‘हेलो! नानी तिमीहरू सञ्चै छौ?’
‘सञ्चै छौ हजुरआमा?’
‘तिमीहरू गएको देशमा कोर फैलेको छ भन्छन् त।’
‘कोर ... ए कोरोना।’
नयाँ शब्द तथा विषय सम्झनु परेमा पहिले नै जानेको शब्द वा विषयसँग जोड्दा सम्झन सजिलो हुन्छ। हजुरआमासँग मैले बाल्यकालमै सिकेको ज्ञान हो यो। हजुरआमाले ठ्याक्कै त्यसैगरी सम्झनु भएछ कोरोनालाई कोरसँग जोडेर।
‘हो.. हो.. नानी त्यही कोरोना।’
‘छैन.. छैन.. यतातिर सब ठीकठाक छ। हाम्रो चिन्ता नलिनु होला।’
‘लौ त्यसो भा भो म ढुक्क भएँ नानी।’
छोटो कुराकानीपछि हजुरआमाले फोन राख्नुभयो। नातिनातिना सञ्चै छन् भनेर उनीहरूको मुखबाट सुन्न पाए हजुरआमालाई पुग्यो।
लामोकुरा गर्न चाहनु हुन्न। मैले अलिबेर कुरा गर्न खोज्यो भने रून थाल्नुहुन्छ। त्यसैले जहिले फोन गर्दा पनि फोन छिट्टै राख्नु हुन्छ तर आज हजुरआमा होइन म रोएँ फोन राखेपछि। कोरोनासँग डराएर होइन,आत्मग्लानी भएर किनकी मैले झूटो बोलें।
माफ गर्नुहोला हजुरआमा मेरो उद्देश्य हजुरसँग झूट बोल्नु थिएन। हजुरलाई तनाव नदिनु थियो।
सन्तानको खुसीमा मात्र आफ्नो खुसी देख्ने हजुरआमासँग म कसरी भनूँ।
देशको कूल जनसंख्यामा कोरोना संक्रमितहरूको जनसंख्याको प्रतिशत निकाल्दा चीन लगायत संख्यात्मक रूपमा बढी संक्रमित भएका संयुक्त राज्य अमेरिका, स्पेन, इरान, फ्रान्स, दक्षिण कोरियामा भन्दा पनि स्वीट्जरल्याण्डमा रहेको छ। जहाँ अहिले म छु। सरकारले जनताको स्वास्थ्यलाई मध्यनजर गर्दै स्कुल तथा कलेज सबै बन्द गरेको छ।
सार्वजनिक यातायात सुचारु रहेको भए पनि यात्रुको संख्या अति न्यून। ग्रोसरी पसल खोलेको २ देखि ४ घन्टा नहुँदै करिब-करिब सबै सामान सकिन्छन्।
मानिसहरूले धमाधम खानेकुरा सञ्चित गर्दै छन् कोरोनाले गर्दा उब्जेको परिस्थिति लम्बिने डरले।
धन्न नेपालमा जस्तो कृत्रिम अभाव सिर्जना गरेर महँगोमा सामान बेच्ने कालोबजारी हुँदो रहेनछ नत्र हाम्रो हालत के हुन्थ्यो होला?
नजिक-नजिक निवास भएका हामी साथीभाइहरू पनि विगत २०/२५ दिनदेखि एक आपसमा भेटघाट गरेका छैनौं।
एक तलामाथि बस्ने साथीसँग पनि फोनबाटै हो कुराकानी हुने।
वास्तवमा हामी अघोषित बन्दी भएका छौं। कोरोनाको डरले आ-आफ्नै निवासभित्र थुनिएका छौं।
विश्वभरि भयावह रूपमा फैलिएको कोरोनाप्रतिको सजगताले गर्दा यहाँका अन्तर्राष्ट्रिय संघसस्थाका भौतिक उपस्थितिका कार्यक्रम स्थगित छन्।
कार्यालयका महत्वपूर्ण बैठक पनि स्थगित छन्। कलेजका प्रोफेसरहरूले अनलाइनबाटै पढाउन सुरू गरेका छन्।
प्रत्यक्ष रूपमा कर्मचारी उपस्थित नभइ गर्न नमिल्ने कामबाहेक अन्य काम कर्मचारीहरूले घरबाटै गर्न सुरू गरेका छन्।
स्कुल कलेजमा शिक्षकहरूले अनलाइन शिक्षण गरेका छन्। दैनिक ज्यालादारी काम गरेर जीवन निर्वाह गर्नेहरू एवम् प्राइभेट सेक्टरहरू जस्तै: एयरलाइन्स, होटल, व्यापार, व्यवसाय आदिमा नकारात्मक असर परेको छ।
