३१ डिसेम्बरमा चीनले एक किसिमको नयाँ निमोनिया जस्तो रोग देखिएको जानकारी विश्व स्वस्थ्य संगठनलाई गरायो। जनावरी ३ मा ४४ वटा उस्तै लक्षण भएको व्यक्तिहरु पहिचान भए, जसमा ११ जना सिकिस्त थिए।
चीनले ३१ डिसेम्बरमा देखिएको शंकास्पद रोगबाट सजग भएर वुहान सहरमा संक्रमण भेटिएको तरकारी बजार रहेका सम्पूर्ण क्षेत्रलाई जनावरी १ मा नै बन्द गरी सेनिटाइज गर्ने काम सुरु गर्यो।
चीन बाहिर जनावरी १३ मा थाइल्यान्डमा पहिलो केश भेटियो। नेपालमा २३ जनावरीमा हुवानबाट नेपाल आएका एक जना नेपालीमा पहिलो भाइरस संक्रमण भेटियो।
जनावरी १० मा नै विश्व स्वस्थ्य संगठनले सम्पूर्ण देशले अपनाउनु पर्ने साबधानी लगाएतको विषयमा गाइडलाइन जारी गरी सेकेको थियो। तर जनावरी २३ सम्म नेपाल सरकार न कुनै चिन्तित भएको देखिन्छ, न यस सम्बन्धमा कुनै पनि पूर्व तयारी नै।
जबकी जनावरी ५ मा पर्यटन मन्त्रालयले प्रेस विज्ञप्ती जारी गरी विभिन्न देशको राजदुतावास तथा ती देशमा बसेका नेपालीहरुलाई नेपाल भ्रमण वर्षको उद्घाटन कार्यक्रम भव्यताका साथ सफल पार्न अनुरोध गरेको थियो। त्यती मात्र होइन, जनावरी १८ मा पर्यटन मन्त्रीज्यूले नेपाल कोरोना फ्रि देशको रुपमा प्रचार गर्न अनुरोध गर्दै प्रेस विज्ञप्ती जारी गरेको देखिन्छ।
जनावरी २३ मा पहिलो संक्रमण भेटिएपछि नेपाल सरकारले जनावरी २८ मा सूचना जारी गरेको थियो। जसलाई पहिलो प्रतिक्रिया भन्दा पनि हुन्छ। जवकी हाम्रा स्वस्थ्य मन्त्रीज्यूले जनावरी ३१ मा मात्र नेपाल मेडिकल काउन्सिलका अध्यक्ष लगायतहरुसँग भेटी राज्यले चाल्नु पर्ने कदमहरुको बारेमा राय सुझाव मागेका थिए।
यी सबै घटनाक्रमहरु मेरो मानसपटलमा, यो लेख लेखीरहँदा झल्झली घुमिरहेका छन्। लाग्यो, हाम्रो प्रशासन यस प्रकारको माहामारीको अवस्थामा किन त्यति संवेदनशील छैन। हुन त अमेरीका जस्तो नेपालमा महामारी देखिएको छैन, जबकी ३१ जनावरीमा पहिलो संक्रमण भेटिएको अमेरिकामा हाल ९ लाख मानिसमा यो संक्रमण सल्किएको छ, ५० हजार माथि मृत्यु भै सकेको छ।
जनावरी २३ मा पहिलो केश भेटिएको नेपालमा हालसम्म जम्मा ५८ जनामा संक्रमण भेटियो, १६ जना निको भएर घर फर्किसकेका छन् भने कसैको मृत्यु भएको छैन।
चीनको कुरा गर्ने हो भने ३१ डिसेम्बरमा पहिलो संक्रमण देखिएपछिको एक महिना, जनावरी ३१ मा ११ हजार २८९ मानिसमा संक्रमण देखिएको थियो, २५९ जनाले ज्यान गुमाइ सकेका थिए। जबकी चीनले संक्रमण देखिएको दोश्रो दिनमै बन्द गरेको थियो। चीनले झण्डै ८२ हजारमा संक्रमण र ४७ सयमै मृत्यु हुनेको संख्या रोक्न सफल भयो।
