आदरणिय नेता तथा कार्यकर्तामा जनताको तर्फबाट निराश व्यक्त गर्न चाहन्छु। वर्तमान परिवेशको परिघटना राजनीतिक चलखेल दाउपेच देख्दा मलाई मात्र हैन, आम-मानिसलाई ताजुब लागेको होला।
चुनावको बेला देखाएको सपनाहरु पूरा नगर्दा पनि लाज सरम छैन। राम्रो कामको समर्थन गरेको देख्दैन, तर विरोध मात्र देख्छ। कम्तिमा पनि चुनावको समयमा देखाएको सपना पूरा गर्न लागि पर्नोस्।
कोरोनाको कहरमा विश्व आतंकित भईरहेको बेला पनि नेपालमा कोरोनाको भन्दा ज्यादा तरंग नेपाली राजनीतिको पैदा भयो। महामारीको समयमा समेत भ्रष्टचारको दुर्गन्ध फैलियो।
यो देशको काट्टो खानेहरुले दुखद् समयमा पनि खान छाडेनन्। विश्वासको अर्को पर्खाल गर्लाम्म ढल्यो, अन्तमा स्वास्थ्य सामाग्री खरिद प्रक्रिया रद्ध गरी नेपाली सेनालाई दिनु पर्यो। नेपाली सेनाको आफ्नै इतिहास छ, तर कपट गरीगरी ठेकेदार बनाएर छाड्यो।
सरकार यस्तै हो, यस्तो भईरहन्छ भनेर चित्त बुझाउने ठाउँ छैन। उसो त ६ महिने, ९ महिने सरकार चलेकै थियो नि! विकास भएन, स्थिर सरकार भएपछि रोजगार सिर्जना हुन्छ, विकास हुन्छ, समृद्धि आउछ भनेर न भोट दिएका हुन्। केही पाखण्डीहरु युरोप भएको घोषणा गर्छन्, तिनका नेताले सिङ्गापुर, स्विजरल्याण्ड बनाउने घोषण गरे।
खाडीमा हुँदा दिनरात श्राप गरेर बस्ने हनुमानहरु अहिले चोक्टा खान पाएपछि प्रतिरक्षामा उत्रेका छन्। तर हामीलाई सबै नेता आदरणीय लाग्छ। सिर्फ पदमा हुँदा, कुर्सीमा हुँदा जसले राम्रो गर्दैन, उसको आलोचना स्वभाविक हो। तर यहाँ आफ्नालाई वाहवाही, अरुका लाई छिछि गर्ने प्रवृति हाबी छ।
खैर! जनमासलाई सिर्फ यति थाहाँ छ, यो देशमा स्थाई सरकार बनेको छ। पाँच वर्षसम्म निर्धक्क सरकार चलाउँछ। विकास निर्माण समृद्धि जसरी नारा बनाएका छन्, उसरी हुन्छ। यद्यपी जसरी द्वय अध्यक्ष प्रचण्ड र ओली बीच सम्झौता भएको छ, त्यसैगरी चल्छ स्थाई सरकार ढुक्क!
समय पुग्न नपाई बोली फेरियो। भित्रभित्र साकुनीको भूमिका खेल्नेहरु सलबलाएका छन्। यिनीहरुलाई नौ डाडाँ कटाउन पाए शान्ति हुन्थ्यो। तर अन्याय अत्याचार गर्ने बिरालोको घाटीमा मुसाहरुले घन्टी बाद्ने कुरा जस्तै, नौ डाँडा कटाउने क्षमतावान् व्यक्ति देखिएन।
सत्ता उल्टाउने र पल्टाउने भूमिका खेल्ने नरपिशाचहरुलाई चुनावको समयमा उल्लेख गरेको नाराहरुमा पटक्कै चासो छैन। विकास समृद्धिको सपना चकनाचुर पारिसके। समय निकै बितिसक्यो। द मर्निङ सोज द डे। खासै केही सास सुरु छैन।
भ्रममा कोही पनि नपरौँ। संसदीय प्रणालीमा प्रधानमन्त्री केपी ओली, प्रचण्ड र शेरबहादुर हुँदैमा कायपलट हुने सम्भावना देखिन्न। सांसदको टीम कता फाइदा हुन्छ, उतै तिर लाग्न तयार छ। जुनसुकै राष्ट्रघाती निर्णय भएपनि, तिनले हो भन्न र टेबल ठोक्न छाड्दैनन्।
मानौँ केपी ओलीको ठाउँमा प्रचण्ड प्रधानमन्त्री भए वा देउवा प्रधानमन्त्री भए। उनीहरुको नातागोता छरछिमेक र आफूले चुनाव जितेको ठाउँमा प्रधानमन्त्रीको हैसियतले केही गर्लान्। अन्य जनताको लागि अहिले जस्तो छ, उस्तै भईरहन्छ।
संसदिय प्रणालीमा प्रधानमन्त्री कुर्सी हुन् भने सांसदहरु कुर्सीको खुट्टा हुन्। कुनै एक निर्णय जबरजस्त गरे खुट्टा झिकिदिन्छ। योभन्दा निरिह पद के हुन सक्छ?
