आज बिहान जब मेरो मोवाइलमा नेपाल टेलिकमबाट मजदुर दिवसको बारेमा जानकारी दिदै शुभकामना प्राप्त भयो। तब, मजदुर दिवस र यसको सार्थकताका बारेमा मलाई सोच्न बाध्य बनायो।
आज मुलुकभर यो दिवस मनाउँदै गर्दा मेरो वरपरका कत्ति मजदुर बेखबर थिए मजदुर दिवसप्रति¸ मंगलबारको टंटलापुर घाममा पिच तयार पार्ने काममा खटिएका मजदुरहरु अलकत्रा पगाल्ने धुवाँवाट बच्न मास्क समेत लगाएका थिएनन्।
कतिपय मजदुरहरु खालीहात आगो बाल्न डिजेल राख्दै थिए तर उनका हातमा पञ्जा थिएनन्। मजदुर दिवसका बारेमा उनीहरू कसैलाई पनि अवगत थिएन। सायद नेपाल टेलीकमबाट आएको म्यासेज उनीहरुले पढ्न भ्याएका थिएनन् होला।
आठ घण्टा काम¸ आठ घण्टा आराम र आठ घण्टा मनोरन्जन भन्ने मूल नाराबाट उठेको विश्वभरिका श्रमिक मजदुर आन्दोलनले नेपालका श्रमिक मजदुर वर्गलाई किन छुन सकेको छैन? हामीले यसलाई गम्भीर भएर सोच्नु आवश्यक छ।
यीनै श्रमीक मजदुरहरुको बुई चढेर कति नेता भए¸ मन्त्री तथा प्रधानमन्त्री भए।
कतिपयलाई चुनाव जित्ने हतियार मजदुर हक अधिकारका नारा भए भने कतै मजदुर र श्रमिक माथि अनेकौं आश्वासन बाँढीए। तर, आजकासम्म श्रमिक मुक्ति आन्दोलनको अपूर्ण गीत गुन्जीरहेको छ र कहिलेसम्म थाहा छैन।
आफ्ना हक र अधिकारहरुको प्रयोग मजदुर वर्गले कहिले अनुभव गर्न पाउलान्? नयाँ संविधानवाट मजदुरको हक¸ अधिकार र स्वतन्त्रता मौलिक हकका रुपमा स्थापित भए पनि कार्यान्वयन पक्ष फितलो हुँदा सबै कुराहरु शब्द शब्दमा मात्र सजिएर बसेका छन्। अर्कोतर्फ श्रम ऐनको कार्यान्वयन विना मजदुरका समस्या ज्यूका त्यूँ हुने कुरामा कुनै द्विविधा छैन।
झन्डै ४० लाख नेपाली श्रमीकहरु विश्वका विभिन्न मुलुकमा श्रम बेचीरहेका छन्। श्रमको ज्यालाले ऊ र उसँग आश्रीत परिवारलाई लालनपोषण गर्नुपर्ने हुन्छ।
विदेशीएका कतिपय श्रमजीवी मजदुरहरुको ज्याला मात्र होइन कामको कुनै ग्यारेन्टी छैन। कतिपयले कारखानामा काम गर्दा गर्दै ज्यान गुमाएका छन्। अगभङ्ग भएका छन्। उनीहरुको कुनै विमा हुँदैन। यस्तो अवस्थामा काम छाडेका दिन ऊ सडकमा आउँनुपर्छ। उसका परिवारको विचल्ली हुन्छ। यस्ता वर्गमा पर्ने मजदुरको आवाज कसले सुनिदिने?
देश निर्माण गर्न मजदुरहरुको आवश्यकता पर्छ¸ युवाशक्तिको जरूरत हुन्छ। देशलाई जिवन्त राख्ने सन्जीवनी¸ वर्तमान र भविष्यका उज्जवल तारा हुन युवाहरु। तर, विडम्वना प्रत्येक वर्ष श्रमका लागि बाहिरिने युवाहरुलाई देशमा नै रोजगारको अवसर सृजना गर्न सकिएको छैन।
मे १ तारिखका दिन हरेक वर्ष प्रभातफेरि¸ र्याली¸ सभामा मात्र मजदुरको हकहितका पक्षमा चर्का भाषणबाजी गरेर मे दिवस मनाउनुमा कुनै सार्थकता छैन। जबसम्म टन्टलापुर गर्मीमा मे दिवसका दिन खटिएका ती मजदुरहरु भनौं वा स्वदेश र विदेशमा रहेका सवै मजदुर तथा श्रमीकहरुले आफ्ना सबै अधिकारको पूर्ण र सार्थक रुपमा प्रयोग गर्न सक्दैनन्।
अन्यथा हामीले मनाउने मजदुर दिवस सधै सन्देहको घेरामा रहनेछ। यदी साच्चिकै सत्ताको बागडोर सम्हालेका राजनीतिक दलहरु यतिवेला जनताप्रति वफादार र इमान्दार छन्, देश निर्माणका लागी चिन्तित र गम्भिर छन् भने अबको पालो भाषण होईन कामलाई महत्व दिने हो।
बन्द हड्तालाई बहिष्कार गरेर कामलाई प्राथमिकता मजदुरलाई उचित सुविधा¸ काम गर्ने संस्कार र काम गर्नेप्रति सम्मानको भावना विकास गरौं।