केही समय अगाडि तस्करीको साढे ३३ किलो सुन लुकाएको आरोपमा सनम शाक्य भन्ने व्यक्तिको हत्यापछि पक्राउ केही व्यक्तीको वयान र सूचनाको आधारमा नेपालमा हुँदै आएको सुन तस्करीको विषयमा गम्भीर ढंगले अनुसन्धान हुने अवस्था बनेको सर्वविदितै छ।
त्यस अगाडि आज विमानस्थलबाट यति सुन पक्राउ, रसुवा वा सिन्धुपाल्चोक नाकाबाट आउँदै गरेको अथवा आएको यति किलो सुन पक्राउ भन्ने समाचार समय समयमा आउनुका साथै करोडौंको सुन आउने विषय, ल्याउने र तिनका संरक्षककोसमेत चर्चा हुने गरेको थियो।
त्यसैको पृष्ठभूमिमा सुन तस्करीको गम्भीर अनुसन्धान गर्ने र त्यसमा संलग्न जोसुकै भए पनि उन्मुक्ती नदिने भन्ने दावीसहित सरकारले समिति बनाएको थियो।
सुन मात्रै नभएर वहुक्षेत्रमा भइरहेको तस्करीले आक्रान्त जनताले समितिको समर्थन गरेका थिए। सुन तस्करीको विषयमा अनुसन्धान गर्न सरकारले सहसचिवको नेतृत्वमा बनाएको अधिकार सम्पन्न समितिले तस्करी गरेर ल्याइएको सुन भेट्ने, सुन तस्करीका असली मालिकलाई पक्रने र तिनका संरक्षकलाई समेत कानुनी पञ्जामा ल्याउने जनअपेक्षा थियो। जसले गर्दा उक्त समितिले त्यस तस्करी वा तस्करीसँग जोडिएको वा शाक्य हत्याकाण्डसँग जोडिएका भनिएका जोसुकै पक्राउ गर्दा पनि त्यसले जनअनुमोदन पाउने अवस्थाको निर्माण भएको थियो।
उक्त मुद्दासँग जोडिएर थुनिनु अगाडि अत्यन्त व्यवसायिक, आध्यात्मिकलगायत सकारात्मक छवि बनाएका अधिकृत पक्राउ पर्दा पनि जनताको अनुमोदन प्राप्त भयो।
तर जति जति अनुसन्धान/छानविन अगाडि बढ्दै गयो, त्यति त्यति त्यसबाट गरिएका जनअपेक्षा कुण्ठित हुँदै गए। नेपालमा सुन तस्करी लामो समयदेखि हुँदै आएको हो। त्यसलाई हालै मात्र म्याद सकिएको सुन तस्करी छानविन समितिको अनुसन्धानले प्रष्ट पारेको छ।
जहाँसम्म सुन तस्करीको मूल भत्काउने, संलग्न सम्पूर्णलाई कानुनी कठघरामा ल्याउने र भविश्यमा नेपालमा वा नेपालबाट हुने सुन तस्करीलाई असम्भव बनाउने काम भने अहिले पनि भएको छैन।
विगतमा सुन तस्करीका भरिया मात्रै समातिदै आएकोमा अहिले आएर तस्करीमा सहयोगी रहेको भन्दै केही पूर्व र वहालवाला प्रहरी समातिनुबाहेक छानविनले पनि कुनै नयाँ काम गर्न सकेन।
कसैलाई चित्त दुखे पनि भन्नै पर्छ-सुन तस्करीको यो चर्चित छानविनले अलिक समय सञ्चार माध्यमलाई मसला उपलव्ध गराउनेवाहेक कुनै ठोस परिणाम दिन सकेन। वा भनौ त्यस्तो परिणाम मुर्त रुपमा देखिएको छैन।
