हाम्रो गाउँ ताङतिङबाट ठ्याक्कै पारिपट्टि भित्तामा टुसुक्क बसेको छ सिक्लेस। ढुंगा र टिनका छाना भएका घर। गाउँको शिरमा झलमल्ल हिमाल। तमू भाषामा सिक्लेसलाई 'चिली नाँसा' भनिन्छ।
हाम्रो ताङतिङ गाउँ यसै रमाइलो छ। हाम्रा यी दुई गाउँ सिक्लेस र ताङतिङ मादीलाई बीचमा राखेर दिनरातै आँखा जुधाइरहन्छन्। यसो भनौं सदियौंदेखि गहिरो मायाप्रेममा परेका छन्।
ताङतिङमा चैते दसैं र सिक्लेसमा माघे संक्रान्ति मेला भव्य रूपमा लाग्छ। वारिपारि गाउँका सोल्टा-सोल्टिनी अँधेरी रातमा टर्चलाइटको इशारामा माया साट्थे। तीन ब्याट्री अटाउने टर्च बालेर सोल्टीहरू कहिले ताङतिङ त कहिले सिक्लेस धाउँथे।
माघे संक्रान्ति मेलामा हाम्रो टोलका काका हप्तौंसम्म उतै हराउँदा र यता ताङतिङका बाजेहरूले टोलै थर्काउने गरी भाषण गर्दा हामीलाई खुब रमाइलो लाग्थ्यो। हाम्रो घर माथिका बलवान् माइला बुबाले सिक्लेसको मेलामा ठेलो जितेका मलाई अलिअलि याद छ। त्यो दिन ताङतिङ गाउँ नै उर्लेर बाजागाजासहित माखुको छोर्तेमा उहाँको स्वागत गरेका थियौं।
हाम्रो वरपरका डाँडाकाँडा, हरियाली वनपाखा, गुजमुज्ज बस्ती सबै हेर्दा रमाउँथेँ म। हामी बिहानबेलुका घरायसी काममा सघाउँथ्यौं। विशेषतः तामाको गाग्रीमा सकिनसकी क्यातु चता सारु क्यातुबाट पानी बोक्थ्यौं। आमाबाबाको आँखा छलीछली आँगनमा कपर्दी, गट्टा र लुकामारी खेल्थ्यौं।
त्यो समय भारतीय र बेलायती सेनाबाट रिटायर्ड भएकाहरू गाउँमै बस्थे। खेतीपाती र समाजसेवा गर्थे। बुबा भन्नुहुन्थ्यो, 'पोखरातिर मलेरियाको डर हुन्छ। त्यसैले बस्नका लागि गाउँ नै उपयुक्त छ।'
गाउँका मान्छे कहिलेकाहीँ मात्र पोखरा झर्थे। खाद्यान्न लगायत धेरै कुरामा गाउँ आत्मनिर्भर थियो।
रमाइलो कुुराचाहिँ पोखरामा पेन्सन बुझ्न जाँदा गाउँभरिका पेन्सनवालाहरू हुल बाँधेर ताङतिङबाट ओरालो झर्थे। फर्कँदा सामान किनेर ल्याउन उनीहरूले डोको बोकेका हुन्थे।
वर्षका तीन पटक जेठ, असोज र पुसमा पोखरा झर्ने चलन थियो। पेन्सन थापेपछि तीनचार महिनालाई पुग्ने नुनचिनी, बालबच्चाको लत्ताकपडा किनेर ल्याइन्थ्यो।
