मुस्लिम धर्मालम्बीहरूले विशेष गरी दुइटा चाड मनाउँछन्। अरबिक पात्रोको दसौं महिना सव्वालको पहिलो तारिखका दिन इद–उल–फित्र मनाउँछन् भने बाह्रौं महिना जिल्–हिज्जाको १० तारिखदेखि १३ तारिखसम्म इद–उल–अज्हा (कुर्बानी) मनाउने गर्छन्।
इस्लामका अन्तिम सन्देष्टा हजरत मुहम्मद (स.) को एकजना सहाबी (साथी) अनस (रजि.) को भनाइ छ कि मुहम्मद (स.) मदिना आउँदा त्यहाँका मानिसहरू अज्ञानतामा लिप्त थिए र दुई दिनलाई खेल र मनोरञ्जनको रूपमा मनाउँथे। मुहम्मद (स.) ले भन्नुभयो, 'म तिमीहरूकहाँ आउँदा तिमीहरू अज्ञानतामा दुई दिनलाई मनोरञ्जनका साथ मनाउने गर्थ्यौं। नि:सन्देह अल्लाहले ती दुई दिनहरूलाई त्यसभन्दा राम्रा दिनबाट प्रतिस्थापित गरेका छन्। ती दिनहरू कुरबानीको दिन (इद–उल–अज्हा) र फित्रको दिन (इद–उल–फित्र) हुन्।'
'इद' शब्द 'अवद' धातुबाट बनेको शब्द हो जसको अर्थ 'फर्केर आउनु' हो। यो चाड प्रत्येक वर्ष खुशियालीका साथ फर्केर आउने गरेको हुनाले यसलाई इद भनिएको हो। फित्र को अर्थ 'तोड्नु' हुन्छ। अरबिक पात्रोको नवौं महिना रमजानभरि व्रत बसेपछि दसौं महिना सव्वालको १ तारिखका दिन व्रत तोडी खुशी मनाउने भएको हुनाले यस पर्वलाई इद–उल–फित्र भनिन्छ।
इद–उल–अज्हालाई सामान्य रूपमा कुबार्नी वा बकरीदको नामले चिनिन्छ। यस दिन अल्लाहका लागि कुनै उल्लेखित र वैध जनावरको बलि दिने गरिएको हुनाले यसलाई कुर्बानी भनिएको हो। यो पर्व अरबी क्यालेण्डरका अनुसार बाह्रौं महिना जिल्हिज्जाको १० देखि १३ तारिखसम्म मनाउने गरिन्छ। हरेक वर्ष मुस्लिमहरुले गर्ने मक्का शहरमा अवस्थित काबाको हज (तीर्थ यात्रा) को अन्तिम दिनदेखि यस पर्वको आरम्भ हुन्छ।
हज र इद–उल–अज्हाको इतिहास धेरै पुरानो छ। यसको इतिहास अल्लाहका एकजना दूत हजरत इब्राहीम (अलै.) सँग जोडिएको छ।
कुरानका अनुसार हजरत इब्राहीम (अलै.) हजरत मुहम्मद (स.) र हजरत इसा (अलै.) का पूर्वज हुन्। एक पटक हजरत मुहम्मद (स.) सँग प्रश्न सोधियो, 'यो कुर्बानी के हो?'