सुन तस्करीको छानविनले कुनै ठोस परिणाम दिएन भन्ने निष्कर्ष प्रस्तुत गर्दै गर्दा कतिपयलाई - ‘ओहो त्यति धेरै मान्छे पक्राउ परेर जेलमा छन्,’ भन्ने पनि लाग्ला तर मान्छेहरु पक्राउ पर्नु मात्रै समास्याको समाधान होइन।
भएको छानविनले मुलुकमा व्याप्त डरलाग्दो समस्या र त्यसको प्रभावको डरलाग्दो खाका त दुनियाँको सामुन्ने ल्याइदियो नै, त्यसको निम्ति छानविनको पहलकदमी लिने गृहमन्त्री , छानविन गर्न गठित सिंगो समिति र त्यसमा वाधा होइन सहयोगी बनेको प्रहरीको सिंगो जनशक्ति धन्यवादको पात्र छन्।
तथापी भन्नै पर्छ, ‘छानविन समितिले रहेको समस्या त औंल्यायो तर त्यसको समाधान हुने बाटोमा जान अझै थुप्रै काम बाँकी नै छ। दुःखका साथ लेख्नै पर्छ- छानविनले प्रवृतिको राम्रो पहिचान गर्यो तर त्यस प्रवृतिलाई रोक्न जे जस्ता पात्रमाथि धावा बोल्नुपर्थ्यो त्यो हुन सकेन।’
हो सुन तस्करीमा लामो समयदेखि संलग्न भनिएका चुडामणि उप्रेती ‘गोरे’ लगायत उनीहरूलाई सहयोग गर्ने भन्ने नाउँमा केही प्रहरीसमेत पक्राउ परे, तर ठूलो चर्चा गरिएका गोरे पनि सुन तस्करीको सञ्चालक नभएर ओसार पसारमा सहयोग गर्ने भरियाको नाइके वा सो सरह मात्रै रहेको त प्रमाणित भैसकेको छ। अनि उनलाई सहयोग गर्ने भनेर जो प्रहरी समातिएका छन्, उनीहरू मध्ये धेरैको त्यस कार्यमा संलग्नता मै आशंका गरिएको छ। केहीको चम्किलो विगतले गर्दा निजले तत्काल सम्हालेको जिम्मेवारीले निर्दिष्ट गरेको भूमिका निर्वाह गर्दा फसेको मान्नेको संख्या ठूलै छ।
अझै त्यसभन्दा पनि महत्वपूर्ण कुरा तस्करी भै नेपाल छिरेर हराएको ३४ किलो सुन कहाँ गयो भन्ने कुनै ठोस उत्तर सायद समितिसँग पनि छैन। त्यही सुन नभेटिएकै हुनाले मुद्दाको अन्तिम टुङ्गो हुँदासम्म अहिले थुनिएका थुप्रै व्यक्तीहरु प्रमाण अभावको कारण रिहा हुने सम्भावना छ।
हुन त कुनै आरोप लागेको व्यक्ति अदालतबाट छुट्ने वित्तिकै अदालत र न्यायाधीशको नियतमा प्रश्न उठाउन तम्सिने हाम्रो संस्कार नै भैसकेको छ। तर, सत्य के हो भने अदालतले भावना होइन तथ्य र प्रमाणमा टेकेर मात्रै फैसला गर्न सक्छ।
कतिपयलाई यो आरोपनै लाग्न सक्ला। तर, सुन तस्करीको छानविनले ठोस परिणाम ल्याउन सकेन भन्ने कुनै आरोप होइन यो वास्तविकता हो। सुन तस्करी केवल तस्करले चाहेर मात्रै हुनसक्ने कुरो होइन। यसको निम्ति ठूलो सञ्जाल चाहिन्छ, र नेपालमा हुने सुन तस्करीको पनि ठूलो जालो छ। त्यो जालो सुन तस्कर , तिनका भरिया अनि तिनीहरूलाई संरक्षण दिने भनिएका प्रहरीकै भरमा मात्र सम्भव छैन।
