लामो विदा, नयाँ लुगा, सेतो चुना/कमेरो र रातो माटोले लिपिएका घरआँगन- यी दसैंका पर्याय हुन्।
यति मात्र कहाँ हो र, सफाइले सिनित्त परेका गाउँ टोल, सफा निलो आकाश, चंगाको उडान, पिङमा केटाकेटीको उछिनपाछिन, बजारमा लंगुरबुर्जा खेल्न झुम्मिएका किशोर तथा रमिते वयस्कहरू, यस्ता दृश्यले पनि दसैंको झलक दिन्छ।
बाल्यकाल वा सुरूआती किशोरवयका सम्झनालाई अलि विस्तार गरौं।
दसैं विदा सुरू हुनुअघि घटस्थापना नआउँदै विद्यालयमा नजिकका साथीहरूसँग रंगीन पोष्टकार्डमा शुभकामनाका शब्द आदानप्रदान गरिन्थ्यो। राम्रा अक्षर हुने र 'क्रियटिभ' सोच भएकाले आफ्ना कक्षाकोठा र विद्यालय परिसरको भित्ताबाट शुभकामना प्रदान गर्ने अवसर पाउँथ्यो। यो क्रियटिभ टिमको साथीहरूमाझ बेग्लै सान हुन्थ्यो।
बजारमा रेडिमेड कपडाको उपलब्धता बढ्दै गए पनि दसैंमा छोराछोरीलाई एउटै थानको कपडा किनेर सूचीकारबाट सिलाउने चलन छँदै थियो।कपडा छेकेपछि 'मास्टर' कहाँ धाउने ड्युटी थपिन्थ्यो। नयाँ कपडा आङमा परेपछि बल्ल हामीलाई असली दसैं सुरू भएजस्तो हुन्थ्यो। नयाँ कपडाबाट आउने मगमग बासना अहिलेसम्म ताजै छ।
आमाबुबासँग घरमै 'निजी' पिङको माग चलिरहन्थ्यो। सार्वजनिक स्थलको पिङमा कसले बढी मच्चाउने भन्ने छिनाझपटीले दसैंभर निरन्तरता पाएको हुन्थ्यो। गृहकार्य गर्नुपर्ने वा पढ्नुपर्ने काम त निलम्बन गरिएझैं हुन्थ्यो दसैंभर। यिनै कुराले होला सायद, केटाकेटीहरू मौसमजत्तिकै फ्रेस हुन्थे दसैं विदामा।
घरमा पालिएको चौपायासँग एक किसिमको क्षणिक सामीप्यसमेत गाँसिएको हुन्थ्यो। तर, तिनको आयु छिट्टै सकिन्थ्यो। जातजाति, परिवार संख्या र आर्थिक हैसियतका आधारमा फूलपातीदेखि महानवमीसम्मको बिहानमा सबैजसो घर-आँगनमा चौपाया काटकुट र सरसफाइका काम उस्तै लयमा भइरहेका देखिन्थे। सिंगै उपयोग गर्ने क्षमता नहुनेहरू सामूहिक भागबन्डाका लागि जुटिरहेका हुन्थे। नेवार समुदायको यो काम गुठीका माध्यमबाट हुन्थ्यो।
यस्तो परम्परा अभ्यास भइरहँदा नयाँ कपडाले ठाँटिएका बालबालिकाबाट कार्यस्थल घेरिएका हुन्थे। यो दृश्य देख्दा लाग्थ्यो, प्रथा परम्पराको निरन्तरताका लागि भावी पुस्ता सिक्ने क्रममा छन्। नौरथाभरि नै शक्तिपीठमा दर्शन पूजा गर्ने चलन भए पनि जात-सम्प्रदायको रीतअनुसार महानवमीमा देवीस्थलमा पशुपन्छी बलि दिनेको विशेष भिड देखिन्थ्यो।
प्रांगणमा लहरै बसेर चण्डी पाठ गरिरहेका ब्राह्मणहरूको समूह, विश्रामै नपाई बजिरहेका घन्टको ध्वनी, सुगन्धित धुपबत्तीसहितको आरती मन्दिरको आकर्षण हुन्थ्यो। विजया दशमीको दिन मान्यजनबाट टीका, जमरा र आशिष थापेपछि नयाँ नोट संगाल्दै केटाकेटीहरू बढ्तै फुरुङ्ग देखिन्थे। मामाघरमा दक्षिणा पाएपछि त्यो दिनको कमाइको लेखाजोखामा दिदीबहिनीको ओज दाजुभाइभन्दा बढ्तै हुन्थ्यो। टीकाको दिन भुइँ छाड्नुपर्ने मान्यताले पिङ घेरेर बसेका बच्चाको भिडमा वयस्क र प्रौढहरूसमेत थपिएका हुन्थे।
लमतन्न तेर्सिएको पिच सडक, तर फाट्टफुट्ट सवारी साधन। काख र ढाडमा साना बच्चा वा झोला सम्हाल्दै तथा हिंड्न सक्ने बच्चाहरू डोर्याउँदै बाटोमा उछिनपाछिनको हतारो।
पहिलो वर्षको दसैंको टीकाका लागि ससुराली/माइत हिंडेका जोडीहरू। राति अबेरसम्मै बाटोमा पैदलयात्रुको चहलपहल। पूर्णतातर्फ बढेको मधुरो जुनको उज्यालो। निधारभरि रातो अक्षताको टीका लगाएर मान्यजनकहाँ जाने क्रम पूर्णिमासम्मै निरन्तर चल्थ्यो।
केही समययता दसैंका यी झलक सम्झनामा सीमित हुँदै गएका छन्। मुलुकमा पर्याप्त अवसर सिर्जना हुन नसक्दा रोजगारका लागि विदेशिने युवाको जमात ठूलो छ। पढाइका नाममा विदेश जाने र उतैको स्थायी बासिन्दा हुनेको संख्या पनि बढ्दो छ। यसले परिवारलाई खण्डित गराएको छ। परिवारका सबै सदस्य स्वदेशमै दसैंमा रमाउन वञ्चित भएका छन्। विदेशमै स्थापित भएकाहरूले आमाबुबा वा नजिकको नातेदारलाई उतै बोलाएर सांस्कृतिक पर्वहरू सम्झन थालेका छन्।
कलाकारहरूको टोली यही बेला विभिन्न मुलुकमा पुग्छन्। त्यहाँ रहेका नेपाली समुदायलाई मनोरञ्जनसहित सांस्कृतिक स्वाद पस्कन्छन्।
दसैं विदाको उपयोग स्वदेशका दर्शनीय स्थान भ्रमण गर्ने वा विदेशको ट्राभल प्याकेज खरिद गरी समूहमा घुम्ने नेपालीहरूको संख्या पनि बढ्दो छ। विभिन्न माध्यमबाट आएका रंगीन विज्ञापन र सामाजिक सञ्जालमा पोखिएका फोटाले यसलाई पुष्टि गर्छन्।
अहिलेका बालबालिका र किशोर पुस्ता इलेक्ट्रोनिक डिभाइसमा बढी अभ्यस्त छन्। कानमा एयरफोन र हातमा ट्याबलेट वा स्मार्ट फोन राख्न पाए भने अरू कुनै कुराको यिनलाई आवश्यकता हुँदैन। घरको एउटै कुनामा बसेर घन्टौं बिताउन सक्छन्। बाहिरी समाजसँग घुलमिल हुने, परम्परागत अभ्यास गर्ने र चाख राख्ने क्रम घट्दो छ। त्यसैले त, बदलिंदो छ दसैंको स्वाद।