मलाई र मेरो श्रीमानलाई कोभिड–१९ पोजेटिभ देखिएपछि मेरा धेरै आफन्त र साथीभाइहरूलाई हामी दुईको भन्दा बढी चिन्ता हाम्री ३ वर्षकी छोरीको भयो।
जुन स्वभाविक पनि थियो।
उनीहरूले फोन गरेर सोध्न थाले- छोरीलाई त छैन नि, लौ अब कसरी राख्ने छोरीलाई, कहाँ राख्ने, कोसँग राख्ने, यत्रो १४ दिनसम्म आमाबाबासँग छुटेर बस्न मान्छे त? आदि प्रश्नको ओइरो लाग्यो।
हामी श्रीमान-श्रीमतीसँग यी कुनै प्रश्नको पनि जवाफ थिएन।
परिस्थिति यस्तो थियो कि कोही आफन्त वा साथीभाइसँग हाम्रो छोरीलाई १४ दिनसम्म आफ्नो घरमा लगेर राखिदिनुहोस् न भन्ने आँट पनि गर्न सकिएन न त कसैले खुलेर छोरीलाई मेरो घरमा ल्याएर राख भनेर भन्न नै सके।
किनकी कसलाई भाइरसको संक्रमण छ वा कतिबेला हुने हो यकिन छैन।
भर्खर ३ वर्ष पुगेको जन्मदिन मनाएकी मेरी सानी छोरी जो गएको ६ महिनादेखि १ पलका लागि पनि आमासँग छुटेर बसेकी छैन, उसलाई एउटै घरमा तर छुट्टै कोठामा कसरी राख्ने, मलाई नछोई बस है अबको १४ दिन भन्दा मान्ली त? भन्ने प्रश्न मनमा कड्किरह्यो।
१ दिन त मान्ली, २ दिन त मान्ली तर यहाँ त १४ दिन मान्नुपर्नेछ। आफूलाई लागेको भाइरसको भन्दा बढी चिन्ता छोरीको पर्यो।
शरीरमा ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने जस्ता लक्षण देखिएलगत्तै मैले उसलाई मेरो छेउमा नआउन भनेकी थिएँ।
सानी भए पनि मैले कोरोना भाइरस के हो, यो कसरी हाम्रो शरीरमा प्रवेश गर्छ, अनि यो लाग्यो भने के गर्नुपर्छ, के गर्न हुँदैन भनेर बेला बेला भन्दै आएकी थिएँ।
कोरोना भाइरसबारे बनाइएका एनिमेटेड भिडिओ पनि देखाउने गरेकी थिएँ।
तर जब आफैंलाई संक्रमण भएको पुष्टि भयो सुरूमा त मलाई पत्यार नै लागेन। किनकी मैले यसबाट बच्ने सबै उपायहरू अपनाउने गरेकी थिएँ, घरबाट बाहिर पनि निस्केकी थिइनँ।
चाडबाडको बेला यो के आइलाग्यो भनेर अत्यास लाग्यो तै पनि नहुनु भइसक्यो, मनलाई सम्हालें र मनोबल उच्च राख्न आफैंलाई काउन्सेलिङ गरें।
कहिलेकाहीँ जे नहोस् भन्यो, जेबाट भाग्यो त्यही सामुन्ने आइदिन्छ र त्यही भइदिन्छ। हो कोरोना भाइरस पनि यसरी नै आइदियो मेरो घरमा, मेरो शरीरमा।
अब यसको सामना गर्नुको विकल्प नै थिएन। हामी दुबै श्रीमान-श्रीमतीले आफूलाई कोठामा आइसोलेट गर्यौं।
मलाई र श्रीमानलाई एकसाथ कोरोना भाइरस पोजेटिभ भएपछि भाइरसको भन्दा बढी पिर छोरीको लागेको थियो। उसलाई कसरी म अनि श्रीमानबाट अलग राख्ने भन्ने पिर। तर आश्चर्य लाग्ने गरी मेरी ३ वर्षकी छोरी अहिले छुट्टै कोठामा सुत्छे, मेरी छोरीले अवस्था बुझेकी छे त्यो पनि पहिलो दिनबाट नै।
