कुनैकुनै गोठाला दाजुभाइहरूले त जुवातास र कौडामा गोठका गोरु तथा गोठ नै थाप्थे। विदेशबाट आउने पल्टने दाजुभाइ कसैले त सुनको औंठी र घडी नै पनि कौडामा थाप्थे। हामी त्यो बाजीका दृश्य हेरेर खूब रमाइलो मान्थ्यौं।
***
मैले अझै पनि नबुझेको कुरा, अरू बेला धनसार, कौसीतिर लुकीछिपी खेल्ने जुवातास, तिहारमा भकारीको गोठ बनाएर टोलटोलका आँगनमा किन खेलिन्थ्यो?
नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवं बहुधार्मिक देश। अनेकतामा एकता हाम्रो पहिचान र विशेषता। हाम्रो प्राकृतिक, सांस्कृतिक, भौगोलिक, रहनसहनमा विविधता छ। आपसी मेलमिलाप र खुसी ल्याउने माध्यम हुन् हाम्रा चाडपर्वहरू। बाल्यकालमा मनाइएका चाडपर्व विशेषतः दशैतिहार, साउने संक्रान्ति, माघे संक्रान्ति र पुसे पन्ध्र (ल्होसार)को रमझम सम्झँदा पनि आनन्द लाग्छ।
पुराना दिन सम्झँदा रमाइलो हुन्छ। हामी धूमधामसँग दशैं मनाउँथ्यौं। वाता नो (बालीनाली थन्क्याउने बेला बाजागाजा, हल्ला गर्न नपाइने चलन) बाहेक अरू बेला हामीले प्रत्येक वर्ष गाउँमा रोटेपिङ थापेर चेलीबेटीलाई पिङमा खेलाउने चलन थियो। दौंतरीहरूसँग मिलेर हामी यो काम गथ्र्यौं।
त्यस्तै पुसे पन्ध्रमा स्योकै चपा (वनभोज खाने) लगायत अन्य चाडपर्वमा गरिने राम्रा कुरा त छँदैछन्। म तपाइँलाई तिहारको एउटा घटना सुनाउँछु है! म त्यस्तै ११ वर्षको थिएँ। राति सिटा बालेर देउसी खेल्न जाँदा गैरीगाउँनिर क्यूलु खोलामा लडेर निधारमा चोट लाग्यो। घाउ निको भए पनि खत अझै छ।
खोई किन होला, हाम्रोमा तिहार अलि कराकरकै बेलामा आउँथ्यो। तिहार आएपछि सधैँ रमाइलो हुन्थ्यो। हतारमा आउने तिहार हतारमै जान्थ्यो। यसको सोझो अर्थ कोदाको कपनी टिप्ने र धान काट्ने बेलामा तिहारको चटारो हुन्थ्यो।
मैले अझै पनि नबुझेको कुरा, अरू बेला धनसार, कौसीतिर लुकीछिपी खेल्ने जुवातास, तिहारमा भकारीको गोठ बनाएर टोलटोलका आँगनमा किन खेलिन्थ्यो? जेहोस् हाम्रो गाउँ ताङतिङमा तिहार रमाइलो हुन्थ्यो। त्यतिबेला गैरी थरमा (क्युलु खोलाको छेउमा) चित्रबहादुर गुरुङ दाइको आँगनमा भकारीको ठूलो गोठ बनाएर तास र कौडा खेल्नेहरू जम्थे। उता घोताने टोलमा टौ सोल्टीको आँगनमा र तेजबहादुर गुरुङ (कान्छा थेबा) मामाको आँगनमा पनि भकारीको गोठ बनाएर ठूलै खाल जम्थ्यो।
टोलटोलमा टाँडा (क्योंसु) मा पनि राम्रै खाल जम्थ्यो। भाइटीकाको दिन भने भकारीले बनाएको गोठमा तास, कौडा खेल्नेहरूको भीड लाग्थ्यो। मैले जीवनमा कहिल्यै तासजुवा खेलिनँ। तर झण्डाबुर्जा खेल्न भने तिहारमा झुम्मिन्थें। भाइटीकाको दिन घरमा चेलीबेटीहरू माइतीलाई कुरेर बस्थे। यता माइतीहरू जुवाको खालमा जरा गाडेर बस्थे। त्यसैले गर्दा उता टीका लगाउनै ढिलो हुन्थ्यो।
