राजधानीमा सार्वजनिक स्थानमा एकजना महिलाको ढाड देखियो र देशभरी सबैको नियत। मलाई पिर लाग्छ, जाबो ढाडले हल्लिने मेरो देशले भुइँचालो कसरी थेग्ला?
शरीर जसको हो, अधिकार उसैको हुन्छ। अरु कसैको निर्देशनमा शरीरका अंगहरु चल्दैनन्। चाहे पेट घटाएर 'सिक्स प्याक' बनाइयोस्, चाहे शल्यक्रियाबाट स्तन ठूलो। दुखाइ भोगाइ रोमाञ्चकता सबै आफ्नै भागमा पर्छ। देखाउने लुकाउने सबै आफ्नै जिम्मा हुन्छ।
तिमीलाई मेरो तिघ्रा मन पर्दैन भन्दैमा म गर्मीमा सुरुवाल लगाएर बस्दिनँ। मलाई जहाँ जसरी जे लगाउँदा सजिलो हुन्छ, म त्यही लगाउँछु। कसैलाई अप्ठ्यारो लाग्छ भने, आँखासँग बन्द हुने र अन्तै हेर्ने विकल्प पनि हुन्छ। हामी सबै आफ्नै लागि बाँच्छौं। अरुको लागि अर्कै जुनीमा सोचौंला।
स्नातक पढ्दाताका नयाँ ब्याचलाई कार्यक्रम गरेर स्वागत गर्दाको कुरा हो। गुन्यूचोली लगाएर 'छिटको सारी मखमली चोलीलाई' भन्ने गीतमा नाचेका दुई जना साथीलाई अग्रपंक्तिमा बसेका गुरुवर्गले उठेरै ताली बजाए। त्यसलगत्तै 'हाइवेस्ट' प्यान्ट र 'क्रप' टिसर्ट लगाएर 'हिप्स डोन्ट लाइ' भन्ने गीतमा नाच्ने साथीका लागि, गुरुवर्गले बिना ताली मुख बङ्ग्याए।
'कस्तो छाडा, जीउ त छोप्नु पर्छ' भन्ने कानेखुसी सुनिरहेको थिएँ। गुन्यूचोली छोटो भएकाले देखिएको कम्मर माथिको भाग, क्रप टिसर्टमा देखिएको भन्दा बढी नै थियो। तर गुन्यूचोली सभ्य र क्रप टिसर्ट असभ्य भयो। असभ्यता मापनको आधार देखिएको भाग थियो वा पश्चिमेली पोशाक। मैले बुझ्न सकिनँ।
एउटा बिहेको माहोल पनि बुझ्न नसकिने थियो। पछाडि 'ओपन ब्लाउज' मा सारी लगाइएको र उस्तै 'ओपन' कुर्ता लगाइएको ढाडहरु वरिपरि प्रशस्तै थिए। तर सबको नजर र फुस्फुस् पछिको हाँसो, पछाडि खुला भएको 'वानपिस' लगाएकी केटीमा थियो। नजर र हाँसोले, माहोलमा त्यो पोशाक नपचेको संकेत गर्दै थियो।
मैले फेरि पनि बुझ्न सकिनँ, महिलाको जीउमा देखिएको खाली ठाँउसँग समस्या कि लगाएको लुगासँग? अस्तिको भाइरल फोटोमा, बाइकपछाडि सारीवाला ढाड भइदिएको भए फरक पर्ने थिएन होला। सारी र कुर्ताको खाली भाग मर्यादित र अन्य लुगाको खाली भाग अमर्यादित कसरी हुन्छ? गुन्यूचोलोको खाली भाग पाच्य र क्रप टिसर्टको खाली भाग अपाच्य कसरी हुन्छ?
