स्मृति
अरूले जस्तै मैले पनि इमेल चलाउन जानेको 'हटमेल' र 'याहु'बाटै हो। तर जब 'जिमेल' तिर बानी पर्यो, ती दुवै अतीत बने। तिनले भने के बिर्सिंदा हुन्! सदा झैं आज बिहानै 'जिमेल' चेक गर्दै गर्दा 'याहु'बाट नोटिफिकेसन आयो।
वर्षौंदेखि नचलाएकोले 'याहुमेल'का विभिन्न सेक्युरिटी प्रक्रिया पार गरेर 'इनबक्स' खोल्दा 'जङ्कमेल'को डङ्गुरले अत्यायो। 'डिलिट' हान्नै घण्टौं लाग्ने देखियो।
आऽऽ होस्, रहन दिऊँ। अल्छी पाराले 'स्क्रोल' गर्दै 'इनबक्स'भित्रका पुराना इमेल खोतल्न थालें। अनि भेट्टाएँ, एउटा पुरानो, बिर्सिसकेको इमेल।
साथीहरूलाई ग्रुपमेलमा पठाएको एउटा लामो इमेल।
त्यतिबेला फेसबुक, ट्वीटर आदिको प्रचलन त्यति आइसकेको थिएन। अहिले पो मनमा लागेका भावना, विचार, उकुसमुकुस पोख्ने ठाउँ थुप्रै भए।
इमेल पढ्दै जाँदा अतीतमा हराउन पुगें।
२०६७ फागुनतिरको लेखिएको रहेछ त्यो इमेल।
त्यसबेला मैले चिनीको बारेमा लेखेको रहेछु। ‘चिनी?’ यो कस्तो शीर्षक? तपाईं भन्नुहोला। यसको पनि कारण छ। मसँग जोडिएको अतीत छ।
मलाई गुलियो चिज खुब मन पर्थ्यो। अहिले पनि मन पर्छ। चिनी भनेसी मरिहत्ते गर्थें। मिश्रीको डल्लो होस् या लक्ष्मीपूजामा लक्ष्मी मातालाई चढाउन राखिएको 'चिनियाम्ह: किसिचा' (चिनीको हात्ती) सबै भ्याइदिन्थें।
अहिले त चलन हरायो। ऊ बेला तिहारताका असन बजारभरि नाङ्लामा बेच्न राखेका हुन्थे - चिनीले बनेका गाढा गुलाबी रङका 'लक्ष्मी', 'गणेश', 'हात्ती', 'घोडा', के के हो के के।
लक्ष्मीपूजाको विसर्जन भाइटीकाको भोलिपल्ट हुन्थ्यो र बल्ल ती 'हात्ती घोडा' खान पाउँथें।
चिनी भनेसी हुरूक्कै हुने म तर चिनीप्रति घृणा लाग्ने दिन पनि आयो। हुन त चिनी पनि बढी खाए तीतो हुन्छ भन्थे सत्य लाग्न थाल्यो। जब...मेरी आमालाई सुगर रोगले च्याप्यो।
कुरा २० वर्षअघि अर्थात् विसं २०४७ सालतिरको।
हल्काफुल्का काम गर्दा पनि आमा छिट्टै थाक्न थाली, बारम्बार ट्वाइलेट छिर्न थाली, कुनै घाउ लागे निको हुन महिनौं लाग्न थाल्यो। अनि एक दिन 'ब्लड टेष्ट' पश्चात् डाक्टरले भने, सुगर छ। त्यो पनि 'हाइ रेन्ज'मा। अनि सुरू भयो खानपानमा रोकटोक।
खान हुने र नहुने खानाको लिस्ट थमाइदिए डाक्टरले।
सुगरको औषधि दिन सुरू भयो। तर त्यहीबेला थपियो अर्को रोग- ब्लडप्रेसर। त्यसको पनि औषधि खान सुरू गरियो।
आमाको स्वास्थ्य दिन प्रतिदिन खस्कन थाल्यो। सुगरले आँखालाई पनि असर गर्यो। अनि धाउन थाल्यौं तिलगंगा आँखा अस्पताल। लेजर थेरापी रे, अरु पनि के के!