उहाँ (स.) ले जवाफ दिनुभयो, 'यो तिम्रा पूर्वज इब्राहिम (अलै.) को सुन्नत हो।'
आजभन्दा करिब साढे चार हजार वर्ष पहिला इराकको 'उर्र' शहरमा एउटा सम्मानित परिवारमा हजरत इब्राहिम (अलै.) को जन्म भएको थियो। त्यसबेला मानिसहरु एक ईश्वरलाई छोडेर चन्द्रमा, सूर्य तथा मूर्तिपूजामा तल्लिन थिए। शाही खानदानलाई पनि ईश्वरसरह पूजा गरिन्थ्यो। इब्राहिम (अलै.) का बुवा 'आजर' मूर्ति बनाएर बेच्ने गर्दथे। इब्राहिम (अलै.) जान्ने बुझने भएपछि उनले यी नाममात्रका उपास्यहरुमाथि नजर दौडाए। सबै उपास्यहरुमा कमि कमजोरी पाए। आफ्नै हातले बनाइएका मूर्तिहरु इश्वर कसरी हुन सक्छन् जो न बोल्छन् न सुन्छन् र न हिड्डुल नै गर्न सक्छन्? उनी यस निश्कर्षमा पुगे कि इश्वर त्यो शक्ति मात्र हुन सक्छ जसले यस ब्रहमाण्डको सृजना गरेका छन्।
यस्ताे निश्कर्षमा पुगेपछि इब्राहीम (अलै.) ले आफ्नो बुवालाई सम्झाउँदै भने, 'हे पिताज्यू! तपाई यस्ता बस्तुहरुको पूजा किन गर्नुहुन्छ जुन न त सुन्ने र न देख्ने शक्ति राख्दछन् र न तपाईलाई कुनै फाइदा नै पु¥याउन सक्छन्। मेरो प्रिय पिता! मलाई त्यो ज्ञान प्राप्त भएको छ जुन तपाईलाई प्राप्त भएको छैन्। अतः तपाई मेरै कुरा मान्नुहोस्। म बिलकुल सीधामार्ग देखाउनेछु। पिताज्यु! शैतानको भक्ति नगर्नुहोस्। वास्तवमा शैतान करुणामय (अल्लाह) को अवज्ञाकारी हो। पिताज्यू! कतै करुणामय (अल्लाह) को प्रकोपले तपाईलाई घेर्ला कि र फलस्वरूप तपाई सैतानको मित्र बन्न पुग्नुहुन्छ कि भनेर मलाई डर लागिरहन्छ।'
उनका पिताले जवाफ दिए, 'हे इब्राहिम! के त मेरा ईश्वरहरुबाट विभुख हुन गइरहेको छस्? यदि त यो छोड्दैनस् भने म तलाई ढुंगै ढुंगाले हिर्काएर सिध्याई दिन्छु। त सदाका लागि मबाट अलग बस्।'
इब्राहिमले भने, 'तपाईमाथि शान्ति होस्। म त तपाईको लागि आफ्ना पालनकर्तासँग क्षमायाचना गर्नेछु। उनी मप्रति अति कृपालु छन्। म त तपाईलाई र तपाईले अल्लाहलाई छोडी पुकार्ने गरेकाहरुलाई छोड्दैछु र केवल आफ्ना पालनकर्तालाई पुकार्ने गर्छु।'
यो उनको पहिलो बलिदान थियो कि उनी आफ्नाे परिवारबाट अलग भए। फेरी उनले आफ्ना समूदायलाई आवाज लगाएर भने, 'यी कस्ता मूर्तिहरु हुन् जसप्रति तिमीहरु आसक्त छौ?' तिनीहरुले भने, 'हामीले आफ्ना पूर्वजहरुलाई यिनीहरु कै पूजा गर्दै आएको पायौं।'
इब्राहीमले भने, 'तिमीहरु र तिम्रा पूर्वजहरु पनि स्पष्ट पथभ्रष्टतामा डुबेका छौ।'
इब्राहिम (अलै.) ले भने, 'हे मेरा समुदायका दाजुभाईहरु हो! म त्यसबाट बिरक्त छु जसलाई तिमीहरुले साझेदार बनाउछौ। मैले दत्तचित भई आफ्ना अनुहार त्यसतर्फ गरेको छु जसले आकाश तथा पृथ्वीको रचना गरे। र म कदापि बहुदेववादीहरुमध्ये होइन्।'
यसपछि हजरत इब्राहिम (अलै.) लाई त्यसबेलाका बादशाह नमरुद सामू पेश गरियो। नमरुद आफैलाई इश्वर ठान्दथ्यो। इब्राहिम (अलै.) ले उसलाई भन्नुभयो, 'मेरा पालनकर्ता ती हुन् जसले जीवन तथा मृत्यु दिन्छन्।'
तब उसले भन्यो, 'म पनि जीवन तथा मृत्यु दिन्छु।'
इब्राहिमले भने, 'अल्लाहले सूर्यलाई पूर्वबाट उदय गराउछन्, तिमीले पश्चिमबाट उदय गराएर देखाऊ।' अनि त्यो काफिर आश्चर्यचकित भयो।
