गएको दसैंमा घर जाँदा हजुरआमाले भन्नुभो, ‘जाँचसाँच सकेर यसपालि चैँ अल्लि फिरेर आउँछे कि भनेको त...!’
हजुरआमालाई म मोटाएको हेर्ने खुब रहर छ। आफूलाई मान्छेले दुब्ली भनेको सुन्नु नपरोस् भन्ने चाहना ममा पनि कम छैन। तर लाग्छ, यो ज्यानलाई हामी दुवैप्रति कुनै सहानुभूति छैन।
गएको डेढदुई महिना थेसिस गर्ने क्रममा निकै व्यस्त रहेँ। बिहानदेखि बेलुकीसम्म ल्यापटप हेरिरहँदा आँखा तिरमिराए, ढाड दुख्यो, पिठ्यूँको हड्डीले आफैँलाई बिझायो। जतिजति विषयमा डुब्दै गएँ, उतिउति समय नपुगेको भान भो। सामग्री पहिल्यै जम्मा गरिसकेकी हुँदा मजाले भ्याइहाल्छु नि भनेर बसेँ, तर गर्दै जाँदा अल्लि पहिल्यैदेखि थाल्नुपर्ने रहेछ भनेर थकथकी लागिरह्यो।
कानून संकायको पाँच वर्षे बीए.एल्एलबी कार्यक्रममा हरेक वर्षजस्तो सेमिनार पेपर तयार गर्नुपर्छ, तैपनि साइटेसनका नियम जहिल्यै बिर्सन्छु। तर यसपालि त साइटेसन गर्दा समेत रमाइलो लाग्यो। प्रिन्टेड कपी हातमा लिएको दिन मनमा एकप्रकारको स्वाभिमान चुलियो। गर्वको सानोतिनो पहाडै उभियो भन्दा पनि अतिशयोक्ति नहोला। अघिल्लो दिन आफूले चलाउने टेलिभिजन कार्यक्रमका लागि मेकअप गर्न बस्दा मेकअप गर्दिने दिदीले गाला छाम्दै भन्नुभएको थियो, ‘यो दुर्गाऽऽऽऽऽ...., फेरि दुब्लाएछ!’ हातमा थेसिसको प्रिन्टेड कपी लिएका दिन त दुब्लाएकोमा पनि दुःख लागेन। यो सधैँ मेरो खातामा रहिरहने सम्पत्ति हो भन्ने अनुभूतिले दुई महिनादेखिको थकाइ असुलउपर गरेझैँ भो।
प्रिन्टिङ हाउसबाट निस्कनै लागेकी थिएँ, झट्ट केही सम्झेँ। फरक्क फर्केर भनेँ, ‘दाइ त्यो डेक्सटपको थेसिस सिफ्ट डिलिट गर्दिनुस् त।’ उनले मेरा मुखमा पुलुक्क हेरे र मैले भने बमोजिम गरे।
यो त्यही ‘सिफ्ट डिलिट’ ले जन्माएको लेख हो।
केही समयअघि मात्र त्रिभुवन विश्वविद्यालय हाताभित्रै खुलेआम, विश्वविद्यालयका पदाधिकारीकै मिलेमतोमा थेसिस बिक्री हुने गरेका समाचार छापिए। आङ्गिक क्याम्पसहरू यसमा अझ अघि देखिए। बौद्धिक भनेर गनिएका वर्गबाटै अर्काको बुद्धि चोरिएका लाजमर्दा घटना सप्रमाण मिडियामा आए।
थेसिसबाट सुरू भएको बौद्धिक चोरीको बहस अहिले केही मात्रामा भएपनि सेलाएको छ, तर थेसिसको चोरी भने सेलाएको छैन। बौद्धिकहरू थेसिसमा विकृति बढ्नुको कारण चोरी मापन गर्ने संयन्त्र तयार गर्न नसक्नु वा एउटै सुपरभाइजरलाई धेरै विद्यार्थीको जिम्मा लगाइनु आदिलाई औँल्याइरहँदा स्नातक पहिलो वर्षदेखि सेमिनार पेपर गर्दै आइरहेकी म भने खोट अन्तै देख्दै छु। यस लेखमा म कतै आफैँ त कतै आम विद्यार्थीको प्रतिनिधी बनेर तिनैलाई चिर्ने प्रयत्न गर्दैछु।