त्यसैले तिनीहरूको सहयोगको लागि सरकारले नयाँ योजना ल्याएको छ। भीडभाड कम गर्ने उद्धेश्यले पाँच जनाभन्दा बढी भेला हुन नपाउने नियम लागू भएको छ। आर्मी परिचालन गरिएको छ। अत्यावश्यक काम नपरी मानिस स्वयम् बाहिर निस्कन चाहँदैनन्।
आफ्नो स्वेच्छाले घरमा बस्न पाउँदा साह्रै आन्नद आउँछ तर बाध्यताले घरमा थुनिनु पर्दा मानिसहरूमा छटपटी-बेचैनी बढ्ने नै भयो।
स्कुल पार्कमा रमाउने बालबालिका घरमै थुनिनु पर्दा उनीहरूमा चिडचिडाहटपन आउनु स्वभाविकै हो।
सामान्य रूघाखोकी लाग्दा पनि कोरोना हो कि भनेर मन चिसो हुन्छ। अझ कुनै लक्षण नदेखियता पनि मानिसलाई कोरोना भएको हुन सक्छ भन्ने कुरा मिडियामा आएपछि मानिसहरू मनोवैज्ञानिक रूपमा बढी आतंकित भएका छन्।
यहाँको प्रकृतिमा घमाइलो रमाइलो बसन्त ऋतु सुरू भएको छ तर मनमा कठ्याङ्ग्रिदो शिशिर...।
कोरोना संक्रमित त सङ्क्रमित भैहाले, संक्रमित नभएका मानिसहरूमा पनि मनमा चैन छैन।
बाबुलाई रूघा लाग्यो। नानुको शरीर तातेको जस्तो लाग्छ। हजुरले खोक्नुभयो कतै अफिसबाट ...। मेरो पनि टाउको दुखेको छ हिजो किनमेल गर्दा लाइन त एक मिटरको दुरीमा बसेको हो तर फिर्ता पैसा लिँदा हात छोइयो। कतै मलाई पनि...मानिसहरूलाई मनको बाघले चिथोरेको चिथरै छ।
मैले कसरी भनूँ नातिनातिनालाई काखबाटै ओराल्न नचाहने हजुरआमासँग सरकार र जनताले यति ध्यान दिँदा पनि कोरोना नियन्त्रण हुन सकेको छैन भनेर।
जीवनमा हरेक मानिसका आ-आफ्ना दुख:सुख र समस्याहरू हुन्छन्। तर कहिलेकाहीँ यस्तो अवस्था पनि आँउदो रहेछ जुन अवस्थामा समस्या व्यक्तिगत पारिवारिक होइन। स्थान विशेष मात्र पनि होइन सारा संसारको साझा समस्या अकल्पनीय रूपमा आउँदो रहेछ।
२०७२ सालमा नेपालमा भूकम्प आउँदा भूकम्प प्रभावित क्षेत्रका मानिसका दु:ख-सुख साझा थिए। लगत्तै नाकाबन्दी भयो। सारा नेपालीका दु:ख-सुख साझा भए। हाल केही अपवादका देशलाई छोड्ने हो भने सारा विश्व कोभिड १९ बाट आक्रान्त भएको छ। संयोगवस् २०७२ मा नेपालमा भूकम्पले र हाल स्वीट्जरल्याण्डमा कोरोनाले पारेको प्रभावलाई नजिकबाट प्रत्यक्षरूपमा अनुभव गरें।
विश्व स्वास्थ्य संगठनले कोरोनालाई महामारीको रूपमा घोषणा गरिसकेको र सो अनुसार विभिन्न राष्ट्रहरूले आवश्यक पूर्वतयारी तथा उपायहरू अवलम्बन गरेका छन् भने नेपालमा नेपाल सरकार र अन्य सम्बन्धित पक्षहरूबाट पनि सोही अनुसारको पूर्वतयारी सुरू भएको छ।
वास्तवमा समस्या नपरेसम्म त्यो हल्का लाग्छ र कहिलेकाहीँ त तिलको गेडा जति पनि लाग्दैन तर जब समस्या आफूलाई पर्छ त्यो पहाडभन्दा पनि ठूलो लाग्छ।
२०७२ सालमा नेपालमा भूकम्प जाँदा कति जनधनको क्षति भएको थियो। कालोबजारीले जनताको दैनिक जीवनमा र मुलुकको समग्र अर्थतन्त्रमा कति नकारात्मक प्रभावित पारेको थियो? मानिसको जनजीवन कति अस्तव्यस्त भएको थियो? न दिनमा खानु न रातमा सुत्नु।
