सानोमा मलाई मेरो सबैभन्दा ठूलो दुश्मन आमा हो जस्तो लाग्थ्यो। अहिले सोच्दा मेरो त्यो अज्ञानताप्रति हाँसो उठेर आउँछ। सायद त्यही अज्ञानताले गर्दा होला आमाले भनेको सानोमा मैले कहिल्यै टेरिन। आमालाई टेरिन भनेर बुबाले मलाई एकदमै सम्झाउँनुहुन्थ्यो तर कस्तो बुद्धि होला है त्यतिखेर यसोभनेर बुबाले आमाको पक्ष लिनुभयो भनी उल्टै बुबासँगै नै थुस्केर बस्थे।
स्कूलको लागि विहानै आठ बजे तयारी हुनुपथ्यो तर म भने त्यतिखेर पनि उठ्नै नमान्ने। ‘विहान चाँडो उठ्नू, एकछिन पढ्नू, होमवर्कहरु चेक गर्नू तर यसरी कुम्भकर्ण भएर’ भनेर सिरक हटाइदिनुहुन्थ्यो। अनि मलाई रीस उठिहाल्थ्यो अनि के चाहियो रोएर घरै उठाइदिन्थे। आमा घरमा सबैलाई किन कराउनुहुन्छ भन्नेतिर मैले कहिल्यै सोचिन तर यति मात्रै सोच्थे कि घरमा सबैभन्दा धेरै कराउने आमा हो र आमा नै सबैको दुश्मन हो।
मलाई विहान आमाले जर्वजस्ती उठाएर मात्रै पुग्थेन। उठ्ने वित्तिक्कै बेलुकीको तामाको लोटामा राखेको एकगिलास पानी पिउनै पथ्यो अनि एकछिन पछि ठूलो माने गिलासले एक गिलास दूध पिउनै पथ्यो। म बुबालाई चिया र पाउरोटि खान्छु भनेर जिद्दि गर्ने तर आमा मलाई चिया पकाइदेला फेरि भनेर बुबालाई पहिल्यै सर्तक गराउने।
नमिठो लागि लागि एकमाने दूध र पाउरोटि खानुपथ्यो। त्यतिधेरै खाएको एकघण्टा भएको हुन्थेन फेरि स्कूल जानुभन्दा अगाडि भुँडी फुटुन्जेल भात नखुवाइ आमालाई सन्तोष नहुने। स्कूल जाँदा मलाई कपालमा तेल हालेको मन नपर्ने तर आमालाई मेरो कपालमा अलिकति भए पनि वास्ना आउँछ भनेर अमलाको तेल हालेर कपाल बाँटिदिनुपर्ने। कहिल्यैकाँहि कपालमा तेल हालिदियो भनेर रुँदै आमालाई बाई पनि नभनि स्कूल जान्थे। म रुदैँ स्कूल गएकोदिन आमा मलाई फकाउन स्कूलमा चाउचाउ, कोक, चिजबल बोकेर आउनुहुन्थयो। अरुबेलामा म क्यान्टिनमा नै खाजा खान्थेँ।
अनि क्यान्टिनमा पनि आमाले यसलाई धेरै कोक र चाउचाउ नदिनु बरु फलफूल र भातमा नै जोड दिनु भन्नुहुन्थ्यो। छोरी भात खाएपछि टन्न हुन्छे भनेर आमाले त्यसो भन्नुभएको भन्ने मलाई हेक्कानै भएन बरु आमाले मलाई कोक नदिन यस्तो भन्नुभएको भनेर उल्टो सोच्थेँ।
महिनावारी भएपछि पनि आमाले शनिबारको दिन गोडा र ढाड मिचिमिचि नुवाइदिनुहुन्थ्यो। मैले अझै नुवाउँदा साबुन फाल्दिनँ, कानमा गाजै हुन्छ, कपालमा स्याम्पूनै हुन्छ, शरीरमा महिलो जाँदैन भन्नुहुन्थयो। नुवाइदिएर मात्रै पुग्थेन आमालाई मलाई घाममा राखेर तातो तोरीको तेलले शरीर मालिस गरिदिनुहुन्थ्यो, कानमा तेल हालिदिनुहुन्थयो, कपालमा छपक्कै तेल लगाइदिनु हुन्थ्यो। यस्ता धेरै कुराहरु थिए जुन मलाई मन पर्दैनथ्यो तर आमालाई मन पथ्र्यो।
