म आफ्नो स्टलमा बसिरहेको थिएँ।
एकजना मानिस विस्तारै आए र भने- चराहरूका बारेमा मलाई थाहा नभएको कुरा तिमी भन्न सक्छौ?
उनलाई अब के कुरा भन्ने मलाई थाहा भइसक्यो। मैले मुसुक्क हाँस्दै भनेँ- सक्छु।
उनी पनि मुस्कुराए।
फेब्रुअरी १२ मा 'डार्विन डे' भनेर मेरो विश्वविद्यालयले चार्ल्स डार्विनको जन्मदिन मनाउने गरेको छ। त्यो दिन विश्वविद्यालयले विभिन्न कार्यक्रम गर्छ। डार्विनबारे धेरैलाई थाहा भए पनि उनको क्रमिक विकासको सिद्धान्तले के भन्छ र किन यो महत्त्वपूर्ण छ भन्ने विस्तृत जानकारी धेरैमा हुँदैन। मैले त अझ जानकारीभन्दा यसबारे धेरैलाई भ्रम भएको देखेको छु।
विश्वविद्यालयले पनि यस्तै जानकारी जनमानसमा पुगोस् भनेर यो कार्यक्रम सुरू गरेको थियो। कार्यक्रममा विभिन्न स्टल थिए। स्तनधारी, सरीसृप, उभयचर, जीवाश्म र वनस्पतिका छुट्टाछुट्टै स्टल! प्रत्येक स्टलमा सम्बन्धित विषयका शिक्षक तथा विद्यार्थी हुन्थे। आगन्तुकलाई जानकारी दिने वा उनीहरूको जिज्ञासा मेटाउने काम तिनैले गर्नुपर्ने।
मेरो भागमा परेको थियो- चरा।
चरा, उनीहरूको उडान र क्रमिक विकासबारे मैले जानकारी दिनुपर्ने थियो।
कार्यक्रम दुई दिनको थियो। दोश्रो दिन एउटा स्कुलका विद्यार्थी आए। उनीहरू आएपछि भिडभाड बढ्यो। सबै रमाउँदै जीवाश्म भएतिर कुदे।
जीवाश्म भनेको आजभन्दा लाखौं करोडौं वर्षअघिका मान्छे, जीव, जनावर तथा वनस्पतिका अवशेष हुन् जो जमिनमुनि माटोमा खाँदिएर जस्ताको तस्तै बसेका हुन्छन्। ती जीवाश्म कार्यक्रमको एउटा स्टलमा राखिएको थियो। लाखौं वर्षअघिको संसार चिहाउने आँखीझ्याल मानिने यी जीवाश्म हेर्न कसलाई रमाइलो लाग्दैन र?
सबभन्दा धेरै भिड नै जीवाश्म भएका ठाउँमा थियो। त्यसपछि नार्वल (मुखमा लामो चुचो भएको सानो खाले ह्वेल जो पानीमा बस्छ) को कंकाल भएको ठाउँमा! म आफ्नो स्टलमा मान्छे नहुँदा कुदेर त्यता गएर हेर्थेँ।
म बसेको स्टलमा पनि फाट्टफुट्ट मान्छे आउँथे। स्टलअगाडि ट्याक्सीडर्मी (मरेका पशुपन्छीका भित्री सबै अंग निकालेर छालालाई नकुहिने बनाउने र भित्र पनि नकुहिने सामग्री भरेर बनाइएको आकृति) गरेका चराहरू, कंकाल र अन्य जानकारीमूलक कुरा राखिएको थियो।
एउटा पर्चामा प्रश्न पनि राखिएको थियो- के चराहरूको उडान एकैपटकमा विकसित भएको हो?
सोध्न खोजेको के थियो भने, चरा उत्पत्ति भएदेखि नै उड्न सकेको थियो कि पटकपटक गरेर तिनीहरूको उड्ने क्षमता विकास भयो?