बुबाहरू पेन्सन लिन पोखरा झर्दा हामी आठ–दस वर्षका केटाकेटी उनीहरूलाई पछ्याउँथ्यौं। गाउँबाट हिँडेर सेती खोला, घ्याम्राङ खोला, छाचोक गाउँ, काउरेडाँडा, विजयपुर खोला, कसेरी हुँदै पोखरा पुग्थ्यौं।
विशेष गरेर जेठको महिना पोखरा झर्दा ज्यादै गर्मी हुन्थ्यो। कमिज, आसकोट, कछाडमा सजिएका बुबाहरू काउरेडाँडादेखि उकालो लाग्दा असिनापसिना भैसक्थे।
काउरे वनमा कोइली चरी 'को हो – को हो' भनेर कराउँथे। गर्मीले वनपाखा, गोरेटा सबै तात्थे। बाबाहरूसँग लस्करै काउरेको उकालो चढ्दा गाउँको हिमाली हावा र पानी खुब सम्झन्थ्यौं।
तिनताका ताङतिङबाट थोरै परिवार मात्र पोखरामा बसाइँ सरेका थिए। प्रायः बाबाहरूको बास आर्वाको फेदीमा रहेको साझा नजिकै हुन्थ्यो। साझा भन्ने ठाउँमा सुलबहादुर गुरुङको घर थियो। उनी एकदमै मिलनसार थिए। हामी पोखरा जाँदा खाने चामल घरबाटै लान्थ्यौं। उनकोमा बस्दा तिहुनको मात्र पैसा तिर्थ्यौं।
पोखरामा ठूल्ठूला घर, चिल्ला सडक, डिपार्टमेन्टल स्टोर खुलिसकेका थिएनन्। काहुँखोला बजार सानो थियो जहाँ केही चियापसल र किनमेलका पसल थिए। पर्तिर गौंडाको मुखमा डम्मरे साहूको पसल थियो।
काहुँखोलाबाट हिँडेरै हामी बगरस्थित पेन्सन क्याम्प (ब्रिटिस क्याम्प) पुग्थ्यौं। पेन्सन बुझेर फर्कंदा आवश्यक कपडा, नुनचिनी गौंडाको मुख र काहुँखोलामा किन्थ्यौं। त्यसपछि पैदलै गाउँ फर्किन्थ्यौं।
बाबासँग पेन्सन बुझ्न पोखरा झर्दाका धेरै सम्झना छन्। एक पटक कसेरीमा थाम थे गल्लाको घरबाट ओरालो झर्नेबित्तिकै मैले एउटा अनौठो चिज देखेँ। ढाका टोपी, आसकोट, प्यान्ट र जुत्तामा ठाँटिएको मान्छे घन्टी बजाउँदै दुईपांग्रेमा चढेर आएको थियो।
साइकलमा रहेछ त्यो ! जीवनमा पहिलो पटक साइकल देखेँ। कस्तो अचम्म, होइन कसरी गुड्छन् यी पांग्रा? मान्छे कसरी चढ्न मिल्छ? कसले बनायो यो? एकैसाथ धेरै प्रश्न जन्मिए बालमस्तिष्कमा।
के-के सोच्दै थिएँ। अचानक बाबाले समात्नुभयो। डराएर साइकलको बाटो काटिदिएछु। झन्डै साइकलवाला लडेन ! खुट्टा लामा भएकाले त्यो साइकलेले भुइँमा टेक्न भ्यायो।
उसले मलाई रिसाएर गाली दियो। तर बाबाले सम्झाएर उसलाई पठाउनुभयो।
किन-किन मलाई पनि साइकल चढ्न मन लाग्यो। बेलुका बास बसेका बेला मैले जिद्धी गरेँ, 'बाबा, भोलि पेन्सन थापेर साइकल किन्दिनुस् है !'
