प्रिय छोरी
शुभआर्सिवाद् ।
तिमीले केही दिन अगाडि सेतोपाटीमा नै लेखेको रहेछौ नि ‘बाबा म लिंग परिवर्तन गर्न चाहन्छु। कविता पढेँ। त्यो दिन म आफ्ना बिद्यार्थीहरुलाई पढाई सकेर कक्षा बाहिर निस्केको थिएँ।
स्कुलको प्राङ्गढमा उभिएर यसो मोवाईलमा डाटा अन गरेर फेसबुक हेरेँ। ट्याक्कै तिम्रो कविताको लिंक पोस्ट भएको देखेँ। थाहा छ? म त तिम्रो शीर्षकबाटै झसङ्ग भएँ।
सिरियस देखिने फोटो अनि सिरियस नै होला भित्रको कुरा नि जस्तो लाग्यो। किन? के लेखेकी होला भित्र? म पढ्न आँतुर भएँ। तर डाटाले राम्रो काम गरेन।
सोचेँ होस् घरमा नै गएर वाईफाईबाट खोल्नुपर्ला। साह्रै खुल्दुली लाग्यो। कोशिस गरेँ पटक पटक खुलेन। तिम्रो कमेन्ट बक्समा गएर क्लिक गरेँ। तिमीलाई बधाई आइसकेको रहेछ। हार्ड टचिङ लेखिएको देखेँ। झन् उत्सुकता बढ्यो।
स्कुल छुट्टी भएपछि साँझको ट्युसन नपठाउने निधो गरेँ। अनि मनभरी खुलदुली लिएर कोठामा गएँ। कपडा पनि नफेरि हतार हतार तिम्रो कविता पढ्न थालेँ। तिम्रा हरेक शब्दहरुले मन छोयो। कयौं पटक रोकिए पनि। गहभरी आँसु आयो।
तिम्रो लेखनशैली मन पर्यो। तिमीले अहिलेको नेपाली समाजमा बढ्दै गईरहेको बलत्कारका कारण छोरीहरु सुरक्षित छैनौं त्यसैले आफूलाई छोरा बन्ने चाहाना भएको कुरा ब्यक्त गरिछौं। नेपाली समाजले लिंग परिवर्तन गर्ने कुरा पचाँदैन। तर, यो समाजका अगाडि यस्तो चाहना व्यक्त गर्नु तिमी भित्रको साहस हो नानु।
हो मलाई थाहा छ, तिमीले लेखेका कुराहरुले धेरैलाई भावुक पनि बनायो। थाहा छ तिमीलाई? त्यो दिन अवेरसम्म पनि मलाई निद्रा नै परेन। मलाई पनि चिन्ता लाग्यो। मेरा छोरीहरू कतिजेन्ल यसरी डराएर बाच्ने होला है? कहिले पाउँलान् यिनिहरुले यो समाजमा निर्धक्कक भएर हिड्न?
जस्तो लाग्यो। तिमी झै भयभित भएर यो समाजका अरु कति छोरीहरु बाँचिरहेका होलान् भन्ने लाग्यो। आफूले फूल झै हुर्काएको छोरीले भन्छिन्, ‘बाबा मलाई पूरा जिन्दगी जिउन मन छ। यी यौनपिपासु भोका ब्वासाहरुको आहारा बन्न मन छैन।’
यो शब्दले त मलाई अति गाह्रो बनायो। बिचारा ती निर्मला छोरीको बा आमालाई कस्तो भयो होला? धेरै बेर यस्तै कुराहरु मनमा खेलाउँदा खेलाउँदै रात धेरै छिप्पिसकेछ। त्यो रात निदाउन गाह्रो भयो।
बिचरा ती निर्मला, सम्झाना अनि श्रृया छोरीका बाबाहरुले कति रातहरु छट्पटिमै बिताए होलान् ?
