आमा, हजुरआमाको पालामा
छोरीहरू जन्मिरहे छोराको आशामा
हाम्रो पालामा
छोरीहरू मारिए छोराको आशामा
तसर्थ
आमा, हजुरआमाहरू जननी किनकी उहाँहरूले जन्माइरहनुभयो।
हामीहरू...किनकी हामीहरूले मारिरह्यौं।
‘नौ कक्षामा पढ्ने पढाइ राम्रो भएकी छात्राको एक्कासि पढाइ बिग्रियो। टप तीनभित्र पर्ने छात्रालाई विषय लाग्न थाल्यो। न त शिक्षकहरूसँग केही प्रश्न सोध्छिन् न त साथीहरूसँग बोल्छिन्।कस्तो मनस्थिति नै बिग्रिएको जस्तो। किन यस्तो भयो भनेर कुरा बझ्दै जाँदा घरमा भाइ जन्मिएको रहिछ। उसकी दिदी कक्षा ११/१२ तिर पढ्छिन् होला। छोरीहरू बुझ्ने भैसकेका बाबा-आमाले हामीलाई सन्तानको हैसियत दिनु भएन भन्ने सोचे होलान्।’ कक्षा नौमा पढ्ने आफ्नी विद्यार्थीको बारेमा मामाले सुनाउँदा अचम्म लाग्यो।
नौ वर्ष अघिको कुरा। मेरो बाल्यकालकी साथीको बिहे भएको पाँच महिना मात्र भएको थियो। हामी एउटा रेष्टुरेन्टमा गएर खाजा खायौं र गफ गर्न क्रममा मैले सोधें।
‘तेरो भाउजुको डेलिभरी भयो?’
‘कहाँ केको ...डेलिभरी भन्छे यो।’
‘ला! म त झुक्किएछु। तेरो बिहेताका भाउजुको पेट ४/५ महिना भएको जस्तो लाग्थ्यो बाक्लो बनारसी सारीले होला।’
‘म यता काठमाडौंमा बस्ने भाउजु उता घरतिर। यस्तो कुरा निदीखुदी सोध्न पनि गाह्रो। मेले बुझे अनुसार भाउजुको गर्भ तीन महिनाको छँदा भिडिओ एक्सरे गरेको रे। छोरा छ भनेछ। पछि फेरि पाँच महिनामा चेक गर्दा छोरा होइन छोरी भनेछ। अनि मेरो बिहे लगत्तै गर्भपतन गराउनु भएछ ।अनि के को डेलिभरि हुनु!’
‘जे पायो त्यही। ५ महिनाको गर्भ पनि फाल्छ कसैले? आफ्नो पालामा थाहा पाउलिस् सन्तानको माया कति लाग्छ भनेर। भाउजुको बारेमा जथाभावी नबोल त पागल केटी।’
‘फाल्नेले फालिसके त कराएर हुन्छ?भाउजुको पहिले नै दुई छोरी छ क्या ४ र ६ वर्षका धन्न भाउजु बाँचिन् भन्न।’
फुर्सद भयो कि यसो फेसबुक हेर्ने बानी छ। फेसबुक चलाउँदै थिए न्युजफिडमा नवजात शिशु समातेको तिनै साथीको दाजु भाउजुको फोटो देखें।
क्यापसन थियो- पुत्र लाभ
अच्चम लाग्यो। यत्रो वर्षपछि! विश्वास नलागेर फोटो जुम गरेर हेरें। आखिर हो रैछ। न नै बधाइ छ लेखें, न लाइक बटन थिचें।
एकछिन त दिमागमै घुम्यो। अनि तिनै साथीलाई सम्झिएँ। मनमनै माफी मागें पनि। त्योबेला साथीसँग बेकार कराएँ जस्तो लाग्यो।
सोचे ...यो नौ वर्षमा अरू कति ...
नौ वर्ष अगाडि ४ र ६ वर्षका छोरीहरू पक्कै १३ र १५ वर्षका भए होलान्। तिनिहरूले के सोचे होलान्?
कतै तिनीहरूको मनस्थिति पनि मामाको स्कुलको छात्राको जस्तो भयो कि?
यस्ता शिक्षित भाउजुहरूको सङ्ख्या हाम्रो समाजमा दिनप्रतिदिन बढ्दो छ।
यसमा भाउजुहरूमात्र दोषी छैनन्। बराबर दोषी छन् दाजुहरू, घरपरिवार, समाज अनि धर्मसंस्कृतिबाट बुझिएका गलत बुझाइहरू।
आफ्नो ज्यान दाउमा लगाएर घरमा भएका छोरीहरूलाई महत्त्व नदिएर छोरा नै पाउनुपर्ने? कुन चाहिँ ग्रहको यात्रा तय गर्न खोज्दैछन् हाम्रा दाजु भाउजुहरूले? आफूलाई शिक्षित भनाउन रुचाउने दाजु भाउजुहरू किन आफू परिवर्तित हुन सक्दैनन्?
‘हाम्रो त छोरी नै छोरा सरह। छोरी भए पुगिहाल्यो नि! दिनभरि गाउँदै हिँड्ने। साँझ परेपछि तिनै दाजु भाउजु गर्भपतन गराउने क्लिनिक धाउँदै हिँड्ने?’