खाना पाकेपछि मलाई मामू खाना आयो भन्दै बोलाउँछे र म प्लेट ढोकाको छेउमा राखिदिन्छु बहिनीले खाना हालीदिन्छिन्।
अनि त्यसको केही छिनमा ढोका छेउमा आएर सोध्छे ‘मामू पानी लिन आइस्यो’।
म जग ढोकाको छेउमा राखिदिन्छु, बहिनीले समातेको जगको एकपट्टि छेउ ऊ पनि समाउँछे अनि मेरो ढोका छेउमा राखेको जगमा पानी खन्याइदिन्छे र भन्छे ‘ल अब भित्र लगेर खाइस्यो अनि केही चाहियो भने बोलाइस्यो है मामू।’
म उसको कुरा सुनेर छक्क पर्छु र मनमनै सोच्छु ‘मेरी ३ वर्षकी छोरी।’
फेरि सोच्छु,‘के ३ वर्षकी हुँदा म पनि यति नै म्याच्युर र बुझ्झकी थिएँ त!’
मम्मीले भनेको याद गर्छु : तँजस्तो झगडालु, नबुझ्ने, छुच्ची कुनै छोरी नि थिएनन्।
आमा न परें अस्ति एकदिन छोरीको निन्याउरो अनि रुन्चे अनुहार देखेर मन थाम्नै सकिनँ र आँखै अगाडि उभिरहेकी छोरीलाई आऊ छोरी एकपटक ‘हग’ गरौं भनेँ।
ऊ मेरो छेउ आउँदै आइन, मैले आऊ केही हुन्न भनें एकैछिनपछि रुन्चे आवाजमा भनी ‘मामू हजुरको रिपोर्ट नेगेटिभ आयो र ‘हग’ गर्नलाई ?’
म उसको कुरा सुनेर खिसिक्क हाँसे र भने ‘छैन’।
मनमनै सोचें ‘ओहो मेरो छोरी त कति बुझ्झकी भएकी हो।’
आफन्तहरू फोन गरेर छोरीको बारेमा सोध्छन्, रोएकी त छैन नि ? छोरीले गर्ने हर्कतको बेलिबिस्तार लगाउँछु, उनीहरू छक्क पर्छन् र भन्छन् ‘छोरी त तिमीले पाएकी हौ। हाम्रा १०/११ वर्षका छोरा छोरी एकदिन छुट्टिएर सुत्नुपरो भने बबन्डर मच्चाउँछन्’।
मनमनै म दंग हुन्छु।
घरमा कोही मान्छे आयो भने भन्छे ‘मामू बाबालाई कोरोना लागेको छ, आइसोलेसनमा हुनुहुन्छ, त्यता जानुहुन्न है।’
बेलुका सुत्ने बेला भएपछि भन्छे ‘अब निको भएपछि हजुरसँग झुलभित्र सुत्छु है, अनि यो कोरोनालाई डंग की डंग पिटेर उसको घर पठाइदिने है मामू, अनि हामी घुम्न जाने गुडनाइट मामू।’
मलाई उसका यस्ता कुरा सुनेर आानन्द आउँछ, म शब्दमा बयान गर्नै सक्दिनँ त्यो आनन्दीय अनुभूतिलाई।
उसलाई मसँग भेट्न मन लाग्यो भने ढोका अगाडिबाट टोलै थर्किने गरी मामू...... भनी बोलाउँछे अनि हामी दुबैजना ढोका खोल्छौं, एकैछिन उसँग नाच्छौं, उसँग नाच्नका लागि एउटा डान्सिङ स्टेप बनाएका छौं, गीत गाउँछौं, उसका गफ सुन्छौं अनि टाढा टाढाबाट अंकमाल गर्छौं अनि बाई बाई भनि फेरि आफ्नो आफ्नो कोठामा पुग्छौं।