अझ रोचक कुरा, त्यो बेला वर्षका ३ ÷४ महिना माथि लेकमा हुने गोठ, गोठाला दाजुभाइका गोठ गाउँ तल र माथि कोदोबारीमै हुन्थ्यो। कुनैकुनै गोठाला दाजुभाइहरूले त जुवातास र कौडामा गोठका गोरु तथा गोठ नै थाप्थे। विदेशबाट आउने पल्टने दाजुभाइ कसैले त सुनको औंठी र घडी नै पनि कौडामा थाप्थे। हामी त्यो बाजीका दृश्य हेरेर खूब रमाइलो मान्थ्यौं।
त्यो बेलाको तिहारमा आपसी आत्मीयता, हार्दिकता र मेलमिलाप थियो। जुवातास नै खेले पनि सबैसँग रमाइलो गरी वर्षभरको दुःख भुलिन्थ्यो। मिलेर बसिन्थ्यो।
तिहार कात्तिकमा पर्ने हुनाले हाम्रोमा बालीनाली थन्काउने कराकरको बेला हुन्थ्यो। खेतबारीमा धान काटेर राखिन्थ्यो। बाली थन्काउने बेलामा कहिलेकाहीँ असिनापानी हुँदा हाम्रो बुबाले ‘लौन वर्षभर जहान पाल्ने धान काटेर खेतभरि छ खेतमा जाऊ’ भनेपछि झण्डाबुर्जामा मस्त भइरहेका बेला बेंसीमा स्याखु ओढेर दौडन्थ्यौं।
विशेष गरेर भाइटीकाको सिँगो एक दिन त हामीलाई एक घण्टा जस्तो लाग्थ्यो। मिलिक्कै दिन बितिहाल्थ्यो। भाइटीकाको बिहान बहिनीका हातको टीका हतारहतार लगाएर गाउँमा बनाएको भकारीको होटल चाहार्दै झण्डाबुर्जामा झुन्डिनुको छुट्टै आनन्द आउँथ्यो।
त्यो बेलाको अर्काे राम्रो पक्ष भनेको तिहारमा टोलटोलबाट मादल बजाएर देउसीभैलो खेलिन्थ्यो। त्यसबाट उठेको पैसाले गाउँमा बाटोघाटो बनाउने, पाटीपौवा, धर्मशाला, चौतारा बनाउने, विद्यालय र अन्य संघसंस्थालाई सहयोग गर्ने गरिन्थ्यो।
हामी १०/११ वर्षका दौंतरी आआफ्नो टोलटोेलमा मिलेर तिहारमा भैलोदेउसी खेल्थ्यौं। हामी रातभर सिटा बालेर देउसीभैलोमा जम्थ्यौं। त्यो बेलामा गाउँमा आजको जस्तो बिजुली थिएन। हामीसँग मइन्टोल पनि थिएन। त्यस्तो अँध्यारोमा हामी ताङतिङका सबै घरमा पुग्थ्यौं।
हामीले भट्याउँदै समूहमा घरघरमा जाँदा धेरैले धान, कोदो र चामल दिन्थे। कुनैकुनै घरका मनकारीले पैसा पनि दिन्थे। यसरी साथीहरूसँग देउसीभैलो खेल्दा मनोरञ्जन हुनुका साथै नेतृत्व विकास, समूहमा काम गर्ने सीप, समुदायसँग सुमधुर सम्बन्ध लगायत कुराको फाइदा हुन्थ्यो।
हामी देउसीभैलोमा उठेको खाद्यान्न बेचेर साथीभाइलाई बराबर बाँड्थ्यौं। त्यो पैसाबाटे कापीकलम र अन्य सामग्री किन्थ्यौं। भाइटीकाको दिनमा लुकीलुकी झण्डाबुर्जा खेल्न पनि त्यही पैसा खर्चिन्थ्यौं।
तिहारका असंख्य सम्झना छन्। जबजब ऐना हेर्छु तबतब त्यही अँध्यारो रातमा गैरीथरको क्युलु खोलामा लडेर निधारमा घाउ लागेको सम्झन्छु। त्यो दिनको चिनो बोकेर बाँचेको छु। त्यो तिहारको चिनो जीवनभर रहनेछ।
(हिमालय मिलन मावि, ताङतिङ, कास्कीका प्रधानाध्यापक प्रकाश गुरुङको प्रकाशोन्मुख पुस्तक ‘ताङतिङ मेरो गाउँ’को एक अंश।)