कुलमान घिसिङलाई आजको दिनमा जोकसैले धेरैभन्दा धेरै साम्झिन्छ भने त्यो त्यही पात्र हुन्छ जसले १८ घन्टा लोडसेडिङको तालिका दिमागमा कन्ठस्थ गरेर अन्धकार दिनहरू बिताए। तिहारमा देउँसे र भैलोमा रमाएर नाची रहेका संगिनी र संगीहरूले झ्याप्प बत्ती जादा पूरै तिहार अन्धकारमय बनिदा, त्यो असाधारण खल्लोपनमा बिताए।
धेरै त्यस्ता तिहारहरू जसले मैनबत्ती र ब्याकअपको भरमा बत्ती आउने आशामा सिंगो रात गुजारेर पढे। हो, वास्तवमा तिनैले कुलमानलाई मन मस्तिष्कबाट स्वच्छ र सफा नजरले सम्झिरहेका छन् आज।
आज सामाजिक संजालमा ९८ प्रतिशतभन्दा बढी जनता कुलमान घिसिङको नेपाल विद्युत प्राधिकरणमा निरन्तरताको पक्षमा खुलेर पोखिएका छन्। मलाई लाग्छ यो स्वाभाविक हो।
गणतन्त्र प्राप्ति पश्चात् बनेका धेरै सरकारहरूले लगभग यो १३/१४ वर्षको अन्तरालमा के-कस्तो जनताले प्रत्यक्ष अनुभूत गर्न सक्ने विकास गरे, त्यो उनै जानून्। तर हामी कतिपयले हाम्रै जीवनकालमा पनि सोचेका थिएनौँ होला, त्यो १८ घन्टाको लोडसेडिङ, ती अन्धकारमय दिपावलीहरू अनि मैनबत्ती बालेर पढेका, गुजारेका रातहरू यति छिट्टै अन्त्य होला भनेर।
जुन भौतिक रूपमा आज हामीले प्रत्यक्ष अनुभूत गरिरहेका छौँ, त्यसका हामी एक साक्षी हौँ। अनि किन पोखिदैनन त ? एउटा सक्षम, इमानदार कर्मठ योद्धाको निम्ति जनताका विश्वासहरू। कुलमान प्रतिको एउटा राजनीतिको घेराभन्दा बाहिर रहेको एक स्वतन्त्र नेपालीको विश्वास यसरी बढेर गयो कि दिन दुई गुणा रात चौगुणा।
त्यो विश्वास, त्यो भरोसा उनले न कुनै नेतामा देखे न त कार्यकारी प्रधानमन्त्रीमै, देखे त केबल रामेछाप जिल्लाको एक दुर्गम गाउँ बेथानका एक इमानदार योद्धा कुलमान घिसिङमा देखे। हुन त कुलमान घिसिङले चिलिमे जलविद्युतका प्रमुख रहँदै आफ्ना क्षमताहरू प्रस्फुटित गरेकै थिए।
चिलिमेका सामान्य लगानिकर्ताले बेलामा राम्रै दाम कमाए। रसुवा स्याब्रुबेसीका केही जनताले राजधानीमै घर घडेरी जोडे। कुलमान चिलिमे जलविद्युत छाड्दैछन् भन्ने गाँइ-गुइँ हल्ला बजारमा चल्दा चिलिमेको सेयरमा नकरात्मक प्रभाव परेको थियो। सायद त्यो विषय सेयर बजारसँग सम्बन्धित सम्पूर्णलाई जानकार होला।
चिलिमेबाट नेपाल विद्युत प्राधिकरणको प्रमुख कार्यकारी जस्तो राजनीतिक नियुक्तिमा तत्कालीन उर्जामन्त्रि जनार्द्धन शर्माले राइट म्यान इन, राइट प्लेस एट राइट टाइमको निर्णय गर्नमा कुनै कन्जुस्याइ गरेनन्। त्यसैले आज समग्र देश उज्यालो र लोडसेडिङमुक्त रहनुको खास टर्निङ पोइन्ट, यही निर हो भन्दा फरक नपर्ला।