ल आज चाहिँ मान्दिनँ भन्दाभन्दै आज ११ औं दिन बित्यो सानी छोरीले परिस्थिति बुझेका कारण उसलाई यो भाइरसबाट अलग राख्न सकियो।
छोरीको अविश्वसनीयपूर्ण सहयोगले नै आज कोरोना भाइरसलाई पराजित गर्ने क्रममा छौं।
छोरीको यो म्याचुरिटीले मेरो र श्रीमानको आधा रोग निको भइसकेको छ, अब केही मात्र बाँकी छ।
बच्चा जिद्धी पक्कै हुन्छन्, तर उनीहरू कुरा बुझ्दैनन्, परिस्थिति बुझ्दैनन् भन्ने सोच्नु हामी अभिभावकको कमजोरी हो।
मेरी ३ वर्षकी छोरीले कुरा पनि बुझी, परिस्थिति पनि बुझी र कोरोना पराजित गर्नका लागि हामीलाई सहयोग पनि गरिरहेकी छे।
आज मलाई मेरो छोरीप्रति बडो गर्व महशुस भएको छ। बच्चा भगवानको रूप हो भन्ने त सुनेकी थिएँ तर आज छोरीले परिस्थिति अनुरूप आफूलाई ढालेको देखेर साँच्चै यो कुरा सार्थक भएको अनुभूति भएको छ।
यो भाइरस बडो अचम्मको छ, कसैलाई अति नै गाह्रो बनाउँछ भने कसैलाई सामान्य अवस्था मै निको पनि बनाउँछ।
अतः हामी अभिभावकले सकेसम्म यो भाइरसबाट आफ्ना बालबच्चालाई जोगाउनै पर्छ।
भाइरसबारे, आइसोलेसनबारे आफ्ना बच्चाहरूलाई जानकारी दिने, यसका लक्षण देखिनैबित्तिकै उनीहरूसँग अलग बस्ने गर्नुपर्छ।
मेरो बालबच्चा मान्दैनन्, साना छन्, बुझ्दैनन् भनेर अभिभावकहरू नै भावनामा बहिदिए बालबच्चा झनै जिद्धी बनिदिन्छन्।
बालबच्चा भनेका जस्तो बनायो त्यस्तै बनिदिने रैछन्।
मेरी छोरीले यो परिस्थिति किन पनि बुझीजस्तो लाग्छ भने मैले उसलाई पहिलेदेखि नै कोरोना भाइरस के हो भनेर भिडिओमा बारम्बार देखाउने गरेकी थिँए।
यो भाइरस शरीरमा आएपछि त्यसलाई छुन, बस्न हुँदैन है भनेर सम्झाएकी थिएँ। शायद यो कुरा उसको दिमागमा गड्यो र उसले मसँग बस्नका लागि जर्बजस्ती गरिन।
मैले मेरो यो अनुभव यहाँ किन पनि साझा गरेकी हुँ भने कोरोना भाइरस यसरी फैलिरहेको छ कि यो भोलि सबैको घरमा आउनसक्छ र आफूलाई सुरक्षित राख्न नसके पनि बालबच्चालाई यसबाट बचाउनुपर्छ।
आफ्ना छोरोछोरी साना छन्, बुझ्दैनन् भनेर उनीहरूलाई ‘अण्डरस्टिमेट’ नगरौं। उनीहरूलाई अहिलेदेखि नै यो भाइरस के हो, कसरी बस्ने, यो भाइरस लागेपछि के हुन्छ, किन छुनु हुँदैन भन्ने जस्ता कुराहरूबारे जानकारी दिने गरौं।
यसबारे थुप्रै एनिमेटेड भिडिओ बनेका छन् ती देखाउने गरौं।
यसले उनीहरूको दिमागमा गहिरो छाप पर्छ र भोलि तपाईं हामी आइसोलेसनमा बस्नुपर्ने अवस्था सृजना भएमा उनीहरूले पक्कै सहयोग गर्नेछन्।