यसबाट रिसाएर नमरुदले इब्राहीम (अलै.) लाई आगोमा जलाउने आदेश दियो। उनलाई आगोमा हालियो तर ईश्वरको आदेशले आगोले उनलाई जलाएन। उनलाई आफ्ना समूदायमा बस्न कठिन भयो र त्यहाबाट प्रस्थान गरी सिरिया, इजिप्ट र अन्य मुलुकतर्फ घुमिरहे। उनी सधै मानिसहरुले गर्ने गरेको पापप्रति चिन्तित रहन्थे। यो उनको अर्को ठुलो बलिदान थियो कि उनी आफ्ना समूदायबाट अलग भए।
इब्राहिम (अलै.) बुढेसकालमा पुगेपछि अल्लाहले उनलाई एउटा सुन्दर पुत्र प्रदान गरे जसको नाम इस्माइल राखियो। त्यसको केही दिनपछि नै नवजात बच्चा र बुढी पत्नीलाई अरबको मक्का शहरमा लगेर छोड्न अल्लाहको आदेश आयो। त्यसबेला मक्का एउटा मरुभूमिबाहेक अरु केही थिएन। न कुनै मानव, न बोटबिरुवा, न खाने कुनै चीज र न पानीको कुनै मुहान। त्यस्तो मरुस्थलमा इब्राहिम (अलै.) ले आफ्ना नवजात छोरा र पत्नीलाई छोडी गहभरि आसु लिई फर्किए। पछि त्यहाँ अल्लाहले उनीहरुका लागि पानीको मुहान फुटाए जुन अहिलेसम्म बाकी छ। त्यस मुहानलाई जमजम भनिन्छ। पानीको मुहान देखेर मानिसहरु त्यहाँ बसोबास गर्न आए। यो घटना इब्राहीम (अलै.) को अर्को ठूलो बलिदान थियो।
छोरोले आफ्ना जीवनको केही वर्ष पार ग¥यो र युवास्था छुन लाग्यो। बुढ्यौली अवस्थामा पाएको छोरा भर्खर–भर्खर बा–आमाको लागि जीवनको सहारा बन्न लागेको थियो। तर अल्लाहको तर्फबाट एउटा अर्को परीक्षा आइलाग्यो। आफ्ना छोरालाई अल्लाहका लागि बलि दिन इब्राहीम (अलै.) लाई आदेश दिइयो। अल्लाहको यो आदेश पाएर उनी छोरा इस्माइल कहाँ पुगे र यस आदेश बारे बताए। इस्माइल (अलै.) ले जवाफ दिए, 'हे मेरा पिता तपाईलाई जे आदेश दिइन्छ त्यही गर्नुहोस्। अल्लाहले चाहेमा तपाई मलाई धैर्यवानहरुमध्ये पाउनु हुनेछ।'
त्यसपछि इब्राहीम (अलै.) छोरालाई लिएर मिना नामक मैदानमा पुगे। छोरालाई घोप्टो पारी सुताए र चक्कुले छोराको घाटीमा रेट्न सुरु गरे। तर चक्कुले काटेन। तब अल्लाहले पुकारे, 'हे इब्राहीम! तिमीले सपना साकार पा¥यौ। हामी सुकर्मीहरुलाई अवश्य यस्तै प्रतिदान दिन्छौ। वास्तवमा यो खुल्ला परिक्षा थियो।'
अल्लाहले आकाशीय दुत जिब्रइल (अलै.) लाई भेडा दिएर पठाए र इस्माइलको सट्टा त्यस भेडाको बलि दिन आदेश दिए।
यही बलिदानको सम्झना स्वरूप अहिले पनि इस्लाम धर्मावलम्बीहरुले इद–उल–अज्हा अर्थात कुरबानी पर्व मनाउने गर्दछन्। यो पर्व मनाउनुको प्रमुख उद्देश्य यो हो कि मानिसहरुमा त्याग र बलिदानको त्यही प्रण सृजना होस्; इस्लाम, इमान र आस्थाको त्यही हैसियत तथा अल्लाहको प्रेम र आज्ञापालनको त्यही शान उत्पन्न होस जसको नमूना इब्राहीम (अलै.) ले आफ्नो जीवनमा प्रदर्शन गरेका थिए।
इद–उल–अज्हाका दिन पनि इद–उल–फित्र जस्तै बिहान उठेर मुस्लिमहरु नुहाउछन्। तर केही नखाई इदगाह जान्छन् र त्यहाँ नमाज पढेपछि मात्र केही खाने कुरा खान्छन्। आर्थिक रूपले सामथ्र्यवान मुस्लिमले अनिवार्य रूपमा कुनै बैध जनावरको बलि दिनुपर्छ। कुर्बानीको जनावरको मासुमा गरिब, नातेदार तथा साथीहरुको अधिकार हुने गर्छ।