नेपाल विद्युत प्राधिकरणको कार्यभार सम्हालेपछि आफूसँग भएको लामो प्राविधिक अनुभव र उच्च व्यवस्थपकिय क्षमताको सदुपयोग गर्दै पूर्णरुपमा देशलाई लोडसेडिङ मुक्त गराए, लामो समयदेखि घाटामा गएको प्राधिकरणलाई अस्वाभिक नाफामा ल्याए, कर्मचारीहरूलाई प्रोत्साहन भत्ता बाडे। विदयुत महशुल सरल र सहज रूपमा तिर्नको लागि डिजिटलाइज बनाए।
सेवालाई गुणस्तरीय छिटो र छरितो बनाए। अझ भनौँ, लकडाउनको समयमा विद्युत प्राधिकरणले नै हो सम्पूर्ण उपभोक्तालाई राहत दिएको। अनि किन नपोखून् त सामाजिक संजालमा कुलमानको निरन्तरता? त्यसैले यो स्वाभाविक हो।
सामाजिक संजालमा भरिएको कुलमानको निरन्तरताको विषय केही समय राम्रैसँग तात्यो र तातिने क्रम जारी छ। कुलमान प्रतिको समग्र जनताको विश्वास आशा भने यो पटक बिहानीको घाम झैं प्रष्ट भएको छ। सरकारका प्रवक्ताले भने जस्तै हो, संविधानत सामाजिक संजालले कुलमान घिसिङलाई नियुक्ति दिन नसक्ला तर अस्वाभाविक दबाब भने अवश्य उत्पन्न गराएको छ।
अब एक कर्मठ इमान्दार सक्षम योद्धा जसले देशलाई संवृद्धिको एउटा सिरामा प्रवेश गराए र त्योभन्दा चुनौती र जटिल विषयहरू अब हाम्रा अगाडि खडा भएका छन्। ठूल्लठूला विद्युत परियोजना लगभग अन्तिम चरणमा पुगेका छन् र नयाँ परियोजनाहरू थपिने क्रम जारी छ।
हाम्रो देश पूर्णरूपमा वियदूत आपूर्तिमा अब्बल बनिसकेपछि हामीसँग बढी भएका विद्युतलाई अन्तर्राष्ट्रिय बजारमा कसरी कुन ढंगले प्रवेश गराउने वा बेच्ने जस्ता विषयहरू पक्कै पनि चुनौतीका विशाल पर्खाल बनेर उभेका छन्। अहिले नै हाम्रो जस्तो मुलुकले सम्पूर्ण उत्पादित विद्युत खपत गर्न सक्ने क्षमता छैन किनकी अझै पनि हामी औद्योगिक आधुनिक क्रान्तिको बाटोतर्फ अघि बढ्नसकेका छैनौँ।
भएका धेरै जस्तो उद्योग, कलकारखाना तथा कृषि क्षेत्र सबै अझै पनि व्यक्ति को शारीरिक श्रमबाटै संचालित छन्। पर्याप्त मात्रामा ठूल्-ठूला मेसीन, औजार संचालन गर्न सकेका छैनौँ।
अबको केही वर्षमा हाम्रो देश विद्युतमा अब्बल बन्ने निश्चित छ। र उत्पादित सम्पूर्ण विद्युतलाई माग र आपूर्तिको तालमेल मिलाउदै कसरी व्यवस्थापन गर्ने, कसरी अन्तर्राष्ट्रिय बजारमा बेच्ने जस्ता सम्भावना र चुनौतीका चांगहरूलाई सफल रूपमा गन्तव्यसम्म डोर्याउनको लागि देश र जनताप्रति एक इमानदार, सक्षम, जुझारु कर्मठ योद्धा कुलमान घिसिङ, दुई दशकभन्दा लामो सफल अनुभवले खारिएका योद्धालाई अन्य कुनै क्षेत्रमा फेरि पनि सदुपयोग गर्न त सकिन्छ।
तर यथार्थ फेरि पनि दोस्रो कार्यकालको लागि निरन्तरता दिनु नै आजको आवश्यकता र समग्र जनताको चाहाना पनि। नियुक्ति गर्ने या नगर्ने भन्ने कुरा संविधनत नेपाल सरकारको नियन्त्रणमा छ। तर जनताले त एक पटक सामाजिक संजाल मार्फत नै नियुक्ति दिइसके।