जसरी सरकारले १२० दिनदेखिको लकडाउन अन्त्य भएको घोषणा गर्यो यो सरकारको गैर-जिम्मेदार अभिव्यक्ति थियो जबकी सरकारले जारी गरेको वक्तव्यबाट नै प्रष्ट हुन्छ, लकडाउन केही खुकुलो गरिएको हो नकी अन्त्य।
अहिले पनि लकडाउन आंशिक रुपमा जारी छ र हामी आज जुन मानसिकतामा लकडाउन अन्त्य भएकोमा छरपष्टिएका छौं कतै यही लापरबाही नै समुदायस्तरको कोरोना संक्रमणको आधार बन्न नसक्ला भन्न सक्ने अवस्था छैन। यस विषयमा नत सरकार गम्भिर देखिएकोछ न आम जनताहरु।
अर्को बिडम्बना नेपाल सरकारले लकडाउन खुला गर्दा विश्व स्वस्थ्य संगठनले तोकेको ४ वटा आधारभूत मापदण्ड कुनै पनि पूरा गरेको देखिदैन। वास्तवमा लकडाउनको अवस्था भनेको संक्रमणसँगको लडने तयारीको अवस्था हो। विश्व स्वस्थ्य संगठनले तोकेको ४ मापदण्ड जुन पूरा भएको आधारमा लकडाउन खोल्न सकिन्छ छ।
पहिलो हो, संक्रमण घटेको र न्यून हुनु पर्ने। तर नेपालमा लकडाउनसँगै बढिरहेको संक्रमण घटेको छैन झन बढदो अवस्थामा छ। दोश्रो हो, कोरानाको महामारीसँग लड्ने तयारी व्यवस्थित र सशक्त हुनु पर्ने। नेपालमा तयारीको गति न्यून छ। आउने महामारीको त कुरै गरौं पछिल्लो समयमा परीक्षणको लागि काठमाडौं आएको स्वाब नै फिर्ता भएको अवस्था छ। सरकार चाहे जति परीक्षण गर्न सक्ने अवस्थामा छैन भने अन्य आवश्यक कुनै पनि पूर्वाधार विकास गर्न असक्षम भएको छ।
तेश्रो हो, लकडाउन खुलेपछिको सेवा कार्यलयहरुको तयारी अत्यन्त व्यवस्थित गर्नु पर्ने। सरकारले जबकी क्वारेन्टाइन समेत व्यवस्थित गर्न नसकी परीक्षण बिना लक्षण नभेटिएको नाममा व्यक्तिहरुलाई घर पठाएको अवस्था छ। सेवा कार्यालयहरुमा त आवश्यक सुरक्षाको कुनै पनि तयारी देखिदैन। न त लाइन व्यवस्थित छ न हात धुनेदेखि सेनिटाइजेसन वा शारीरिक दूरी सबै अव्यस्थित र पूर्ण लापरबाह देखिएको छ।
चौथो हो, आम नागरिकहरुलाई सुरक्षित हुने सम्बन्धी आवश्यक सूचना प्रबाह र उनीहरुलाई यस अवस्थामा सुरक्षित रहने सम्बन्धी पूर्ण जानकारी गराउने। तर नेपाल सरकारले त लकडाउनै खुलेको जस्तो, संक्रमण कै अन्त्य भए जस्तो गरि सूचना प्रसार गरेको छ जसबाट जुन सुरक्षामा पूर्णरुपमा लापरबाही हामीले प्रष्ट्र देखिन सक्छौँ।
कोरोनासँग लड्न लकडाउन आफैमा सावधान होइन र हुन पनि सक्दैन। अवश्य लकडाउनले संक्रमण रोक्न ठूलो भूमिका खेल्छ नै तर निरन्तर हुने लकडाउनले मानविय जिवन चल्न सक्दैन। सम्पूर्ण समाजिक, आर्थिक, सांस्कृतीक गतिविधि नै ठप्प पारेर नत देश चल्न सक्छ न मानवीय दैनिकी। यसकारण लकडाउन एक आकस्मिक रणानीतिमात्र हो जसबाट तल्काल महामारीको रुपमा फैलिन सक्ने संक्रमण जाहाँको त्यही होल्ड गर्न सकियोस्।
