बारा निजगढको स्थायी बासिन्दा भएकाले पनि ममा चेतनाले ठम्याउन सक्ने बेलादेखिनै द्रूतमार्ग र अन्तर्राष्ट्रिय विमानस्थलबारे चासो रहँदै आएको छ।
राजधानी काठमाडौंलाई तराईसँग जोड्ने छोटो र आधुनिक मार्ग अनि मुलुककै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बन्ने चर्चा मेरो कलिलै मस्तिष्कमा गुञ्जिन थालिसकेको थियो। २०५२/५३ सालमा ६/७ कक्षा पढ्दाताका विद्यालयका गुरुहरूले आफ्नै ठाउँमा द्रूतमार्ग र विमानस्थल बन्न लागेको कुरा गर्दा हामी उत्साहित थियौं।
मुलुककै विकासमा कायापलट गर्ने यी दुई परियोजना आफ्नै ठाउँमा बन्ने चर्चाले सम्पूर्ण निजगढवासी हौसिनु स्वभाविक नै हो। हुन त यी मुलुककै बहुआयामिक परियोजना थिए तर आफ्नै घरआँगन जोडिने भएकाले पनि हामीमा त्यसबारे बढी नै चासो हुने गर्दथ्यो। महत्वाकांक्षी यी योजनाबारे चर्चा चलेको दुई दशक नाघिसकेको छ।
हाम्रा अग्रज पुस्ताका बीचमै चर्चामा रहेका यी योजना हामी हुँदै हाम्रो पछिका पुस्ता पुगिसक्दासमेत साकार भने हुन पाएका छैनन्। अग्रज पुस्ताले आफूहरूको पालामा द्रूतमार्ग र विमानस्थलबाट फाइदा लिन नसके पनि त्यसको फाइदा लिने वर्गका रूपमा उनीहरूले हामीतर्फ औंला तेर्साउँथे। अन्ततः हाम्रो पुस्ताले पनि अझै केही समय यसको उपयोग गर्न पाउने छाँटकाँट देखिएको छैन।
द्रूतमार्ग निर्माणको चरणमा छ तर कतिपय प्राविधिक र नीतिगत कुराहरूमा अझै उल्झन यथावत् छ। विमानस्थलको काम त प्रस्तावित क्षेत्रमा तारबार लगाउनेबाहेक अरु अघि बढ्न सकेको छैन।
सबभन्दा पहिला चर्चा गरौं द्रूतमार्गका बारेमा।
अन्ततः लामो समयदेखिको चर्चा परिचर्चा, कसले र कुन मोडलमा बनाउने भन्ने रस्साकस्सीबीच द्रूतमार्ग निर्माणको काम नेपाली सेनाले दुई वर्षअघिबाट सुरू गरेको छ। आयोजना निर्माण गर्न विदेशी कम्पनीलाई दिने विषयमा लामो समय बहस र विवाद चर्कियो।
सुरूमा चार वर्षमा सक्ने गरी सेनालाई जिम्मा दिए पनि अहिले यसको निर्माणका लागि अरु केही वर्ष लाग्ने भनिएको छ। द्रूतमार्गको डिपिआर स्वीकृत भइनसकेको र अझ कतिपय प्राविधिक कुराहरूको टुंगो नलागेकाले पनि पछिल्लो पटक निर्धारण गरिएको पाँच वर्षमा पनि निर्माण सम्पन्न हुनेमा आशंका छ।
काम गर्ने शैली, ढिलासुस्ती, अनियमितता र राजनीतिक खिचातानीको नेपालको विगतको अनुभवलाई हेर्दा आयोजना बन्न अझै समय लाग्ने अनुमान गर्न सकिन्छ। तर जे होस् नेपाली सेनाले पाएको यो जिम्मा एक-दुई वर्ष ढिला नै भए पनि पूरा हुनेमा नेपाली जनता विश्वस्त छन्।
नेपाली सेनाले निर्माणको जिम्मा लिएकाले ढिलासुस्ती र बाहिरी प्रभाव कम हुने अनुमान भने गर्न सकिन्छ। स्वदेशीस्तरमै निर्माण हुन लागेको राष्ट्रिय गौरवको यस महत्वपूर्ण आयोजना पुँजी र प्राविधिक सक्षमता आदिले निर्माणमा चुनौती खडा भए पनि छिटोभन्दा छिटो बनाएर मुलुकले आर्थिक रूपमा फड्को मार्नुपर्ने अवस्था छ।
द्रूतमार्ग निर्माणसँगै मुलुकको विकासमा कायापलट हुनेछ। अर्बौंको इन्धन बचत हुनेछ। देशले काँचुली फेर्नेछ। ढुवानी र यात्रामा सहज हुने निश्चित छ। नेपाली जनताले विकासको आधुनिक रूपको अनुभूति गर्न पाउनेछन्।
संघीय राजधानीलाई तराईसँग एक घण्टामै जोड्ने यस सडक निर्माण भएमा राजधानीको जनघनत्व घट्ने र अन्य थुप्रै समस्या समाधान भएर जाने निश्चित छ।
द्रूतमार्गबाट आयात–निर्यात भएका वस्तुहरू स्वतः सस्ता, ताजा र भरपर्दो हुनेछन्। तर द्रूतमार्ग निर्माणमा थुप्रै कामहरू हुन बाँकी रहेकाले पनि यसमा सम्पूर्ण पक्ष सहकार्यका साथ अघि बढ्न आवश्यक छ।
