दुई दशक अगाडि, एउटा संयोगले नेपाली राजनीतिक इतिहासका दुई ऐतिहासिक पात्र, नेपाली राजनीतिको लौह पुरूषको उपनामले सम्बोधित गणेशमान सिंह र जनताको छोरोबाट बनेका प्रथम प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाको एउटै वर्ष (बि सं २०५४ साल) मा भएको निधनमा फरक फरक प्रकृतिको शव यात्रामा सहभागी भएको त्यो क्षण सम्झिरहेछु।
मातृका प्रसाद कोइरालाको शव यात्रा सामान्य अनि शीर्ष नेताहरूमा पूर्वप्रधानमन्त्री गिरिजा प्रसाद कोइराला (सायद आफ्नै कान्छा भाइ भएकोले) लगायतका आफन्तजन र नेपाली सेनाका एउटा टुकडी (सायद पूर्व प्रधानमन्त्री अनि राजा त्रिभुवनबाट प्राप्त कोइराला मानार्थ ब्रिगेडियर जनरल भएको नाताले) मा सिमित थियो। तर, गणेशमान सिंहको शवयात्रा भब्य अनि राष्ट्रिय सम्मान एवम् जनताको असंख्य सहभागिताले दुई व्यक्तित्वको कद प्रष्टयाईरहेको भान हुन्थ्यो।
प्रश्न उठ्न सक्छ, यी दुई व्यक्तिको शवयात्रमा यस्तो आकाश र जमिनको फरक किन? जबकि मातृकाप्रसाद कोइराला पहिलो जनताको छोरो प्रधानमन्त्री (दुई पटक प्रधानमन्त्री), नेपाली कांग्रेसको सभापतिसमेत भइसकेका व्यक्तित्व। तर, गणेशमान सिंह मन्त्रीभन्दा माथि पुगेनन्, नेपाली कांग्रेसमा पनि केन्द्रीय सदस्यभन्दा माथि पुगेनन् (नेपाली कांग्रेसको सभापतिमा सुवर्ण शमशेर राणासँग चुनाब हारेका), प्रजातान्त्रिक आन्दोलनमा योगदानको हिसाबले पनि मातृका प्रसाद कोइरालाको कम योगदान छैन, उनले बि सं २००७ सालको क्रान्तिमा नेपाली कांग्रेसको सभापति (जबकि गणेशमान सिंह त्यहि कार्यसमितिको केन्द्रीय सदस्य मात्रै थिए) को हैसियतले सर्वशक्तिमान कमाण्डर (डिक्टेटर) को रुपमा राणा बिरोधी क्रान्तिलाई नेतृत्व गरेका थिए।
यी दुई व्यक्तिमध्ये मातृका प्रसाद कोइराला शिक्षण अस्पतालमा निधन भएकोले तत्कालिन वडा प्रहरी कार्यालय, महाराजगंजको इन्चार्जको नाताले उहाँको शवयात्राको स्कर्टिङ गर्नुपरेको थियो।
गणेशमान सिंहको शवयात्रामा सहभागी हुन तत्कालिन प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द जाने भएकोले उहाँलाई स्कर्टिङ गर्दै जाँदा देखिएका दृश्यले मनभरी केही प्रश्नहरु उब्जिरहेथ्यो।
अझ हृदय छुने दृश्य तत्कालिन प्रधानमन्त्री चन्दभन्दा अगाडि पंक्तिबद्ध उभिएर गणेशमान सिंहको शवलाई घुम्दै शवको खुट्टा समातेर ढोग्दै रूदै गरेका प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको ती दृश्य झल्झली आइरहेछ।
किन फरक त यी व्यक्तित्वको सम्मान अनि शवयात्रा?