महारथीहरुको चक्रब्यूहमा फसेको अभिमन्यू जस्तो भएका छन् यो देशका प्रधानमन्त्रीहरु। जसरी अभिमन्यूलाई चक्रब्यूहमा पस्न आउँथ्यो र निस्कन आउँदैनथ्यो र अन्तमा महारथीहरुको कपटको कारण मर्नु पर्यो। यो देशको प्रधानमन्त्री सांसदहरुको चक्रब्यूहमा परेका छन्। एक निर्णय मा आदेश दिने बित्तिकै सांसदको टीमले खुट्टा झिकिदिन्छन्।
बिकाउ सांसदको घैटोमा घाम नलागेसम्म कुनै कठोर निर्णय लिने आँट प्रधानमन्त्रीले लिन सक्दैनन्। जबसम्म प्रत्यक्ष कार्यकारी हुँदैन, तबसम्म अब यो देश जनताले चाहे जस्तो हुँदैन। नेताले चाहे जस्तो त आजसम्म भएकै छ र भोलि पनि हुनेछ।
नेताको लागि जतिसक्दो अस्थितरता भयो, उति फाइदा। झुक्किएर वडा अध्यक्ष हुने हैसियत नभएकाहरु मन्त्री बन्न पाएका छन्। योभन्दा मालामाल के हुनुपर्यो र हाम्रो नेपालमा?
अहिले बाहिर जो हल्ला छ, कुलमान घिसिङ प्रधानमन्त्री बन्दिनु पर्यो। धुर्मुस सुन्तली राष्ट्रपति बन्दिनु पर्यो, रवि लामिछानेऽ महाविर पुनऽ डा. सन्दुक रुईत वा अन्य राम्रा व्यक्तिहरु कुनै कार्यकारी पदमा आशिन भैदिनु पर्यो। यो उनीहरु प्रति देखाएको तृप्त माया अटल विश्वास मात्र हो। यति मात्र हैन निराशको पराकाष्ट हो जो यो देशको छिटो छरितो सिस्टम, न्याय प्रणाली, विभेद गरिबी वेरोजगारीबाट वाक्कदिक्क भएका छन्।
भ्रष्टचारको मुख हेर्दिन भन्ने प्रधानमन्त्रीको वरिपरि विवादित भ्रष्टचारको काण्डमा मुछिएका कालो बजारी गरेका, सार्वजनिक सम्पति समेत आफ्नो मुठिमा पारेकाहरु, एडभान्स लिएर काम नगर्ने ठेकेदारहरु छन्। योभन्दा अरु कसको मुख हेर्नु पर्यो? बालुवाटारमा सबैभन्दा पहिले खाली पेटमा देखिने मुख नै तिनीहरुको हो, जो बालुवाटार छाडेर पर जादैनन्।
अर्को सन्दर्भ
राजनीतिमा आउने भन्ने वित्तिकै बिबिसी नेपाली सेवाका प्रमुख रविन्द्र मिश्रलाई पनि सुरुवातमा नपत्याएका हुन्। सुरुमा नै दातमा ढुंगो लाग्यो। बरु उनीहरुले जहाँबाट सेवा दिईरहेका छन्, त्यहि क्षेत्रबाट उत्कृष्टता प्रदर्शन गर्न दिनुपर्छ।
रविन्द्रको खरो शैली हेर्नुस् त, नाकाबन्दीको समयमा राजदुत रन्जित रेसँग गरिएको कुराकानी सुन्दा अझैपनि आङमा काँडा उम्रिन्छ। यसको मतलब, रविन्द्र मिश्र मन्त्री बन्ने हैसियत नभएका व्यक्ति हैनन्। तर कुनै लोभमा मन्त्री बन्न जनताले सर्वाधिक मन पराएको क्षेत्र छाड्न पर्ने थिएन। जब सुरुवातबाट छुट्टै टीम बनाएर गए, विभिन्न अवरोध ब्यहोर्नु पर्यो, पराजित हुनु पर्यो।
