रामेछापको एउटा कुनामा जन्मेको म, जहाँ माध्यमिक स्कुल समेत थिएन। टोकरपुर गाँउ आफैँमा अति सुन्दर, दुई खोलाले घेरिएको शैलुङमुनिको त्यो गाँउ, गाँउको सिरानमा जंगल, पुछारमा सुन्दर धान खेतको त्यो हरियाली फाँट, अति सुन्दर र मनोरम निरन्तर सुसाई रहेको दुई खोला। लाग्छ म स्वर्गमा जन्मे, हुर्के।
कक्षा ७ को परीक्षापछि माध्यामिक शिक्षाको पढाईको लागि नजिकैको गुन्सीभदौरे गाँउमा अवस्थित माध्यमिक स्कुलमा भर्ना भएँ। मेरो गाँउबाट खोला, नाला, जंगल हुर्दै सुन्दर फाँटहरुको मनोरम दृश्यको दृश्यस्वादन गर्दै तीन घन्टाको हिडाई पछि पुगिने त्यो गाँउ आफैँमा सुन्दर थियो।
गाँउको बीचमा स्कुल, स्कुल वरिपरी त्यो सल्लाको सुसाई र कलकल बग्ने त्यो धारा, मिजासिला छिमेकीहरु, केही हप्ताको बसाईमा त्यो गाँउले पनि मलाई मोहनी लगाएको थियो। मसँग मेरो गाँउकै साथी विष्णु र म प्रत्येक हप्ता गाँउ फर्किने र एक हप्ताको लागि रासन बोकेर होस्टेलमा रमाउथ्यो। आज ३३ वर्ष भयो, म त्यो गाँउबाट छुट्टिएको।
आज म सुख र समृद्धिको खोजमा निस्केको ३३ वर्ष पछि एउटा कोठामा थुनिएको छु। म आफूलाई सबभन्दा भाग्यमानी लाग्छ किनकी मसँग एउटा माध्यम वर्गीय व्यक्तिको रुपमा जिवन निर्वाहको लागि चाहिने सबै साधन छन्।
बिहानदेखि बेलुकासम्म न्यूज हेर्ने, विश्वमा कति मान्छे मरे, गन्ने अनि आफू बाँच्न कोठामा लकडाउनमा रहने मेरो एक महिना देखिको दैनिकी भएको छ।
जब म समाचारहरु बीच विचरण गर्छु, ती नेपालीको चिच्याहाटले कान बन्द गर्न पुग्छु। सम्झिन्छु देशमा अत्यधिक बहुमतको सरकार छ, त्यो पनि कम्युनिष्ट विचार र सिद्धान्तबाट प्रशिक्षित। दशकौँ जंगल, जेलदेखि गाँउ-गाँउमा यीनै गरिबहरुलाई सपना बाडेर भूमिगत रहेका आदरणिय लौह पुरुषहरु प्रधानमन्त्री, मन्त्री अनि के-के पदले सुशोभित चिल्ला कारमा हुइँकिएको देख्छु।
ठूला-ठूला समितिहरु बनेको, समितिले ठूला-ठूला निर्णयहरु गरेको, अर्बौँको सुरक्षा सामाग्रीहरु किनेको, अर्बौँ रकम कोषमा जम्मा भएको, हजारौं क्वरेन्टाइन अनि आइसोलेसन खडा गरिएको समाचारहरुको झंकार पनि सँग-सँगै गुन्जिन्छन्। लाग्छ ओहो! हामी नेपाली कति भाग्यमानी, कति जिम्मेवार। हामीले जिम्मेवारी दिएका लौह-पुरुषहरु, अनन्दले मन तरंगित हुन्छ।
खै कसले हो गालामा थप्पड हानेको भान हुन्छ, म तर्सिन पुग्छु। म त सपनामा पो रहेको रहेछु। ब्युझन्छु, समाचारहरु लाइन लाग्छन्। एक छाक खान, एक आँङ लाउन अनि ती सुकेनाशे छोराछोरी, श्रीमती अनि कर्मठ बुबाआमा, जो एक छाक खान, बाँच्न र बचाउन संघर्ष गरिरहेका एक मात्र साहारा घर कहिले आउला र खाउला भनेर कुरेर बसेका छन्। हो, उनीहरु आफ्नो घर जान पाउन बिन्ती गरिरहेका नागरिकहरुलाई देख्छु।
हप्तौँ भयो रे घर जान चौरमा सुतेका, अलिकति कमाएर ल्याएको पनि सकियो रे। यस्तै रुवाबासीको चिच्याहट सुन्छु, त्यो पनि परदेशमा। घर जाउँ, देशका सुरक्षाधारीहरुले बाटो रोकेका छन्, नजाउँ घर-गाँउ परिवारको यादले सताएको छ।