चीन बाहिर पहिलो पटक जनावरी १३ मा थाइल्यण्डमा संक्रमण भेटिएको थियो जहाँ हालसम्म २ हजार ८५४ जनामा संक्रमण भेटिएको छ भने ५० जनाले ज्यान गुमाईसकेका छन्। आज युरोप इपिसेन्टरबाट रोकिने क्रममा देखिन्छ भने अमेरिका विश्वको इपिसेन्टरको रुपमा अगाडि बढेको छ।
यी तथ्यलाई हेर्ने हो भने हामी साच्चिकै भाग्यमानी सम्झनु पर्छ। मलाई पत्याउन गाह्रो हुन्छ कि नेपालमा संक्रमित स्थिर हुनुमा नेपाल सरकारको हात छ। धन्य पशुपतिनाथको कृपाले हामी बाँचेका छौँ, नत्र यस माहामारीको यत्रो रुप हेरिरहेको हाम्रो सरकारले झन्डै ४ महिना हुदाँ पनि आजसम्म पिपिई, मास्क, सेनिटाइजर, भेन्टीलेटर जस्ता अत्यावश्यक स्वस्थ्य समाग्री प्रयाप्त ल्याउन समेत सकेको छैन।
कैयौँ अस्पतालहरुमा स्वस्थ्य समाग्रीहरुको अभावमा जरो, खोकी, रुघा लागेका बिरामीहरुलाई स्वस्थ्यकर्मीहरुले उपचार गर्न मानेका छैनन्। गहिरिएर सोच्छुँ, अत्यास लाग्छ। के साच्चै नेपालमा त्यो अमेरीका, इटाली, स्पेन जस्तो अवस्था हुने हो भने सायद देशले आत्मसर्मपण गर्नु पर्ने अवस्था आउथ्यो होला?
हामीले कुनै हालतमा यसको व्यवस्थापन गर्न सक्ने थिएनौं। जबकी स्वस्थ्य समाग्री ल्याउन नसकेर अन्तिममा आएर सेना अगाडि बढ्नु पर्ने अवस्था आयो।
अस्पतालमा कोरोनाको संकास्पद बिरामी मर्छ, रिपोर्ट आउछ नेगेटिभ। तर कोही छुदैनन्, हप्तौसम्म लास उठदैन। ज्वरो आएका बिरामीलाई कुनै अस्पतालले भर्ना गर्दैनन्, अस्पताल चाहार्दा-चाहार्दै ज्यान जान्छ। सोचेँ, व्यक्तिगत अस्पतालहरु त नाफाकै लागि खोलेका हुन्, स्वस्थ्य समाग्री नभएको बाहनामा भर्ना गरेनन्।
के राज्यले त्यसको जिम्मा लिन नसक्ने नै हो? अनि राज्यले ४ महिनाभित्र कम्तिमा ती अस्पतालहरुलाई आवश्यक स्वास्थ्य समाग्री दिनु पर्ने होइन र? समाग्री हुदाँ-हुँदै पनि उपचार नगरेको अवस्था हो भने के राज्यले नियन्त्रणमा लिएर उपचार सुरु गर्न नसक्ने हो र?
इटाली, स्पेन, फ्रान्स, अमेरिका जस्तो भएको भए ती लासहरुको अवस्था के हुन्थ्यो होला? कल्पना गर्न सक्ने अवस्था देखिदैन।
हजारौँ नेपालीहरु जो दैनिक ज्यालादारीमा जीवन निर्वाह गरिरहेका छन्, आज कमायो आजै खायो। छोरा-छोरी परिवार छन्, जाउ कहाँ? कोठा भाडामा छ। घरबेटीले भाडा माग्न आउने बेला भयो। सहरको रमझम र जसरी नि छोराछोरीलाई ज्याला मजदूरी गरेर नि राम्रो पढाउने सपनामा सहर पसेको वर्षौँ भयो।
हुन त गाँउ छ, एक पाटो बारी पनि होला। बाझो छ। गाँउ गएर निर्वाह गर्न नि त्यती सजिलो छैन। गाउँ जान सक्ने अवस्था छैन। लकडाउनको नाममा कैद गरिएको छ। कम्तिमा घर जाने सुरक्षित व्यवस्था राज्यले गर्नु पर्ने। सरकार खोज्नु पर्ने अवस्था छ।