भोलिपल्ट स्कुल जाँदा पनि तिम्रै कुराहरु दिमागमा खेलिरहेँ। कलिला फूलजस्ता विद्यार्थी नानीहरु देख्दा पनि साह्रै चिन्ता लाग्यो। यी नानीहरु देशका कर्णदार बन्न नपाउँदै कतै यिनीहरुको जीवन पनि निमोठिने त होईन? अनेक प्रश्नहरु मनमा खेले। मलाई तिमीहरु जस्तै मायाँ लाग्छ मैले पठाउँने विद्यार्थीको पनि।
भोलिपल्टसम्म पनि तिम्रै कविताले मेरो मन अमिलो बनाईरह्यो। अनि यही विषयमा केही शब्दहरु तिमीलाई लेख्न मन लाग्यो। सोच्छौं होला दसैंमा त भेट भईहाल्थ्यो नि। यो बाबालाई किन सबको अगाडि मेरो कबिताको खण्डन गर्न परेको होला? तिमी जस्तै अरू कायर छोरीहरुलाई पनि सम्झाउनुछ। त्यसैले।
रिसाउँछौ पनि होला सायद। तर, मलाई थाहा छ तिमी छिटो रिसाएर छिटो नै सेलाउँछौ।
सबै लेखहरुमा झै तिमीले मेरो प्रतिक्रियाको अपेक्षा गर्यौं होला। माफ गर छोरी म तिम्रो चाहनामा सहमत हुन सकिनँ। तिम्रो कविता मात्रै मन पर्यो। तिमीले कबिता मार्फत पोखेका आफ्ना भावनाहरु मलाई मन परेन।
लिंग परिवर्तन तिमीले गरौली। तिम्रा बहिनीहरुले के गर्ने? अनि तिम्रो ममीले? अनि यो समाजका अरू छोरीहरुले के गर्ने? के तिमी मात्रै असुरक्षित हौ? तिम्रा हजुरआमादेखि तिम्री ममी पनि यो समाजमा सुरक्षित छैनन्। तिम्रा बहिनी, भाउजु, भदैनी कोही पनि सुरक्षित छैनन्। र यही अवस्था रहने हो भने तिम्रा भावी पुस्ताहरु पनि सुरक्षित हुनेछैनन्। के सबैले लिंग परिवर्तन गर्ने?
तिमीलाई कति सम्झाउँ हँ? ‘आफ्नो लागि मात्रै होईन अरुको लागि पनि जिउन सिक नानु’ भनेर। तिमीलाई म कति सिकाऊ? ‘कहिल्यै कायर नबन भनेर?’
लिंग परिवर्तन गर्नु समस्याको समाधान होईन नानु। समस्यासँग डराउँछौ किन? तिम्रो कविताको पहिल्यै हरफ पढ्दा मलाई हल्का रिस पनि उठ्यो। तिमीले भनेकी रहेछौ नि-
म छोरी भएर नजन्मिनुपथ्र्यो
यो न्याय मरेको देशमा
जन्मी त हालेँ बाबा,
अब मलाई छोरा बन्न मन छ,
त्यसैले बाबा म लिंग परिवर्तन गर्न चाहन्छु।
किन छोरी, तिमी छोरा बन्ने? तिमी छोरी नै भएर यो समाजको विकृतिबिरूद्ध लड। यो समस्या छोरी भएरै समाधान गर्न सक्छौ।
छोरीले के गर्न सक्दिन र? संसार हाक्न सक्छे? तिमीहरू कमजोर होईनौं नानु? तिमीहरुलाई त यो समाजले कमजोर बनाएको हो। अझै यो समाज त तिमीहरु कमजोर भएको नै हेर्न चाहन्छ। तिम्रा आवाज बुलन्द्ध भएको, तिमी स्वाभिमान् भएको हेर्न सक्दैन।
मात्र यो समाजले तिमी एउटा कायर नारी हौ सधै कायर नै बन्नुपर्छ भन्ने चाहन्छ।
यो समाजले तिमी छोरीहरुलाई कसैको श्रीमती भनेर मात्रै चिनियोस् कसैको छोरी बुहारी भनेर मात्रै चिनियोस् भन्ने चाहन्छ। तिमीहरुले आफ्नै परिचय बनाएको पचाउन सक्दैन यो समाज।
तिमीहरु त घरको चुलो चौकामा मात्रै खुम्चियोस् भन्ने चाहन्छ। म कहिल्यै त्यो चाहन्न छोरी। म त मेरा छोरीहरु कायर होईन समाजको बिकृति हटाउन आत्मविश्वास बढाएर अगाडि बढेको हर्न चाहन्छु।
तिमी केही गर्न सक्छौ। तर यसरी कायर बनेर त तिमी केही गर्न पनि सकदैनौं नानु। तिमी यति कायर छौ भन्ने लागेको थिएन। तिम्रा कायरता छताछुल्ल पारेकी रहेछौं।
मलाई हाम्रा छोरीहरु डराएको अनि कायर भएको हेर्न मन लाग्दैन। अझ तिमीहरूले आवजविहनहरुको आवाज बन्नुपर्छ। तिमीले भनेकी रहेछौ,
यौवनका भोका जुकाहरू
मेरो जवानीको रस चुस्न कतै
आतुर भएर त बसेका छैनन्?
