केही समयअघि मेरो एक जना साथीको बुवा बित्नुभयो।
उमेरले पाँच दशक पनि पार नगर्नुभएको बुवा एक्कासि हर्टअट्याक भएर बितेको खबर निकै बेरसम्म पनि पत्यार लागेकै थिएन।
आफन्तले अस्पतालसम्म पुर्याए पनि अस्पतालले बाटोमै निधन भइसकेको घोषणा गर्यो। अर्को साथीमार्फत् बुवाको निधन भएको खबर प्राप्त भएको थियो।
बुवाको अन्त्येष्टिको लागि पशुपति आर्यघाटमा लैजाने तयारी भएको खबर पनि पाएँ। अन्तिम पटक भए पनि बुवालाई भेट्न आर्यघाट जाने निधो गरेँ तर अहँ पाइला फिटिक्कै लागेनन्। एक कदम पाइला अगाडि बढाउँछु दिमागले तीन कदम पछाडि सोच्न पुग्छ।
कसरी जाने ? गएर पनि के गर्ने ? भर्खर सुत्केरी भएर माइतीमा बस्न आएकी छोरी मेरी साथीलाई के भनेर सम्झाउने ? सुगर र प्रेसरको रोगी आमासँग कसरी मुख देखाएर सम्झाउने ? भर्खर विदेशबाट आएको दाइलाई के भन्ने ? आर्यघाटमा बुवाको अन्त्येष्टिमा जम्मा भएका आफन्तको रोदन र चित्कार कसरी हेर्ने ? मनले धेरै कोशिस गर्दा पनि पाइला अगाडि बढ्न सकेनन्, अन्त्यमा म आर्यघाट गइनँ, जान सकिनँ।
साथीलाई एक पटक फोन गरेर समवेदना दिन पनि आँट आएन। एकातिर भर्खर बुवा बितेको आलो घाउको पीडा, अर्कातिर एक महिना अघिमात्रै अपरेसन गरेर प्रसूति भएको व्यथा साथीलाई केही गरे पनि फोन गर्ने आँट चलेन। अर्की साथीमार्फत् घटनाको बारेमा सबै अपडेट भइरहेकी थिएँ।
आमा र छोरीबाहेक सबै आफन्त आर्यघाट गएको जानकारी अर्की साथीले गराइन्। आफैंले बुवा गुमाएको चोट सम्झिएँ।
आफूलाई पर्दा संसारमा मै मात्रै पीडित हुँ, मेरामात्रै आफन्त बितेका हुन् कि भन्ने आभाष हुन्छ र हुँदो रहेछ। साथीलाई पनि सायद त्यस्तै भएको होला भनेर मेरो हिम्मत आएन उसलाइ भेट्ने, फोन गर्ने।
दिनभरि निकै तनाव भयो। सुत्केरी भएकी साथी भेट्न जाँदा बुवासँग भेट भएको थियो। हट्टाकट्टा बुवाको त्यही मुहार मात्रै स्मृतिमा घुमिरह्यो। अरू कुनै रोग नभएको बुवा एक्कासि हृदयघातका कारण बितेको खबर सुन्दा आफैंलाई कस्तो कस्तो भइरह्यो। साथीको बुवा हो र त मलाई यति धेरै तनाव भएको छ भने खुद आफ्नी छोरीलाई कस्तो भइरहेको होला ? म सोच्न पनि सक्दिनँ।
साँझ अर्की साथीले अन्तिम संस्कारको काम सकिएको जानकारी गराइन्।
तेह्र दिने कामको लागि पशुपतिको किरियापुत्री भवनमा बसेको पनि जानकारी दिइन्। साँझमा सामाजिक संजाल हेरेको त मृतक बुवाप्रति समवेदना दिनेको ओइरो देखियो।
सामाजिक सञ्जालमा पनि सक्रिय मृतक बुवालाई समेत ट्याग गरेर श्रदाञ्जलीको वर्षा भएको थियो। सायद कोही आफन्त नै होलान् जसले बुवाको शव चितामा राखेको बेलाको, चितामा दागबत्ती दिन लागेको बेलाको, छोरा भावविह्वल भएर चिताको वरिपरि घुमेको बेलाको फोटो खिचेर स्वयम मृतक बुवाको फेसबुकमा समेत ट्याग गरिएको थियो।
