रमजान अरबी पात्रोको नवौं महिना हो। यो महिनाभर मुस्लिमहरू रोजा (व्रत) बस्छन्।
अरबी पात्रो चन्द्रमाका आधारमा निर्धारण गरिन्छ। रमजान महिनाको चन्द्रमा देखेपछि वा कुनै विश्वासिलो व्यक्तिले चन्द्रमा देखेको साक्षी दिएपछि मात्र रोजा बस्न सुरु गरिन्छ। चन्द्रमाको हिसाबले रमजानभरको २९ वा ३० दिनको रोजा पूरा गर्नुपर्छ।
रोजा प्रभातकालको अजानदेखि सूर्यास्तसम्म बस्नुपर्छ। मुहम्मद (स.) ले भन्नुभयो, 'चन्द्रोदय देखेर रोजा सुरू गर र चन्द्रोदयलाई नै देखेर समाप्त गर। बादल छायो र चन्द्रोदय देख्न सकेनौ भने ३० दिन रोजा पूरा गर।'
रमजानको रोजा राख्नु प्रत्येक 'बुद्धिमान, वयस्क र सामर्थ्यवान' पुरुष मुस्लिमहरूमा अनिवार्य छ।
कुरआनमा भनिएको छ, 'रमजान त्यो महिना हो जसमा कुरआन अवतरित गरियो, यो मानव जातिका लागि मार्गदर्शन हो र यसमा सत्यमार्गका लागि र सत्य तथा असत्यबीच फरक छुट्याउने स्पष्ट प्रमाण छन्। अतः तिमीहरूमध्ये जसले यो महिना पाउँछ उसले अनिवार्य रूपमा व्रत राखोस्।'
रोजा मुस्लिमहरूमाथि मात्र अनिवार्य नभई मुहम्मद (स.) आउनुभन्दा पहिलेका समुदायमाथि पनि अनिवार्य थियो। कुरआनमा भनिएको छ, 'हे आस्थावानहरू, तिमीहरूलाई रोजा अनिवार्य गरिएको छ, जसरी तिमीहरूभन्दा अघिकाहरूमा अनिवार्य गरिएको थियो।'
यसै कारण हरेक समुदायमा कुनै न कुनै रूपमा व्रतको अवधारणा पाइन्छ।
रमजानको रोजा बस्नु इस्लामका पाँच आधारमध्ये एक हो। अल्लाहका नबी मुहम्मद (स.) ले भन्नुभयो, 'इस्लामका आधार पाँच कुरामाथि छ, यो साक्षी दिनु कि अल्लाहबाहेक कोही पूज्य छैन र मुहम्मद (स.) अल्लाहका रसुल हुन्, नमाज कायम गर्नू, जकात दिनू, हज गर्नू र रमजानको रोजा बस्नू।'
रोजाको धार्मिक महत्व
कुरआन र हदीस (मुहम्मद (स.) को कथन र व्यवहारबाट रोजाको महत्व स्पष्ट हुन्छ। अल्लाहका सन्देष्टा मुहम्मद (स.) ले भन्नुभयो, 'रोजा यस संसारमा पापबाट बचाउने र परलोकमा नर्कको आगोबाट बचाउने ढाल हो।'
सन्देष्टा मुहम्मद (स.) को भनाइ छ,'मनुष्यका हरेक पूण्य कार्यलाई उसका लागि कयौं गुणासम्म बढाइन्छ, यहाँसम्म कि एक पूण्यलाई १० गुणादेखि ७०० गुणासम्म बढाइन्छ। तर रोजाको मामिला भिन्नै छ। अल्लाह भन्छन्, 'रोजा मेरो लागि हो र म नै यसको प्रतिदान दिनेछु।'