अनि लाग्यो पदले मात्रै कुनै व्यक्तित्वले सम्मान आर्जन गर्ने होइन रहेछ। अवसरले मात्रै प्रतिष्ठा आर्जन हुने पनि होइन रहेछ। मातृका प्रसाद कोइरालाले दुई दुई पटक सरकार प्रमुख हुने अवसर पाए। पार्टीको नेतृत्व अनि क्रान्तिको नेतृत्व लिन पाए। तर, गणेशमान सिंहले न त सरकारको न पार्टीको नेतृत्वनै लिए। तर, यी दुई व्यक्तित्वले समान रूपले प्रजातान्त्रिक आन्दोलनको नेतृत्व लिने अवसर भने पाएका थिए।
त्यसमा एउटा व्यक्तित्वले त्यो अवसरको दुरुपयोग गरे अर्कोले त्यसको सदुपयोग गरे। यतिसम्म कि कोइरालाले प्रधानमन्त्री हुँदा नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिबन्द नै लगाइदिए। अनि पदको लागि प्रजातन्त्र छाडेर राजासँग मिले। तर, सिंहले कम्युनिष्टसँग मिलेर संयुक्त जनआन्दोलन गर्न बाममोर्चा बनाउन नै लगाएर सहकार्य गरे।
अनि प्रजातन्त्रको लागि राजासँग नै लडे, पछि प्राप्ति भएको प्रधानमन्त्री पद पनि नलिएर प्रजातन्त्रको लागि ‘वाच डग’ मात्रै हुन रूचाए। यसरी बिरलै प्राप्त हुने अवसरलाई दुई ऐतिहासिक व्यक्तित्वले आफ्नै तवरले अजमाए, सायद यीनै फरक विगतले गर्दा होला मरणोपरान्त फरक फरक किसिमको सम्मान प्राप्ति गरे।
सत्ता र शक्तिमा पुगेका बेला नेतृत्वले सायद यस्ता कुरा महसुस गर्दैनन् कि बिरलै पाइने अवसर पाउँदा सही सदुपयोग गर्न सकिए सधै अमर होइने बाटो बनाउन सकिन्छ। तर यो कुरा भुलेर सधै अमर होइन बाटो भन्दा सधै सत्तामा बस्ने र शक्तिशाली हुने बाटोतिर लागिन्छ। सायद यही नै फरक बाटो थियो मातृका प्रसाद कोइराला र गणेशमान सिंहको।
बि सं २०४६ सालको जनआन्दोलनपछि धेरैले पद पाए। तर, यी ३ व्यक्तित्वले पद सँगै साच्चै अवसर पनि पाए। बि सं २०४८ सालको प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला, बि सं २०६५ सालको प्रधानमन्त्री पुष्पकमल दाहाल र बि सं २०७४ सालमा निर्वाचित बर्तमान प्रधानमन्त्री खड्ग प्रसाद ओली।
३० वर्ष पञ्चायत व्यबस्थाबिरुद्ध सशस्त्र र शान्तिपूर्ण आन्दोलन गर्दै आएर सहज बहुमतका सरकारको नेतृत्व गरेका गिरिजा प्रसाद कोइरालाले यदि ‘म त ३० वर्ष संघर्ष गरेर आएको पार्टीबाट प्रधानमन्त्री भएको, मैले बनाउनुपर्ने कोही पनि छैन, मात्रै देश’ भन्दै पञ्चायतका २-४ जना भ्रष्ट मन्त्रीहरु र कर्मचारीलाई भ्रष्टाचारमा छानबिन गरेर कारबाही गर्दै प्रतिपक्षलाई साथ लिएर विकास निर्माणमा कठोर भइदिएको भए खुमबहादुर खड्का, चिरन्जीवी वाग्ले जस्ता शिष्टाचार (परिवर्तन) का लागि आफ्नो सम्पूर्ण जवानी बिताएकाले भ्रस्टाचारमा जेल जानुपर्ने थिएन होला। अनि देश विकासको गति द्रूत हुने पनि थियो होला।
अनि २० वर्ष भूमिगत बसेर र १० वर्ष जनयुद्ध लडेर गणतन्त्रको प्रथम प्रधानमन्त्री बनेका पुष्पकमल दाहालले ‘३ पति’ मा नअल्मलिएर ‘म त सन्तान र सम्पति पार्टीलाई जिम्मा लगाएर २ दशक भूमिगत अनि १ दशक जनयुद्व लडेर आएको, छोराको भन्दा देशको भबिश्यको लागि लड्दा छोराको पढाइ समेत छुटाएर सँगसँगै जंगल लिएर हिँडेको व्यक्ति हुँ। न त मैले कसैलाई बनाइदिनु छु’, भन्दै बहुदलकालका २-४ जना भ्रष्ट मन्त्रीहरु र प्रशासकहरुलाई छानबिन गरेर जेल हालिदिएको भए, र प्रतिपक्षीलाइ साथै लिएर अगाडि बढेको भए देशले आज अर्कै बाटो समातिसकेको हुन्थ्यो होला।
यी सँगसँगै अरू नेताले पनि देशको नेतृत्व गर्ने अवसर त पाएकै हुन्। तर, उनीहरूले अवसर पाएका परिस्थिति आमुल परिवर्तनकारी थिएनन्। तर माथिका दुई व्यक्तित्वले त्यस समयमा अनुकुलको अवसर र परिस्थिति पाएका पनि हुन्। जो सँग ‘ए यीनीहरू त परिवर्तनका बाहक हुन्। जसले चाहे जे पनि गर्न सक्दछन्,’ भन्ने एउटा माहौल थियो।
