पढ्न सकिनँ। पढ्न मन लागेन । तर धेरै नपढिकन फुटबल र क्रिकेट खेलेर बस्ने मान्छेहरू पनि यो संसारमा इज्जत पाएकै छन्। मसँग एसएलसी फेल हुने मेरो साथी पनि अहिले व्यापार गरेर लखपति भएकै छ। मर्सिडिज चढेर हिँड्छ। नेपाली फिल्मका हिरो पनि म भन्दा धेरै जान्ने त होइन भन्छन्। त्यै पनि सबैले हाइ हाइ गर्छन्। आखिर पढाईमात्र पनि त सबै थोक होइन रहेछ।
मलाई पनि फेसबुक चलाउन आउँछ। डिभी परेर अमेरिका गएका साथीहरु कोही रेष्टुरेन्टमा काम गर्छन् त कोही स्टोरमा। सबै राम्रा राम्रा फोटा हाल्छन्। काठमाडौं बस्ने दाजुभाइ नयाँ नयाँ मोबाइल किनेर सेल्फी उतार्छन्। म कसरी माटो खेलाएर बस्ने?
मलाई माटो खेलाउन मन लाग्दैन। न मलाई हलो चलाउननै मन छ। सरकारले धानको राम्रो मूल्य दिँदैन। न धान खेती गरेर म राम्रो घर गाडी नै गर्न सक्छु। नेपाली माटोमा मैले बगाएको पसिनाको मूल्य राष्ट्रियता मात्र हो भने मलाई माफ गर्नुहोस्। मलाई राष्ट्रवाद भन्दा अमेरिकन चप्सीकै भोक बढी लाग्छ।
मलाई डिभी त भाग्यमै लेखेको छैन। मेरो हिरो बन्ने थुतुनो पनि छैन। व्यापार ज्योतिषले मलाई फाप्दै फाप्दैन भनेको छ। नेपाली क्रिकेट टिमले दर्जनलाई खेलाउँछ। बेरोजगारीमा ताली बजाउने म जस्ता लाखौं छन्।
देशको कुल आयको एक चोथाइ अरबको नेपालीको पसिनाले दिन्छ। तर अरबको मरुभूमिमा बगेको नेपाली पसिनाले भिजेर नेपालको झण्डा नै लाजले लत्रिन्छ। अरबको पसिनाले भिजेको झण्डाको राष्ट्रियता ठूलो कि नेपाली माटोमा बगेको पसिनाले भिजेको झण्डाको राष्ट्रियता?
मलाई पनि रहर छैन मरुभूमिमा आफ्नो पसिना चुहाउने।
मलाई पनि रहर छैन साईँलीसँग विछोडमा रात बिताउने।
मलाई पनि रहर छैन दशैंमा आमाको हातको टीका टुटाउने।
मलाई पनि रहर छैन तिहारमा बहिनीको हातको माला छुटाउने।
मलाई पनि रहर छैन कफनमा घरको आँगन सजाउने।
साथीले सोध्यो, लौ भन् कतार जान्छस् कि मलेसिया?
काम सानो ठूलो हुँदैन त भन्छन्। तर, आफ्नो घरमा भाँडा माझ्नु र अर्काको घरमा शौचालय सफा गर्नुमा पक्कै पनि धेरै नै अन्तर हुन्छ।
मैले भनेँ, ‘कन्स्ट्रक्सनमा साबेल चलाउनुपर्ने हो कि एयरपोर्टको शौचालयमा सफाई? लाज हुन्छ होला भो।’
उसले भन्यो, हाम्रो देशको प्रधानमन्त्रीलाई माग्न त लाज लाग्दैन भने तँलाई गरिखान के लाज। भूँइचालोले भत्किएको हाम्रो स्कूल भारतले बनाइदिनुपर्छ। रेल चीनले। राष्ट्रिय झण्डा मागी खाने टालो न हो। सुकेर फरफराओस् कि भिजेर लत्रियोस्।
हुन त गोपाल योन्जनले ‘मागेको धोतीले मेरो लाज छोपिन्न....’ भनेर गीत गाउँथे। तर आज नेपाल आमाको लाज नै मागेको फरियाले छोपिएको छ।
जडिबुटीको खेती गर्न हुन्थ्यो। धन्वन्तरीको आयुर्वेद इशुको एलोप्याथीको अगाडि फ्लप भैगो।
मुस्ताङमा गएर स्याउ खेती गरौं, कुहिएर रूखैमा मासिन्छ। काठमाडौं पुर्याउँनै गाह्रो।
चिया खेती गरौं, दार्जिलिङ भारतले खाइहाल्यो। इलामे चियाले आफ्नै मन खान्न।
बाउनले च्याउ खान थालिहाले क्यारे। बरू च्याउ खेती कसो होला। च्याउ साह्रै पोसिलो। पाल टाँगिदिए आँगनमै पलाइ हाल्छ। इशूको साम्राज्यमा कल्कि आउलान् भन्ने डर कसैलाई छैन क्यारे।
भन्न त कल्कि शाम्भालामा जन्मिन्छन् भन्थे। शाम्भाला भनेको शान्ति क्षेत्र। नेपाललाई शान्ति क्षेत्र घोषणा गर्ने विरेन्द्रलाई ईशूको षड्यन्त्रले खाइहाल्यो। अब यत्रो कोलाहलमा उनको पदचाप के पर्थ्यो। नेपाली चेतनाले इशूको साम्राज्यमा भिख मागेको हेरेर बसिराछन् बैकुण्ठबाट विष्णु।
प्रणाम हजुरलाइ, मैले च्याउ खेती गर्ने निधो गरेँ।