केराउको दाना जत्रो आम्दानी, गुच्चा जत्रो नियमित आवश्यकता, भकुन्डो जत्रो भड्किला सामाजिक व्यवहार जसका कारणले ऋण लिएर व्यापार व्यवसाय मात्र होइन, सामान्य घर व्यवहार चलाउन समेत ऋण लिनुपर्ने बाध्यात्मक परिस्थिति सृजना भएको छ।
महङ्गो ब्याज तिरेर लिएको ऋणको उचित प्रयोग गर्न नसक्दा ऋणको नकारात्मक परिणामको जालो हाम्रो गाउँघरदेखि सहर बजारसम्म यसरी फैलिएको छ कि कति मानिसहरू बेपत्ता भएका छन्।
कतिको उठिबास भएको छ। कतिले आत्महत्या गरेका छन् त कतिले पारिवारिक सामूहिक आत्महत्या गरेका समाचारहरू आइरहन्छन्।
प्रसंग १
पुस माघको कठ्याङ्ग्रिने जाडो, त्यसैमाथि लगातारको वर्षा, वर्षाका कारण उर्लिएको धमिलो त्रिशूली सम्झिँदा पनि शरीर जिरिंग हुन्छ। किन होला थानकोटका बिनय लामिछानेले जीवनसाथी र लालाबालासहित त्रिशूलीमा हेलिएको। कारण दर्जन बढी आफन्त र सहकारी संस्थासँग लिएको करोड बढीको ऋण (व्याजसहित)। परिणामत, आफूसँग हुनुपर्ने जीवनसाथी र कलिला लालाबालाहरू गुमे तर नहुनु पर्ने ऋण बाँकी छ।
प्रसंग २
दस वर्ष अगाडि घर किन्न लिएको ऋणले गायक रामकृष्ण ढकाललाई दिएका तनावहरू (युटुबमा सार्वजनिक अभिव्यक्तिका आधारमा)।
माथि उल्लेखित प्रसङ्ग त प्रतिनिधि उदाहरणहरूमात्र हुन्। यस्ता घटनाले सर्वसाधारण मात्र होइन समाजका प्रतिष्ठित व्यक्तिहरू पनि आर्थिक समस्यामा परेको देखाउँछ। बाँचुन्जेल मात्र होइन आफू मरेपछि पनि ऋण बोकाएर जाने व्यक्तिको कमी छैन हाम्रो समाजमा।
प्रतिष्ठित कलाकारको निधन हुँदा दाहसंस्कार गर्ने पैसा नभएर चन्दा उठाएर दाह संस्कार गरियो भन्ने समाचार हेर्दा म स्तब्ध भएँ। किन आउँछन् यस्ता अवस्थाहरू?
आम्दानी भन्दा खर्च धेरै गर्दै जाँदा भएको त होला यस्तो अवस्था। सुका मोहर आम्दानी इच्छा आवश्यकता खानदानी।
‘मलाई त बस्ने घर त छँदै थियो अर्को घर किन्ने खासै आवश्यकता थिएन सहकारीले नै पैसा पनि दियो र घर पनि खोजिदियो। अहिले आएर घर त गयो गयो घरवार पनि गयो। तर ऋण टाउकोमा बसिरह्यो’। यस्ता भनाइहरू हाम्रा समाजमा बाक्लै सुनिन थालेका छन्।
अरुको लहैलहैमा लागेर आफ्नो घाँटी नहेरी हाड निल्दा, भड्किला सामाजिक व्यवहारहरूको सिको गर्दा, एउटा उद्देश्यका लागि लिएको ऋण अर्कैतिर खर्च गर्दा यस्ता अवस्थाहरू सृजित भएका हुन्।
ऋण दिनेले पत्यायो भन्दैमा आँखा चिम्लिएर ऋण लिनु मुर्खता सिवाय केही हुन सक्दैन। ऋण किन चाहिएको हो, यसको प्रयोग कहाँ गर्ने, प्रतिफल के आउँछ विचार गरेर मात्र ऋण लिनुपर्छ।
आफ्नो आवश्यकता, नियमित आम्दानी, नियमित वचत लगायत ऋणसम्बन्धी विविध पक्षको विचारै नगरी ऋण लिँदा नै यस्ता परिस्थितिहरू सृजना भएका हुन्।
ऋण लिँदा दिँदा व्यक्तिहरूमात्र होइन कमिसनको लोभमा परेर कमसल धितो राखी मोटै रकम ऋण प्रवाह गर्ने वित्तीय संस्थाहरू पनि उठिबास भएका छन्।
