विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट यति बेला समग्र विश्व नै त्रासमा गुज्रिरहेको छ। कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि नेपालमा पनि विगत दुई महिनादेखि बन्दाबन्दी (लकडाउन) गरिएको छ।
कोरोना भाइरसको त्रासबाट एसइई दिने विद्यार्थी पनि मारमा परेका छन्। गत चैत्र ६ गते तोकिएको माध्यामिक शिक्षा परिषद् (एसइई) परीक्षा स्थगित गरेसँगै विद्यार्थीहरु अन्यौलमा परेका छन्। चैत्र ६ गतेबाट सुरु हुन लागेको एसइई परीक्षालाई अघिल्लो दिन (चैत्र ५) गते स्थागित गरेपछि एसइईको तयारीमा रहेका विद्यार्थी भाइबहिनीहरु परीक्षा नदिई घर फर्केका थिए।
कोरोना भाइरस महामारीको जोखिमबाट बच्न र बचाउनका लागि सरकारले ढिलो गरेर मात्र एसइई परीक्षा स्थगित गरिदिदाँ लाखौ विद्यार्थीको भविष्य अन्यौलमा परेको थियो। कतिपय विद्यार्थी घरबाट एसइई भनेर सहर पुगिसकेपछि एसइई स्थागित भइदिदाँ निराश हुँदै घर फर्कन बाध्य भएका थिए।
हुन त सरकारले पनि कोरोनाको उच्च जोखिमलाई मध्यनजर गर्दै परीक्षा स्थगित गरेको हो। यद्यपी, समयमै परीक्षा स्थागित गरेको सुचना विद्यार्थीलाई दिन सकेको भएमा अझै राम्रो हुने कतिपय विज्ञहरुको भनाइ छ।
मुखमै आएको परीक्षा स्थगित हुँदा कतिपय विद्यार्थीहरुमा मनोवैज्ञानिक असर समेत परेको छ। सम्पूर्ण तयारी पूरा गरिसकेका विद्यार्थीहरु लामो समयसम्म लकडाउनका कारण रिफ्रेस नहुँदा कतिपयमा डिप्रेसनको सम्भावना समेत देखिने त्रास समेत बढेको छ।
यसका साथै घरमै बस्दा पढ्दा-पढ्दै दिक्क लागेर मोवाइलमा ध्यान केन्द्रित हुँदा पढेको कुरा बिर्सेर रिजल्ट समेत बिग्रन सक्ने सम्भावना समेत देखिन्छ भने कतिपयमा लकडाउनको समय अवसरको रुपमा समेत सदुपयोग भएको छ। कतिपयले यहि फुर्सदको समय एसइई परीक्षा तयारी गर्नका लागि गतिलो अवसर समेत भएको छ।
अझ केही समयअघि एसइई परीक्षा गराउने वा नगराउने भन्ने विषयले समेत विद्यार्थीहरुमा थप अन्यौलता सिर्जना भएको थियो। यद्यपी त्यस बहसमाथि शिक्षा मन्त्रालयले लकडाउन खुलेलगत्तै परीक्षा सञ्चालन हुने भनेर प्रष्ट पारेपछि विद्यार्थीहरुले ढुक्क भएर परीक्षाको थप तयारीमा जुटेका छन्।
सिद्धार्थ बनस्थली स्कूल काठमाडौंबाट एसइईको तयारीमा रहेकी विदुषी पौडेलले चैत्र ६ गतेको परीक्षाका लागि सम्पूर्ण तयारी पूरा गरिसकेकी थिइन्। उनलाई परीक्षा सरेर एकदमै टेन्सन समेत भएको छ।
‘तयारी पुगिसकेको थियो, यो अघिल्लो दिन परीक्षा रोकिएर एकदमै नरमाइलो समेत लाग्यो, त्यतिबेलै परीक्षा सकिएको भए अहिले मजाले अन्य काममा व्यस्त भइन्थो,’ उनले भनिन्।

तस्बिरः विदुषी पौडेल
उनलाई त एक्कासी परिक्षा सरेको खबरले झड्का नै लाग्यो, परीक्षा दिएर बस्न पाएको भए टेन्सन पनि सक्किने उनको भनाई छ। लामो सयम यसरी घरमा बस्दा पढ्न पनि त्यति मन नलाग्ने, पढेको पनि बिर्सिने, मोबाइलमा मात्र ध्यान केन्द्रित हुने, साथीभाईसँग भेट्न नपाउँदा पनि खल्लो लाग्ने लगायतका समस्याहरु उनले भोगेकी छिन्।
‘सामान्य समयमा भएको भए साथीभाइ ग्रुपमा पढ्न पाइन्थो, त्यो सम्भावना पनि भएन,’ उनले थपिन्। अझ बीचमा परीक्षा नै नहुने हल्लाले झनै अन्यौलता थपेको भन्दै कहिले हुन्छ भन्ने निश्चित नभएकोले अहिले परीक्षा तयारीमा त्यति मन नलागेको भएपनि परिवारले पढ्नलाई प्रेसर दिन भने नछोडेको उनको भनाइ छ।
यद्यपी, उनले फुर्सदको समयमा जति नै पढ्न मन नलागेपनि विभिन्न समयमा इन्टरनेटका माध्यमबाट विभिन्न विषयसँग सम्बन्धित विषयहरुका बारेमा खोजेर पढ्ने गरेको उनले बताइन्।
एसइई परीक्षा दिनका लागि होस्टल बसेर पढेका तनहुँ भिमादका मदन थापा मगर परीक्षा स्थगित भएपछि निराश भएर घर फर्कन बाध्य भएका थिए। दुई महिनादेखि तनहुँको दुलेगौंडामा रहेको भविष्य निर्माण एजुकेशन फाउण्डेसनमा बसेर परीक्षामा राम्रो अंक ल्याउने भनेर अन्तिम तयारीमा जुटेका मगर अहिले निराश भएर घरमा बसेका छन्।