बाबाले 'पछि ठूलो स्कुलमा पोखरा आउँदा किनिदिम्ला। अहिलेलाई भो' भन्नुभयो। म निकैबेर रोइकराई गरेँ। बुबाले मलाई फकाउनुभयो।
हाम्रो जीवनमा प्रगति होस् भनेर दुई-चार अक्षर चिनाउन र पालनपोषण गर्न बाबाआमाहरूले कति धेरै दुःख र त्याग-तपस्या गर्नुभयो। कति दुःखैदुःखका पहाड छिचोल्नुभयो। बल्ल त्यो दुःखको महत्व बुझ्दै छु।
हामी पनि सानो छँदा बुवालाई काममा उत्तिकै सघाउँथ्यौं। हाम्रो ताङतिङ उत्तरपश्चिम हिमालतिर फर्किएको छ। पलाची र फ्होलो प्रो डाँडाले पूर्वबाट उदाउने बिहानीको घामलाई छेक्छ। त्यसैले घाम ढिलो लाग्छ।
मादी तिरतिरै तल चाँसु, सोधा, तप्राङ खिलाङबाट आउने वायु अन्नपूर्ण र लमजुङ हिमालमा ठोक्किएर ताङतिङमा बहन्छ। त्यो हिमालमा ठोक्किएर ताङतिङतिर आउने चिसो वायुले गर्दा हाम्रो गाउँमा अलि धेरै चिसो हुन्छ। हाम्रो गाउँमा बाल्ने दाउराको जोहो मज्जाले गरिन्थ्यो।
हाम्रो परिवार ठूलो भएकाले काँचो दाउरा धेरै टिप्थ्यौं। घरबाट पायक पर्ने पलची, त म्यावै खोला, पोरु बासतिर बुबाले वर्षैपिच्छे दाउरा काट्न खेताला लगाएर पलची भीरबाट फाल्दै ल्याएर देउरी खोला माथिको कुनामा झारिन्थ्यो। भीरमा दाउरा हुत्याउँदै ल्याउने काम जोखिमपूर्ण थियो। भीरबाट दाउरा फाल्दै ल्याउँदा, बोक्ने खेताला कम जान्थे। तर, भीरको चट्टानमा फाल्दा दाउरा छिट्ट सुक्थ्यो।
कहिलेकाहीँ गाउँलेको सामूहिक निर्णयअनुसार दाउरा निश्चित ठाउँमा काट्ने र छाड्ने गरिन्थ्यो। वनमा दाउरा काट्न सबेरै बत्ती बालेर जाने चलन थियो।
म १४ वर्षको थिएँ, बाबा, माइला भाइ र भुते दमाई दाइ बिहानको दुई बजेतिर वनपालेमा दाउरा काट्न पलची प्रो हुँदै तम्यावै खोलाको छेउमा गयौं। त्यस्तै बिहान चारदेखि साँझ पाँच बजेसम्म रूख ढालियो। कताबाट घाम आयो र कता गयो हामीले थाहै पाएनौं। चार जनाले त्यस्तै दुई खाल पुग्ने दाउरा जम्मा गरिएछ।
माघ–फागुनको झरीमा कहिलेकाहीँ त हिउँ पर्थ्यो। यस्तो बेलामा पनि हामी पोरोबासबाट दाउरा बोकेर पलची डाँडासम्म ल्याउँथ्यौं। दिनभर दाउरा बोक्दा ज्यान एकदमै दुख्थ्यो। त्यस्तै प्रकारले गाउँमा निगालो काट्ने दिनमा पनि बिहान चार बजे नै उठेर भात खाईवरी बाबासँग दुई–तीन घण्टा हिँडेर लेकमा जान्थ्यौं।
दिनभर काटेको निगालो बोकेर ल्याउँथ्यौं। बाबासँग यसरी काम गर्न र हिँड्न पाउँदा हामीले जिउनका लागि महत्वपूर्ण पाठ सिक्यौं। यसले जीवनका हरेक मोडमा धैर्यपूवर्क अघि बढ्न प्रेरित गरिरहको छ।
अब साइकलकै कुरा, पोखरामा बसेर कलेज पढ्ने बेलामा मात्र साइकल चढ्ने अवसर पाएँ। मामा टंकप्रसादले भारतीय साइकल दिनुभयो। त्यो चढेर बजार डुल्थें। कहिलेकाहीँ त्यसमै चढेर कलेज पनि जान्थें।
समय बदलियो। कच्ची नै सही हाम्रो गाउँसम्म मोटरबाटो खुलेको छ। अचेल बसमा सरर यात्रा गर्न पाइन्छ।
(गुरुङ हिमालय मिलन मावि ताङतिङ, कास्कीका प्रधानाध्यापक हुन्।)