चीनको हुवेइ प्रान्तको वुहान सहरबाट सुरु भएर फैलिएको कोभिड-१९ कोरोना भाइरसले यति बेला अझै पनि समग्र विश्व आतंकित बनीरहेको छ। केही लाख मानिसहरूले ज्यान गुमाइसकेका छन्। संक्रमितको संख्या पनि थपिने क्रम जारी नै छ।
यही सेरोफेरोमा विश्वका केही विकसित मुलुकहरू यस जटील अवस्थालाई पार लगाउदै नियमित तालिकामा व्यवस्थित गर्दै अघि बढीसकेका छन्। तर यतिबेला हाम्रो देश नेपालमा भने कोरोना दिनानु दिन बढ्दो क्रममा छ। दुःखका साथ भन्नुपर्छ, यहीँबाट केही नेपालीहरूले ज्यान गुमाइसकेका छन्।
नेपाल सरकारले लकडाउन र निषेधाज्ञा गरेर मात्र कोरोना रोक्न सकिन्छ भन्ने मान्यतामा अब भने सहमत हुन सकिदैन। कोरोनाभन्दा पनि यति बेला देशमा विशेषगरी गरिब मजदुर वर्ग जो एक छाक खाना नपाएर सडक गल्लीमा रुदै भौतारीरहेका छन्, यस घटनाले समग्र देश र जनता स्तब्ध बनेको छ। वास्तवमा जनताको दुःखको साहारा बन्नु पर्थ्यो सरकार तर आज किन बन्न सकेन वा कुन शक्तिले रोक्यो, त्यो सरकार जान्ने कुरा हो।
आज हाम्रो देशको बर्तमान परिवेशलाई नजिकबाट नियाल्दा यस्तो पाएकी, केही उच्च र माध्यम वर्गीय परिवार लकडाउन गर्नुपर्छ, कोरोना रोक्नु पर्छ भन्छ। त्यही भित्र केही त्यस्ता पात्र वा वर्ग पनि छन् जसलाई आफ्नो बिजनेस र पैसासँग बाहेक न कोरोना न गरिब मजदुरको भोको पेटसँग मतलब छ।
अनि वास्तविक गरिब मजदुर जो दैनीक ज्याला मजदूरी गरेर साँझ बिहान खान्छ, त्यो वर्गलाई कोरोनाभन्दा पनि उसको भोको पेट र कोठा भाँडा, अनि परिवारको अगाडि सबै चीज गौण बनेको छ। छ त केबल एक छाक खाना र भोको पेटको मतलब छ उसलाई, अर्को तिर सरकार कर्फ्यू लगाएर भएपनि निषेधाज्ञा जारी गरिरहेको छ, दैनिक ज्याला मजदुर गरेर साँझ बिहान छाक टार्ने वर्गको आवश्यकतालाई व्यवस्थित तवरबाट मध्यनजर नगरी एकोहोरो लकडाउन र निषेधाज्ञा जारी गर्दा यो समस्याको हल होइन भन्ने पनि आममानिसमा पर्न गएको छ।
यसरी कोभिड-१९ कोरोना भाइरसले निम्त्याइ रहेको जोखिम अनि तीन विपरित धुर्बतिर फर्किएको नेपालको वर्गीय समाज र यस समग्र देश नेत्रित्व गरिरहेको नेपाल सरकारबीच उचित तालमेल नहुँदा देश झन्-झन् समस्याउन्मुख बनिरहेको छ।
हामी सबैलाइ राम्रोसँग थाहा छ, विकसित भन्ने मुलुकहरू नै कसरी कोरोनाबाट प्रभावित बने रोकथाम गर्न नसकेर, कसरी त्यति विघ्न आफ्ना जनताले ज्यान गुमाए तर सरकारले एक पक्षिय तवरबाट मात्र नियालेर विकसित मुलुकमा त्यहाँको सरकारले समग्र जनतालाई हप्तैपिछे आफ्नो बैँक खातामा हालीदिएको पैसाको कुरो, गरिब मजदुर जनताको घर-घरसम्म राहत बोकेर पुगेको पाटोलाई किन नियाल्दैन सरकार?
यदि यही अवस्थाबाट हामी गुज्रीरहने हो भने पक्कै पनि स्थिति भयावह बन्दै सिंगो देश, अर्थतन्त्र तहस नहस हुने निश्चित प्रायः छ। किनभने हाम्रो मुलुको श्रोतसाधन र क्षमता हामी सम्पूर्णलाई राम्रोसँग थाहा छ।
त्यसैले यस विषम् परिस्थितिलाई मध्यनजर गरेर भएपनि सरकारले विकल्प सहित अघि बढ्नु पर्छ। हैन भने न त हामी कोरोना रोक्न सक्छौँ न त भोको पेट। माध्यम र उच्च वर्ग जसलाई वास्तवमै खानकै समस्या भने हुँदैन, तर जो आज सडकमा भोकले भौतारिएर पीडा पोख्दै छ।
भोको पेट रन्थनिएको छ, घर भाडा कसरी तिर्ने, कसरी साँझ बिहान छाक जोड़ने भन्ने समस्या जो छ, यसतर्फ सरकार गम्भीर नहुने हो भने स्थितिले अर्को मोड लिने खतरा छ।
आज हामी टुडीखेलमा, सडक किनार, गल्ली, चोकहरूमा लाइन लागेर खान बसेका ती भोका पेटहरू देखिरहेका छौँ। त्यो पनि निषेधाज्ञालाई छल्दै पुलीससँग लुक्दै भए पनि भोको पेट भर्न आउँछन् र लाइन लाग्छन्। अनि हामी निरीह जनता सामाजिक संजालमा हेर्छौँ, देख्छौँ तिनका पीडा, रोदन, आँसु।
अन्ततः हामी जनता स्तब्ध बन्नुको विकल्प छैन। हाम्रो सरकारको ताल हेर्दा लाग्छ, सिंहदरबार र बालुवाटारको कुनै सुबिधायुक्त कोठाहरुबाट फिन-फिन घुम्ने मेचमा बसेर रंगीन पर्दा हेर्दै सरकारलाई लाग्दो हो यहाँ भीडभाड, भोजभतेर चलिरहेछ। घरि-घरि लाग्दो हो, हामीले यस्तो कडाइका साथ जारी गरेको निषेधाज्ञामा भीडभाड, पिकनिक गर्ने राजनीति गर्ने २/४ ट्रक पुलिस पठाएर पानीको फोहोरा र अश्रुज्ञास हान्दिउँ।
अझै पनि देशमा एउटा वर्ग छ जसलाई गरिब, मजदुरको भोको पेट आँसु, दुःखसँग कुनै मतलब छैन। छ त केबल तिनका श्रमसँग। हामी जो कोही पनि कोरोना सहन सक्छौँ तर भोको पेट सहन सकिदैन सरकार।