सुन्दरता र कुरूपता यस्ता विषय हुन् जसलाई सुन्न बहस गर्न अझै समाज खुला भएजस्तो मलाई लाग्दैन।
पत्रपत्रिका, अनलाइन पोर्टल वा जुनकुनै सञ्चार माध्यममा पाएको केही स्थानले छलफलको थालनी त भएको छ तर सुन्दरता र कुरूपताकै नाममा आज पनि हामी विभेदको नमीठो जन्जिरमा पिल्सिएका छौं।
अझै पनि हामी कस्तो देखिन्छौं कै आधारमा हामी विभेद र एक प्रकारको सामाजिक प्रेसरमा पर्छौं भन्दा कतिलाई अपत्यारिलो पनि लाग्न सक्छ , लाग्नु अर्को कुरा तर यर्थाथलाई नर्कान गाह्रो नै हुन्छ, आज पनि गुगलमा अत्यधिक सोधिने प्रश्नमध्ये “ कसरी सुन्दर बन्ने” भन्ने प्रश्न एक हो।
यसले जनाउँछ हामी सुन्दर बन्ने भीडका एक पात्र हौं। तर सुन्दरता केलाई भन्ने यो अर्मूत प्रश्न अर्मूतताको अर्को वृत्तमा एक्लै घुम्दै छ।
भर्खरै सुरक्षा देवकोटाको “कसलाई सुन्दर भन्ने” आलेख सेतोपाटीमा देखेपछि मलाई लाग्यो अब बहस र विमर्शमा म किन सुन्दर भइनँ, कसलाई सुन्दर मान्दैछ समाज वा बाहिरी सुन्दरताभन्दा किन भित्री सुन्दरता चाहिन्छ भन्नेजस्ता विषय भन्दा अझै पर गएर छलफल गर्न पो आवश्यक छ कि ! थाहा छैन नेपालमा सुन्दरताका मापदण्ड त्यसको विकासक्रमबारे केही बौद्धिक छलफल भएका छन् कि छैनन्।
मैले यदाकदा आफ्नै अनुभव लेख्दा पनि म बाँचेको समाज र मेरा आफ्नै आफन्त पनि कम्फरटेबल नभएको हो कि भन्ने मैले महशुस गरेको छु।
धेरैलाई लाग्दो रहेछ मैले आफ्नो कुण्ठामात्र बढी बोलें। तर विषयको हिसाबले यो मेरो कुण्ठामात्र हो भन्ने मलाई कहिल्यै लागेन। आज पनि संसारमा केही बिक्छ भने त्यो सुन्दरता र ग्ल्यामरको नाममा बढी बिक्छ। जसको उदाहरण फेयरनेस क्रिम पनि एक हो। त्यसैले त हामीजस्तो देखिन्छौं त्यसमा खुसी र सन्तुष्ट हुन कठिन छ।
मानिसको सुरूआती विकासक्रमलाई हेर्ने हो भने सुन्दरता र कुरूपताको केही धारणा नै थिएन।
मानिसको जीवनमा आधारभूत आवश्यकता परिपूर्तिबाहेक परको कुनै गन्तव्य थिएन। स्त्री र पुरूषको आकर्षणको आधार पनि जनावरमा झैं यौनिक आवश्यकता थियो त्यो भन्दा पर पुरूष भनेको यस्तो हुनुपर्छ अथवा स्त्री भनेको यस्तै हुनुपर्छ भन्ने अवधारणहरू थिएनन्।
समाज सरल थियो एक तरिकाबाट विभेदहरू कम थिए। शक्तिको स्रोत शरीर नै थियो जसको शक्ति उसको भक्ति भनेझैं।
विस्तारै मानव विकास र समृद्धिका आधार थपिँदै गए। हाम्रो जीवन भौतिक र बौद्धिक रूपमा बढी विकसित र सरल तर अर्कातर्फबाट हेर्दा बढी कठिन बन्न पुग्यो।
मानव जीवनमा अनौठा आधार थपिए धर्म, ज्ञान, विकास र सत्ताका नाममा।
जति यस्ता आधार थपिँदै गए मानव जीवन अझै सरल बन्नुको साटो अझ कठिन बन्न पुग्यो।
आज हामीले बहस गर्ने सुन्दरता र कुरूपता यी यस्तै आधारका अति विकसित स्वरूपहरू हुन्।
समाज र सभ्यताको विकाससँगै हाम्रो दैनिक जीवन सरल त बन्दै गयो तर बिस्तारै शक्ति र सत्ताको नाममा हामीले अनौठा अवधारणा बनाउँदै गयौं।
शक्ति र सत्ताको पहिलो स्वरूप सायद पितृसत्ता थियो। पितृसत्ताले पुरूष जातिलाई सत्ताको केन्द्रमा राख्यो फलस्वरूप महिलाहरू साइमन दि बुबाको भाषामा भन्दा अन्य “ द अदर” भए। विस्तारै अन्यको भूमिका भोग्याको रूपमा विकसित हुँदै गयो। महिलाहरू पुरूषको भोग्या बने। जब कोही कसैको भोग गर्ने चिज बन्छ भने ऊ एउटा सामग्री जस्तो बन्न पुग्छ। महिलाहरूको हकमा पनि त्यही बन्यो। पुरूषले भोग गर्दा जस्ता स्त्रीहरू चाहन्थे कालान्तरमा ती सुन्दर ठहरिए अरू कुरूप।
