काम भन्नाले मानसिक र शारीरिक शक्ति प्रयोग गरिने गतिविधि हुन्। जुन गतिविधि सञ्चालनपश्चात् उद्धेश्य अनुरूपको परिणाम हासिल हुनुपर्छ। कामबिना समाजको अवस्था कल्पना पनि गर्न सकिन्न।
आधारभूत शारीरिक आवश्यकताहरू गाँस, बास र कपासको उपलब्धताका लागि काम एकमात्र र्निविकल्प हो। विश्वको आधुनिकीकरणसँगै काम गर्ने तरिकामा पनि आधुनिकीकरण भित्रिएको छ। जस्तो: अहिले शारीरिक परिश्रम धेरै नगरीकनै मेसिन अनि आधुनिक औजार प्रयोग गरेर विश्वमा जुनसुकै ठाउँमा बसेर पनि काम गर्ने वातावरण बनेको छ। जसका कारण काम गर्ने हातहरूको दायरा बढेको छ भने शक्ति, बुद्धि तथा दिमागीय खुबीलाई प्रविधिले दुगुणा गरिदिएको छ।
कोरोना भाइरसको महामारीका कारण अहिले विश्वका धेरै देशहरूले लकडाउन अर्थात् बन्दाबन्दीको सामना गर्नुपरेको छ। जसका कारण धेरै संघसंस्थाले आफ्नो कार्यालयबाट काम गर्ने अवस्था छैन।
विश्वमा धेरै संघसंस्थाका कर्मचारीले यतिबेला घरमै बसेर कार्यालयको काम गरिरहेका छन्।
हाम्रो देश नेपालमा पनि लकडाउन भएको २ महिना नाघिसकेको छ। यो अवस्थामा धेरै संघसंस्थाहरूले वर्क फ्रम होम् अर्थात घरबाटै कार्यालयको काम गर्ने अभ्यास सुरू गरेका छन्।
एक प्रतिष्ठित संस्थामा कार्यरत पल्लवी सिंह यतिबेला सबै काम घरबाटै गरिरहेकी छिन्। कार्यालयले दिएका सबै कार्य उनले घरबाटै सकाएर इमेल गरिदिन्छिन्।
कार्यालयले सञ्चालन गर्ने टिम मिटिङमा कसले के काम गर्ने भन्ने तय हुन्छ र सोही अनुसार आफूहरूले घरबाटै काम गरिरहेको उनले बताइन्।
उनलाई घरबाट काम गर्न आनन्द पनि लागिरहेको छ रे। कामको प्रकृति ल्यापटपमा बसेर गर्ने खालको भएकोले र कार्यालय गए पनि नगए पनि आफूले गर्नुपर्ने कामको गुणस्तरमा र कार्यक्षमतामा कुनै कमी नआएको उनको अनुभव छ।
लकडाउन सकिएर नियमित कार्यालय सञ्चालनमा आएपछि पनि कामको प्रकृति हेरेर हप्तामा एकचोटि घरबाटै काम गर्नुपर्ने नीति सबै संस्थाले बनाउनुपर्ने उनी सुझाउँछिन्।
काठमाडौंमा प्रदूषण कम गर्न वर्क फ्रम होमले धेरै नै मद्धत गर्ने उनको बुझाइ छ। घरमा बसेर काम गर्दा अफिसको काम र घरको काम दुबैतिर समय दिन सकिने उनको तर्क छ। त्यसैले त उनले यही बेला कौसी खेती पनि सुरू गरेकी छिन्। अरुबेला हप्तामा एकदिन बिदा हुने र बिदाको दिनमा अन्य थुप्रो काम गर्नुपर्दा कौसी खेतीमा चाख भएर पनि गर्न भ्याएकी थिइनन् तर अहिले भने उनले यही लकडाउनको मौकामा आफ्नो इच्छा पूरा गरेकी छन्।
