बुबा, राजा महेन्द्रको भाइ बशुन्धरा शाहको भान्छे थिए। त्यो बेलाको राजाको भान्छे, ज्यू हजुर गरेर मागे मात्र पनि बुबा अर्बपति हुन्थे। उहाँले लोभको बाटो समाउनु भएन न त आफ्नो सम्मान गुमाउन चाहानु भयो। मान्छे हुनुको पहिलो आधार उसको सम्मान हो। बुबाबाट मैले सिकेको पहिलो शिक्षा थियो यो।
झन् बसुन्धराको कान्छी श्रीमतीसँग 'म तपाईको सेवा गर्न होइन, राजाको सेवा गर्न नियुक्त भएको' भनेर महारानीलाई प्रतिवाद गर्ने मेरो बुबाले बशुन्धरा शाहको मृत्यु पश्चात जागिर नै छोडेको उनको संघर्षको कथा गाँउभरि परिचित थियो।
गाँउमा जहाँ जे परे नि उनकै बोलावट हुन्थ्यो, हुन त पढेका थिएनन्। बल्ल-बल्ल सही गर्न सक्थे तर गाउँमा केही विवाद भयो कि उनै चाहिन्थ्यो किनकी उनमा छलछाम, लोभलालच, तेरो मेरो किन्चित थिएन।
अन्यायको विरोधमा जो जस्तो सर्वशक्तिवान् होस्, लड्ने। उनले गाँउको काजीसँग त्यो कालमा एक्लै लडेका थिए, अनि शिक्षा नै सबथोक भन्ने मेरो बुबाले गाँउमा माध्यामिक स्कुल खोल्न गरेको संघर्ष र यसको विरोधमा उत्रिएका गाँउका ठालुहरु बीचको लडाइ आज पनि मेरो मन्द मस्तिष्कमा झल्झली छ।
यही देखेँ, यस्तै भोगेँ। यी नै प्रेरणाले होला समाजिक क्षेत्रमा मेरो पाइला बढेको थियो। समाजिक कार्य गर्न र सेवामा लाग्ने भाव यही वातावरणले दिएको थियो मलाई।
गाँउमा एसएलसी पास हुनु त्यो बेला झण्डै युद्ध लडे जस्तो थियो। हुन त अहिले नि त्यस्तै हाउगुजी नै छ। एसएलसीको परिणाम सार्वजनिक भएको समाचार रेडियोमा सुनियो। फेल भइयो कि पास, परिणाम हेर्न झण्डै ७ दिन कुर्नु पर्यो।
जब दोश्रो श्रेणीमा नाम देखेँ, युद्धबाट जितेर आएको एक बहादुर सैनिकको भान भयो। जम्माजम्मी २५ प्रतिशत पनि पास हुन नसक्ने अवस्था थियो सरकारी स्कुलको त्यसबेला। हुन त आज पनि सुध्रिएको छैन सरकारी स्कुलको अवस्था।
ठूलो उत्सुकताका साथ उच्च शिक्षाको लागि काठमाडौँ लागियो। यसरी उच्च शिक्षाको लागि काठमाडौं आउन पाउनु आफैमा ठूलो भाग्यको कुरा थियो। सबैले यस्तो मौका कहाँ पाएका थिए र? डाक्टर बन्ने, गरिब दुखीहरुको लागि निशुल्क उपचार गर्ने, समाजसेवा गर्ने सपना बुनियो पनि।
तर मेरो स्कोर कम भएकोले विज्ञानमा नाम निकाल्न सकिनँ। कक्षामा त म सधैँ दोश्रो हुन्थेँ तर कक्षा ४ बाट एबीसीडी पढ्न थालेको मैले अंग्रेजीमा पास मात्र हुन सकिछु। त्यही भएर मेरो स्कोर भने कम थियो। डाक्टरको विकल्पको रुपमा वकिल बन्ने सपना बुनेँ।
गाँउका मुखिया, प्रधानपञ्चहरुको अन्यायको विरुद्ध लड्न सकिन्छ जस्तो लाग्यो र कानुन पढ्ने निधो गरेँ। आज वकिल पनि भएँ। मुद्धा लडेर ती अन्यायमा परेकाहरुको त मैले सेवा गर्न सकिनँ तर अति आवश्यकतामा रहेका र परिवार नभएका बालबालिकाहरुलाई परिवार खोजिदिने गर्दै उनीहरुको सेवा गरी रहेको छु।
त्यसैले त भनिन्छ, आफूले सोचे जस्तो हुने भए आज यो धर्ती स्वर्ग हुने थियो। वकिल पेशाले भन्दा मलाई समाज सेवाले तानी रहेको थियो। त्यसैले होला म वकिल कम समाजिक कार्यकर्ता बढी भएँ।