आमाको मुख हेर्नेदिन उल्टै मलाई टिका लगाएर, आशिष दिदैँ दक्षिणा दिनुहुन्थ्यो। त्यही दक्षिणा थोरै भयो भनेर आमासँग फेरि झगडा गरेर माग्थे। आमालाई कति व्यवहार पुर्याउनुथ्यो होला तर पनि आमा हातमा अरु पैसा थमाइदिनुहुन्थ्यो। आमा कहिल्यै मलाई एक्लै छोडेर कतै गएको याद छैन। बरु म आमालाई छोडेर मामाघर बस्न जान्थे।
एसएलसी दिएर प्लस टु पढ्न काठमाडौं जाने दिन आयो। एकदिन पनि आफूबाट नछुटाएको आमालाई मलाई अब काठमाडौं पठाउन गाह्रो भएछ। आमाको पीरबाट बेखबर म काठमाडौं जान एकदमै रमाएकी थिएँ। अब बल्ल घर छोडेर आफ्नो तरिकाले काठमाडौं बस्न पाउने भयो भन्ने भयो। म एकदमै उत्साहित दिए। तर, घरमा डलेको लोटा पनि नउठाउने छोरी काठमाडौंमा गएर एक्लै कसरी सङ्घर्ष गर्छ भन्ने भएछ।
एकरात आमाले अब काठमाडौं गएर पढ्न थाले पनि उताको उतै हुन्छ , अब ढुक्कसँग घरबस्ने दिन गए तेरा निरु भन्नुभयो। आमाको त्यो आसय बुझिन मैले। बरु उल्टै आमालाई अब तपाइँलाई ढुक्क भयो त तपाइँसँग रीसाउने मान्छे गएपछि। आमालाई मेरो कुराले छोएछ, आमा आँखाभरी आँसु पार्नुभयो। आमाको आँसु पनि देखिन अनि फेरि आलो घाउमा नुन छर्किएर भने अब मलाई कती सम्झने हो आमाले मेरो अभाव खड्केर भनेर रमाउँन थालेँ।
यसपटक आमाले होइन बुबाले मलाई पहिलो पटक मेरो अज्ञानतामा बेक्स्सरी गाली गर्नुभयो। आमाले भोलि काठमाडौं जान लागेको छोरीलाई यसरी गाली गर्ने हो भनेर उल्टै बुबालाई गाली गर्नुभयो। मलाई त्यतिखेर पहिलोपटक आमाले बुबालाई मेरो लागि गाली गर्दा एउटा अनोठो आभाष भयो।
मलाई के थाहा त्यो आभाषले मलाई पगाल्दिै जान्छ भनेर। एकदिन त मैले आमाको त्यो प्रेमलाई बुझ्नुनै थियो तर यति छिटो बुझ्छु भनेर चाँहि सोचेको थिइन। त्यसपछि मलाई के थाहा आमालाई मेरो यादले कमजोर बनाउँछु भनेर हिडेकी म आफै कमजोर भन्छु भनेर। काठमाडौंको रमझममा एकदुई महिना मलाई रमाईलो लागे पनि त्यसपछि त खाली घर आउन मन लाग्ने। आमा, बुबा र सबै परीवारको अभाव झन् खड्किदै गयो। शुक्रबार हुनेवित्तिक्कै एकदिनको लागि भए पनि घर आईहाल्न थालेँ।