हो, डर लाग्छ बाबा मलाई
घरिघरि म काँपिरहन्छु बाबा
त्यसैले बाबा म लिङ्ग परिवर्तन गर्न चाहन्छु।
तिमीहरु यसरी डराएर बस्छौ भने महिला माथि हुने हिंसा अन्त्य हुँदैन नानु। अझै कयौ निर्मलाहरु बलत्कृत हुन सक्छन्। कयौंले अकालमा नै ज्यान गुमाउन सक्छन्। कयौं तिमी झै कायर भएर डराई डराई बाच्नुपर्छ।
कतिन्जेल बाच्ने ? यसले मानसिक रोगको सिकार हुन सक्छन् कयौं नेपाली छोरीहरू। यस्तो भयाभित वातावरण हटाउन जुट छोरीहरु। यति बेला कापेर बस्ने होईन। आवाज बुलन्द्ध बनाएर उठ ।
नडराउ तिमी । तिमीले त अरु नारीहरुलाई आत्मबिश्वासी बनाउन योगदान दिनुपर्ने हो। तर, तिमीमा आत्मबिश्वास र साहस नै देखिनँ मैले।
तिम्रै शब्दलाई सपट्टी लिएर भन्दा यो समाजको ‘यौवनका ब्वासाहरु’ समाजबाट नै धपाउन आँट गर। मनको डर हटाऊ। अनि मनभरी सहसका पानाहरु बिच्छाउ छोरी। तिम्रो पाखुरीको बल, मनको आँट शरीरको सबै फूर्तिहरु सबै निकालेर हिसांको बिरुद्ध लड नानु।
तिमीले भनेको जस्तै न्याय मरेको छ । एक दिन ब्यूतिन सक्छ । हरेश नखाउ। तिम्रा आवाजहरु बुलन्द्ध पार। तिम्रा कलमहरुले यस्ता कायरता झल्काउने शब्दहरु अब कहिल्यै नलेखोस्।
ती निर्मला बहिनीलाई न्याय दिलाउनैपर्छ नानु। होइन भने अझै बलत्कारीलाई हौसला मिल्न सक्छ। अरु पनि नयाँ जन्मन सक्छन् । जहिलेसम्म न्याय मिल्दैन उनलाई कहिल्यै हरेश नखाउ है।
उनलाई न्याय नमिल्नु भनेकै तिमीहरु सबै छोरीहरुलाई न्याय नमिल्नु जस्तै हो। यसकारण अझै सडक तताउनुपर्छ । यसरी कायर भएर घरभित्र नबस नानु। यो समस्याको समाधान होईन। ढक्काउन नछोड न्यायका ढाकाहरु, नखुलुन्जेल।
तिमी छोरीहरु यो समाजमा हिंसारहित वातावरणमा बाच्न पाउनुपर्छ । त्यो अधिकार यो राज्यसँग माग । अधिकारका लागि लड अझै। पाउँदैनौ अधिकार भने खोसेर लिन सिक। तिमीलगायत म सम्पूर्ण नेपाली छोरीहरुलाई भन्न चाहन्छु- देश विदेशका कुनाकाप्चाहरुबाट आवाजहरु बुलन्द बनाएर उठ। सुन्दैन भने सरकारको कानको जाली नै फुट्ने गरेर अझै कराऊ।
तिमीहरु एक्लै कहाँ छौ र ? साथमा हामी बाबाहरु पनि हुनेछौं। तिमीहरुका साथमा तिम्रा दाजु भाईहरु पनि हुने छन्।
फेरि तिमीलाई सुझाव दिन चाहेँ, समाज परिवर्तन गर्न छोरीले पनि सक्छौ। यसरी हरेश खाएर छोरा बन्ने कुरा कहिल्ये नगर है नानु। किनकी म तिमी कायर बनेको मन पराउँन्न। सधैभरी तिमीहरु अन्यायको बिरूद्ध लड्न सक्यौं भने, तिमी आँटिली छोरी भयौं भने म त्यसैमा खुसी हुनेछु।
हुन त नानु बिहेपछि तिम्रो स्वतन्त्रता खोसिन पनि सक्ला। तिमीलाई अझै दोस्रो दर्जाकै नागरिकको रूपमा राखिन पनि सक्छ। यदि तिमीले आफ्नो जीवनसाथी नरोजेको भए, सधै नारीलाई सम्मान गर्ने, तिमीलाई अन्यायको बिरुद्ध लड्न सिकाउने, तिम्रा स्वतन्त्रता कहिल्यै नखोस्ने मान्छेलाई रोज है। अनि तिम्रा बहिनीहरु पनि यही सिकाउ है। किनकी म मेरा छोरीहरु आँटिला भएको सधै हेर्न चाहन्छु।
अन्तमा तिमीलाई चित्त दुखेको भए माफ गर छोरी । तिम्रा नराम्रो पक्षको अनावश्यक प्रशंसा गरेर तिमीलाई क्षणिक खुसी दिनुभन्दा खण्डन गरेर तिमीलाई सुधार गर्नु मेरो कर्तब्य हो।
उही तिमीलाई धेरै माया गर्ने
तिम्रो बुबा