करोडौंका महल हुने मानिसहरू खुला आकाशमुनि रात काट्न बाध्य भएका थिए जबकी भूकम्पले नेपालका निश्चित जिल्लाहरूलाई मात्र असर गरेको थियो। धनीमानी बस्ने काठमाडौंका जनतालाई तराईका गरिब बस्तीबाट समेत राहत आएको थियो।
देशविदेशबाट भरपुर सहयोग प्राप्त भएको थियो। मानिसहरू सबै एकै स्थानमा भेला भएर दु:ख-सुख साट्दा सामाजिक भाइचारा बढेको थियो तर यदि हामीले कोरोनालाई गम्भीरतापूर्वक लिएनौं भने कोरोना पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म फैलन एक निमेष पनि लाग्ने छैन।
त्यस अवस्थामा भूकम्पको बेला जस्तो सामाजिकीकरण हुन त परै जाओस् बिरामी हुँदा भेट्न आउने आफन्त र दाहसंस्कार गर्ने मलामी नपाउने अवस्था आउन सक्छ।
देश विदेशबाट सहयोगको अपेक्षा गर्न मिल्ने अवस्था रहने छैन किनकी अधिकांश देशहरू आफैं कोरोना प्रभावित भई समस्याग्रस्त भएका छन्।
त्यसैले कोरोना हल्कारूपले हेर्ने विषय कदापी होइन। चीनमा पो हो हामीकहाँ आइपुग्दैन भनेर समयमै गम्भीररूपमा नलिँदा इटलीमा कोरोनाको कारणले विश्वमा सबभन्दा धेरै मानिसको निधन भैसकेको छ।
संक्रमण सुरू भैसकेपछिको अवस्थामा विकसित राष्ट्रलाई त कोरोना नियन्त्रण गर्न यति हम्मेहम्मे परेको छ भने यस्तो अवस्था नेपालमा आइपरेमा के हामीले पार लगाउन सकौंला? हामीले जनधनको क्षति व्यहोर्न पर्ने मात्र होइन आगामी दशकौंसम्मलाई असर पर्ने गरी अर्थतन्त्रको मेरूदण्ड भाँचिने छ।
कोरोना नआउँदै त २० रुपैयाँको मास्कलाई २०० रुपैयाँमा बेचिन्छ। खाना पकाउने ग्यास लुकाइन्छ। पेट्रोल भर्नेको लाम बढ्छ। कालोबजारी मौलाउँछ। नेपालमा कोरोनाको प्रभाव बढ्दै गयो भयो भने त स्थिति भयावह हुनेछ। दैनिक ज्याला मजदुरी गरेर खानेहरू भोकै मर्नेछन्। प्राइभेट सेक्टर, व्यापार व्यवसाय आदिमा अर्बौंको क्षति हुनेछ। उद्योग कलकारखाना टाट पल्टिनेछन्। के नेपाल जस्तो कम विकसित राष्ट्रको सरकारले विकसित राष्ट्रका सरकारले जस्तो पर्याप्त क्षतिपूर्ति दिन सक्ला?
हामी जनता एवम् सरकारले बेलैमा सचेत हुने अवसर पाएका छौं। स्कुल, सिनेमा हल आदि भीडभाड हुने क्षेत्र बन्द गराएर, मानिसहरू जम्मा हुने कुनै पनि कार्यक्रम आयोजना नगरेर, कार्यालयमा उपस्थित नभई गर्न नमिल्ने काम बाहेक अन्य काम कर्मचारीहरूलाई घरबाटै गर्ने व्यवस्था मिलाएर, प्रत्यक्ष भेटघाट कम गरेर लगायत अन्य सुरक्षाका उपाय अवलम्बन गर्दा हामी कोरोनाबाट सुरक्षित हुन सक्छौं।
यदि हेलचक्य्राइँ गर्यौं भने र देशमा कोरोना संक्रमणको भयावह बढ्यो भने सरकारले जनतालाई र जनताले सरकारलाई दोषारोपण गरेर टुलुटुलु हेरेर बस्नुको विकल्प हुने छैन।
तसर्थ, हामी सबै जनता एवम् सरकार विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोनाभाइरसबाट सुरक्षित हुन गम्भीरतापूर्वक लागौं।
अन्त्यमा भगवानसँग प्रार्थना छ कि हाम्रो देश नेपालमा केही पनि नराम्रो नहोस् र केही समयपछि नेपाल फर्किएर हजुरबुवा हजुरआमालाई सकुशल भेटेर ढोगेर भन्नु छ कि हामी सबै सकुशल छौं।