काठमाडौंबाट मलेखु आउन जम्मा दुई घण्टा लाग्थ्यो र मलेखुबाट कुनै चिनेको गाडी आयो भने त म शुक्रबार पनि कुर्न थालिनँ। कलेज छोडेर भए पनि जान घर जान थाले। यसरी म घर विदा अलावै पनि आउन थालेकोले आमा झन् मेरो पढाई विग्रने कुराले चिन्तित हुन थाल्नुभयो।
घर आएपछि काम नगरे पनि आमाकै वरीपरी मात्रै वस्न थाले। आमाले ममा आइरहेको यो परिवर्तन महसुस गरिरहनुभएको थियो तर मलाई भने आमाको सम्झना एकदमै आउँछ भन्न लाज लाग्थ्यो।
कहिलेकाँहि काठमाडौंबाट राति आठ बजे बस चढेर आए भने नागढुङ्गामा जाम परेर भोलिपल्ट विहानमात्रै घर आईपुग्थेँ। आमा म जाम परेको दिन रातभरी सुत्नुहुन्थेन। अब म आमाको पीर छर्लङ्ग बुझ्न थालिसकेको थिएँ। आमाबुबा र घरपरिवारलाई खुसी राख्न र दुःख नदिनतिर मेरो ध्यान दिन थालेँ। अब धेरै घर होइन बरु दिनदिनै फोन गर्छु तर पढाईमा ध्यान दिन्छु भनेँ।
बाह्र कक्षामा कलेजको पत्रकारिता विषयमा मात्रै होइन ह्युमानिटिज फ्याकल्टि नै टप गरे। घरमा खुसीको सिमै भएन। आमाले खुसीले सुनको सिक्री, कानमा टप र एउटा औठीँ बनाइदिनुभयो। त्यो गहना नलगाइ तर, छातिमा टाँसेर म धेरैबेर रोएँ।
म त्यतिखेर मेरो त्यो अज्ञानताप्रति आत्माग्लानि भएर रोएको थिएँ। आमासँग दक्षिणा कम भयो भनेर झगडा गरेको त्यो पललाई घृणा गरेर रोएको थिए। आमालाई दुश्मन मान्ने मेरो सोचसँग दया लागेर रोएको थिएँ।
आमाको त्यो खुसी, घरपरिवारमा मप्रति बढेको आत्माविश्वासले मलाई झन् परिपक्क बनाउँदै गयो। विस्तारै पढाईको बोझले थिच्दै गयो। चाहेर पनि त्यही दुई घण्टाको बाटो मलेखु जान सकिनँ। चाहेर पनि दिनदिनै फोन गर्न सकिनँ। दसैं तिहारको एक महिनाको विदा पनि एकदमै थोरै लाग्न थाल्यो। तिहार मनाएर काठमाडौं जानुपर्दा मलाई मर्नु हुन्थ्यो। जब नबुझ्ने थिएँ समय थियो। तर, आमासँगको साथको कदरै भएन र जब विस्तारै बुझ्ने भएँ आमाको कदर भयो तर समय नै भएन।
आमासँग ढुक्कसँग समय विताउनै नपाइ विदेश आएँ। आमाको महत्व र अभाव झन् खड्कियो। विहान उठ्ने वित्तिक्कै काममा दौडिनुपर्ने। त्यो एकमाने गिलासको दूध सम्झन थाले। स्कूलजानुभन्दा अगाडि थालभरीको परिकार टेबलमा राखेर जर्वरजस्ती खुवाएको यादले सताउन थाल्यो। कपालमा तेल नहालेको महिनौ हुन्थ्यो।
त्यो तातो तोरीकोतेल तालुमा थपथप गरेर लगाएको याद आउन थाल्यो। खाना पकाउन नभ्याएर चाउचाउ र कोक खाँदा यो धेरै नखा भनेर गर्ने त्यो गालीको याद आयो। फेरि म त्यो बालापनमा जान मन लाग्यो। फेरि एकचोटि त्यो पल बाँचेर हेर्न मन लाग्यो। दिनभरीको काम , पढाई र असाइन्मेन्टले टाउको थिचेको बेला ग्यारेजमा गएर आमा सम्झदैँ रुन थालेँ। म रोएको भोलिपल्ट आमालाई फोन गर्दा आमाले हिजो सपना कस्तो कस्तो देखेँ भन्नुहुन्थ्यो।