सुगर र प्रेसरसँग जुँधिरहेकी ४५ वर्षीया आमालाई फेरि अर्को रोगले समात्यो ठ्याक्कै १० वर्षपछि।
२०६७ असारतिर
आमाको दुवै मिर्गौलाले झण्डै काम गर्न छाडिसकेको रहेछ। किष्टमा जँचाउन जाँदा थाहा भो।
'अब फिस्टुला बनाउनु पर्छ,' किष्ट अस्पतालका डाक्टर काफ्लेले सुनाए।
सुगरले मिर्गौलालाई असर गरेछ। शरीरको रगत सफा गर्ने मिर्गौलाले आफ्नो काम नगरेपछि फोहोर रगत शरीरमा फैलिएर हानी पुर्याउने भो। यो नहोस् भनेर मेसिनको सहायताले कृत्रिम ढङ्गबाट रगत सफा गर्नुपर्ने हुन्छ। जसलाई 'हेमो-डायलासिस' भनिन्छ, र यसका लागि फोहोर रगत शरीरबाट निकालेर मेसिनद्वारा सफा गरिसकेपछि सो सफा रगत फेरि शरीरभित्रै पठाउन सानो क्षिद्र बनाइने रैछ, धेरैजसो हातमा। यसै क्षिद्रको भित्रभित्रै नशा र धमनीलाई एकै ठाउँमा 'फ्युजन' गरेर 'फिस्टुला' बनाइने रैछ।
पछि सोधखोज गर्दा थाहा भयो।
राष्ट्रिय मिर्गौला केन्द्र, वनस्थलीका डाक्टर रामेश कोइरालाले 'माइनर' अपरेसन गरे। फिस्टुला बन्यो। मिर्गौला आकारको सानो मुठ्ठीजत्रो नरम रातो 'भकुण्डो' थमाइयो।
'अब यल्लाई यसरी समाउने, अनि निचार्ने। टाइम टाइममा। नछोड्ने है।' डाक्टरले 'डेमो' देखाए।
दुर्भाग्य! फिस्टुलाले काम गरेन। प्रेस गर्न आमाको बल पुगेन।
२०६७ असारको एक रात। पानी पर्न छाडेको केही दिन भएको थियो। रातमा गर्मी भयो। आमाले पङ्खा चलाउन भनिन्। पङ्खा रातभरि चल्यो, बिहानैसम्म। तर बिहान आमालाई हनहन्ती ज्वरो आयो।
सास फेर्न गाह्रो हुन थाल्यो। हतारहतार किष्ट अस्पताल लगियो। निमोनिया भैसकेछ। छातीबाट तीन लिटर पानी निकालेपछि बल्ल स्थिति काबुमा आयो। तर अब 'डाइलासिस' भने नगरी नहुने भो। हातमा फिस्टुला नबन्ने भएपछि अस्थायी तथा आपतकालीनका लागि तिघ्राको काप चिरेर फिस्टुला बनाइयो। डायलासिस भयो।
स्थायी फिस्टुला त बनाउनु नै थियो। तर दोस्रो पटक पनि सफल भएन। तेस्रो पटक प्रयास गर्यौं। अहँ सफल भएन। एक त फिस्टुला बन्न सकिरहेको थिएन अर्को आमाको हालत देखेर रुँनमात्र सकिरहेको थिइनँ। आमाको त्यस्तो अवस्था देख्दा मन नै अमिलो भएर आउँथ्यो। हामी सबै निराश भइरहेका थियौं। कसैगरी पनि फिस्टुला बनाउन सकिएको थिएन।
बिचरी आमा! हात चिरिँदा चिरिँदा थिलथिलो भइसकेकी थिइन्।
६५ वर्षको उमेरमा घरमा नातिनातिनासँग रमाउँदै बस्ने बेला अस्पताल धाउँदा धाउँदा हायलकायल थिइन्। हर प्रयास खेर गइरहेको थियो।
दु:खको बेला सबभन्दा बढी सम्झने भनेकै भगवानलाई हो। लाग्थ्यो दु:खको घडीमा भगवानले पनि कति परीक्षा लिन खोजेका होलान्। अनि लाग्थ्यो दु:ख पर्दा त भगवान् पनि पराइ हुँदा रहेछन्।