जब चीनमा कोरोनाको पहिलो संक्रमण पुष्टि भयो, चीन सरकारले तुरुन्तै लकडाउन सुरु गर्यो। यो किन पनि जरुरी थियो भने एक्कासी देखिएको यो रोगबारे न विश्व जानकार थियो न चीन सरकार। यस्तो विषम् परिस्थितिमा माहामारीहरुसँग लड्न चीन सरकारसँग पूर्व तयारी हुने कुरै भएन। यस कारण आवश्यक अनुसन्धान तथा संक्रमणसँग लडने तयारीको लागि समय चाहिने भएकोले तल्काल संक्रमणलाई होल्डमा राख्न चीन सरकारले आकस्मिक रणनीतिको रुपमा लकडाउन सुरु गरेका थियो।
नेपालले पनि पहिलो चरणमा कोरोना फ्रि देश घोषणा गर्ने सम्मको तयारी गर्दा गर्दै पनि अन्तर्राष्ट्रिय दबाब विशेष गरि विश्व स्वास्थ्य संगठनले नै उच्च जोखिम रहेको देशको सूचिमा नेपाललाई राखेको कारण अन्तत लकडाउनको घोषणा गर्यो। तर नेपाल सरकार यो १२० दिनको लकडाउनको अवधिमा कोरोनाको संक्रमण रोक्न भने असफल देखियो।
विश्वको जति पनि कोरोनासँगको लडाइमा सफल राष्ट्रहरु छन्, सबै राष्ट्रहरुले संक्रमणको दर बढ्न थालेपछि अझ भन्ने हो भने समुदायस्तरमा संक्रमण बढ्न थालेपछि लकडाउनको रणनीति लिएको देखिन्छ। तर नेपालमा लकडाउन जुन बेला सुरु भयो, त्यो बेला संक्रमण नै थिएन।
झण्डै विश्व कोरोनाको संक्रमणले त्राहीमाम भएको पहिलो ३ महिना त नेपालमा संक्रमण नै हुँदैन जस्तो अवस्था थियो। जब नेपालमा लकडाउन सुरु भयो त्यसपछि भाइरसको संक्रमणले गति दिन थाल्यो। अन्य सफल देशहरुमा लकडाउनपछि संक्रमण घटाएर लकडाउन खोलिएको छ भने नेपालमा भने कोरोना समुदायस्तरमा संक्रमणको जोखिम बढिरहेको अवस्थामा लकडाउन खोली रहेका छौँ।
वास्तावमा लकडाउन संक्रमण रोक्नको लागि आवश्यक तयारीको लागि गरिने राणनीति हो। नेपाल सरकारले यो १२० दिनको लामो लकडाउनको अवधिमा समुदायस्तरमा हुने संक्रमण रोक्नको लागि कुनै विशेष तयारी गरेको देखिदैन। आवश्यक परीक्षण किटसम्मको जोहो गर्न सकेको देखिदैन।
नेपाल सरकारले लकडाउन खुकुलो पारेको धोषणा गरिरहँदा काठमाडौं जस्तो अत्यधिक जनघनत्व भएका सहरमा समुदायस्तरमा संक्रमणको जोखिम झन् बढी रहेको अवस्था छ।
ठिक हो, लकडाउन गर्दा समेत संक्रमण रोक्न नसकिएको यो अवस्थामा पुरानै तरिकाको लकडाउन गर्न सक्ने अवस्था थिएन। देशको आर्थिक गतिविधिलाई कुनै न कुनै रुपमा चलायमान गराउनु जरुरी थियो नै। यही आवश्यक्ताले नेपाल सरकारले लकडाउनको अन्त्य (खुकुलो) भएको घोषणा गरेको हो।
लकडाउनको अवस्थाको अन्त्य नहुँदा नहुँदै पनि अन्त्यको घोषणा आफैमा जोखिमपूर्ण व्यवहार हो। जसले गर्दा कोरोना नै अन्त्य भएको मनोवैज्ञानिक भ्रम सिर्जना भएको छ। त्यसैले आम मानिसहरुमा हिजो जुन सावधानी थियो त्यो अहिले भेटिदैन। यो अवस्था अत्यन्त घातक हो।