पछि आमा र बुबा मेरो ग्याजुएसनमा आउनुभयो। ती केही महिना मैले फेरि आफ्नो बालापन विताएँ। आमा र बुबा यहाँ पनि म भन्दा छिटो उठ्नुहुन्थ्यो। एकछिन मनिङ्ग वार्क गरेर फर्कनुहुन्थ्यो। मेरो लागि फलफूल काँटेर, सबै भन्दा ठूलो सिसाको गिलासमा दूध ल्याएर राखिदिनुहुन्थ्यो।
बिहानको खाना खान भ्याउँदैन रहेछ यहाँ भनेर पीर गर्नुहुन्थ्यो। तर, दिउँसोको लागि टिफिन प्याक गरिदिनुहुन्थ्यो। टिफिनमा हरेक दिन नयाँ नयाँ आइटम हुन्थ्यो। टिफिनसँगै नट्स, फलफूल पनि राखिदिनुहुन्थ्यो। दिउँसो अफिसमा खाजा खायो भनेर सधै सोध्नुहुन्थ्यो।
बेलुकी अफिसबाट घर आउँदा खाना पाकेको हुन्थ्यो। म आउनेवित्तिकै बुबा लगायात हामीसबैलाई खाना पस्केर खान दिनुहुन्थ्यो अनि बल्ल आफू बस्नुहुन्थ्यो। कपालले तेलको मसाज पाउन थालेको थियो। आमाबुबालाई हरदम कसरी खुसी राख्ने, विदामा कहाँ घुमाउन लाने, आज विदाको दिन मेरो हातले के बनाएर खुवाउने भन्नेतिर मेरो ध्यान हुन्थ्यो। म मा एकप्रकारको आत्माविश्वास वढेको थियो , ममा हौसला पलाएको थियो अझ भन्नुपर्दा म एकदमै खुसी थिए।
मलाई लाग्यो अब यहाँ बाट आमा बुबालाई म कतै जान दिन्न। म मेरो आमाबुबालाई संसारको सबै खुसी दिएर यतै राख्छु। मैले पहिलाको जूनिमा केही पुण्य गरेको थिएँ र पो देवीदेवता जस्तो आमा बुबा पाए जस्तो भयो। म यति धेरै इमोसनल भए कि त्यतिखेर र मैले विर्सिरहेकी रहेछु कि आमा त मेरो मात्रै होइन भनेर।
आमाको म मात्रै सन्तान थिइनँ। आमाले माया गर्नुपर्ने अन्य थुप्रै साइनोहरु थियो। आमाको प्राणबाट निस्केको अन्य दुई छोरीहरु, छोरा थियो। आमासँग आफ्नी बुहारी र दुई नातीहरु पनि थियो।
मेरो जत्तिक्कै आमालाई उनीहरुको पनि माया लाग्छ भन्ने कुरा मैले विर्सिएछु। अब बुझिसकेपछि म स्वार्थी पनि त बन्न सक्दिनथेँ। उताबाट बारम्बार आमाबुबा कहिल्यै आउने हामी न्यास्रिसक्यौ भन्नुहुन्थ्यो र आभाष भयो आमाबुबाको अभाव मलाई मात्रै होइन उहाँहरुलाई पनि हुन्छ। आमाको माया मेरो एकतर्फीमात्रै गर्न खोजेर म कहाँ स्वार्थी बन्न सक्थेँ र।