अर्बभन्दा बढी महँगो तिरेर सरकारले समान किन्यो रे, धनीमानीहरुले सबै समानहरुको भाउँ सगरमाथा छुने बनाए रे, प्रधानमन्त्री ज्यूले सम्बोधन गर्नु भयो रे, भन्नु भयो रे यस्तो अभावको बेलामा जसले जे गरेनी पछि सोचौला। यस्ता समाचारले फेरि मलाई रिँगाटा लाग्यो। एकछिन लामो सास फेरेर सुस्ताए। लाग्यो शिद्धान्त छाद्न र इमानदार राजनितज्ञ हुन अति गाह्रो हुँदो रहेछ।
फेरि लामो सास फेरेँ, गमेँ, के ती गरिब हुनु उनीहरुको अपराध थियो? के गरिबी राजनीतिक मुद्दा मात्र हो? तिनै गरिब हुन् यिनका भोट बैँक, यहीँ गरिब हुन तिनीहरुका ईश्वर, जसले आज चिल्लाकार र भव्य महलको रस्वासदन गराएका छन्।
फेरि सोचेँ, के ती सिमानामा अनागरिक भएका गरिबको पीडामाथि यो राज्य किन यति कठोर भएको होला? यिनको के गल्ती थियो होला? यिनकै रेमिटेन्सले देश चलेको भनेर कुर्लेको पनि नसुनेको होइन्। साच्चै नै यी १/२ हजार नेपालीलाई राज्यले जिम्मा लिन नसक्ने नै हो त?
धेरै सोचेँ, त्यस्तो लागेन मलाई। यी १/२ हजार नेपालीलाई राज्यले जिम्मा लिएर पालन पोषण गर्न राज्यलाई कति पनि गाह्रो छैन। मात्र ती राज्यका ढुकुटी चलाउने मस्याहाहरुले चाहान राख्नुपर्छ। किन चाहदैनन्? किनकी ती गरिब हुन्। ती विचरा हुन्। खै, मैले भेउ पाउन सकिन।
फेरि अर्को समाचारले मलाई मुर्छित बनायो। एकछिनपछि मुर्छाबाट व्युतिए अनि लामो सास फेरेँ। समाचार थियो, हाम्रा सम्माननीय राष्ट्रपतिज्यूले अष्ट्रेलियामा, प्रधानमन्त्रीले साईप्रसमा रहेका नागरिक प्रति धेरै चासो देखाए रे। अति राम्रो कुरा प्रशंसनीय सोचाई। जुन देशका अफ्ना नागरिकहरु बिचल्लीमा परेनि सोच्नु पर्छ, राज्यले त्यसको जिम्मा लिनु पर्छ।
अनि फेरि सोच्न बाध्य भएँ, कम्तिमा पहिलो चरणमा यी काठमाडौंबाट आफ्नो घर गाँउ जान खोजेकाहरुलाई सुरक्षितरुपमा घर पुर्याउने मात्र गरे पनि हामी गौरवान्वित हुने थियौं। हामीले देखिरहेका छौं ती दुखीहरु कोटेश्वर लागायतका चोकहरुमा, यो पानीमा भिजेर घर जान लामबद्ध छन्। कोही बसमा सरर छन्, कोहीलाई प्रहरीले रोकेको छ रे। हैन कि सबैलाई जान दिनुहोस्, कि सबैलाई रोक्नुहोस्।
प्रधानमन्त्री, पद जोगाउन योजना बनाउँदैछन्, प्रतिपक्ष यही मौकामा खेल खैल्न खोज्दैछन्। अन्य दलका नेता सबै आफ्नो सत्ता र शक्तिको दुनो सोझाउन लागेका छन्। यही समाचारहरुले गर्दा अहिले समाचार हेर्न सुन्न मननै छैन। तर के गर्ने? जाहाँ गएनि चारै तिर यहीँ झन्कारले विक्षिप्त बनाएको छ।
अन्त्यमा, लामो सास फेरेँ र भन्न मन लाग्यो, के अति गरिब हुँदा राज्यका प्रमुखहरुले चासो देखाउनु नहुने हो र? सम्मानिय राष्ट्रपति ज्यू, आदरणिय प्रधानमन्त्री ज्यू, तपाईले भने जस्तै जनताको ज्यान जोगाउनु प्रथमिकता हो भने जति पैसा लागोस् ती अनागरिक भएर छटपटाई रहेका विचरा गरिबहरुलाई उद्धार गर्नुस् र उनीहरुलाई कम्तिमा घरमा सुरक्षित जाने व्यवस्था गर्नुहोस्।
बाँकी कुरा हिसाब गरौँला। यति मात्र गर्न सकियो भने नि तपाईको जय गाउनेछन्, विचरा ती गरिबहरुले।
(लेखक अधिवत्ता तथा वरिष्ठ बाल अधिकारकर्मी हुन्।)