यति मात्रैमा कहानी सकिएको छैन। चितामा राखिएको शव पूरै जल्यो कि जलेन भनेर दाउराले ओल्टाइ पल्टाइ गरेको समेत तस्बिर खिचिएको थियो।
मृतक बुवाको शवसँगै हँसिलो मुहारमा सेल्फी समेत खिचेर 'पोस्ट' गरिएको थियो त्यो पनि छोरा, छोरी र स्वयम दिवगंत हुनुभएका बुवाको फेसबुकमा समेत ट्याग गरेर।
हामी कुन संस्कार र सभ्यतामा हुर्किएका छौं ? चेतनशील प्राणी हामी मानव अझैसम्म पनि किन सामाजिक बन्न सकिरहेका छैनौं? एक जना आफन्तको परिवार उजाडिएको छ।
कसैको बुवा, कसैको श्रीमान, कसैको नजिकको आफन्त सदाको लागि अस्ताएको छ। एउटा परिवारमा शोकको सन्नाटा छाएको छ अर्को परिवार वा भनौं अरू आफन्तजन भनिएकाहरूलाई किन यति ठूलो खुसीयाली वा उत्सव भइरहेको हुन्छ ? आफ्ना बुवाको निधनको शोकमा भावविह्वल भएका परिवारजनले नहेरौं भन्दा पनि हृदयविदारक तस्बिरहरू हेर्नुपर्ने बाध्यता आइलागेको छ।
तेह्र दिनको काम सकिएपछि सामान्य दैनिकीमा फर्किएका आफन्तजन जतिबेला बुवाका पोजपोजका फोटा सामाजिक संजालबाट देखे, बुवा गुमाएको क्षणभन्दा त्यो क्षण बढी दुखद बन्न पुग्यो।
म स्वयमलाई मनमनै लागेको थियो, होइन अहिलेका मान्छेको मन हुँदैन कि कसो ? मनमा माया, सदभाव हुँदैन कि? आफन्तको वियोगमा सेल्फी खिचेर खुसीयाली मनाउने कस्तो शैली हो ? नचिनेको मान्छेको पीडा र रोदनमा त दुखी हुने हामी सामाजिक प्राणी आफ्नै आफन्तको वियोगमा किन यतिधेरै उत्साहित बन्छौ ?
सामान्यतया तस्बिर कुनै महत्वपूर्ण घटनाको स्मरण होस् भनेर खिच्ने गरिन्छ, संग्रह गर्ने गरिन्छ। तर सूचना प्रविधिको अहिलेको जमानामा हामी यति धेरै असामाजिक बन्दै गइरहेका छौं, त्यसको भेउ पाउन पनि मुस्किल भइरहेको छ। कस्तो सोच छ हाम्रो ? चितामा सुताएको मृत शरीरसँग हँसिलो मुहारमा सेल्फी खिच्छौं अनि उही मृतकलाई फोटो ट्याग गर्छौं।
प्रविधिको यो हदसम्मको विकृतिलाई क्षम्य मान्न सकिँदैन। यो त काल-गतिले मृत्यु भएका व्यक्तिको शवसँगको सेल्फीको कुरा भयो।
अर्को प्रसंग, एक जना चिनेको भाइको बाइक दुर्घटनामा परी निधन भयो।
भर्खर स्नातक पढ्दै गरेको भाइ साथीसँग घुम्न निस्किएको बेला दुर्घटना भयो र दुवै जनाको निधन भयो। सवारी दुर्घटना भन्नासाथ त्यसको डरलाग्दो तस्बिर हाम्रो मनमा उब्जिहाल्छ, त्यसको फोटो वा भिडिओ खिचेर व्याख्या, विस्तार गरिरहनु पर्दैन।
एक्लो छोरा सवारी दुर्घटनामा परी निधन भएको खबरले बुवाआआमा मुर्छित थिए, सम्झाउने, बुझाउने कोशिस सबैको खेर गएको थियो। बिस्तारै घाउ बिर्सदै जान लागेका बुवाआामलाई आफ्नै छोरीले फेसबुकको एउटा तस्बिर देखाउँदा एक महिनासम्म छट्पटाहट्मै बित्यो।