माथि उल्लेखित नामहरु यदि प्रत्यक्ष कार्यकारीको अवधारणा ल्याए पक्कै पनि चुनिन सक्छन्। प्रत्यक्ष कार्यकारी ल्याएर आफ्नो खुट्टामा बन्चरो हान्न सांसदहरु शीर्ष कमरेडहरु तयार छैनन्।
यो भ्रमबाट मुक्त हौँ, जो प्रधानमन्त्री कुर्सीमा पुगेपनि शक्तिशाली भएपनि प्रधानमन्त्री एकको निर्णय चल्दैन। पार्टी भित्र गुट चलिरहेको हुन्छ। बरु यसरी सोचौँ, धन्न प्रधानमन्त्री टिकिरहेका छन्। जुन दिन कुर्सिको लोभलाभ र मोह हुन्न, त्यो दिन केही कठोर निर्णय गर्न सक्छन्, अन्यथा नेभर!
त्यो मुटु भएका नेता केही होलान्। तर तिनले गर्न पाएनन् भनुँ वा अवसर पाएनन्। जबसम्म बोल्ड निर्णय गर्न सक्ने हाँकी प्रधानमन्त्री आउदैनन्, तबसम्म देश कछुवा गतिमा चलिरहन्छ।
समर्थक विरोधी कार्यकर्ताले चाहँदैमा केहि हुनेवाला छैन। सिर्फ हाम्रो पार्टीको, हामीले समर्थन गरेको प्रधानमन्त्री कुर्सीमा छन् भनेर गर्व गर्ने बाहेक अन्य उस्तै हो। कर्मचारी तिनै हुन्, सांसद तिनीहरु नै हुन्, कुर्सी फेरिएर के गर्नु? प्रवृति फेरिदैन। जुन दिन प्रधानमन्त्रीको कुर्सी फेरिन्छ, त्यही दिनदेखि उसको खोइरो खन्न सुरु हुन्छ।
त्यसकारण ढुक्क हौँ, कमरेडहरुलाई भत्काउन बिगार्न आउँछ, बनाउन आउँदैन। कमरेडहरुले मिठो भाषण गर्छन, असिमित सपनाहरु बाड्छन। अब यस धर्तीमा भगवान प्रकट भईसकेको जस्तो आभास दिलाउँछन्। चैत्यहरुको दिन गयो, अब अन्याय अत्याचार भ्रष्ट दलाल दादागिरी माफिया गिरी सबै बन्द। भ्रष्टहरुको त मुख नहेर्ने सकभर अगाडिबाट हेर्न नपरोस्, ताजुब लाग्ने गफ गर्छन्।
विकास समृद्धिको नाराले जनताको कान पाक्न थाल्यो। विकास, समृद्धि हुँदा-हुँदा नयाँ युगको पनि घोषणा भयो। दियो प्रजलन समेत गर्न भ्याइयो। नयाँ युगले सिंहदरबार वरिपरि रहनेहरुलाई रौनक दियो। ताली पनि उनीहरुनै बजाउँछन्, गाली पनि उनीहरुनै गर्छन्। समर्थन, विरोध ती सिंहदरबार वरिपरिका सिंह हैन, बेला-बेला उत्पाद मच्चाउँने बादरहरुले गर्छन्।
हेर्दा मानिसको शिल स्वभाव जिडडाल भएपनि यी मान्छेहरु भित्र बादरे प्रवृति छ जसले ध्वंश मच्चाउँछ। बर्बाद बनाउँछ। पशुपति क्षेत्रको बादरले कतै निर्माण गरेको सुन्नु भाछ?