देशीविदेशी तत्वले निर्माणमा भाँजो हाल्न नसक्लान् भन्न सकिन्न। परियोजना बीचमै अलपत्र नपर्ला भन्न सकिन्न। यसका लागि सम्पूर्ण नेपाली जनताको दबाबमूलक आवाज आइरहनुपर्दछ।
अब चर्चा गरौं दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको बारेमा
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रूपमा विगत लामो समयदेखि नै निजगढस्थित चारकोसे झाडीको बीचमा विमानस्थल निर्माणको योजना अघि सारिएको हो।
यसले पनि चर्चा पाएको तीन दशक पुग्न लागिसकेको छ। सरकारी निकायबाट विगतमा भएको विस्तृत अध्ययनले काठमाडौं पछिको अर्को अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि निजगढलाई देशकै उपयुक्त स्थानका रूपमा ठहर्याएको थियो।
विगतका सरकारको वेवास्ताका कारण निर्माण भने हुन सकेन। ठूलो बजेट र ठूलो क्षेत्रफल ओगट्ने भएकाले यसको निर्माणमा व्यापक तयारी आवश्यक छ। देशको एउटामात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थल बढ्दो चाप थेग्न असफल हुँदै गएको र यहाँ अवतरण गराउन लामो समय आकाशमा जहाज होल्ड गर्नुपर्ने अवस्था आइरहेकाले निजगढमा विमानस्थल बन्न अति नै आवश्यक छ।
काठमाडौंको त्रिभुवन विमानस्थलको विकल्पको रूपमा यो निर्विकल्प अन्तर्राष्ट्रिय विमानस्थल हो।
विमानस्थललाई प्रभावकारी बनाउन काठमाडौं निजगढ द्रूतमार्ग पनि छिटो बनाउन आवश्यक छ। विमानस्थल निर्माण क्षेत्रभित्र १५ सय सुकुम्वासी घरधुरी छन्। उनीहरूको स्थानान्तरण अहिलेको मुख्य चुनौती हो। यसका लागि पनि सरकारले योजना अघि सारी काम गर्नुपर्ने देखिन्छ।
अब कुरा गरौं निजगढ र निजगढवासीका बारेमा।
निजगढ र निजगढवासीका लागि द्रूतमार्ग र विमानस्थल आफ्नो भावनासँग जोडिएका विषय हुन्।
यसको प्रतीक्षामा निजगढवासीले आफ्नो दुई पुस्ता पूरा गरिसकेका छन्। दुवै योजना निर्माणका लागि यहाँका जनसमुदाय, उद्योगी, व्यवसायी, राजनीतिज्ञहरूले विगतदेखि नै विभिन्न दबाबमूलक गतिविधि गर्दै आइरहेका छन्।
निजगढवासीको सकारात्मक दबाबका बाबजुद कतिपय कामहरू अघि बढाउन सरकार बाध्य भएको छ। यी परियोजना निर्माणपश्चात निजगढलाई प्रत्यक्ष फाइदा पुगे पनि यसको समग्र फाइदा त राष्ट्र र सम्पूर्ण नेपाली जनताले नै लिने हो।
देशकै लागि महत्वकांक्षी यस्ता आयोजना समयमै नबन्दा नेपालको विकासको गतिप्रति तीव्र कटाक्ष प्रश्नचिन्ह खडा भएको छ।
वास्तवमा हामी नेपाली सपनामात्र देख्ने हो त?, सपना साकार भएको हेर्न नपाउने? सपनालाई साकार बनाउने प्रयासहरू सफल हुन् भन्ने कामना लिएर बसेका छन् यस भेगका बासिन्दा।
हामी आफैं गर्न सक्छौं भन्ने प्रमाणित गर्न पनि द्रूतमार्ग समयमै बनाएर देखाउन आवश्यक छ। अनि विमानस्थल पनि सधैं बन्दै छ रे भन्ने हल्लाको भरमा दौडिनुको सट्टा साकार भएको हेर्न पाइयोस्।
दुई तिहाइको सरकार भएकाले पनि गर्न खोजे असम्भव भन्ने केही छैन। त्यसैले सरकारले यसमा दरिलो आँट गर्नुपर्दछ।
यस्ता महत्वाकांक्षी योजना बन्दा विरोध होइन बरु रचनात्मक सुझाव दिएर सहयोग गरौं। एउटाले गर्न खोजेको काममा भाँजो हाल्ने नेपाली परम्परालाई तोडौं। त्यस्ता घृणित कार्य राजनीतिक दल, बुद्धिजीवी कसैले पनि नगरौं।
क्षति र खराब पक्षहरूलाई कम हुने गरी काम अघि बढाउन सहयोग गरौं।
अन्त्यमा, मैले र मेरो पुस्ताले नै द्रूतमार्ग र निजगढ विमानस्थलको उपयोग गर्न पाउँ। अब कति कुर्ने ? कुराउने काम अन्त्य गरौं। विकासको ढोका खोली देशलाई समृद्धतर्फ अघि बढाऔं।