तस्बिरः मदन थापा मगर
‘लकडाउनले होस्टल पनि बस्न पाइएन्, गाउँघरमा काम पनि सुरु हुने बेला भयो, पढ्नभन्दा काममा व्यस्त भइन्छ, रिजल्ट बिग्रने हो कि भनेर डर लाग्छ,’ उनले भने।
होस्टलमा बसेर पढेको बेला परीक्षा लेख्न पाएको भए राम्रो हुने उनको भनाइ छ। अब लामो समय लकडाउनले गर्दा पढ्न मन नलागेकोले परिवारका सदस्यले समेत होस्टल बसेको कामै भएन भनेर चिन्ता लिएको उनी गुनासो गर्छन्। साथीहरुसँग छलफल गरेर गुप्रमा पढ्ने बानी भएका उनी अहिले एक्लै पढ्नै मन नलाग्ने र पढेपनि खासै नबुझ्ने समस्या उत्पन्न भएको सुनाउँछन्।
यस्तै, तनहुँको खैरानीटारमा रहेको अरनीको विद्यालयबाट एसइई परीक्षाको तयारीमा रहेकी निरुता भट्टराईले भने लकडाउनको समयलाई सदुपयोग गरेर अध्ययनमा जुटेकी छिन्। परीक्षा पछाडि धकेदिला केही टेन्सन र दुःख लागेता पनि यो फुर्सदको समयमा पनि पढाइलाई निरन्तरता दिएर लगभग सबै विषयहरुको ‘रिभिजन’ गरेर सकेको उनले बताइन्।
तस्बिरः निरुता भट्टराई
‘तत्कालै परीक्षा दिन पाएको भए राम्रो हुन्थ्यो, त्यही पनि अझै समय पाइयो भनेर तयारीमा जुटिरहेकी छु, तर पनि परीक्षा कहिले हुन्छ भनेर एकिन नहुँदा अन्यौलता भने भएको छ,’ उनले भनिन्।
रिजल्ट आउने र कलेज पढ्ने बेलासम्म पनि परीक्षाको ठेगान नहुँदा अलिकति फरक अनुभूति भएको भट्टराईले बताइन्। लकडाउनको सुरुमा साथीहरुसँगै बसेर पढे पनि पछिल्ला समय लकडाउनमा भएको कडाइले साथीहरुसँग पनि भेटन् नपाएको उनको गुनासो छ । परिवारले पढ भनेर सुझाव दिने भएपनि त्यती साह्रो ‘इरिटेड’ लाग्ने गरि प्रेसर भने नदिने गरेको उनले सुनाइन्।
माइलस्टोन स्कूल ललितपुरकी विविशा खड्कालाई सुरुमा परीक्षा सरेको खबर सुन्दा त धेरै खुसी लागेको थियो तर लामो समयसम्म लकडाउन भइदिदाँ र परीक्षा अन्यौलमा पर्दा भने दुख लाग्न थालेको छ। परीक्षा स्थगित भएसँगै आफ्नो गाउँ इटहरी पुगेकी खड्कालाई विद्यालयले अनलाइन कक्षामार्फत पढाईरहेको छ। तर गाउँमा इन्टरनेटको पहुँच नहुँदा त्यती पढ्न नपाएको उनको भनाइ छ।
तस्बिरः विविशा खड्का
लकडाउनको फुर्सदमा समय म्यानेज गरेर खासगरी गाह्रो विषयहरुमा आफूले ध्यान केन्द्रित गरेर अध्ययन गरिरहेको उनको भनाइ छ। उनी भन्छिन्, ‘साथीभाइलाई भेट्न मन लागेको छ, छिट्टै परीक्षा सकेर ढुक्कसँग बस्न पाए हुन्थो जस्तो लाग्छ तर कहिले हुने हो परीक्षा टुंगो छैन।’
काठमाडौं सामाखुशीमा रहेको नवोदित स्कूलका विद्यार्थी आशिष पंगेनीलाई भने लकडाउनको समयलाई भरपुर उपयोग गरिरहेका छन्। विद्यालयले एसइईको नतिजा उत्कृष्ट बनाउनका लागि उनीहरुलाई विशेषतः गणित, अंग्रेजी र विज्ञान विषयमा ‘फोकस’ गरेर अनलाइन कक्षा सञ्चालन गरेको छ। त्यसैले पनि पंगेनीलाई पढ्नमा उत्साह थपेको छ। जसका कारण पढाईमा ध्यान केन्द्रित हुँदा अब परीक्षा दिदाँ ग्रेड अझै बढ्न सक्ने उनले बताए।

तस्बिरः आशिष पंगेनी
‘परीक्षा सरेर अझै दोहोराएर पढ्न पाइयो, त्यसैले मलाई परीक्षा सरेर फाइदा नै भएको छ, अंक पनि बढ्ला कि जस्तो लागेको छ,’ उनले भने। उनले लकडाउको समयमा पनि समय तालिका बनाएर पढ्ने, खेल्ने र अतिरिक्त क्रियाकलापमा सहभागी हुने गरेका छन्।
साथीभाईसँग प्रत्यक्ष गुप्रमा भेटेर छलफल गर्न नपाएपनि उनी नजानेको कुरा म्यासेन्जर वा भाइबरबाट साथीहरुसँग सोधखोज गरेर समेत पढ्ने गरेका छन्।