स्वतन्त्रताको बल्छी आज पनि लुगामा अड्किएको देख्दा, नेपाल मंगल ग्रहको कुनै एउटा देश जस्तो लाग्छ। र यहाँका सबै मर्यादित मानसिकता, एलियनको जुम्ल्याहा भाइ।
एउटा प्रगतिशील अंकल छन् टोलमा। 'छोराछोरी बराबरी हुन्, समान शिक्षा दिनु पर्छ' भन्ने सोच भएका। तराई भेगका खनाल हुन्। तराईमा गर्मी बढी हुने भएकाले तल गम्जा बेरेर माथिल्लो भाग नांगै राख्ने चलन छ। उहाँको त्यही बानी बस्यो र जाँदै गएन। उहाँको सिकोमा छोरो पनि उस्तै गर्ने भएको छ।
घर जाँदा बाउछोरा सधै अर्धनग्न बैठकमा लडेर टिभी हेरिरहेका भेटिन्छन्। उहाँको छोरी मेरो मिल्ने साथी हो। चितवनमा एमबिबिएस गर्दै छे। उसलाई 'सर्ट्स' खुब मनपर्छ। इन्टाग्राममा नारायणीतिर, बीस हजार ताल, सौराहा जस्ता थुप्रै ठाँउमा सर्ट्स लगाएका टन्नै फोटा छन्। राति प्रायः भिडिओ कलमा कुरा हुँदा 'फ्रि साइज' का हाफप्यान्ट लगाएर बसेको देख्छु।
प्लस टु पढ्दाताका घरबस्दा हाफप्यान्ट लगाएकै कारण बुवाको हप्की खाएकोले, घर आउँदा ट्रयाक लगाउँछे। घरकाले फोटो देख्लान् भनेर इन्टाग्राममा आफन्त कसैलाई 'एड' गरेकी छैन र नाम पनि नभेटिने गरी उल्ट्याएर राखेकी छे। आफू आधा जीउ नांगै बस्न रुचाउने अंकल छोरीको तिघ्रा देखिएको सहन सक्दैनन्। समान शिक्षा दिएर मात्र बराबरी हुँदैन भन्ने कुरा उहाँलाई कस्ले बुझाओस्।
त्यसैले आजकाल टोलविकासको बैठकमा समानता सम्बन्धी उहाँका प्रसंग खोकाइ मात्र लाग्छन्। अझ मलाई माया त उहाँको हुँदै नभएको बुहारीको लाग्छ। पहिरन सम्बन्धी आ-आफ्नै रूचि पाल्ने आजको पुस्तालाई कुर्ता र सारीमा मात्र सीमित बनाइन खोज्दा, सारीमा अल्झिएने उस्को हरेक पाइलाले प्रश्न गर्छ होला?
लुगाको भारले थिचिदिएर बुहारीहरू उड्न कसरी सक्छन्? कुर्ताको सलले अल्मल्याउँदा उसको हरेक दिक्दारीले प्रश्न गर्छ होला, लुगाले बाँधिएका आत्मविश्वासहरू कसरी स्वतन्त्र हुन सक्छन्? लुगालाई व्यक्तिगत रूचिभन्दा माथि मर्यादा तहमा राखेर हेर्नु कत्ति पनि जायज होइन। पहिरनको मर्यादा ओढेकी बुहारीभन्दा रूचि लगाएकी बुहारी बढी खुसी हुन पाउँछिन् होला।
परिवर्तनको ठूलाठूला बहस र छलफल चलिरहेकै हुन्छ। समानता र सहभागिताका गफहरू हरेक शिक्षित बसाइमा टेबलमा पस्किएकै हुन्छ। तर हाम्रो विवेक घरभन्दा बाहिरका लागि हुन्छ। आफू र आफ्नो 'सर्कल' भन्दा परका लागि हुन्छ। म २० लाख दाइजो लिएर दाइजो प्रथाको विरुद्धमा बोल्छु। म मेरो साथीसंगीको अंगहरूको अश्लील कुरा दारूसँग सितन बनाएर 'बलात्कारीलाई फाँसी दे' ह्यासट्याग सहित स्ट्याटस पोस्ट्याउँछु।
र, म मेरो श्रीमतीलाई उसको रूचि बेगर सारी मात्र लगाउन दबाब दिएर स्वतन्त्रताको पक्षधर हुँ भन्दै कथा कविता-गजल लेख्छु। अनि सरकारी सेवामा रहेर देश खाएर केश पकाई सकेर पनि, अन्जान स्त्रीको ढाडको तस्बिरलाई अमर्यादित संज्ञा दिदै सामाजिक सञ्जालमा भाइरल बनाउँछु। र आफूलाई छाती पिटेर भन्छु, म परिवर्तशील सोच राख्ने आधुनिक नेपाली हुँ।
यस्तै लुगा पचाउन नसक्ने जमात आफूलाई आधुनिक भन्दै हिँड्छ। लुगा पचाउन गाह्रो पर्यो। र त बुझ पचाएर फोटो खिचियो। जाबो ढाडले उडाइ लग्ने खोल पनि के ओढेको होला!
