एक भुपरिवेष्ठित देशमा कसरी पानिजहाज चल्छ र कहाँबाट चलाउने अनि कसले चलाउने भन्ने प्रश्न सबै नेपालीको मनमा उब्जिएको छ।
विश्वका ठूला भुपरिवेष्ठित देशहरू मङ्गोलिया, इथोयोपिया, लाओस, मोल्डोभाजस्ता देशले सयौंको संख्यामा आफ्नो राष्ट्रिय झण्डा फहराएर समुन्द्रमा पानीजहाज चलाइरहेका छन्।
नेपालले पनि आफ्नै राष्ट्रिय झण्डा सूर्य चन्द्र अंकित ध्वजा फरफराएर समुन्द्रमा चलाउन सक्छ। नेपालमा पनि ५ सय टनका जहाज आउनेसक्ने सम्भावना छ।
५०० टनका जहाजलाई नदीमा ७ मिटर गहिराई भए पुग्छ। समुन्द्र र पानी जहाज भएका देशले विभिन्न ठाउँमा ३०० कि.मि. सम्म बाध बनाएर जहाज चलाइरहेका छन्।
नेपालले गण्डकी, कोशी र कर्णाली नदिमा पानीजहाज चलाउन सक्छ। गण्डकी नदी गएर मिसिने गंगासागरको कालुघाट सीमाबाट २०० कि.मि. भित्र पर्ने र यो स्थान तत्कालका निम्ति पानी जहाज चलाउने गन्तव्यको रूपमा विकाश गर्न सकिन्छ। कर्णालीमा पनि भारतको घाग्राहुँदै जहाज चलाउन सकिन्छ।
नेपालले पानीजहाज ल्याइराख्दा धेरै समस्या र चुनौती देखापर्छ। पानीजहाजमा सबै तहका कर्मचारीलाई (सिम्यान बुक) परिचय पत्र अनिवार्य चाहिन्छ। यो परिचय पत्र एक राहादानी जस्तै हो। यो सबै मुलुकको आ-आफ्नो राष्ट्रिय सिम्यान बुक हुन्छ। तर नेपालको आफ्नो राष्ट्रिय सिम्यान बुक छैन।
यद्यपी अहिले नेपालीहरू वैदेशिक रोजगारको शिलशिलामा संसारको विभिन्न देशका विभिन्न तहमा पानीजहाजमा कार्यरत छन्। आफ्नो मुलुकको सिम्यान बुक नहुँदा महङ्गो पैसा खर्च गरेर बेलिज, पानामा, पलाउजस्ता देशको सिम्यान बुक बनाउन बाध्य छन्। जसको खासै महत्व हुँदैन।
ठूला जहाजका ठूला कम्पनीले आफ्नो मुलुकको राष्ट्रिय सिम्यान बुक खोज्दा नेपालीले यसको उत्तर दिने ठाउँ हुँदैन।
कतिपय नेपाली दलालको ठगीमा परेर नक्कली सिम्यान बुक भएकोमा एरपोर्टबाटै फर्किनुपर्ने बाध्यता हुन्छ। नेपालले पानीजहाजको कुराभन्दा पहिला आफ्नो राष्ट्रिय सिम्यान बुक बनाउन हामी जस्ता विदेशमा आएर पानी जहाजमा काम गर्नेका लागि महत्वपूर्ण हुन्छ।
पानीजहाजमा मुख्य दुई विभाग हुन्छ। ‘डेक’ र ‘इन्जिन’ डेक भनेको जहाँबाट जहाज चलाउने योजना बन्छ र चलाइन्छ। यसको नेतृत्व स्वयम् क्याप्टेनले गर्छन् र इन्जिनको नेतृत्व मुख्य इन्जिनियरले गर्छन्।
एउटा जहाजमा दसदेखि अठार जनाको चालकदल सदस्य हुन्छन्। यिनीहरू सबैको नेतृत्व क्याप्टेनले नै गर्छन्।
क्याप्टेन बन्नलाई कम्तीमा सात वर्ष जति लाग्छ। पहिला सिम्यान पद मा कार्यरत भइ तीन वर्षको अनुभव पछि अफिसर तहको परीक्षा दिने नियम छ।
तेस्रो, दोस्रो र मुख्य अफिसर हुँदै क्याप्टेन हुने नियम छ। यसका लागि हरेक तालिम र परीक्षा दिनु अनिवार्य हुन्छ। चालक दलको सदस्य हुन पनि नेपालीलाई धेरै कठिनको विषय छ।
पानीजहाज सम्बन्धि पढाई हुने मारिटाइम कलेज हाम्रो देशमा छैन। अहिले केही कम संख्यामा मात्र नेपाली चालक दलका सदस्य छन्। एक नेपाली तीन वर्षसम्म आफ्नो अनुभव निकाल्छ तर उसले कहाँ गएर अफिसर तहको परीक्षा दिने भन्ने कुरामा निराश हुन्छ।
अस्ट्रेलिया, युकेजस्ता देशले अर्को देशका नागरिकलाई परीक्षामा सहभागी त गराउँछ तर शुल्क धेरै महंगो हुन्छ। जस्ले गर्दा नेपालीलाई सिम्यान पदमै वर्षौसम्म काम गर्न बाध्य बनाउँछ।
छिमेकि भारत र चीनले आफ्ना नागरिकलाई मात्र सिम्यान बुक र अफिसर तहको परीक्षामा सहभागी गराउँन्।
त्यसैले हाम्रो देशमा पनि सिम्यान बुक र पानी जहाज सम्बन्धी कलेज स्थापना गराउन सरकारी तहबाट पहल गर्न जरूरी देखिन्छ।
यी सबै भौतिक पूर्वाधार पूरा गरे हामी पनि हाम्रो देशको कोशी, कर्णाली र गण्डकीमा पानीजहाज चलाउन सक्छौ।
(लेखक पानीजहाज चालक दलका सदस्य हुन्।)