एउटा अर्को हदीसमा भनिएको छ कि रोजा राख्ने व्यक्तिको मुखको गन्ध अल्लाहका नजिक कस्तुरीको सुगन्धभन्दा पनि उत्तम छ।
अल्लाहका सन्देष्टा (स.) ले भन्नुभयो,'स्वर्गमा एउटा अर्–रैयान नामक प्रवेशद्वार छ जसबाट केवल रोजेदारहरू प्रवेश गर्नेछन्।'
सेहरी र इफ्तार
बिहान उज्यालो अथवा फजरको अजानभन्दा पहिले खाइने खानालाई सेहरी भनिन्छ। बिहान सेहरी खाएपछि रोजा सुरू हुन्छ। अल्लाहका नबी मुहम्मद (स.) को भनाइ छ,'सेहरी खाऊ किनभने सेहरीमा बर्कत राखिएको छ।'
इफ्तार अर्थात रोजा खोल्नु भनेको सूर्य अस्ताएपछि केही खानेकुरा खाएर रोजा तोड्नु हो। सूर्य अस्ताएलगत्तै इफ्तार गर्नुपर्छ।
इफ्तारका लागि तयारी अवस्थामा बसेर अल्लाहसँग दुवा गर्नुपर्छ किनभने इफ्तारको बेलामा गरिने दुवा रद्द हुँदैन। मुहम्मद (स.) ले भन्नुभएको छ, 'निश्चय नै अल्लाह तआलाले इफ्तारको समयमा धेरै जनालाई (नरकको दन्कदो आगोबाट) मुक्त गर्छन्।'
अल्लाहका नबी (स.) ले मानिसहरूलाई इफ्तार गराउन प्रोत्साहित गर्नुभएको छ किनभने मानिसहरूलाई इफ्तार गराउनु पनि पूण्य कर्म हो। नबी (स.) ले भन्नुभएको छ, 'जसले रोजेदारलाई इफ्तार गराउँछ उसलाई राजेदारको बराबरी पूण्य प्राप्त हुनेछ र रोजेदारको पूण्यमा कुनै कमी गरिने छैन।'
तरावीह अर्थात क्यामुल्लैल
रमजानमा राति इसाको नमाजपछि पढिने विशेष नमाजलाई तरावीह भनिन्छ। अल्लाहका नबी मुहम्मद (स.) को भनाइ छ,'जसले इमानका साथ पूण्यको नियतले तरावीहको नमाज पढ्यो, अल्लाहले उसका अतितका सम्पूर्ण पाप क्षमा गरिदिनेछन्।'
अल्लाहका नबी (स.) ले भन्नुभयो,'यदि कुनै व्यक्ति इमाम (धर्मगुरु) को साथमा तरावीहको नमाज पढ्छ भने उसको लागि रातभरिको सवाब (पूण्य) लेखिन्छ।
एतेकाफ
संसारिक क्रियाकलापहरूबाट अलग भई प्रार्थनाका लागि मस्जिदमा केही दिनका लागि बस्नु नै एतेकाफ हो। अति आवश्यक कार्यहरू (जस्तै खाना खाने, दिसा–पिसाब गर्ने, नुहाउने) बाहेक एतेकाफमा बसेको व्यक्ति मस्जिद बाहिर जानु जायज हुँदैन। रमजानको अन्तिम १० दिन एतेकाफमा बस्नु उत्तम हो।
लैलतुल कद्र
'निस्सन्देह हामीले यस कुरआनलाई कद्रको रातमा अवतरित गर्यौं। कद्रको रात के हो तिमीलाई के थाहा?
