अहिले संसारलाई आफ्नो चपेटामा लिईरहेको कोरोना भाइरसका कारण विभिन्न देशहरुमा व्यापक मानवीय एवं आर्थिक क्षति भईरहेको छ। चीनको वुहान सहरबाट केही महिना पहिले देखापरेको यो भाइरसबाट यो लेख तयार हुँदासम्ममा ३७ हजारभन्दा बढी मानिसले अकालमा ज्यान गुमाउनु परेको छ भने लगभग ८ लाख मानिस संक्रमित छन्।
यस भाइरसले विभिन्न संकट निम्त्याएसँगै मानिसको व्यवहारमा पनि केही परिवर्तन आत्मसाथ गर्न बाध्य बनाएको छ। भनिन्छ कुनै पनि सिकाई त्यतिबेला फलदायी हुन्छ, जतिबेला सिकाईको परिणाम सिक्ने मानिसको व्यवहार परिवर्तनबाट झल्किन्छ।
मानिसले अनेकौँ जीवन उपयोगी सिद्धान्तहरुको बारेमा विभिन्न माध्यमहरुबाट थाहा पाएका हुन्छन्, तर ती सिद्धान्तहरुलाई व्यवहारमा उर्तान चाहिरहेको हुदैंनन्। मानिसको आफ्नो सोचाई अनुसारको व्यवहार हुन्छ, भलै त्यसतो व्यवहार समाज तथा स्वास्थयको लागि हानिकारक नै किन नहोस्।
उदाहरणको लागि हामी सबैलाई थाहा भएको कुरा होकी धुम्रपान हाम्रो स्वास्थ्यको लागि हानिकारक हुन्छ। तैपनि हामी जानी नजानी धुम्रपान गरिरहेका हुन्छौँ। यसबाट छुट्कारा पाउन सकिदैँन भन्ने मिथ्या तथ्यलाई अझ स्थापित गर्न योगदान गरिरहेका हुन्छौँ। जबकी साँचो कुरा के हो भने मुस्किल हुनसक्छ, तर असंभव होईन। यो कोरोना भाइरसले पनि यस्तै केही नँया व्यवहार हामी माझ स्थापित गर्न सहयोग गरिरहेको छ, जसको बारेमा हामीलाई पहिले देखिनै सैद्धान्तिक ज्ञान थियो।
पश्चिमा देशहरुमा प्रचलित संस्कारहरु जस्तै पहिलो पटक भेट हुँदा हात मिलाउनु, गालामा गाला टाँस्नु इत्यादी। हामी पुर्वी सभ्यातामा बस्ने मानिसहरुको लागि यो अपाच्य भएपनि आफूलाई बढी शिक्षित एवं आधुनिक देखाउन त्यसता संस्कार सजिलै अँगालिरहेको थियौँ। जबकी आफनै दुई हात जोडेर नमस्कार गर्ने संस्कारलाई अँगाल्न संकोच मानिरहेका थियौं। तर कोरोना भाइरसको प्रकोपको कारण हाम्रो पूर्वी सभ्यतामा प्रचलनमा रहेको नमस्कार गर्ने चलनलाई संसारभरी पुर्नस्थापित गरिदिएको छ।
इजरायलको प्रधानमन्त्री बेन्जामिन नेतान्याहु, ब्रिटेनको युवराज एवं अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त सार्वजनिक रुपमै ‘नमस्कार’लाई अँगाल्नुको साथै यसको गुनगान गाएको भिडियोहरु संचार माध्यममा सार्वजनिक भएको छ।
यस भाइरसको सुरुआती चरणमा चीनले एक हप्ताको समयमानै कैयौँ सय बिरामी अटाउने कोरोना विशेष अस्पताल जिरोदेखि नै बनाएर विश्वमा चर्चित भएको थियो। यति छोटो समयमा त्यो अस्पताल बनाउन सक्नु नीतिगत, व्यवस्थापकीय लगायत अन्य क्षेत्रमा अर्को व्यापक एवं आकस्मिक व्यवहार परिवर्तनबाट मात्र सम्भव हुन सकेको थियो। अन्यथा, त्यो आकारको अस्पताल बनाउने निर्णय गर्न नै वर्षौँ लागेको दृष्टान्त नभएको होइन।
भाइरसको संक्रमण एकपछि अर्को देशहरुमा तीव्र गतिमा फैलिरहेको अवस्थामा अन्य मुलुकहरुमा पनि त्यँहाको नेता एवं जनताको व्यवहारमा व्यापक परिवर्तन भएको छ। भारत जस्तो विशाल प्रजातान्त्रिक देशमा समेत मानिसहरु आफनो घरभित्र सिमित हुन बाध्य भएको छ भने यस देशको शक्तिशाली प्रधानमन्त्रीले यस्तो निर्णय गरेको कारण जनताबाट माफी मागेर आफूमा समय सापेक्ष अर्को व्यवहार परिवर्तन गरेको छ। अरुबेला रोजगारीको शिलशिलामा अर्को राज्यबाट आफ्नो राज्यमा काम गर्न आउने कामदारहरुलाई दुस्मन जस्तो व्यवहार गर्ने केही दक्षिण भारतीय राज्यका मुख्यमन्त्रीहरु अहिले उनीहरुलाई खाने तथा बस्ने व्यवस्था मिलाएको छ।
दिल्लीको मुख्यमन्त्रीले बारम्बार रोजगारदाताहरुलाई कामदारहरुको ज्याला कटौती नगर्न तथा उनीहरुलाई सक्दो सहयोग गर्न आग्रह गरेर फराकिलो बहुमतबाट निरन्तर सत्ता सम्हालेर पनि संकटको बेलामा मानवीय स्वभाव देखाई आफनो व्यवहार परिवर्तन गरेको छ।