आउनेहरूलाई पहिले यही प्रश्न सोधिन्थ्यो। कसैले एकचोटि भने, कसैले पटकपटक। धेरैले आ-आफ्नो कुरा राखे।
उडानको कुरा गर्ने हो भने विभिन्न जनावहरू गरेर उडान कम्तीमा चारचोटि विकास भएको पाइन्छ- कीराफट्यांग्रा, टेरोसोर (एक प्रकारको सरीसृप), चराहरू र अन्त्यमा चमेरामा। यसबारे म पछि लेख्नेछु।
आउने-जाने सबैले अरू पनि केही प्रश्न सोध्थे। म उत्तर दिन्थेँ। त्यही क्रममा ती मानिसले मलाई आएर भनेका थिए, 'चराबारे केही यस्तो कुरा भन्नु जुन मलाई थाहा छैन।'
'के तपाईंलाई थाहा छ? चराहरू डायनासोर हुन्?' मैले उल्टै सोधेँ।
उनी र उनका साथीको अनुहारमा देखिएको भावले मालाई थाहा भयो, उनीहरूलाई यसबारे थाहा थिएन।
'द्याट्स नट ट्रु,' एक जनाले भने।
'इट इज,' मैले भनेँ।
उनीहरूलाई मात्र होइन, धेरैलाई यसबारे थाहा छैन। हामीले हाम्रै वरिपरि देखिरहने चराहरू कसरी विकास भए होलान् भन्नेबारे निकै कम थाहा पाएका हुन्छौं। यिनीहरू किन र कसरी उड्न सक्ने अनौठा भए, यिनीहरू भएर संसारलाई के फरक पर्छ लगायत कुरा हामीमध्ये धेरैलाई थाहा नहुन सक्छ।
त्यसमाथि चराहरू डायनासोरकै एउटा रूप हुन् भन्ने जान्दा मै पनि सुरूमा अचम्म परेको थिएँ। संसारबाट करोडौं वर्षअघि लोप भएका डायनासोर कसरी चरा हुन सक्छन्?
हुन सक्ने रहेछ नि।
करोड वर्षअघि संसारमा उड्न सक्ने अरू धेरै जनावर थिए। तर तिनका पखेटा-प्वाँख थिएनन्। चराहरू कसरी विकसित भए भनेर वर्षौंसम्म वैज्ञानिकहरू रनभुल्ल परे। संसारमा पाइने दस हजारभन्दा धेरै प्रजातिका चरा कहाँबाट आए भनेर वैज्ञानिकले धेरै खोजे, अनेक अनुमान लगाए।
आखिरमा चार्ल्स डार्विनबाटै भयो चराको विकास खोजको कथा। प्रजाति विकासबारे डार्विनको सिद्धान्त आएपछि वैज्ञानिकले चरा पनि पहिलेकै कुनै जनावरबाट विकसित भएको हुनुपर्ने अनुमान लाउन थाले।
डार्विन आफैंले चराजस्तै देखिने केही जनावरबाट हजारौं वर्षको क्रमिक विकाससँगै यिनको उत्पत्ति भएको हुनुपर्छ भनेर अनुमान गरेका थिए। त्यस्ता जीवाश्म पनि पक्कै भेटिन सक्छन् जसले चरालाई ती जनावरसँग जोड्छ भन्ने उनले लख काटे।
त्यसबेलासम्म कुनै त्यस्तो जीवाश्म भेटिएको थिएन। डार्विनको 'प्राकृतिक छनोटद्वारा प्रजातिको उत्पत्ति' नामक किताब प्रकाशन भएको केही वर्षमै जर्मनीको एक गाउँमा एउटा जीवाश्म भेटियो। यसैले चरा विज्ञान क्षेत्रमा आँधी ल्यायो।
त्यो आर्कियोप्ट्रिक्सको जीवाश्म थियो। आर्कियोप्ट्रिक्स एउटा चरा आकारको डायनासोर हो। यी डायनासोर पृथ्वीमा करिब डेढ करोड वर्षअगाडिसम्म बस्थे। आर्कियोप्ट्रिक्समा पनि चरामा पाइनेजस्तै प्वाँख थिए। पखेटा र पुच्छरमा पनि। तर यसमा चरामा नहुने दाँत, पुच्छरको हड्डी र औंलामा नंग्रा थियो। यसमा देखिएको धेरै कुरा सरीसृप जीवमा पाइन्थ्यो।
त्यति बेलाका लागि डार्विनको अनुमानअनुसार नै भेटिएको जीवाश्मले कतै आर्कियोप्ट्रिक्स नै सरीसृप र चराबीचको कडी त होइन भन्ने अर्को अनुमान बाहिर ल्याएको थियो।
तर पछि चराको उत्पत्ति मांसाहारी डायनासोरबाट भएको भन्ने पत्ता लाग्यो। ती मांसाहारी डायनासोरलाई थेरोपोड्स भनिन्छ। अण्डा पार्ने र पखेटा हुने थेरोपोड्सको उत्पत्ति 'लेट ट्रायासिक' अवधिमा भएको हो, करिब २.३ करोड वर्षअघि। आजभन्दा धेरैअघिका चराका विशेषता तिनै थेरोपोड्ससँग मिल्ने-जुल्ने भेटिएका थिए, पखेटा भएका र अण्डा पार्ने।
डायनासोरकै अर्को प्रकार हो टेरोसोर। उडानको विकासक्रमा यो पनि पर्छ। तर टेरोसोरमा पखेटाको संरचना फरक थियो। तिनीहरूको हातमा चार औंला थिए जसमध्ये एउटा धेरै लामो थियो। त्यसैमा पखेटा बसेको थियो। जबकि आर्कियोप्ट्रिक्स र चराहरूको हातमा औंला तीन वटा मात्र हुन्छन्। त्यसैले टेरोसोरमा पहिले छुट्टैखाले उडान विकास भएको भनेर वैज्ञानिकहरूले अनुमान लगाउन सके।
चराहरूलाई चरा केले बनाउँछ?
