चिनजानकै एकजना दिदी आठ कक्षामा फेल भइन्। आमा पहिलेदेखि नै पाठेघरको रोगी थिइन्, साना भाइ र बहिनीको जिम्मा ती दिदीकै काँधमा थियो, न रेगुलर स्कुल जान पाउँथिन्, न त घरमै नियमित अध्ययन गर्न नै। तै पनि दिदीको पढ्ने जिजिविषा मरेको थिएन, भविष्यमा नर्स बन्ने चाहना थियो उनको।
आमाको रोगले हैरान भएकी ती दिदी भविष्यमा अरु आमाले यस्तो अवस्था भोग्न नपरोस् भन्ने ध्याउन्नमा थिइन्।
यो वर्ष फेल भए पनि अर्को वर्ष मिहिनेत गरेर पढ्ने लक्ष्य राखेकी दिदीका सारा सपना चकनाचुर हुन धेरै समय लागेन।
उनका साथीहरू नौ कक्षामा पुगेको खुसी मनाउँदा दिदी भने आठ कक्षामा फेल भएकी केटीको ट्याग भिरेर बसेकी थिइन्।
गाउँघरमा पहिले-पहिले छोरी फेल होली र फ्याट्ट बिहे गर्दिने मौका छोपेर अभिभावक बस्थे, दिदीको हकमा पनि यो नियम लागू नुहने कुरै भएन।
‘स्कुल रेगुलर जान पाइनँ, आमा बिरामी भएकोले भाइ बहिनीको रेखदेख, घरायसी धन्दा सबै आफूले गर्नुपर्दा घरमा एकपटक पनि किताब पल्टाउन पाइनँ।’
बालाई मुख फोरेरै भनें,‘मेरो पढाइ बिग्रियो बा, पैसा दिनुस् न म ट्युसन पढ्छु, आफ्नो छुटेको पढाइ जसरी भए पनि पूरा गर्छु.’...
दिदीको यो जिज्ञासमा बा अवाक् बने।
अर्कोदिन फेरि सोधिन्, ‘बा ! मलाई ट्युसन पढ्ने पैसा दिनुस् न सबै साथीले अस्तिदेखि पढ्न थाले म पनि पढ्छु....., परीक्षा आउन दुई महिना बाँकी छ..’
यो पटक पनि बा टसमस भएनन्, बरु अर्कोतिर टाउको फर्काए ... र बल्लतल्ल बोली निकाले ‘भन्दा बित्तिकै पैसा हुन्छ?, दिमाग लाएर पढनु छैन, तँलाई मात्रै पढाएर हुन्छ ? अरु भाइ बहिनीलाई पढाउनु पर्दैन ? स्कुल गएर पढेकाले पुगिहाल्छ नि किन बेकारमा ट्युसन पढ्नुपर्ने ’... बाको कुराले दिदीको दिमाग रन्थनियो।
आमाको केही उपाय थिएन, आफैं बिमारीले थला परेकी आमाको थप आयस्रोत केही थिएन, भन्नु र नभन्नुको कुनै तुक देखिनन् दिदीले।
ती दिदीका बाको हैसियत हुँदै नभएको होइन, वर्षमा धान, मकै, गहुँ, खसी, बोका, घिउ बेचेरै पैसा आर्जन हुन्थ्यो, घरखर्च चलाउन र दिदीको लागि ट्युसन फी तिर्नै नसक्ने हरित्तन्नम थिएनन्।
तर बाले एकपटक वचन दिएपछि फेरि दोहोराएर त्यही कुरा सोध्ने आँट कसैमा थिएन, न त आमाले नै कर गरेर ठूली छोरीलाई ट्युसन पढाउने पैसा दिनुस् न भन्न नै सक्थिन्।
दिदीले घरायसी कारणले पढाइ पूरा गर्न पाइनन्, एक कान, दुई कान मैदान हुँदै आठ कक्षामा फेल भएकी दिदीको विवाहको कुरा चल्न थाल्यो।
नर्स बन्ने इच्छा राखेकी दिदी दोहोर्याएर आठ कक्षा पढ्न पनि पाइनन्।
‘पोहोर पनि त्यही कक्षा, अहिले पनि त्यही कति पढ्नु, आज फलानो काम छ, भोलि त्यो काम छ भन्दै बाले स्कुल जानबाट बञ्चित गरिरहे’।