हुर्किसकेका छोरीहरूको अगाडि पुन: बच्चा जन्माउन अलिकति पनि दकस छैन हाम्रा दाजु भाउजुहरूलाई। दाजुलाई त झन् के केन गरेको जस्तो फेसबुकमा फोटो राख्नकै हतार।
संविधानबाटै अंश र वंश दुवैको अधिकार सुनिश्चित गरेको यतिका वर्ष भइसक्दा पनि लिंग पहिचान गरेर गर्भ पतन गराउनेको सङ्ख्या बढेको देख्दा लाग्छ - शिक्षाले त अक्षरमात्र चिनाउँदो रहेछ, चेतनाको ढोका खोल्न त अदम्य साहस पो चाहिँदो रहेछ।
‘छोरा र छोरी समान’, ‘दुई सन्तान ईश्वरका वरदान’,‘छोरा हुनु वा छोरी दुई भए पुगिसरी’
हाम्रो समाजलाई रटाइन थालेको म बुझ्ने भएभन्दा पनि पहिलादेखि नै हो। रेडियोबाट, टेलिभिजनबाट, पत्रपत्रिकाबाट, पोष्टर पम्पलेटबाट, स्कुल कलेजका किताबबाट, सभा सेमिनार गोष्ठीबाट, तर व्यवहारमा लागू गर्न अहिलेसम्म गाह्रो छ हाम्रा दाजु भाउजुहरूलाई।
अरूलाई प्रवचन दिएर नारा लगाएर केही हुन्न। मुख्य कुरा आफूलाई आफैंले सम्झाउनु पर्छ।
समाजले के भन्ला भनेर डराउने होइन। समाजलाई म परिवर्तन गर्छु भनेर आत्मविश्वास राख्नु पर्छ। आफ्नो सोच व्यवहारलाई परिवर्तन गर्नुपर्छ।
हालै केही राजनीतिकर्मीहरूको स्वस्थानीको किताबको पन्ना च्यात्ने कुराको समाचार सुन्दा उनीहरूको सोचाइप्रति दया लाग्यो।
हो, छोरीलाई अति हेला गरेर सन्तानको दर्जा पनि नदिएको, अनमेल विवाह गराइएको, झुक्याएर सतित्व हरण गरिएको आदि प्रसंग पढ्दा हामीमा आक्रोश आउनु स्वभाभिक होला तर एकछिन ठण्डा दिमागले सोचौं त।
स्वस्थानी कथा तत्कालीन समाजको परिवेशमा लेखिएको कथा।
अहिलेको परिवर्तित समाजले हुबहु पालना गर्नुपर्छ भन्ने छैन। उक्त कथामा तत्कालीन समयमा अनमेल विवाह गरिन्थ्यो भनेको हो।
हामीले अनमेल विवाह गर्नुपर्छ भनेको होइन। छोरीलाई हेला गरिन्थ्यो भनेको होइन तपाईंले छोरीलाई हेला गर्नुस् भनेको होइन।
तत्कालीन समाजको परिवेशको बारेमा हाम्रो एवम् भावी पुस्तालाई समेत जानकारी दिने स्वस्थानी कथालाई सकारात्मक दृष्टिले पनि हेर्न सकिन्छ।
मुख्य कुरा हाम्रो बुझाइ हो। किताबकै पाना च्यात्नुपर्छ र? फेरि किताबका पाना च्यातिँदैमा मनको भ्रम च्यातिन्छ भन्ने पनि छैन।
हाम्रा धार्मिक ग्रन्थमा भएका सकारात्मक कुरालाई अनुशरण गर्दै नकारात्मक कुरालाई आफ्नो व्यवहारबाट च्यात्दै लानुपर्छ। चाहे त्यो स्वस्थानीको होस् चाहे बाइबलको।
किताबकै पाना च्यात्ने कुरा त मुर्ख्याइँ सहितको बल मिच्याइँ मात्र हो। हामी आफू परिवर्तन भयौं भने पुरानो स्वास्थानीको पाना नच्यातिकनै नयाँ स्वस्थानी लेख्न सक्छौं।
छोरीलाई प्रगाढ स्नेह एवम् सम्मानसहितको आत्मीय सन्तानको दर्जा दिन हाम्रो आमाबुवालाई न त स्वस्थानीको पन्ना च्यात्नु पर्यो न त कुनै विकसित राष्ट्रमा नै जन्मनु पर्यो।
समाज परिवर्तन गर्न चाहने मानिसले क्रान्ति आफैंबाट सुरू गर्छ। आमाबुवा हजुरहरूको विद्वतासहितको बौद्धिक क्रान्तिको प्रशंसा गर्न मसँग शब्द छैन। चिचिला छोरीहरूको अनुहारमा हेरेर हामी छोरीहरूको जुन क्षमताको आंकलन गरेर परिवारनियोजन गर्ने निर्णय गर्नुभयो नि हो त्यही क्षमताको अभिवृद्धिमा हामी सधैं प्रयासरत.........