एकदिन शनिबार विहानै उतापटि कोठामा आमा रुनुभएको जस्तो लाग्यो। म आमाको नजिक गए। आमाले हत्तनपत्त आँसु पुछेर केही नभएको जस्तो गर्नुभयो। बुबा पनि नियाउरो पर्नुभयो। ला मैले केही गल्ती पो गरेँ, अथवा नजानी नजानी आमाबुबाको चित्तपो दुखाएँ कि जस्तो लाग्यो। तर, बुबाले विस्तारै निरु अब नेपाल जानुपर्यो भन्नुभयो।
म पनि सँगै रून थाले अनि भनेँ। किन? नाइँ नजानु भनेर बुबाको काखमा गएर पनि रुन थालेँ।
बुबा पनि आँखाभरी आँसु बनाएर तेरो आमालाई नातीहरुको एकदमै याद आएको छ। हिजो उनीहरुसँग बोलेदेखि त झन् रातभरी त्यतै मात्रै सम्झेको छे। मलाई पनि नेपाल जान मन छ भन्नुभयो।
म केही बोल्न सकिनँ, रोइ मात्रै रहेँ। हामी तीनै जना रोयौं। त्यस्ती छोरी मलाई यती कमलो देख्दा आमा बुबालाई पनि मन गाह्रो भइरहेको थियो। आमाको काखमा ह्वातै गएर घोप्टो परेर रुन थालेँ।
आमालाई हामी सन्तानको माया त छँदैछ त्यहीमाथि सन्तानको छोराछोरीको मायाले पनि सताएको थियो। त्यसैले आमाहरुलाई पृथ्वी भनेको। सारा संसारको माया बोकेर बस्न सक्छिन् एउटी आमा। जब आमा बुबा नेपाल फर्कनेदिन आयो उता नेपालमा दिदीहरु, दाइ, भाउजू, भतिजहरु सबै खुसीले उफ्रन थाले तर आफू भने फेरि ग्यारेजमा गएर डाको छोडेर रुन थालेँ।
आमा, बुबालाई अब छिटो आउनु भने। आमाले कहाँ तँकहाँ सधै आएर हुन्छ। अब सासु ससुरालाई बरू चाँडै अष्ट्रेलिया ल्याउनु अनि उहाँहरुलाई सँधै सँगै माया गरेर राख्नु भन्नुभयो। आमाले नेपाल जाँदाजँदा मलाई फेरि जीवनको अर्को पाटो देखाउनुभयो। अर्को दायित्व र कर्तव्य बोध गराईदिनुभयो। अर्को एउटा दर्शन दिएर नेपाल फर्कनुभयो।
म भगवानसँग सधै प्रार्थना गर्छु मेरो कारणले अन्जानमा पनि बुबा आमालाई दुःख नहोस्। भगवान छ छैन थाहा छैनन तर मेरो लागि मेरो आमा बुबा मेरो भगवान हुन्। उहाँहरुको चित्त दुखाएर, उनीहरुलाई रुवाएर म कहिल्यै सुखी हुन सक्दिनँ। मेरो आनन्द उहाँहरुको मुस्कानमा छ। आज आमाको मुख हेर्नेदिन मेरो आमाप्रति समिर्पित मेरो एउटा कविताः
आमाको लागि सुशोभित शब्दहरु बुनिरहन्छु
श्यामल वाक्यहरु खोजिरहन्छु
मन पंन्छि बनी आमाको वरीपरी डुलिरहन्छ
क्षणभरमा नै फेरि मन मानसरोवर पुग्छ, त्यहाँ को पवित्रता चोरेर ल्याउँछु
बटोमा आउँदै गर्दा बादलमाथिमाथि परीहरु भेट्छु
उनीहरुको सुन्दरता पनि हरण गर्छु
अनि फेरि कैलाशको टाकुरामा ठोकिन्छु , त्यहाँबाट पनि दिव्य शक्ति ल्याउँछु
पवित्रता र सुन्दरता दिव्य शक्तिमा मिसाउँछु
पवनको रथमा बसी
आमाको समीपमा पुग्छु।
आमाको पाउँ समात्दै दिव्य शक्ति चढाउँछु।