भाग्यलाई दोष दिएरै दिदी बाले भनेको काम खुरुखुरु गर्न थालिन्। एकदिन आफ्नै साइँलो मामाले बिहेको कुरा चलाए।
‘ल भिनाजू भान्जीको अब बिहे गर्दिए हुन्छ, यतिको केटा कहीँ पाइँदैन.’....।
भान्सामा तरकारी पकाउँदै गरेकी दिदीका हात खुट्टा फतक्क गले, केही सोच्न सकिनन्....धेरै पढेर नर्स बन्ने दिदीको सपना अगेनाको आगोको मुस्लोसँगै माथि कतै गएर विलिन भयो।
‘बाले त फेल भएकै दिनदेखि बिहेको बाटो खुलाएका थे, त्यसमाथि मामाले सही थपेपछि किन बिलम्ब हुन्थ्यो र ? सबै बाधा अड्काऊ फुकिहाले अब... ।
आमाले कम्तिमा एसएलसी त पढाउन पर्छ भन्थिन् तर आमाको कुरा कस्ले सुनिदिने? अहिले त आमाका प्राय: कुराहरू सुनिँदैनन्, २० वर्ष पहिलेको माहोल कस्तो थियो होला ’? दिदीले गुनासोको लामै पोयो फुकाइन्।
अर्को गाउँको केटासँग बिहे पक्का गरिदिए मामा, बा र गाउँका भद्रभलाद्मीले।
एक बचन पनि ती दिदीलाई कसैले सोधनन्, बिहे गर्छे कि गर्दिन ? उसको विचार के छ, कसैलाई सरोकार भएन।
अहिले त अधिकांश निर्णय अभिभावकको सहमतिमा हुन्छ भने त्यो बेलामा कहाँबाट सोध्ने आँट देखाउथे र ? ट्युसन पढ्ने पैसा माग्दा छैन भनेर हप्काएका बाले दिदीको बिहे गाउँभरिकै एक नम्बर गरे।
पहिलो पटक गाउँमा सबैभन्दा बढी दाइजो ती दिदीकै बिहेमा दिए।
सबै आफन्तले वाह! भन्ने गरी धूमधामसँग बिहे गरिदिए।
बाले जति धूमधामसँग बिहे गर्दिए पनि दिदीको मन उज्यालो भएन।
‘यत्रो खर्च गरेर बिहे गर्दिन सक्ने मेरा बाले ट्युसन पढ्न दुई सय माग्दा पैसा छैन भनेर झपारे। पढाइको लागि दुई सय नहुने बाले मेरो बिहेको लागि लाखभन्दा बढी पैसा कहाँबाट ल्याए? पक्कै बोटबाट टिपेनन् होला, किन छोरीको लागि यति कमजोर सोच राखिन्छ ? मेरा बाले किन मलाई पढाउन चाहेनन ?
‘अहिले मलाई कुनै कुराको कमी छैन, उन्नाइस वर्षको छोरी, सत्र वर्षको छोरा छ, श्रीमान, घरपरिवार सबै राम्रो छ तै पनि मनमा आफूले पढ्न नपाएको कुरा खड्किन्छ।
आफूले पूरा गर्न नपाएको पढाइ छोरीलाई सुम्पिएकी छु, उसले जति पढ्छु भन्छे म आफू नखाएर भए पनि उसलाई पढाउँछु।
छोरीमा लगानी गर्न सय रुपैयाँ नहुने बाउआमा त्यही छोरीको बिहेमा लाखौं खर्च गर्न हात कमाउँदैनन्।
मेरा बालाई आज पनि यही प्रश्न छ, मेरो पढाइको लागि सय, दुई सय निकाल्न नसक्ने तर मेरै बिहेमा धुमधामसँग खर्च गर्ने पैसा कहाँबाट ल्याउनुभयो ?
आखिर त्यत्रो पैसा रहेछ त तपाईंसँग मेरो इच्छा अनुसार पढ्न दिएको भए ...?
आज मेरा साथीहरू अफिस जाँदा म पनि जान्थें होला, मेरा साथीहरू सानसँग पढाइका , जागिरका कुरा गर्दा म पनि गर्थें होला तर ... उनीहरू जतिको नभए पनि कम्तिमा आफूले चाहेको पढ्न पाएकोमा खुसी त हुन्थें तर मेरा यी सपना फगत सपना नै भए...