सरकारी गाडीमा छोरी मान्छेले ढाड देखाएर हिँड्नु भएन। तर प्यान्ट तल लगाउने छोरा मान्छेले चाकै देखाएर हिँड्न पनि पाइयो। छोरा मान्छेको यस्ता दृश्य 'मिम' मात्र बन्ने अनि छोरी मान्छेको दृश्यलाई मर्यादासम्म लम्ब्याउनु पर्ने? प्यान्ट तल लगाउने केटाहरूले झरेको सामान उठाउँदा देखिने दृश्य पचाउनु पर्ने अनि छोटो टिसर्ट लगाएर सिटमा बस्दा देखिने भित्री परिहन पचाउन चाहिँ नसक्ने। छोरा मान्छे बेमतलब जेसुकै लगाएर हिँडे पनि हुने, छोरीले पाइला–पाइलामा सावधान हुनु पर्ने?
सेन्डोको फित्ता देखिन हुने, ब्राको फित्ता देखिन नहुने? सर्टको टाँक खोलेर छातीभरीको कपाल देखिन हुने, फ्रि टिसर्टमा 'क्लिभेज' देखिन नहुने? चौडा उच्चो छाती बनाउदा सुहाउँदो भइने, ठूलो छाती भएकाहरूको 'भर्जिनिटी' मा प्रश्न गर्ने? फेसनएबल लुगा लगाउँदा कोही हिरो हुने, फेसनएबल लुगा लगाउँदा कोही चरित्रहीन हुने? यो कस्तो समानता हो?
एउटा छोरी मान्छे घरदेखि अफिससम्मको यात्रा गर्दा लगाएको लुगाकै कारण कति सावधान बन्नु पर्छ थाहा छ? पछाडि खल्ती नभएको सादा प्यान्ट लगाउदा भित्री बस्त्रको डाम देखिने डरले स्ल्याक्स लगाउनु पर्छ। ब्राको फित्ता नदेखिन, छातीमा उकुसमकुस भएर पनि टाइट ब्रा लगाउनु पर्छ। हातमाथि उचाल्दा पसिना आएका काखी पनि देखिनु भएन।
दाग छोप्नका लागि मेन्सुरेसनको समयमा कालो मधुरो रंगको प्यान्ट लगाउनु पर्छ। महिलालाई यति सावधान सतर्क कस्ले बनायो? हरेक मोडमा डराउनु पर्ने समाज कसरी बन्यो? महिलालाई मात्र प्रश्न गर्ने यति धेरै आँखाहरू कहाँबाट जन्मिए? के-के लुकाउनु? भित्री बस्त्रको डाम लुकाउनु कि, ब्राको फित्ता लुकाउनु कि, काखीको पसिना, मेन्सुरेसनको दाग को-कोसँग लुकाउनु?
महिलाको भागमा सधै लुकाउने कुरा मात्र पर्यो। सायद त्यसैले टिनएजमा रिस लुकाइयो, बढ्दै जाँदा अंग लुकाइयो, बिहे हुँदा क्षमता लुकाइयो र आमा हुँदा रहरहरू। महिलाले देखाउने चाँहि के? गरेर देखाउन पनि त रोकटोक छ।
पँधेरोमा पेटिकोट लगाएर नुहाउनु मर्यादित भइने हाम्रो समाजमा, स्विमिङ पुलमा बिकिनी लगाएर नुहाउनु अमर्यादित मानिन्छ। सहरका स्विमिङ पुलमा, जति खुलेर पुरुषहरु हाम्फाल्न सक्छन्, महिलाहरू किन सक्दैनन्? आज पनि स्विमिङ पुलहरूमा पुरुषको तुलनामा महिला कम किन भेटिन्छन्? समाजले दिएको लाज र त्यो लाजले कम गरेको आत्मविश्वास कहिले बुझ्ने हामीले?