केही सीप नलागेर फिस्टुलाको विकल्पमा काँधमा 'क्याथेटर' हालियो - अर्को अस्थायी उपाय।
आमाका काँधबाट स-साना पाइप झोलिए।
भनिन्छ नि यदि कुनै काममा दत्तचित्त भएर लागिरहे एकदिन त्यो पक्कै सफल हुन्छ।
आमाको केसमा पनि भयो त्यस्तै अर्थात् चौथो पटकको प्रयासमा आमाको हातमा फिस्टुला बन्यो।
गंगालालका डाक्टर तिमलाले आमाको दाहिने हातमा फिस्टुला बनाए।
त्यति मुश्किलले बनेको फिस्टुला जोगाउन आमा त्यो सानो रातो मिर्गौला आकारको 'भकुण्डो' जोडतोडले थिच्न थाली। फिस्टुलाले काम गर्न थाल्यो। केही राहत मिल्यो।
खुसी भएर घर लग्यौं। तर त्यो खुसी भने धेरै दिन टिकेन। फिस्टुला राखे पनि आमालाई बेलाबेला समस्या भइरह्यो। अस्पताल लाने ल्याउने गरिरहनु पर्यो।
* * *
चौथो पटक राखिएको फिस्टुलाले सात महिनामै काम गर्न छाड्यो। आमालाई आइसियुमा भर्ना गरियो। सुगर प्रेसर भएको मान्छेलाई किड्नी ट्रान्सप्लान्ट गरिँदैन। आमालाई यी सब रोगले गाँजेको थियो। डाक्टरहरू भने ‘वेट एण्ड वाच’को स्थितिमा थिए।
यसरी नै चलिरहे दिनहरू।
तर जुन दिनको हामी कल्पना पनि गर्न सक्थेनौं, त्यो दिन आइछाड्यो। जे नहुनु थियो त्यो भइछाड्यो।
२०६८ चैत ५ गते बिहानै घामको झुल्को देख्न नपाउँदै सदाको लागि हामीलाई छाडेर गइन् आमा ... चुपचाप।
म अझै सम्झिन्छु, किष्ट अस्पतालको आइसियुको बेडमा शान्त मुद्रामा पल्टेकी आमा। मानौं निदाएकी छिन्। थाकेर एकै छिन आराम गर्दैछिन्। लाग्थ्यो कि अनन्त यात्रामा जाँदै गर्दा उनका भित्र चाहनाका कुनै अवशेषहरूसम्म पनि बाँकी थिएनन्। त्यही भएर सौम्य, शान्त, स्थिर।
आमा ६५ वर्षकी मात्र थिइन्। तर सायद भगवानलाई उनका असंख्य कष्ट-पीडाहरूबाट मुक्त गराउनु थियो। तब न यति छिट्टै बोलाए। आज सोच्दा लाग्छ, जे भो ठीकै भो। अनन्त कष्टबाट त्राण पाउनु पनि मुक्ति नै हो।
***
त्यो दिन बितेको पनि आज आठ वर्ष भैसकेछ। तर लाग्छ - हिजै जस्तो। कहिलेकाहीँ सोच्छु, कहाँ होलिन् यति खेर? के गर्दै होलिन्? कतै जन्म लिइन् कि? हुन सक्छ, जन्ममृत्युको अविच्छिन्न चक्रबाट मुक्त भएर देवत्व प्राप्त गरिन् कि? के थाहा!
फेरि यो पनि सोच्छु, कतै आमाले मलाई सम्झँदै त छैनन्? के यो त्यसैको सङ्केत त हैन? वर्षौं वर्षपछि आज यो 'बिर्सिएको इमेल' भेटिनु! अनि, तीभित्र समेटिएका विगत पलहरू पुन: एकपटक मेरो सामुन्ने आउनु - सम्झनाहरूको लावालस्कर लिएर!
किनकि, अनौठो संयोग नै भनुँ, आजको केही दिनमा आमाको आठौं वार्षिकी परेको छ।