अर्को समुदायस्तरमा कोरोनाको संक्रमण भयो भने यसको लागि आवश्यक तयारीमा सरकार नलाग्नु अर्को घातक अवस्था हो। न त अवश्यक परीक्षण किट कै तयारी छ न ल्याबको तयारी। न आइसोलेसन लगायतको आपतकालीन तयारी नै देखिन्छ। सरकार कहाँ छ खोज्नु पर्ने अवस्था रहेकोछ।
प्रधानमन्त्रीको ध्यान जसरी सरकार संचालनबाट अन्यत्र मोडिएको छ, यो पनि अर्को डरलाग्दो अवस्था हो। देश कोरोना, सलह र बाढी पहिरोले आक्रान्त छ तर पूरै सरकारी संयन्त्र प्रधानमन्त्रीको पदको बार्गेनिङमा रुमलिएको छ। दैनिक बैठक हुन्छ तर कुनै बैठकमा देश र जनता जुधिरहेको यो माहामारीको विषयमा प्रसंग समेत उठ्दैन।
महामारीमा रातदिन समय दिई यस युद्धमा लड्न सरकार, कर्मचारी, स्वास्थ्यकर्मी लगायत आम जनतामा जुन नेतृत्व दिएर अगाडि बढ्नु पर्ने प्रधानमन्त्री आफ्नै पार्टीको बैढक छलेर बस्नु पर्ने अवस्था सिर्जना भएको छ, जुन देशको लागि राम्रो होइन।
पार्टी कै नेतृत्व छिन्नभिन्न यो अवस्थामा सत्ताधारी पार्टीको यो विभत्स गाँढ कोराई पनि अर्को राष्ट्रिय संकट भएर उभिएको छ। सत्ताधारी पार्टी एक भएर सरकारलाई सहयोग गरेर महामारीसँग जुध्नु पर्ने अवस्थामा सरकार, प्रधानमन्त्री आज सत्ताधारी पार्टी भित्रको पदको भागबण्डाले थिचिएर गन्तव्यहीन देखिन्छ भने देश नेतृत्वविहीन अवस्थामा रहेकोछ।
यसको अन्त्य नै आजको विकल्प हो। यस प्रकारको अनिर्णयको अवस्थाबाट देशलाई निकासा आजको खाँचो हो। मुख्यतयाः सत्ताधारी पार्टीले निर्मम निर्णय लिनु आवश्यक छ। नेता कार्यक्रर्ताहरुले आफ्नो स्वार्थको खातिर पार्टीलाई अनिर्णयको बन्दी बनाउनु देश प्रतिको गद्धारी नै हो।
लाग्छ अर्को दशक पनि नेपालमा वैचारीक धुब्रिकरण कै चरण हुनेछ। लोकतन्त्रलाई निखार्न पनि सायद यो जरुरी छ। जहाँ विचार, आचारण र व्यवहार मिल्दैन त्यो मिलन देखावटी र स्वार्थको कुम्भ मात्र हो। जब स्वार्थमाथि धक्का लाग्छ त्यसपछि बिस्फोट हुन्छ नै। यसरी नेकपा पार्टीलाई स्वार्थको एम्बुसमा धरापमा राख्नुभन्दा निर्णायक निर्णय गरेर अगाडि बढ्नुको कुनै विकल्प देखिदैन।
अन्त्यमा लकडाउनको न त अन्त्य भएको छ न कोरोनाको संक्रमण नै कम भएको छ। जति संक्रमण कम देखिएको समाचार सुनिएको छ, त्यो संक्रमण कम भएर भन्दा पनि परीक्षण घटेकोले मात्र हो।
हो, नेपाल सरकारले आर्थिक गतिविधि अगाडि बढाउने प्रयास गरिरहेको छ जुन अति आवश्यक पनि थियो, त्यो पनि लकडाउनकै बीचमा हो। यसकारण लकडाउन कायम गरौं तर सँगसँगै पूर्ण साबधानीका साथ आर्थिक गतिविधि अगाडि बढाउँ। लकडाउन अन्त्य होइन, मात्र केही खुकुलो अवश्य भएको छ।