कोही आफन्तले सडकमा रक्ताम्य भएर लडेको भाइको फोटो खिचेको थियो, भाइको खुट्टा एकातिर , जिउ अर्कैतिर थियो, माइक्रोको चेपमा टाउको अड्किएको, सडकको रेलिङमा बजारिएको, भुइँमा रक्तमुछेल भएको, शरीर क्षतविक्षत अवस्थामा भएको तस्बिर कोही आफन्तले फेसबुकमा राखेर मृतक भाइलाई समेत ट्याग गरेर हार्दिक श्रदाञ्जली भनेर लेखेको रहेछ।
बुवाआमा सामाजिक सञ्जालबाट टाढा, दिदी पनि त्यति अभ्यस्त नभएका कारण दिदीको कोही साथीले तस्बिरको बारेमा जानकारी गराएकी रहिछन् । त्यो हेरेपछि दिदी छाँगाबाट खसेजस्तै भइन्।
सडक दुर्घटनामा परेको आफ्नै भाइको विभत्स तस्बिरले धेरैदिनसम्म दिदीको निद्रा खोस्यो, भोक खोस्यो, होशै खोस्यो। सहन नसकेर आमालाइ सुनाइन्, फोटो देखाइन्। त्यसपछि आमालाइ ऐंठन भयो। दागबत्ती दिन गएका बुवाले समेत राम्रोसँग अन्तिम पटक मुख हेर्न समेत सकेनन्।
एउटा पोको बनाएर पुलिसले आफन्तको जिम्मा लगाएको थियो। नजिकका आफन्तले दुर्घटनाको बेलाको विभत्स तस्बिर सामाजिक सञ्जालमा राखिदिँदा आफन्तलाई थप बज्रपात थपियो।
हामी अलिकति संवेदनशील किन बन्न सक्दैनौं ? आज कोही दुर्घटनामा पर्छ, घाइते रक्ताम्मे , पीडामा छट्पटाएका तस्बिर खिच्न, मृत्यु भएका शरीरको तस्बिर खिच्न हतार गर्छौं तर दुर्घटनामा घाइतेलाई उद्धार गर्न हतार गर्दैनौं।
यस्ता कदम आजकाल सामान्य जस्तै बन्न लागेका छन्। हुँदाहुँदा आफ्ना आमा बुवाको निधनको खबर पनि सामाजिक सञ्जालमा पोष्ट गर्न हतार हुन्छ हामीलाई।
मेरो आमा, मेरो बुवाको यति वर्षको उमेरमा निधन भयो, उहाँको शव यात्रा यति बजे हुँदैछ, दाहसंस्कार यति बजे हुँदैछ, शव यात्राको लस्कर पनि पनि मृतकका छोराले कुनै उत्सव जसरी पोष्ट गर्छन्। कति हिम्मत हुन्छ हो हामीलाई ? जन्मदाता बुवाआमा गुमाएको चोटभन्दा पनि फेसबुकमा लाइक र कमेन्टको ओइरो खोज्छौं हामी। कति असामाजिक बन्दै गइरहेका छौं हामी ?
एक जना आफन्तले सवारी दुर्घटनामा निधन भएकी आफ्नी श्रीमतीलाई ट्याग गर्दै स्टाटस लेखे, आज मेरी श्रीमतीको सवारी दुर्घटनामा परी निधन भयो....। यही घटना ठिक उल्टो भइदिएको भए ???
श्रीमतीले मेरो श्रीमानको सवारी दुर्घटनामा परी दुखद निधन भयो भनेर लेख्न सक्थिन् होला कि ? के गर्थिन् होला ? आफ्ना बाउआमा गुमेको, आफ्ना जीवनसाथी गुमेको, नजिकका आफन्त बितेको खबर अरूलाई सुनाउनमात्रै होइन हृदयविदारक तस्बिरसहित देखाउन कति हतारो हुन्छ हामीलाई ?
चितामा सेल्फी खिच्ने, मृतकलाई ट्याग गर्ने अनि असंवेदनशील बन्दै गएका हामी आधुनिक प्राणी खास मान्छे चाहिँ कहिले बन्ने ? अर्काको मृत्युलाई उत्सव जस्तै ठान्ने मनुवा आफ्नै परिवारभित्र त्यही घटना भइदिए ? त्यसको बारेमा हेक्का राख्ने कहिले ?
अन्त्यमा भन्न चाहन्छु, निकै उत्साह भएजसरी चितासँग सेल्फी खिच्ने मनुवाको आत्माले साँच्चिकै के भन्दो हो ?