यो बादरे प्रवृतिले नराम्रोसँग नेपाली राजनीतिज्ञहरुको मन मस्तिष्कमा जरा गाडेको छ। यसलाई उखेल्न अब फेरि अर्को के वाद निस्किन पर्ने हो? यस्तै प्रवृति अनि यिनै मान्छेहरुले विकास निर्माण समृद्धि ल्याउँछन भनेर विश्वास गर्न सकिने ठाउँ रहेन।
संसदीय प्रणालीमा प्रधानमन्त्री यति निरिह हुन्छ भन्ने सायद अनुमान कसैले गरेको थिएन। कहि-कतै पद नपाएकाहरुले प्रत्यक्ष कार्यकारीको विकल्प नरहेको संकेत गरेपनि यी बादरे प्रवृति भएकाहरुले भत्काउन मात्र जानेको छन्, निर्माण गर्न जान्दैनन्।
केही वर्ष अगाडि नेपका अध्यक्ष पुष्पकमल दाहालले कुनै एक कार्यक्रममा भनेका थिए- कमनिष्टले ध्वंस गर्न जानेका छन्, निर्माण गर्न हैन। तर हामी अब ध्वंसको राजनीति सकियो। अब निर्माणमा जुट्छौँ।
यो भनेको पनि वर्षौँ बितिसकेछ, तर निर्माणको काँटछाँट देखिएको छैन।
राजनीतिज्ञहरुको कुर्सी जोगाउने खेलको रमिते जनता बनेका छन्। कार्यकर्ता केही इमान्दार भएपनि केही भाडाका टट्टु भएका छन्। जता खान पाइन्छ, उतै नारा लगाउँदै हिड्छन्।
यो देशमा एकाथरी कार्यकर्ताको ठेक्का, पार्टीको समर्थन र विरोधमा नारा लगाउने सिर्फ नारा लगाउने बन्द गर्ने हिड्ने काम भएको छ। केही सिमित मात्रले पार्टीको भलो चिताउने र सदैव सकरात्मक सन्देश सुझाव दिने गर्छन्। अन्यथा सबै बिकाउ प्रवृतिका छन्।
संसदिय प्रणालीमा जहाँ सजिलै सांसदहरु बिक्छन्, त्यस देशमा कार्यकर्ता बिक्नु नौलो कुरा होइन।
प्रधानमन्त्री त्यसै विरक्तिएर सान्त्वना दिने कविता लेख्न पुगेका हैनन्। जनता रोएको कुरा केपी शर्मा ओलीलाई थाहाँ नभएको हैन। तर जनअपेक्षा अनुसार काम गर्न नसकेर सन्देशमार्फत प्रायश्चित गरेको पनि हुनसक्छ।
कवितामा मार्मिक शब्दहरु विम्ब प्रयोग भएको थियो। जनतालाई शब्दमार्फत भएपनि आश्वसन थपे रुनु पर्दैन। यस अगाडि नयाँ युग घोषणा हुँदा पनि भोकै बस्नु पर्दैन भनेको कुरा ताजा नै छ। तर जनता भोकै बसेको कुरा कुरौटेहरुले माथि पुर्याएनन् होला, त्यो अलगै विषय हो।
प्रधानमन्त्रीका प्रिय पात्रहरु जसलाई सरल भाषामा काखी च्यापेको भनिन्छ। पहिले गोकुल बास्कोटा हुँदा हरेक दिन विवादित विषय बाहिर आईराख्थ्यो। ग्यांगस्टारले बोल्ने शैलीमा उस्तै बडिफिगर, बडि ल्याङग्वाईज, आई कन्ट्याक, उनको स्टाइल देखेर मानिस थुरुरु डराउँथे। कतिले भन्थे फिल्मको भिलेन बन्न लायक, के सरकारको प्रवक्ता भएर बसेको होलान्।
गोकुल बास्कोटा जो प्रधानमन्त्रीको दाहिने हात थिए, ७० करोड काण्ड पछि राजिनामा दिएर अहिले टुइटरमा बेलाबखत भेटिन्छन्। कसैमाथि आरोप लागेको छ भने गोकुल बास्कोटाले समेत छानविनको माग गर्छन्। यो छानविन टीम यति गठन हुन्छ, यसले के गर्छ? बाहिर कहिल्यै आउदैन्।