संसारको सबैभन्दा बढी शक्तिशाली देश अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रम्पले आफनो देशको इतिहासकै सबैभन्दा ठुलो आर्थिक सहयोगको ‘बेलआउट’ क्रार्यक्रम ल्याउन बाध्य भएको छ। देशमा थप आर्थिक क्षति हुन दिनबाट बचाउन नजिकिएको पर्व ‘इस्टर’ शुभमुर्हत पारेर देशलाई पुनः खोल्ने भनाई बारम्बार दोहोर्याए पनि हालै कोरोना भाइरसको केन्द्रबिन्दुमा परिणत भएको अमेरिकामा ज्यामितिय दरमा बढिरहेको संक्रमणको कारण आफनो निर्णयबाट पछि हट्न बाध्य भएको छ। यो अर्को शक्तिशाली व्यक्तिमा आएको व्यवहार परिवर्तन हो।
वषौँसम्म अमेरिका र रसियाबीच रहेको तिक्ततापूर्ण सम्बन्धलाई बिर्सेर यस संकटको घडीमा रसियाले पठाएको औषधीजन्य सामग्री स्वीकार गर्नु अमेरिकाको सत्तामा रहेका व्यक्तिहरुको व्यवहारमा आएको परिवर्तन हो। यसैगरी केही पहिलेसम्म व्यापार युद्धमा होमिएको संसारको पहिलो र दोस्रो शक्तिशाली मुलुक अमेरिका र चीन तथा यस कोरोना भाइरसलाई ‘चाईनिज भाइरस’ भनेर चीनलाई झन् चिढाएका अमेरिकाले एक अर्काको बीच रहेको आर्थिक एवं राजनीतिक प्रतिस्पर्धालाई भुलेर चीनले पठाएको व्यक्तिगत सुरक्षा यन्त्र(पिपिई), भेन्टिेलेटस लगायत अन्य उपयोगी सामानहरु स्वीकार गरेर समयको मागअनुसारको व्यवहार परिवर्तन दुवै देशले गरेको छ।
चीनमा महामारीको रुप ग्रहण गरिसकेको अवस्थामा सचेत हुने प्रयाप्त समय हुँदाहुदैँ पनि इटालीले देखाएको गैरजिम्मेवारपूर्ण व्यवहारको कारण आज यो देशमा सबैभन्दा धेरै मानवीय क्षति हुन पुगेको छ। यस तथ्यलाई मननगरी यतिबेला संसारको लगभग सबै देशले ‘लकडाउन'को घोषणा गरेको छ। कोरोना भाइरस विरुद्धको युद्ध जित्नको लागी विभिन्न देशहरुको बीच रहेको मतभिन्ततालाई बिर्सेर मानव जातीको जिवनको पक्षमा देखाएको ऐक्यबद्धता अर्को महान व्यवहार परिवर्तन हो। भारतीय प्रधानमन्त्रीको अग्रसरतामा सम्पन्न भएको सार्क देशहरुको भिडियो सम्मेलेन र यस सम्मेलनमा पाकिस्तानले पनि आफ्नो प्रतिनिधी सामेल गराउनु पनि यस दक्षिण ऐसियाली जनताको लागी सकारात्मक सन्देशसहितको राजनीतिज्ञहरुमा आएको व्यवहार परिवर्तन हो।
आफनै गाँउ, आफनै ठाँउमा पनि केही गर्न सकिन्छ। बस्नको लागि सहरभन्दा गाँउ नै राम्रो हुन्छ। यस्ता कैंयौँ विश्वव्यापी स्थापित तथ्यहरुलाई बेवास्ता गरी कमिला जस्तो ताँतीमा बस्नको लागी आफ्नो गाँउ, आमा बुवालगायत र अन्य सम्पत्तिहरुलाई छोडेर अरुको देखासिकी गर्दे भौतिकवादमा लिप्तरहेको व्यक्तिहरुको चेत खुल्नु र उनीहरु आफ्नै जन्मस्थानमा फेरि फर्कन थाल्नुलाई पनि मानिसहरुमा देखिएको व्यवहार परिवर्तनको रुपमा लिनु पर्दछ।
एक माथि अर्को, अर्को माथि फेरि अर्को गरि बहुतल्ला एवं गनगचुम्बी भवनहरुमा बस्न रुचाउने मानिसहरुलाई पनि हिँडडुल गर्नको लागी प्रयाप्त ठाँउ भएको एक तल्ले वा दुई तल्ले भवन तथा पर्याप्त खुल्ला ठाँउ भएको सहरभन्दा टाढा तर बस्नको लागि चाहिने न्यूनतम् पूर्वाधारहरु भएको सानोसानो ठाँउ नै राम्रो भन्ने बोध गराएर संकटको बेलामा आफनै ठाँउ प्यारो हुन्छ भन्ने तथ्यलाई पुर्नस्थापित गर्न बाटोमा जति नै दुःख भोग्नु परे पनि आफ्नो गाँउठाँउ पुगेरै छाड्ने अठोटसहित सहरबाट गाँउतर्फको यात्रा तय गर्न बाध्य पार्नु पनि यस भाइरसले ल्याएको अर्को व्यवहार परिवर्तन हो।
तर्सथ, यस भाइरसको कारण संसारले व्यहोरिरहेको क्षतिको कुनै हिसाब किताब हुन नसके पनि केही व्यक्तिहरुको चेत खोलेर समग्र संसार एवं मानव जातिको हित गराएको व्यवहार परिवर्तन अनुसरण योग्य छ।