस्था थियो। सोही अनुरूप हात हल्लाई बाई गरियो।
समयको परिबन्दमा परेर आँगनीमा रहेको शव नातिले उठाउन परे पनि आफ्नो धर्म अनुसार काजकिरिया गर्न साथी घर पुग्नु हुने भयो। हामी यसैमा सन्तुष्ट भयौं।
अचम्मको दैवको लीला अपरम्पार,
यस्तै छ परदेशीको सात समुद्र पारी
दुःखदायी संसार।।