घरमा समय दिन पाइने मात्र होइन, वर्क फ्रम होमका कारण तनाव कम भएको अनुभव पनि गरेकी छिन् उनले।
पल्लवीले जस्तै म पनि यतिबेला घरमै बसेर कार्यालयको काम गरिरहेकी छु। यसरी कार्यालयको काम घरमै बसेर गर्दा प्राप्त भएको एउटा मीठो अनुभव यहाँ साझा गर्न चाहन्छु।
मेरो कार्यालयले बिदाको दिनबाहेक प्रत्येक दिन एउटै समयमा मिटिङ गर्ने समय तय गरेको छ।
सोही अनुरूप म कार्यालयले तय गरेको समयमा मिटिङमा बस्ने बेलामा जब मेरो अढाइ वर्षकी छोरीले म सधैं बस्ने ठाउँमा म्याट ओछ्याइदिन्छे, अनि मेरो ल्यापटप, नोटकपी र कलम टेबलमा ल्याएर राखिदिँदै भन्छे “मामु अब हजुर अफिसको मिटिङ गरिस्यो, म हल्ला नगरी हजुरको छेउमा कलरिङ गरेर बस्छु है”। यो बेला मिल्ने खुसी म यहाँ शब्दमा वर्णन नै गर्न सक्दिनँ।
मैले यतिबेला घरमा बसेरै कार्यालयको काम र छोरीसँग समय बिताउन पाएकी छु, यो भन्दा ठूलो मेरा लागि के नै होला र?
सोच्नुस् त, म जसरी छोरीसँग बस्न पाएर मख्ख छु, खुसी छु, त्यसरी नै तपाईं आफ्ना आमाबासँग वा आफन्तसँग समय बिताउन पाएर खुसी हुनुहुन्न र?
यो प्रसंग जोड्नुको एउटै अर्थ यही हो, नेपालमा रहेका संघसंस्थाले अबका दिनमा वर्क फ्रम होमलाई प्राथमिकता दिई आफ्ना कर्मचारीको काम र व्यक्तिगत जीवनलाई सन्तुलनमा राख्न सहयोगी बन्नुपर्छ।
लकडाउन सकिएपछि पनि कार्यालयले कम्तीमा हप्तामा एक पटक वर्क फ्रम होमको अभ्यास जारी राखिदिए कर्मचारीहरू आफ्ना छोराछोरी, बुढा आमाबा लगायतका परिवारका सदस्यसँगै बसी कार्यालयको काम पनि गर्न पाउँछौं भने त्यसले हाम्रो काम र व्यक्तिगत जीवनमा सन्तुलन भई तनावमुक्त बनाउन पनि मद्धत गर्छ।
विश्वमा अर्जेन्टिना, बुल्गेरिया, क्यानरी आयरल्याण्ड, चीन, हंगेरी, माल्टा, मेक्सिको, मोरक्को, फिलिपिन्स, स्पेन, नेदरल्याण्ड, बेलायत, अमेरिका, फिनल्याण्ड, डेनमार्कजस्ता देशले पछिल्लो १० वर्षयता वर्क फ्रम होमलाई निकै नै प्राथमिकता दिने गरेका छन्।
यी देशमध्ये धेरै देशका नागरिक खुसी र तनावमुक्त रहनुमा वर्क फ्रम होम पनि एउटा कारण बनेको विभिन्न अध्ययनले देखाएका छन्।
केही समयअघि युकेमा गरिएको एक सर्वेक्षणले पनि ५५ प्रतिशत कर्मचारी उच्चस्तरको तनावमा रहेको देखिनुको एउटै मात्र कारण काम थियो।
यस अर्थमा विश्वमा बढ्दै गएको तनावयुक्त जीवनलाई व्यवस्थापन गर्न पनि वर्क फ्रम होम प्रभावकारी हुँदै गएको छ।