‘मैले एक करोडमा घर बेच्ने भनेको ८० लाख दिने ग्राहक पनि आएनन्। बैङ्कले यही घर धितो राखेर एक करोड दश लाख ऋण दियो अब किन ऋण तिर्न झण्झट गर्ने गए त्यही ८० लाखमा नबिकेको घर जान्छ,’ एक जना व्यवसायी साथीले भनेको कुराले म दङ्ग परेँ।
उहाँलाई बैंक तथा वित्तीय संस्थाले ऋणीको धितो लिलाम गर्दा साँवा व्याज असुल उपर भएन भने ऋणिको अन्य सम्पत्ति बेचेर समेत असुल उपर गर्न सक्छ भन्ने ज्ञानको अभाव रहेछ।
ऋण लिने दिने मात्र होइन तेस्रो पक्ष पनि अनाहकमा फसेका छन्।
‘मेरो घरवारी सबै बैंकमा धितो छ। लिन मिल्ने अन्य समूह सहकारीबाट समेत ऋण लिइसकें। साथी तैंले तेरो नामबाट सहकारीबाट ऋण झिकिदेन दश पन्ध्र लाख अति जरुरी भयो बरु धितो म मेरै आफन्तको जग्गा राख्छु। साथीले साह्रै अनुरोध गरेपछि मेरो नामबाट ऋण झिकेर उसलाई दिएँ। यदि ऋण तिरेनछ भने पनि उसकै आफन्तको जग्गा जान्छ मेरो के जान्छ र?’मेरो गाउँले दाइको कुरा सुनेर म झस्किएँ।
उहाँलाई आफ्नो नामको ऋण तिरिएन भने आफ्नो नाम कालो सूचीमा आउँछ जसको नकारात्मक असर सन्तानलाई समेत पछिसम्म पर्छ भन्ने विषयको जानकारी रहेनछ।
यसरी ब भन्ने मानिसको नाममा ऋण लिइन्छ, द्य ले धितो राख्छ, ऋ ले उपयोग गर्छ तर तिर्दैन र अन्त्यमा अनाहकमा ब् र द्य फस्छन्।
भविश्यमा व्याजसहित फिर्ता गर्न लिइएको धन नै ऋण हो। ऋण लिनु आफैंमा नराम्रो कुरा होइन। देश सञ्चालन गर्ने बजेट त ऋणात्मक हुन्छ भने व्यापार व्यवसाय सञ्चालन गर्न ऋण लिनु आवश्यक मात्र होइन अपरिहार्य नै हुन्छ।
विकसित देशहरूमा नागरिकका आर्थिक कारोबार पनि ऋणमै चलिरहेका हुन्छन्।
ऋण पूजी वृद्धिको आधार मात्र नभएर व्यापार व्यवसायको सुरूआतको विउ पनि हो।
मुख्य कुरो ऋणको सदुपयोग र त्यसको लगानीबाट हुने आम्दानीको सुनिश्चितता हो।
बैंक तथा अन्य वित्तीय संस्थाहरूले सुलभ दरमा उपलब्ध गराएको विभिन्न शीर्षकका कर्जाहरू जस्तो कि शैक्षिक कर्जा, व्यवसाय कर्जा, औपधि उपचार तथा सामाजिक कार्य कर्जा, घर कर्जा आदिले हाम्रो जीवन यापन निकै सहज बनाएका छन्।
मुख्य कुरो त आवश्यकता र औचित्यताका आधारमा मात्र ऋण लिनु, जुन शीर्षकमा ऋण लिइएको हो सोही अन्तरगत प्रभावकारी तवरले प्रयोग गर्नु र उचित रूपमा प्रयोग भए नभएकोबारे नियमित अनुगमन गर्नु हो।
ऋण लिँदा ऋणको आवश्यकता, औचित्यता, आफ्नो नियमित आम्दानी, नियमित बचत, ऋणको उपयुक्त उपयोग, ऋणका जोखिम, ऋण लिने तिर्ने प्रकृया, ऋण र व्याज तिर्ने क्षमता, यसका सकारात्मक र नकारात्मक प्रभाव लगायतका विविध पक्षहरूको राम्रोसँग विश्लेषण गरेर मात्र लिनुपर्छ।
यदि उल्लिखित पक्षमा ख्याल गरेर ऋण लियो भने मात्र हाम्रो केराउको दाना जत्रो आम्दानी बिस्तारै बढ्दै जान सक्ला अन्यथा त्यही केराउको दाना जत्रो आम्दानी पनि सुकेर तोरीको दाना जत्रोमात्र हुने होइन जिन्दगी नै शून्य हुन समेत बेर लाग्दैन।