कद्रको रात हजार महिनाभन्दा पनि उत्तम छ। यसमा फरिश्ताहरू एवम् आत्मा (जिब्रइल) आफ्ना पालनकर्ताको आदेशले हरेक कार्य सम्पादनका लागि ओर्लने गर्छन्। यो पूर्ण शान्तिको (रात) हो र प्रातः कालको आगमनसम्म रहन्छ।'
कद्रको रात रमजानका अन्तिम दश रातमध्येका बिजोर रात अर्थात रमजानको २१, २३, २५, २७ वा २९ औं रातमध्येको कुनै एक रात हो।
अल्लाहका नबी मुहम्मद (स.) ले भन्नुभयो,'कद्रको रातलाई रमजानको अन्तिम १० दिनको विजोर रातहरुमा खोज।'
कद्रको रातमा गरिएको कुनै पनि भक्ति शुद्ध मनले गरियो भने हजारौं महिनाको भक्तिभन्दा बढी सवाब (पूण्य) हुन्छ। कद्रको रातका केही चिह्न छन्ः त्यो रात वातावरण राम्रो र शान्तिदायक हुन्छ र भोलिपल्ट बिहान सूर्य सेतो उदय हुन्छ र त्यसमा अधिक प्रकाश हुँदैन।
रमजानमा गर्न हुने र गर्न नहुने कार्य
- मिस्वाक गर्नु सुन्नत हो।
- कुरआनको तिलावत गर्नु।
- सकेसम्म बढी दान दिनु सुन्नत हो।
- झुठो बोल्न र धोका दिन नछोड्ने रोजेदारसँग अल्लाहलाई कुनै वास्ता छैन।
- नराम्रो व्यवहार गर्नु हुँदैन, यदि कसैले झगडा गर्यो वा गाली गर्यो भने रोजेदारले 'म रोजा बसेको छु' भन्ने जवाफ दिनुपर्छ।
- अपशब्द बोल्नु हुँदैन तथा आतंक मच्चाउनु हुँदैन।
- छुटेको रोजा अर्काे वर्षको रोजा आउनुभन्दा पहिले पूरा गर्नुपर्छ।
- सव्वाल महिनाको ६ वटा रोजा राख्न नबी (स.) ले जोड दिनुभएको छ।
रोजा टुट्ने वा नटुट्ने अवस्थाहरू
- बिर्सेर केही खाइयो भने रोजा टुट्दैन तर याद आएलगत्तै मुखमा भएको खाना फाल्नुपर्छ।
- थुक निल्दा रोजा टुट्दैन।
- दाँतबाट आफैं रगत निस्केमा टुट्दैन तर रगत निल्नु हुँदैन।
- खाना चाख्ने स्थिति भए जिब्रोको टुप्पोमा राखेर चाख्न सकिन्छ तर त्यसलाई निल्नु हुँदैन।
- उपचार आवश्यकताले रगत झिकेमा रोजा टुट्दैन।
- औषधिको सुई लिँदा रोजा टुट्दैन तर शक्तिवर्धक सुई लिँदा टुट्छ।
- रोजा बसेको बेला नाकमा बेस्सरी पानी तान्नुहुन्न, पानी घाँटीसम्म पुग्ने खतरा हुन्छ।
- आफै वान्ता भएमा रोजा टुट्दैन तर जानी बुझी स्वेच्छाले वान्ता गरे टुट्छ।
- स्वप्नदोष भएमा रोजा टुट्दैन तर इच्छापूर्ण रुपले वीर्य निष्कासन गरेमा टुट्छ।
- महिलाहरूको महिनावारी हुनेबित्तिकै रोजा स्वतः टुट्छ चाहे त्यो सूर्यास्तको समय किन नभएको होस्। रमजानपछि त्यो रोजा पूरा गर्नुपर्छ।
- रोजा बसेको बेला कसैले सहवास गर्यो भने रोजा टुट्छ। उक्त व्यक्तिले अनिवार्य रुपमा कफ्फारा (जरिवाना) अदा गर्नुपर्छ। जरिवानाको रुपमा एउटा गुलाम आजाद गर्ने वा लगातार दुई महिनाको रोजा राख्ने वा ६० जना गरिब व्यक्तिलाई खाना खुवाउनु पर्छ।
रोजा कसका लागि छुट छ?