प्रत्येक वर्षको अप्रिल १० तारिखमा मनाइने अन्तर्राष्ट्रिय वर्क फ्रम होम डे को अवधारणा आएको सन् १९७६ देखि हो। ज्याक निलिज भन्ने एक व्यक्तिले आफ्नो “टेली कम्युनिकेसन्स ट्रान्सपोटेसन ट्रेडअफ” भन्ने पुस्तकमा कामदारको नजिकै काम ल्याउनुपर्ने अवधारणाबारे प्रस्ताव ल्याएका थिए, त्यसैबेलादेखि कर्मचारीहरूले घरबाटै पनि काम गर्न सक्छन् भन्ने कुराको महशुस पहिलोपटक विश्वले गर्यो।
उनले यो अवधारणा ल्याउँदा अहिले जस्तो सबैको घरमा कम्प्युटर थिएन, इन्टरनेट त टाढाको कुरा। उनले ल्याएको यो अवधारणाको परीक्षण सर्वप्रथम लस एन्जसलसमा रहेको एउटा बीमा कम्पनीमा कार्यरत कर्मचारीहरूमा गरियो। सबैको घरमा कम्प्युटर, इन्टरनेट नभएका कारण कर्मचारीको घरनजिकै स्याटलाइट कार्यालय बनाइयो र उनीहरूलाई घरमै काम गर्न भनियो।
नतिजामा ती कर्मचारीहरूको उत्पादकतामा १८ प्रतिशत बढेको पाइयो भने जागिर छोड्ने कर्मचारीहरूको संख्या शून्य रह्यो।
त्यस्तै, बीमा कम्पनीले कर्मचारीलाई दिइने सुविधाको रकममा पनि निकै कमी आयो। अहिलेजस्तो प्रत्येक घरमा इन्टरनेट, प्रत्येक हातमा मोबाइल, ल्यापटप नहुँदा त वर्क फ्रम होम त्यति प्रभावकारी बनेको थियो भने हाम्रो हात-हातमा ल्यापटप, मोबाइल, इन्टरनेट भएको बेला यो प्रभावकारी हुँदैन भन्ने कुरै आउँदैन।
अहिले अमेरिकामा कूल कर्मचारीको ५ दशमलव ७ प्रतिशत अर्थात् ८० लाख मानिसले घरबाटै कार्यालयको काम गर्ने गरेको तथ्य छ।
अर्थात् पछिल्लो ५० वर्षयता वर्क फ्रम होमको संख्या र लोकप्रियता विश्वव्यापी रूपमा बढ्दै गएको छ।
वर्क फ्रम होमको महत्वलाई प्राथमिकतामा राख्दै हप्तामा १ दिन वर्क फ्रम होमको व्यवस्था गरिनु अबको आवश्यकता हो।
यसले सबैलाई फाइदा त हुने नै छ, त्यसमा पनि भर्खर आमा बनेका महिला, दीर्घरोगी, अवकाशप्राप्त कर्मचारी, अपांगता भएका व्यक्ति, जो काम गर्न चाहन्छन्, काम गर्ने जोश अनि खुबी, क्षमता पनि छ तर विभिन्न कारणले गर्दा उनीहरू नियमित रूपमा कार्यालय जान सक्दैनन्, उनीहरूका लागि विशेष व्यवस्थाका साथ वर्क फ्रम होम उच्चतम् विकल्पका रूपमा रहेको छ।
त्यस्तै, कार्यालयले दिइने सुत्केरी बिदा सकिएपछि कम्तीमा ६ महिनाका लागि वर्क फ्रम होमको सुविधा दिन सके एक बच्चाले आमाको ममता पाउन सक्छ भने आमाले घर र कार्यालय दुबैतिर समय दिन सक्छे।
त्यस्तै, घरमा बुढा आमाबा वा कोही दीर्घरोगी भएको अवस्थामा कार्यालयमा गएर काम गर्दा भन्दा घरमै बसेर काम गर्दा उक्त कर्मचारीको कार्यक्षमता र मनोबल वृद्धि हुन्छ।