अनि जनचाहना पनि परिवर्तनकामी थियो र नेतृत्वको इच्छाशक्तिमा साथ दिने किसिमको थियो। तर, २०४८ सालको नेतृत्व प्रतिपक्षसँग भिड्दैमा बित्यो, र अल्पकालमा नै बाहिरिनुपर्यो।
उता २०६५ सालको नेतृत्व पनि प्रतिपक्षलाई ठेल्दैमा र आफ्नै कर्मचारीलाई पेल्दैमा बितेर अल्पकालमै अवसर गुमाएर बाहिरिनु पर्यो। जनआन्दोलन र जनयुद्वको नेतृत्व गरेर त्यही मुडमा आएका र जनआकांक्षा पनि सोही अनुकुल रहेको बेलामा गुमेका अवसर ती व्यक्तित्वहरुले फेरि पनि पाए। तर, माहौल त्यही थिएन।
तसर्थ ती व्यक्तित्वको जुन वजन हुनुपर्थ्यो, त्यो हुन् सकेन। बरू गिरिजा प्रसाद कोइरालाले लामो समय बिरोधिको प्रहारबिन्दुमा रहे पनि जीवनको उत्तर्राद्धमा सशस्त्र संघर्ष र सक्रिय राजतन्त्रको दबदबामा थिल्थिलिएको देशलाई शान्तिपूर्ण तवरले शान्ति प्रक्रियामा ल्याएर मृत्युपछि फरक पार्टीका प्रतिष्पर्धी नेतृत्वहरू (तत्कालिन प्रधानमन्त्री माधव कुमार नेपाल र पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल) ले समेत ‘गिरिजाबाबुले मलाई जिम्मा दिनु भएको छ’ भन्ने माहौल बनाएर जानुभयो।
अहिले देश फेरि मुठभेडको स्थितिमा पुगेको देखिन्छ। सरकार दुई तिहाइ बहुमतको भएकोले हामी (मात्रै) ले चाहे जे पनि हुन्छ भन्ने सोचाइमा एक्लै अगाडि बढेको देखिन्छ। अनि प्रतिपक्ष सरकारसँग सशंकित देखिन्छ, जसले गर्दा सरकार र प्रतिपक्ष सहकार्यमा भन्दा पनि बलमिच्याई अनि तानातानमा नै व्यस्त हुने परिस्थिति सिर्जना हुँदै गएको देखिन्छ।
यस्तो अवस्थामा माथिका २ व्यक्तित्वले जस्तै गरेर पद र पावर मात्रै होइन अवसर (सायद अन्तिम) पनि पाएका प्रधानमन्त्री खड्ग प्रसाद ओलीले जनअपेक्षालाई समेटेर भोलिको इतिहासमा सम्मानित हुने अवसर गुमाउने सम्भावना बढ्दै गएको देखिन्छ।
सायद चाहे जे पनि गर्न सक्ने यति शक्तिशाली दुईतिहाइ बहुमतको सरकार नेपाली इतिहासमा अहिलेसम्म भएकै थिएन (बि सं २०१६ सालमा बि पी कोइरालाको सरकार भए पनि सरकारभन्दा माथि शक्तिशाली राजाको तरवार झुन्डिएको थियो) र फेरि हुने सम्भावना पनि कमै छ।
अहिलेका प्रधानमन्त्री ओली पनि माथिका व्यक्तित्वहरु जस्तै कसैका लागि केहि गरिदिनुपर्ने जिम्मेवारीले थिचिएका छैनन्। न त उहाँले बनाउनुपर्ने नै कोही छ। उनले एमाले पार्टीका अध्यक्षको निर्वाचन लड्दै गर्दा (आफ्नो स्वास्थ्य अवस्थालाई इंगित गर्दै) भनेका पनि थिए, ‘मलाई तपाईँहरूलाई जस्तै पछि गरौंला भन्ने छुट र समय छैन,’ यस्ता कुराहरुलाई मनन् गरेका व्यक्तित्वले पाएको अवसरलाई गुमाउनु हुँदैन। आधुनिक सिंगापुरका निर्माता लि क्वान यु र आधुनिक मलेसियाका निर्माता डा महाथिर मोहम्मदको उदाहरण दिन रूचाउनु हुने वर्तमान प्रधानमन्त्रीले यी सफल बिदेशी राजनेताको सफलताको अचुक अस्त्र भनेकै देश निर्माणको कार्यमा विपक्षीलाई समेत समेटेर हिँड्नु हो।
अनि हाम्रा प्रधानमन्त्रीले नेपाली नेता अनि राजनेता (?) हरुको इतिहास नपढ्ने त झन् कुरै भएन। उहाँले पद र पावर त फेरि फेरि पनि पाउनु होला, जुन उहाँले पहिले पहिले पनि पाउनु भएकै हो। तर, यस्तरी देश बनाउने अवसर र माहौल चाही बिरलै पाइन्छ। जुन उहाँले अहिले पाउनु भएको छ।
त्यत्ति हो- पाएको अवसरलाई गुमाएर जीवनपर्यन्त पद र पावरतिर लागेर जिवनपश्चात मातृकाप्रसाद कोइराला जस्तै पूर्वप्रधानमन्त्रीको हैसियतमा सेनाको सानो टुकडीबाट घेरिएर जाने हो कि?, पद र पावर केही नभएका तर एक पटक पाएका अवसरलाई सहि तरिकाले सदुपयोग गरेर प्रतिपक्षका नेताबाटसमेत खुट्टा ढोग्न मन लाग्नेगरी सम्मान जित्दै अनि रूवाउदै गणेशमान सिंह जसरी जाने हो? रोजाइ आफ्नै हो।
(लेखक नेपाल प्रहरीका पूर्व प्रहरी नायब उपरीक्षक हुन्।)