समाज सेवा गर्ने भूतले छोडेको थिएन। केही साथीहरुसँग कुरा भयो। संस्था खोल्ने अनि विपन्न वर्गहरुको लागि केही गर्ने निर्णय गरियो। संस्था पनि खोलियो। धेरै ठाँउमा विभिन्न प्रस्तावहरु राखियो। जहाँबाट पनि निरासा बाहेक आएन। यही भौतारिने क्रममा थाहा पाएँ, हामीकहाँ समाजिक संस्थाहरु ठेकेदारहरुले चलाएका रहेछन्।
संस्थाको नाम मात्र फरक छन् तर त्यही केही झुण्डहरु नै भिन्न भिन्न पदमा बसेका छन्, जिम्मेवारी लिएका छन्। मिटिङ भत्ता, भ्रमण सुविधा, यातयात सुविधा ती अनेक थरि प्रशासनिक खर्च झण्डै ६० प्रतिशत बजेट ती समाजसेवीहरुको सेवामा खर्च हुँदो रहेछ।
यहाँ परियोजनाहरु समुदायको आवश्यकतामा होइन, संस्थाको खर्च गर्ने क्षेत्रको नीतिमा बन्दो रहेछ। परियोजना बनाउने, स्वीकृती गर्ने अनि कार्यन्वयन गर्ने लगभग त्यही समूह भेट्छु। तिनीसँगको सम्बन्ध बिना कसैको दाल गल्ने कुरा नै भएन।
पछाडि फर्केर हेरेँ, यो समाजसेवा गर्ने भूतको पछि लाग्दा लाग्दा माग्ने भएछु। मनमा लाग्यो, समाजसेवा त गर्ने तर बस भाडा तिर्न नसक्ने मैले कसरी समाजसेवा गर्न सक्छु! लाग्यो समाज सेवा आफू बाँच्न त गर्ने होइन नि।
कानुन पढदै थिएँ। कुनै ठूलो वकिलको फर्ममा बसेर सिक्ने विचार आयो र खोज्न थालेँ। मेरो दाइ अदातलमा काम गर्नु हुन्थ्यो। उनको सहयोगमा म ल फर्ममा काम गर्न थालेँ। जसबाट कम्तिमा घर खर्च चल्ने वातवरण भयो।
यसै बीच एकजना मेरो गाँउको भतिज, उसको बुबा गाउँमा हलिको काम गर्थे, मगर समुदायको अति विपन्न थिए। मेरो बुबाले उनलाई गोरु किनेर दिनु हुन्थ्यो। त्यही गोरु पालेर गाँउमा त्यही गोरु लिएर ज्याला लिने र बाच्ने गर्नु हुन्थ्यो र आज पनि त्यही गरी रहनु भएको छ। मेरो बुबा मसँग हुनु हन्न। गोरु किनीदिने व्यक्ति पनि छैन उनको आज।
तर उनलाई केही घर खर्चमा मैले सहयोग गर्दछु। पैसा चाहियो कि फोन गरेर मलाई आदेश नै दिन्छन्। मैले काठमाडौं आउनुस् र मेरो घरमा बस्न उनलाई आग्रह गरेँ तर 'म, मेरो बुबाको छाला छोड्दिनँ र यही मर्छु' भन्नु भयो। म नतमस्तक भएँ र केही बोल्न सकिनँ पनि।
हो, यिनै वीरको छोरा मुटुको समस्याले म कहाँ आइपुगे। मैले वीर हस्पिटलमा लगेँ, भर्ना गरे उपचार सुरु भयो। उसको मुटुको शल्याक्रिय गर्नु पर्ने र २० हजार धरौटी राख्नु पर्ने भयो। पैसा खोज्न थालेँ। केही पैसा जम्मा गरेँ पनि।
ऊ हस्पिटलमै भर्ना थियो। एक दुई दिनमा सबै धरौटी राख्छु, अहिले शल्यक्रिया गर्न हस्पिटललाई धेरै आग्रह गरेँ तर बिना धरौटी शल्यक्रियाको दिन तय भएन। पैसा खोज्दै, जम्मा गर्दा गर्दै त्यो भाइले देह त्याग गर्न पुगे। मैल बचाउन सकिनँ। त्यो घटनाले विक्षिप्त हुन पुगेँ। आज पनि यो यादले मेरो मुटु पोल्छ र सधैँ मलाई ऐठन हुन्छ।
यस घटनाले मलाई फेरि समाजिक सेवामा जर्बजस्त तान्यो। यो घटना हाम्रो समाजको एक प्रतिनिधि घटना मात्र हो। यहाँ जिवनको मूल्य नै छैन। राज्य शिक्षा र स्वस्थ्य प्रति जिम्मेवार नहुँदा मानिसहरुको बाँच्न पाउने अधिकार न हिजो सुरक्षित थियो न आज।
राज्यले निशूल्क शिक्षा र स्वस्थ्य दिनु पर्छ भन्ने मान्यताभन्दा पनि यसको ग्यारेन्टी गर्ने हो। नागरिकले आज नहुँदा पनि उसले राज्यको ग्यारेन्टीमा शिक्षा र स्वस्थ्यको पूर्ण व्यवस्था हुनु पर्दछ र नागरिकले विस्तारै कमाइको आधारमा फिर्ता गर्ने व्यवस्था हुनु पर्दछ। एक राज्यको नागरिक हुनुको अर्थ यही हो।