आरोप लागेकाहरुले राजिनामा दिएपछि लगभग हर विषय सामसुम हुन्छ। राजिनामा दिएपछि मुक्ति पाएकाहरुको पनि लिष्ट लामो नै छ, हुन्छ। ठूला बढाको लागि छानविन हुनु भनेको धेरै परको विषय हो।
अहिले गोकेल बास्कोटा नभए पनि भएभन्दा बढ्ता देखिन्छ। किनकी यो देशमा सूर्य थापाहरु पनि बोल्नमा कम छैनन्। जयजयकार गर्नमा सायद कसैले सक्दैनन्। तिनले सामाजिक सञ्जालमा शेयर गरेका विषय र सर्वसाधरणले गरेको टिप्पणी आलोचना हेर्दा यी मानिस यो पृथ्वी लोकको हैन कि झैँ लाग्छ।
देशमा हजारौँ मानिसहरु प्रताडित भएर बाचेका छन्। खान नपाएर बसेका छन्। मृगौला पीडितले कृष्ण कँडेलको कार्यक्रम 'इन्द्रेणी' अस्तव्यस्त छ। जनताको समस्याले रवि लामिछानेको कार्यक्रम भरिभराउ छ। अन्य मिडियाहरु पनि उतिकै जनताको समस्या देखाएर हैरानी परेका छन्। मिडियाको धर्म देखाईदिने, लेखिदिने खोजेर सम्बन्धित निकायसम्म ल्याईदिने हो।
तर सरकारले यत्रो काम गर्दिने मिडियाहरुलाई धन्यवाद दिनुपर्ने, सहयोग गरेकोमा सकभर महिनापिच्छे पुरस्कृत गर्नुपर्ने, नभए वर्षमा एक सय जना जतिलाई जनताको विषय खरो रुपमा उठाएको कारण पुरस्कृत गर्नुपर्ने, कतिलाई जनताको समस्या नलेखेको कारण दण्ड दिनुपर्ने मापदण्डअनुसार जन गुनासो बढी समेट्नु पर्ने,
देशभरीका जनताको समस्या ल्याउनेलाई उत्कृष्ट घोषणा गर्नु पर्नेमा सरकार, प्रधानमन्त्री अचम्ममा पर्छन। सरकारको प्रतिनिधि नपुगेको ठाउँमा मिडिया कसरी पुग्यो, उल्टो मिडियाको विषयमा अनुसन्धान अगाडि बढाउनु पर्ने कुरा गर्छन्।
यति सहयोगी भूमिका निर्वाह गरेको छ नेपाली मिडियाले सरकारको, मानिस अनुगमनमा निस्कदा लुकेका विषय बाहिर ल्याईदिएका छन्। वाहवाही त मिडियाको हुनुपर्ने, तर उल्टो रुष्ट भईदिन्छन।
खैर यो देशमा धेरै समस्या भएपनि, त्यो समस्या सरकारको कानसम्म पुर्याउन ढोका ढोकामा बसेका विरपरि घेरेर बसेकाहरुले त्यस्ता समस्या प्रधमनमन्त्रीको कानसम्म पुर्याउँदैनन् भन्नेमा दुईमत छैन। सुर्य थापाले खोजीखोजी प्रधानमन्त्रीको कविताहरु शेयर गर्न भ्याउँछन तर सिमापारि फसेका नेपाली, विदेशमा अलपत्र वा कुनै रोगले ग्रस्त नेपालीको समस्या कहिल्यै सुनाउँदैनन्, देखाउदैनन्। जयजयकार गरेको भरमा पद पाएकाहरुले न जनताको कुरा सुन्ने क्षमता राख्छन् र न सिहंदरबार पुर्याउने कष्ट गर्छन्।
कुर्सी पदको मोह हुनेहरु धृतराष्ट्रहरु हुन् जो अन्त्यमा फेरि वनबास जान बाध्य हुने छन्। ढिलो-चाडो मात्र हो। यसैगरी जनतालाई सताईराखे भने जनताहरु उर्लिनेछन् उसैगरी, जसरी ६२/६३को आन्दोलन भयो।
नेतृत्व गर्नेहरु तम्-तयारी गरिरहेका छन्, नेतृत्व सुध्रिएर जनताको अपेक्षाअनुरुप काम नगरे सरकारको लामो आयू होस् भनि दिर्घायू भवः भनेर कामना गर्न सक्छौँ, तर काँध थाप्न सक्दैनौँ।