महिलाको हकमा सुन्दरता र कुरूपताको अवधारणा यसरी नै बन्यो।
समयसँगै हरेक अवधारणा र विचारहरू परिवर्तित हुँदै गए। महिलाको सुन्दरतासम्बन्धी पनि समाज र भूगोलको आधारमा केही अवधारणाहरू त परिवर्तन भए तर महिला र सुन्दरता एक अर्काका पर्याय हुन् भन्न समाज छोडेन।
महिलालाई भोग्या भन्दा परको स्थानबाट हेर्न अझै समाज तयार भैसकेको छैन त्यसैले त अझै महिलालाई हेर्ने पहिलो दृष्टिकोण उसको शरीर बन्छ।
सुन्दा अनौठो र कुरूप लाग्ने यही विकासक्रमको उपज नै सुन्दरताको आजको परिभाषा हो।
किन महिलालाई यस्तै स्वरूपको हुनुपर्छ भन्न्ने दबाब बढी दिन्छ समाज तर पुरूषलाई कम दिन्छ उत्तर सजिलो छ किनभने पुरूषको स्थान कहिल्यै भोग्याको रूपमा रहेन।
पुरूषको परिचय उसले आर्जन गर्ने धन र उसले भोग गर्ने सामग्रीसँग गाँसिन पुग्यो। फलस्वरूप आज पनि पुरूषको प्रतिष्ठा उसको शरीर होइन कि उसले भोग गर्ने शरीर हो।
त्यसैले त महिलाको शरीर पुरूष र परिवारको प्रतिष्ठा बन्यो।
समयसँगै सुन्दरताको स्वरूप त बद्लियो तर सुन्दरताको परिभाषा बदलेन।
हामी सबैलाई थाहा छ सुन्दरता भाववाचक नाम हो जसको गणना संख्या र स्वरूपमा हुँदैन, जसको मात्रा बाहिरी स्वरूपले निर्धारण गर्दैन। तर ठिकविपरीत आजको सुन्दरताको परिभाषा कसैको सुगठित शरीर र शारीरिक बनावट बन्न पुगेको छ। जसले सुन्दरताको अर्थ र त्यसबारे निर्माण गरिएको अवधारणमा रहेको अमिल्दो विरोधाभाष देखाउँछ।
यसरी विकसित सुन्दरताको अवधारणामा विस्तारै पुँजीवाद र आधुनिकताको प्रभावले अझै अर्कै स्वरूपमा रूपान्तरित गर्यो। हामीलाई लाग्न सक्छ अब त समाज परिवर्तित छ पुरूष र महिलाको बौद्धिक स्तरमा खासै अन्तर छैन, महिलाको अस्तित्व अब पुरूषको भोग्याको रूपमा मात्र छैन र पनि किन आज पनि किन महिला नै सुन्दर र कुरूपको नाममा विभेदको सिकार भएका छन्?
यस्तो हुनुमा पुँजीवादको महत्वपूर्ण हात छ। जसले सुन्दरतालाई बजारको एउटा अभिन्न अंगको रूपमा बनायो र भनिदियो यदि तिमी स्वतन्त्र र आत्माविश्वासी बन्न चाहन्छौ भने तिमी यस्तो स्वरूपको हुनुपर्छ।
त्यसैको आधारमा अहिलेका कस्मेटिक उद्योग फस्टाए। त्यही बजारले विश्व शक्तिको केन्द्रमा रहेका सेता छालाधारीहरूलाई सुन्दर र शक्तिबाट पर रहेका धुमिल छालाधारीहरूलाई कुरूपको नामले परिभाषित गर्यो।
आज हामी जति नै शिक्षित भए पनि पृत्तिसत्ता र पुँजीवादको जन्जिरबाट टाढा छैनौं। त्यसैले त हामी आफ्नै शरीरबारे बढी चिन्तित छौं। गोरो हुनको लागि क्रिम लगाउँछौं, दुब्लो हुनको लागि स्लिम टि पिउँछौं।
अहिले विश्वव्यापी रूपमा चलेको ब्युटी विजनेस, स्लिम टि, ग्रिन टि, लेजर थेरापी यसैका उपज हुन्।
त्यसैले हामी जानकार त छौं तर स्वतन्त्र छैनौं।
हामीलाई थाहा छ हामी जे देखिन्छौं त्यो सुन्दरता होइन र पनि काला गोराको नाममा, अग्लो होचोको नाममा, मोटो दुब्लोको नाममा विभाजित छौं।
अन्त्यमा सुन्दरता एक आम शब्द हो। सुन्दर भनेर सम्बोधन हामी कला, साहित्य, प्रकृति सबैलाई गर्छौं तर सुन्दर भन्नु अघि यस्तै चिजलाई सुन्दर भन्नुपर्छ भन्ने अरू चिजहरूमा कुनै मापदण्ड छैन।
तर मानिसमा अझै भन्नुपर्दा महिलाको हकमा हामीसँग सुन्दरताका यस्ता मापदण्डहरू छन् जसले अधिकांशलाई सुन्दर होइन कुरूपको दर्जामा धकेल्छ।
केलाई सुन्दरता मान्ने केलाई नमान्ने यी यस्ता अर्मूत प्रश्नको किन हामी ठोस उत्तरलाई सर्वमान्य ठान्ने वैचारिक विमर्श पो आवश्यक छ कि ?