यस रमजान महिनामा प्रत्येक बालिग मुसलमानहरू जो मानसिक र शारीरिक रूपमा स्वस्थ छन्, उनीहरूले रोजा राख्नु पर्छ।
बालक, बिरामी, सुत्केरी, गर्भवती, महिनावारी भएका महिला तथा बच्चालाई दूध खुवाउने आमाको दूध नआउने अवस्था छ भने डाक्टरको सल्लाह अनुसार रोजा बस्नु पर्दैन। तर ठीक भएपछि अर्काे रमजान आउनुअघि नै छुटेका रोजा राखिसक्नुपर्छ।
त्यस्तै कम्तीमा असी/नब्बे किलोमिटर यात्रा गर्नुछ भने उसका लागि पनि यात्रा अवधिभर रोजा छुट छ। राख्न चाहने भए राख्न पनि सक्छ। उसले पनि छुटेका रोजा पछि पूरा गर्नुपर्छ। यदि कोही एकदम वृद्ध वा कुनै मान्य कारणवश कहिल्यै पनि रोजा बस्न नसक्ने अवस्थाको छ भने प्रत्येक रोजाको बदलामा एकजना गरिबलाई खाना खुवाउनु पर्छ। अरु व्यक्तिको लागि रोजा बस्नु अनिवार्य छ।
रोजाको प्रभाव
इस्लामले आफ्ना अनुयायीलाई आफ्ना नीति अथवा विधिमा हिँड्न र कुकर्मबाट रोक्न अभ्यास गराउँछ। व्रत राख्ने व्यक्तिको चरित्र र व्यवहारमा परिवर्तन ल्याउँछ। रोजाले विभिन्न व्यक्तिगत कुलत र सामाजिक विकृति नियन्त्रण गर्न मद्दत गर्छ।
मुहम्मद (स.) ले भन्नुभयो, 'ती व्यक्ति जो व्रत बस्छ अनि झुठो पनि बोल्छ उसको भोकसँग अल्लाहको कुनै मतलब छैन। चाहे त्यो भोकै बसोस् वा खाना खाओस्।'
व्रत बस्नेलाई गाली गर्न र झगडा गर्न मनाही छ। मुहम्मद (स.) ले भन्नुभयो,'तिमीमा व्रत बस्नेले हल्ला नगरोस् र फोहोर कुरा मुखबाट ननिकालोस् र कसैसित झगडा पर्दा म व्रत बसेको छु भन्ने याद गरोस् र यसबाट बच्न सकोस्।'
एउटा अनुसन्धानले बताउँछ, यदि कुनै व्यक्तिले आफ्नो भोकमाथि नियन्त्रण गर्न सक्छ भने उसले आफ्नो इच्छामाथि नियन्त्रण गर्न सक्छ। यौनसम्पर्क निषेध गरिएकाले यौन आकांक्षा पनि नियन्त्रण हुन्छ।
प्रत्येक व्रत बस्नेले बिहानको अँध्यारोदेखि लिएर साँझको सूर्यास्तसम्म केही खान पाउँदैन। लागुपदार्थ सेवन गर्न पाउँदैन। यसले दुर्व्यसनमा फस्न सक्ने सम्भावना नियन्त्रण गर्न मद्दत गर्छ।
रमजानको पूरै महिनाभर राष्ट्रप्रमुखदेखि सर्वसाधारणसम्म रोजा बस्छन्। यसले सबै व्यक्तिलाई 'भोकको पीडा' महशुस गराउँछ। गरिबलाई दुई छाक भोजन जुटाउन हुने धौधौको दुःख बुझाउँछ।
रमजानको महिनामा हरेक घरवालाले आफ्ना घरमा भएका प्रत्येक व्यक्तिपिच्छे (महिला, पुरुष, बालक, वृद्ध) सद्कतुल फित्र (एक प्रकारको दिइने निश्चित गरिएको दान) अनिवार्य दिनुपर्छ। यो दान ईदभन्दा पहिले प्रत्येक गरिब व्यक्ति कहाँ पुग्छ जसबाट उनीहरू र उनीहरूका सन्तान पनि ईदको नयाँ–नयाँ कपडा लाउन र मिठो–मिठो परिकार खान पाउँछन्।
रमजानको व्रतले स्वास्थ्यमा पनि फाइदा हुन्छ।
सबै तस्बिर: नारायण महर्जन/सेतोपाटी