चराको दाँत हुँदैन र तिनीहरूको काँधको हड्डी यसरी जोडिएर मिलेको हुन्छ,जसले चरालाई उड्न मद्दत गर्छ। तिनीहरूको हात खुट्टाभन्दा लामो हुन्छ। सबभन्दा ठूलो कुरा पखेटा हुन्छ। चराका यी विशेषता थेरोपोड्स, आर्कियोप्ट्रिक्स, टेरोसोर र अरूमा केहीकेही मिल्दाजुल्दा थिए।
चराको पुच्छरनजिकै पाइगोस्टाइल नामको एउटा हड्डी हुन्छ। जापानमा भेटिएको एउटा आदिम चरामा पाइगोस्टाइल पाइएको थियो, जसलाई फुकिप्ट्रिक्स भनेर चिनिन्छ। यो पाइगोस्टाइल भएको पहिलो चरा मानिन्छ। जापानी वैज्ञानिकका अनुसार यो पाइगोस्टाइल आधुनिक चरामा पाइने पाइगोस्टाइलसँग तुलना गर्न सकिन्छ। आदिम चराहरू आधुनिक चराभन्दा धेरै डायनासोरजस्ता थिए, लामो पुच्छर, दाँत र हातमा नंग्रा भएका।
चराको शरीरमा क्ल्याभिकल हड्डी जोडिएर बनेको एउटा हड्डीको संरचना हुन्छ जसलाई 'विश बोन' वा फर्कुला भनिन्छ। त्यो हड्डी पनि धेरै थेरोपोड्समा पाइएको छ। डायनोसोरमध्ये सबभन्दा प्रसिद्ध टी रेक्समा पनि यो हाड पाइएको छ। थेरोपोड्स र चरामा यस्तो धेरै कुरा मिल्छन्। चराको अर्को रोचक कुरा भनेको खोक्रो हड्डी (हलो बोन) हो जुन धेरै थेरोपोड्समा नि देखिन्छ।
चीनमा भेटिएको एउटा सानो डायनोसरको जीवाश्ममा त अझ आदिमखाले प्वाँख नै भेटिएको छ। त्यो डायनासोरको नाम हो साइनोसोरोप्ट्रिक्स। यो डायनासोर धेरै नै सानो हुन्छ, लगभग कुखुराजत्रो। अर्को सानो डायनासोर कौडिप्ट्रिक्सका खुट्टामा अहिलेका आधुनिक चराजस्तै प्वाँख पाइएको थियो।
सयौं वर्षसम्म डायनासोर भनेको धेरै ठूलो जनावर हुन् भन्ने मान्यता थियो र चराहरू डायनासोरबाट आएको भन्ने पत्याउन गाह्रो थियो। तर यसरी साना-साना डायनासोरका धेरै विशेषता चरासँग मिल्दै र तिनीहरूको जीवाश्म भेटिँदै गएपछि चराहरू डायनासोरबाट आएका भन्ने प्रमाणित हुँदै गयो।
अनि चराहरू डायनासोर नै हुन् भन्ने स्थापित भइसकेको छ।
(अनुज घिमिरेका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्)