पुस २२ गते। शनिबारको साँझ।
पाँच बजेर २० मिनेट गएको थियो। विराटनगर एरपोर्टबाट यति एयरको विमान काठमाडौं उड्नेबित्तिकै एकाएक सबै यात्रु हाँसे।
किन हाँसे भन्ने खुलदुली मलाई भयो। यो खुल्दुली तपाईंलाई पनि भयो होला। तपाईंले सोचेजस्तो बल्लतल्ल जहाज उडेर यात्रुहरू हाँसेका हैनन्। कारण के थियो त? खुल्दुली मेट्नुअघि त्यस दिनको बारेमा केही बताउँ।
त्यस दिन पहिलो फ्लाइट ९ बजे आसपास थियो। त्यसमै यात्रा गर्न मैले पनि टिकट लिएको थिएँ। साथीहरूले तिमी त पक्कै फर्केर आउँछौ, बिहान फ्लाइट हुँदैन भन्दै थिए। नभन्दै ८ बजे नै एयरपोर्ट पुग्दा थाहा भयो, जहाज उड्ने संकेत छैन। बिहानैदेखि हुस्सुले एयरपोर्ट पूरै डम्मै थियो। चिसो यति धेरै थियो, हातहरू ठिहिर्याइरहेका थिए। केही दिन अघिदेखि नै मौसममा भएको बदलीका कारण राम्ररी घामको मुख हेर्न पाइएको थिएन।
जहाज त कुर्नै पर्यो। म नजिकै एक दाइको कोठामा गएर बसेँ। जहाज आउने थाहा पाएपछि एयरपोर्ट आउँला भन्ने भयो। जतिपटक फोन गर्दा पनि जहाज उड्ने संकेत पाइएन। तै टिकट क्यान्सिल गरिसकेको थिइनँ, सिरकभित्र गुटमुटिएर बसेको थिएँ।
दिउँसो साढे चार बजेतिर फोन गर्दा एक्कासि मलाई उताबाट कर्मचारीले झर्किंदै भने, ‘तपाईं कहाँ हुनुहुन्छ जहाज आउन लागिसक्यो।’
बिहानदेखि सुस्ताएका उनलाई एक्कासि भिड थामिनसक्नु भयो होला सायद। हत्तनपत्त मैले पनि नजिकै भएको बताएँ। यस्तो लाग्यो, जहाज ल्यान्ड हुनै आँट्यो।
जिन्दगीमा पाएको कुरा भन्दा गुमेको कुरा ठूलो हुन्छ। कतै जहाज छुट्ला भन्ने पिर मनमा पर्यो। हतारिएर निस्केँ। लगभग चार किलोमिटर दुरीमा बसेको थिएँ म। जाने रिक्सा पनि पाइनँ। दौडदै एक किलोमिटर त आफैंले हिडेरै काटेँ। बल्ल सफारी रिक्सा भेटेपछि सय रुपैयाँ कबुलेर कुदियो।
एयरपोर्ट एक्कासि भरिभराउ भएको थियो। धरानभन्दा परदेखि बिहान ७ बजे नै आइपुगेकाहरू साँझ उड्न पाउँदै थिए। कोही भने जहाजको टिकट क्यान्सिल गरी भर्खरै जिप रिजर्भ गरेर काठमाडौं हिडे रे भन्ने पनि सुनियो।
म उड्ने जहाज आइपुगेको थिएन। अझ भनौं कुनै पनि जहाज आइपुगेको रहेनछ। बोर्डिङ पास लिन लाइन लागेको बेला मेरा अघिल्तिरका एक साथी छक्क पर्दै काउन्टरमा सोध्दै थिए, ‘मेरो पनि फस्ट फ्लाइटमै थियो त।’
‘खै तपाईंले त आधा घन्टाअघि नै भोलिलाई सारिसक्नु भएको रहेछ।’
‘हो र, खै एजेन्टले गरिदियो होला, लौन मिलाइदिनु पर्यो आजै।’
‘सिट गैसक्यो, सरी’
उनीहरूको संवाद सुन्दा धन्न मैले क्यान्सिल गरेनछु भन्ने भयो। एक मन त गाडीमै जाउँ जस्तो भैसकेको थियो। साँझको गाडीमा भोलिपल्ट बिहान त काठमाडौं नै पुगिन्थ्यो। कुनै बेला सातादिन जहाज नउडेका पनि छन्। अर्को मन भने हेरौं न भन्दै बिहान ९ बजेको टिकट साँझसम्म कुरेर बसियो। हातमा बोर्डिङ पास पर्यो। चेकजाँचपछि वेटिङ भरिभराउ थियो। मौसम हेर्दा मान्छे जहाज ल्यान्ड हुनेमा अझै पनि विश्वस्त हुन सकिरहेका थिएनन्।
सुरुमा नेपाल एरलाइन्सले ल्यान्ड गर्दा सबैले तालि बजाए। बुद्ध एयरको जहाज पनि ल्यान्ड ग¥यो। यति एयर आइनपुग्दासम्म म भने ढुक्क हुन सकिनँ। वेटिङमा पनि चिसोले बस्न सकिने स्थिति थिएन। एकैछिनमा यतिको जहाज आइपुग्यो। मन ढक्क फुल्यो। मैले घर एसएमएस गरेँ, ‘आइ एम कमिङ टुडे, प्लेन भर्खर आइपुग्यो।’
यात्रुलाई जहाज चढ्न बोलाइयो। ह्विलचियरमा बसेकी दिदीलाई हुलमुलमा मानिसले धकेल्दै हिँडेको देख्दा दुःख लाग्यो। उनको खुट्टामा प्लास्टर गरेको थियो। म र केही यात्रु मिलेर हातले घेरा बनाएर उहाँ प्राथमिकतामा जाने बाटो बनायौं। विमान चढ्ने सिलसिलामा उहाँलाई एयरलाइन्सका कर्मचारीले सघाएको प्रशंसनीय थियो। तै ह्विलचेयरलाई प्लेन भित्रसम्म गुडेरै लैजान मिल्ने भए कति सजिलो हुन्थ्यो होला है?
विस्तारै सबै यात्रुले सिटबेल्ट कसेपछि जहाजले गति लिन सुरु गर्यो।
जहाज भित्र पसेपछि अब यहाँबाट उडिहालोस्, काठमाडौंमा त जसै ल्यान्ड गर्छ भन्ने भयो। साँझ ५ बजेर २० मिनेट जाँदा, जहाजले भुइँ छाडेको एक मिनेटभित्रै सबै जना ठूलो स्वरमा गललल हाँस्न थाले।
मलाई अचम्म लाग्यो।
यताउता हेरेको त जहाजभित्र झलमल्ल घाम लागिरहेको थियो। सुर्य बादलको ब्लाङकेटभन्दा माथि चम्किरहेको देखियो। यतिका दिन घामको मुख नदेखेकालाई हाँसो लाग्नु स्वाभाविक थियो।
‘मोरो याँ यसरी बस्या रैछ र पो तल जाडो भाको,’ आडैकी आमाले हँसाउनुभयो। हाँस्न र खुसी हुन ठूलो उपहार चाहिँदो रहेनछ, साना साना खुसीले पनि धेरैका मुहारमा ठूलो उज्यालो ल्याउँदो रहेछ।
हुन पनि तीन दिनको बसाइमा विराटनगरमाथि बल्ल राम्ररी घाम देख्न पाइयो। सबैको झैं मेरो मन पनि खुसीले चंगा भयो।