यो त पहिलेको कुरा भयो यी दिदीजस्तै समस्या अहिलेको जमानामा पनि भोग्ने छोरीहरूको संख्यामा कमी छैन।
हाम्रो समाज जतिसुकै सचेत, शिक्षित र जानकार भएपनि सितिमिति छोरीमा लगानी गर्न तम्सिँदैन।
अर्काको घरजाने जातको जन्मजात ट्याग भिरेका छोरीलाई अहिलेको आधुनिक समाज पनि त्यति सहज छैन। पोहोरसालको एउटा घटनाले यसलाइ थप पुष्टि गर्छ।
एक जना साथीले आफ्नै लगानीमा एउटा फार्मेसी पसल सुरू गर्ने जमर्को गरेकी थिइन्।
सुरूमा बुवाआमाले मौखिक सहमति जनाए पनि उनका दाइले सहमति दिएनन्।
‘भर्खर पढाइ सकिएको थियो, पढेको कुरा प्राक्टिकल्ली गर्छु, म आफ्नै बिजनेस गर्छु, आफ्नै खुट्टामा उभिन्छु भन्दा पैसाको समस्या भयो’, उनले सुनाएकी थिइन्।
‘दाइले ट्राभल एजेन्सी खोल्छु भन्दा तुरुन्त सहमति भयो उसले दुई वर्षदेखि एजेन्सी चलाइरहेको छ तर दाइजस्तै म पनि आफ्नै व्यवसाय गर्छु भन्दा घुमाइफिराइ पैसामा आएर कुरा अड्किन्छ।
हुन त मेरो पढाइमा बाउआमाको लगानी धेरै छ, यत्रो लगानी पढाइमा गरेका बाआमाले त्यही छोरीलाई आत्मनिर्भर बन्छु, आफ्नै व्यवसाय चलाउँछु म पनि केही गर्छु भन्दा पनि झट्ट आँट नगर्ने किन होला? अहिले पनि छोरीप्रति किन यस्तो सोच राखिन्छ होला ? यो सम्झदा पो अचम्म लाग्छ।’
एकदिन त मुखै फोरेर भनें, ‘मेरो बिहेमा दाइजो दिनु पर्दैन, म मेरो बिहेमा लाग्ने खर्च व्यवसायमा लगानी गर्छु सम्म पनि भनें’।
आमाले उल्टै सम्झाइन्, ‘कस्तो कुरा गर्छेस् नानी, यत्रो पढेकी छस् एकसे एक केटा आउँछन् तँलाई बिहे गर्न, इज्जतको पनि ख्याल गर्नु परेन ? एउटा छोरीको भनेजस्तो बिहे गर्ने हो नि, बिहेको खर्च कटाएर पनि कोही लगानी गर्छ ? तँलाई फार्मेसी नै चलाउन मन भए फार्मेसीवाला ज्वाइँ खोजौंला नि ’.... आमाको यो कुराले उनलाई खिन्न बनायो।
‘समान शिक्षा पाएका छोरा र छोरीमा किन समान विश्वास गरिँदैन ? दाइले ट्राभल एजेन्सी खोल्छु भन्दा एजेन्सी नै खोल्ने भए बुहारी त्यस्तै खोजौंला नि नभन्ने आमाले मेरा लागि फार्मेसीवाला ज्वाइँ खोज्ने भइन् तर मेरो लागि लगानी नगर्ने लगभग पक्का। दाइजो दिने पैसा छोरीमा लगानी गर्दा के बिग्रिन्छ ?
छोरी आत्मनिर्भर बनि भने त्यसको श्रेय बाउआमालाई हुँदैन र? केही गर्न नखोज्नेको हकमा बेग्लै कुरा होला तर म जस्ता केही गर्छौ भन्नेहरूलाई पनि किन परिवारले छोरी भएकै कारण झट्ट् विश्वास गर्दैन ? यो सोच कहिले फेरिएला’ ?
यी साथीको आग्रह छ, ‘कृपया बाआमा छोरीलाई दाइजो दिने, भोज भतेर, सुनचाँदीमा गर्ने खर्च उसको करियरमा गर्दिनुस्।
भौतिक सुख सुविधामा भन्दा केही गर्छु भन्नेलाई कम्तिमा आड भरोसा किन दिँदैन समाजले ? बिहेमा लाखौं खर्च गर्न सक्ने सचेत आमाबुवा छोरीले कुनै उद्यम गर्छुभन्दा आनाकानी नगरौं, नारा र भाषणमा समानता खोज्ने हामीहरूमा सोचमा पनि समानता खोजौं न ’।
यी उदाहरण केवल प्रतिनिधि पात्र हुन्, यस्ता धेरै उदाहरणहरू गुमनाम छन्।
आम बुवाआमालाई मेरो आग्रह छ, हामीले के भोग्यौं, कसरी भोग्यौं होइन भोलिका पिंढीले केही गरून् भन्ने सकारात्मक सोच राखौं।
सोचमा लैंगिकताको झलक नदेखौं, छोराले त्यही काम गर्छ, गर्न सक्छ भने छोरीमा खोट किन देख्ने ? भोलि बिहे गरेर छोरी अर्काको घर जाने चिन्ताले धेरै आमाबुवा खुलेर छोरीमा लगानी गर्दैनन्, यही परिपाटी देखिएको छ।
छोराले ल्याउँछन्, छोरी जान्छन् यो नियममा किन यति धेरै चिन्तित ? आखिर छोरीले राम्रो काम गरेर नाम राख्दा इज्जत त बाउआमाकै बढ्छ नि होइन र ? सफल छोरीहरूको उदाहरण पनि हेरेर सिको गरौं...