सहजतासाथ तस्करी हुन राजनीतिक, प्रशासनिक, व्यवसायिक अनि प्रहरीको सुनियोजित र सुविचारित सहकार्य चाहिन्छ। के भएको छानविन समितिले तस्करीको सञ्जालका अनिवार्य अन्य पक्षको विषयमा छानविन गर्यो? गरेकै रहेछ भने पनि के उनीहरू कानुनी पञ्जामा आए? त्यस्तो त देखिएन।
यस दौरान तस्करीका भरियाहरू, तिनका नाइके अनि उनीहरूसँग सम्पर्क भएकै आधारमा तस्करीका सहयोगी करार गरिएका केही थान भूपू तथा वहालवाला प्रहरीबाहेक अरू को नै पक्राउ परे त? कोही छैनन्।
तस्करीमा सहभागी वा सहयोगी जोसुकै कानुनको पञ्जामा पर्नुपर्छ , यदी सहभागी वा सहयोगी नभए पनि यदी भएको आशंका छ भने पनि जोसुकैलाई पक्राउ गरेर अनुसन्धान गर्न पाइन्छ। तर, कसलाई पक्रिने अनि कसलाई नपक्रने भन्ने विषयलाई सम्वन्धित व्यक्तीको पहुँच वा शक्ति केन्द्रसँगको सम्भावित कनेक्सनको आधारमा निर्क्योल गरिनु हुँदैन।
अझै सरकारले बनाएको छानविन समितिले यस प्रकरणको अनुसन्धान गर्दै गर्दा जब जब वर्तमान वा भूतपूर्व प्रहरी पक्राउ परे तब तब प्रहरी प्रमुखले आफ्नै संगठनका सदस्यको वचाउ नगरेको, अनुसन्धानमा अपनाउनुपर्ने फरक शैलीको अनुकरण गरेको विषयलाई समेत बचाऊ नगरेको भन्ने आरोप पनि सहन गर्नुपर्यो।
तर पनि छानविन स्वतन्त्र अनि दवाव-प्रभावरहित बनोस् भन्ने सदासयताले प्रहरी नेतृत्वले छानविन अनुसन्धानमा आवश्यक र मागिएको सहयोग गर्नेबाहेक अरू केही गर्न चाहेन र छानविनलाई स्वतन्त्र ढंगले अगाडि बढाउन नै सहयोग गर्यो। तर, जन समर्थन, अनुकुल समय अनि राज्यका निकायको सहयोगी व्यवहारका वावजुद परिणाम अपेक्षित आउन नसकेको सत्य नै हो।
हुन त माननीय गृह मन्त्रीज्यूले सुन तस्करीका ठूला माछा पक्राउ परिसके भनेर भन्ने गर्नुभएको छ। तर, पक्राउ परेका मान्छेको सूची, पृष्ठभूमि अनि आर्थिक अवस्था हेर्ने हो भने उनीहरू जनताले बुझेको जस्तो तस्करीको ठूला माछा हुनै सक्दैनन्।
यदी अहिले थुनिएकालाई नै सुन तस्करीका ठूला माछा मान्ने हो भने त जनताले बुझेको ‘ठूला माछा’ भन्ने विशेषणकै पुनः व्यख्या जरूरि हुन्छ।
खैर जे होस् सुन तस्करीको छानबिन हुनुले नेपालमा के कसरि तस्करी हुँदै आएको छ, नेपालका नाकाहरुको सुरक्षा अवस्था कस्तो छ अनि देशलाई डुबाएर पनि आफू उकासिने सोच कस्तो छ भन्ने संकेत गरेको छ।
यस छानविनको सफलता भनेको प्रवृति पहिचान हो, यस प्रवृतिका कारक पात्रको छेउछाउ पुग्न र उनीहरूलाई कठघरामा ल्याउन र त्यस तस्करीबाट लाभ लिनेको आम्दानीको बाटो सुकाउँदै उनीहरूलाई हत्कडी लगाउन त गर्नुपर्ने निक्कै छ।
अहिलेको निम्ति सुन तस्करीको अनुसन्धानलाई ‘सुन तस्करीको अनुसन्धान अर्थात हात लाग्यो शून्य’ भन्दा अन्याय नहोला।