हजारौँ विद्यार्थीहरु छन् उच्च शिक्षाको लागि सहर पसेका। ८/१० हजार कमाएर पढीरहेका। काम छैन, सानो जागीर, तलब दिन रोजगारदाता राजी छैन। गाँउमा बुबाआमा परिवार छ। उनीहरुको पनि आम्दानी छैन। त्यही दुध, तरकारी बेचेर जीविका चलेको थियो। सबै बन्द छ। कहाँ बेच्ने? कसरी बाँच्ने सोच्न सकेको छैन। कम्तिमा गाउँ जान पाएनी एक छाक खान त सकिन्थ्यो होला।
स्थानीय सरकार छ, स्थानीय स्तरमा उत्पादित ती कृषि उपजहरुको व्यवस्थापन गर्ने जिम्मा लिन सक्नु पर्ने हो। न त ध्यान छ, न ज्ञान नै छ। किसानहरु तरकारी बारी फाँडिरहेका छन्, दुध बाटोमा खन्याई रहेका छन्। कम्तिमा यो व्यवस्थापन को जिम्मा स्थानीय सरकारको हुनु पर्ने हो।
यस्तै बिजोक छ, नियमित उपचार गरिरहेका बिरामीको। मलाई एक जना मित्रले सुनाउँदै थिए, मेरो बुबाका प्रत्येक हप्ता डाइलेसिस गर्नु पर्ने, सबै रोकिएको छ। कहाँ जाउ कसलाई भनुँ। सरकारले दिएका नम्बरहरु कति सम्पर्क हुन सक्दैन, कतिमा रेसपोन्स नै छैन। काम छैन, पैसा छैन। उपचार गर्ने ठाउँ छैन। मर्ने कि बाँच्ने हो भगवानको भरोसामा छु।
यस्तै कथा ठेला-गाडा चलाउनेदेखि ट्याक्सी चलाउनेसम्मका छन्। उनीहरु सरकारलाई भनिरहेका छन्- सरकार कि एक छाक खाने व्यवस्था गर, कि घर जाने।
यी नागरिकहरु अहिले अभिभावक खोजिरहेका छन्। कसैले यिनीहरुको बारेमा सोचिदेओस्। स्थानीय सरकार छ, प्रदेश सरकार छ, केन्द्र सरकार छ। तर कसैसँग झन्डै चार महिना हुन लाग्दा समेत केही व्यवस्थित योजना छैन्। सबैको आ-आफ्नो ताल छ। कसैले कसैलाई टेर्दैनन्।
प्रधानमन्त्री बिरामी हुनुहुन्छ सायद, उहाँ डराउने रोग फोविया ग्रस्त हुनुहुन्छ। रातदिन कतै प्रधानमन्त्रीबाट हटाउने हुन् कि भन्ने चिन्ताले छट्पटाई रहेका छन्। त्यही भएर होला, उहाँ पार्टी फुटाउने, नेता जुटाउने, प्रतिस्पर्धीहरुलाई देखाउने, तर्साउनेमा व्यस्त हुनुहुन्छ।
निर्णय गरेको कुरा नै भुल्नु हुन्छु, घन्टा-घन्टामा निर्णयहरु परिवर्तन हुन्छन्। नागरिक रोएको क्रन्दनको बीच पार्टी फुटाउने, मनपरी आसेपासे लोभी-पापी, भजन मण्डली नियुक्ती गर्न सक्ने सपना देखेर मदमस्त रोम जलिरहेको बेला बासुरीमा व्यस्त हुनुहुन्छ।
प्रधानमन्त्रीको यो नियती बीच आम-नेपाली अभिभावक विहीन छट्पटाई रहनु परेको छ। अन्य मन्त्रीहरु पनि नभएका होइनन्। उनीहरु आफ्नो दुनो सोझाउन मै व्यस्त छन्। कसरी कुम्ल्याउने? उनीहरुको सपना नै यही हो। न त व्यवस्था छ, न व्यवस्थापन।
अन्त्यमा, त्यो उच्चस्तिरीय कोरोना रोकथाम समितिको बनौटमाथि आँखा पर्यो। न त कुनै विशेषज्ञ रहेछन्, न त यस सम्बन्धमा जfनकार, न त कुनै राम्रो व्यवस्थापक। सोचेजसरी एक जना कुलमानले देशलाई अध्यारोबाट मुक्ती दिए। यहाँ पनि त्यस्तै व्यवस्थापक भएको भए, ती अभिभावक खोजिरहेका नेपालीहरुको मनमा उज्यालो अवश्य भरिने थियो।
(लेखक अधिवक्त्ता तथा वरिष्ठ बाल अधिकारकर्मी हुन्।)