मानौं कुनै एउटा केटालाई दस जनाले एकोहोरो हेर्छ भने उसले आफ्नो स्विमसुटमा प्वाल परेको छ कि भनेर हेर्छ। उस्लाई अप्ठ्यारो लाग्छ। किन हेरेको होला भन्ने प्रश्नहरु आउन सक्छ। मानौं त्यही ठाँउमा केटी छन्। मान्नै पर्दैन, पूराका पूरा मान्छे उसैलाई हेरिरहेका हुन्छन्। दस जोडी आँखा तिमीलाई अप्ठ्यारो लाग्छ भने ५० वटा आँखाले उसलाई कति घोच्छ होला? हामी आफैंलाई प्रश्न गरौं न।
सुकुटे बिचमा बक्सर लगाएर हामी केटाहरू भलिबल खेल्न सक्छौं। त्यही ठाँउमा एउटी केटी बिकिनी लगाएर खेल्न किन सक्दिन? जस-जसले सक्नु हुन्छ सक्नुभएको छ, उहाँहरूप्रति सम्मान छ मेरो। र त्यही नसक्ने केटी थाइल्यान्डको बिचमा, बेपरवाह बिकिनीमा, छालको मजा लिइरहेका हुन्छन्। चाहेको पोशाक लगाउन पनि महिलालाई विदेश जानु पर्ने? बिकिनी लगाउन महिलाले देश छोड्नु पर्ने? अनि हामी कुन समानताको धरातलमा उभिएर लैंगिक विभेद अन्त्यको नारा गाउछौं। झोल छ हजुर, ठूलो झोल।
गायिका/ट्राभलर समृद्धि राईलाई छोटो पोशाक लगाएकै कारण ट्राफिक अफिसमा प्रवेश नदिएको घटना राजधानीमै भएको हो। जहाँ हाफप्यान्ट लगाएर केटाहरूले सजिलै प्रवेश पाइरहेका थिए। पढे लेखेको जुझारु, आफ्नो लागि बोल्न लड्न सक्ने समृद्धि राई जस्ता पब्लिक फिगरलाई लुगा परिवर्तनको लागि बाध्य बनाइयो भने सामान्य महिला चाहेर पनि कसरी चाहेको लुगा लगाउन सक्छिन्?
छाला र मासुको प्रकृति एउटै हो। तर पनि केटाको देखिदा सामान्य र केटीको खुट्टा देखिँदा असामान्य कसरी हुन गयो? देशको सुरक्षामा खटिने प्रहरी प्रशासनको मान्यता यति साँघुरो छ भने मूलधारभन्दा परको समाजमा महिलाको स्थिति कस्तो होला? यस्तै पातला सोच भएका जमातलाई ऐना देखाउन सामाजिक संजालमा महिलाहरूले ढाड देखाउन थाल्नु भएको छ। आफ्नै शरीरमा आफ्नो अधिकार नदिनेहरुलाई यसरी ऐना देखाइ रहनु पर्छ।
राजधानीको अस्तिको प्रसंग एउटा प्रतिनिधि घटना मात्र हो। जसमा मिडियाको बगाइ पनि कर्मनाशा जस्तो उल्टो देखियो। खोज्नु पर्ने फोटो भाइरल बनाउने मान्छेलाई थियो। नालीबेली निकालियो भाइरल हुने व्यक्तिको। यही यस्तै कारणले भाइरल हुने जो-कोही पनि अन्त्यमा 'भिक्टिम' बनाइन्छन्। अधिकांश घरमा महिलाका लागि पहिरनका पर्खालहरु छन्। अधिकांश समाजमा लुगाले नछोपिएको खाली ठाँउ, प्रश्नहरुको मैदान बनि दिन्छन्।
आज पनि लुगा छोटा लगाउनेभन्दा नियत छोटा भएका मान्छेहरु सामाजिक छन्। पहिरनको आधारमा चरित्र नाप्ने मेसिनहरू गल्ली गल्लीमा सास फेरिरहेका छन्। लुगाको नापको आधारमा मर्यादाको सर्टिफिकेट दिने जमातहरु टोल टोलमा संगठित छन्। निर्जीव लुगाले महिला पुरुषमा विभेद गर्दैन भने, तिमीले सास फेरेको त मतलबै भएन नि!
लुगा नित्तान्त व्यक्तिगत रूचि कुरा हो। सबैको रूचि एउटै हुँदैन। आफ्नो रूचिभन्दा फरक रूचिलाई गलत भन्न मिल्दैन। सम्मान गर्नु पर्छ। थरिथरिका चाहना भएका मान्छेहरू भएरै त हो संसार विचित्रको भएको। लुगामा के छ र, सोच छोटो हुनु भएन।