वर्क फ्रम होमले भविष्यमा ठूलो चुनौतीको रूपमा आउनसक्ने वृद्ध जनसंख्याको व्यवस्थापनमा महत्वपूर्ण योगदान गर्न सक्छ।
वर्क फ्रम होम वातावरणलाई स्वच्छ राख्न र काठमाडौंमा हुने सडक चापको समस्या समाधान गर्नका लागि पनि धेरै नै प्रभावकारी बन्न सक्छ। फलस्वरूप धूलोधुँवा कम भई मानिसको स्वास्थ्यमा सकारात्मक प्रभाव पर्न सक्छ।
त्यस्तै, बिहान कार्यालय जाने समय र बेलुका कार्यालयबाट फर्किने समय अर्थात् काठमाडौंमा बिहान ९ देखि ११ र बेलुका ४ देखि ६ बजेसम्म हुने जाम कम गर्न पनि वर्क फ्रम होम एउटा राम्रो विकल्प हो।
वर्क फ्रम होमका यति धेरै फाइदाका कुरा गरिसकेपछि यसका केही बेफाइदालाई राख्दै यसको विपक्षमा पनि मत आउनु स्वभाविक हो।
खास गरेर संघसंस्थाका व्यवस्थापन पक्ष वर्क फ्रम होमको विपक्षमा रहने गर्छन् र उनीहरू सोच्छन्, घरमा बसेर काम गर्दा कर्मचारीको कार्यक्षमता घट्छ, समूहमा काम गर्न सक्दैनन्, बुझाइमा कमी हुन्छ जसकारण उनीहरू कार्यालयप्रति कम उत्तरदायी हुन्छन् तर यथार्थमा वर्क फ्रम होमका कारण संस्थाको आर्थिक व्ययभार कम हुने र कर्मचारीहरूको काम र व्यक्तिगत जीवनमा सन्तुलन भई उनीहरूको कार्यदक्षतामा वृद्धि हुनेछ।
अतः प्रभावकारी मूल्यांकन प्रवृत्ति राखी कस्ता काम घरमा बसेरै गर्न सकिन्छ भनेर कार्यालयले कामको विभाजन र वर्गीकरण गरी जो जहाँ छन् त्यहीँबाट काम गर्ने प्रक्रिया सुरू गर्ने हो भने वातावरणलाई जोगाउन योगदान पुर्याउनका साथै धेरै शक्तिको सदुपयोग र भीडभाड कम गर्न सकिन्छ।
यो लकडाउन सकिएपछि सरकारी तथा गैरसरकारी संघसंस्थाले कम्तीमा हप्तामा एकदिन वर्क फ्रम होमको व्यवस्था गरे काठमाडौंमा रहेका धेरै समस्या जस्तै धूलोधुँवा, सडकमा हुने चाप, स्वास्थ्य समस्याजस्ता कुरामा कमी आउनेछ।
यस्तो खालको महामारी यो नै अन्तिम पक्कै होस् भन्ने चाहना मेरो पनि छ तर हामी मानिसको प्रवृत्ति हेर्दा पक्कै यो सम्भव छैन, यस्ता महामारी फेरि फेरि पनि आउनसक्छन्।
यस्ता भाइरस नियन्त्रण गर्ने एउटै मात्र विकल्प भनेको वातावरणलाई माया गर्नु नै हो भन्ने कुरा प्रमाणित भइसकेको छ।
अतः हामीले पनि वातावरणलाई माया गरी यसमा योगदान पुर्याउनका लागि वर्क फ्रम होम एउटा उत्तम विकल्प हो।
यो अभ्यास अहिलेदेखि नै जारी राखे भोलि यस्तो महामारी र विपद्का बेला घरमै बसेर काम गर्दा संघसंस्था र कर्मचारीको कार्यक्षमता र कार्यदक्षतामा कुनै कमी आउने छैन।