थेसिसका प्रकारएकजनाको विचार सारे प्लेजरिजम, धेरैको सारे रिसर्च भन्ने त विश्वप्रख्यात भनाइ नै छ, भलै यो भनाइ स्टिभन राइट, विल्सन मिज्नर वा जोन बर्क कसको हो भन्नेमै अलमल किन नहोस्। रिसर्चको सुरुवाती कक्षामा रिसर्चको महत्त्व भन्दा शिक्षकले ठट्टामा भनेको यो वाक्यले मनमा डेरा जमाएको थियो। शिक्षकहरूले भने, "सार। तर साइटेसनसहित सार। आफ्नो तर्कलाई टेवा दिनलाई सार।" समय बिते, हामीले साइटेसनका नियम अल्मल्लिएका ठाऊँमा साइटेसनबिनै सार्यौँ। आर्ग्युमेन्ट बनाउन जानेनौँ, वाक्यलाई एक्टिभमा भए प्यासिभ, प्यासिभमा भए एक्टिभमा लगेर सार्यौँ। कतिपय ठाऊँमा पुरै अनुच्छेद वा पानैभरि एउटै साइटेसन कति राख्नु भनेर साइटेसन फालेर सार्यौँ। अर्को-अर्को पल्टदेखि हाम्रा पेपर ध्यान दिएर कसैले पढ्दो रहेनछ भन्ने चाल पाएर सार्यौँ। जेहोस् सारिरह्यौँ र झारा टारिरह्यौँ।
इन्टरनेटमा पाइने सामग्री सारेर झारा टारिने यी पहिलो प्रकारका थेसिस वा मिनी थेसिस (सेमिनार) हुन्। तपाई यसलाई चोरीको एउटा प्रकार पनि भन्न सक्नुहुन्छ, तर विद्यार्थीवर्ग यसलाई चोरी मान्दैन। गतवर्ष एकजना सिनियरले थेसिसको फाइनल कपीमा समेत इन्टरनेटबाट सारेका अनुच्छेद जस्ताको तस्तै, फन्ट पनि नमिलाई राखेर पनि पास भएबाट हामी विद्यार्थी विश्वस्त भएका छौँ, हाम्रो विश्वविद्यालयले पनि यसलाई चोरी मान्दो रहेनछ।
अर्कोथरी थेसिस हो मगुवा थेसिस। नामबाटै स्पष्ट यसलाई किन्नु पर्दैन। बस्, माग्नुपर्ने मान्छेसित नजिकको सम्बन्ध भए पुग्छ। कलेज फरक भए बेस, तर एउटै कलेज भएपनि ब्याच फरक भए समस्या पर्दैन। कतिले अलिअलि तलमाथि पनि गर्छन्, कतिले त्यो गर्न पनि जरूरी ठान्दैनन्। यसप्रकारको थेसिस थाहा पाए मात्र चोरी हो तर अहिलेसम्म थाहा पाएर स्वीकृत नभएको रेकर्ड नहुँदा यसलाई पनि थेसिसकै प्रकारमा राखौँ, चोरीका प्रकार भनी नहालौँ।
तेस्रो प्रकारको थेसिस मगुवा थेसिससँगै मिल्दोजुल्दो छ तर यसमा माथिल्लोमा भएको एउटा तत्व हुँदैन- स्वीकृति। यसप्रकारका थेसिस जुनियरले कलेजको लाइब्रेरीमा भएका पुराना थेसिसबाट फोटोकपी गरेर वा फोटो खिचेर लान्छन् र सार्छन्। हामी विद्यार्थीका आँखामा यो थेसिस चाहिँ सही अर्थमा चोरी हो तर तिनैका लागि मात्र, जसका थेसिस चोरिएका हुन्छन्।
चौँथो प्रकारको थेसिस चाहिँ समाचारमा आएजस्तै पैसा दिएर किनिने थेसिस हो जुन कलेजबाहिर पुस्तकपसलहरूमा सजिलै पाइन्छ। विषय हेरी १५ देखि ३० हजारसम्म पर्ने यसप्रकारका थेसिस विशेष गरी ‘बेफुर्सदी’ जागिरेहरूले किन्ने हुँदा उनीहरूका नजरमा यो पनि बाध्यताको उपज सम्म होला, सीधै बेइमानी होइन।
पाँचौँ र अन्तिम प्रकारको थेसिस चाहिँ अपवाद हो। यस्ताखाले थेसिस प्रशस्त मिहिनेत लगाएर इमान्दारीका साथ कलेज वा विश्वविद्यालयका लागि नभई आफ्नै सन्तुष्टिका लागि लेखिएका हुन्छन्। तर अपवादका बारेमा कुरा गर्नु यस लेखको उद्देश्य नभएकाले त्यतापट्टि नजाऊँ।
झारा टराइ प्रवृत्तिको सुरुवात ब्याचलर पहिलो वर्षको सेमिनार नन क्रेडिट विषय थियो। तर पहिलोचोटि सेमिनार गर्न लागेको उत्साहमा तथ्याङ्क खोज्न मलगायत धेरै साथीहरू विभिन्न सरकारी तथा गैरसरकारी कार्यालय धायौँ। कोही कलेजको स्ट्याम्प हानेको चिठी बोकेर त कोही चिनेजानेका मान्छेको नाम बोकेर। झोलामा बोकेर हिँड्दाहिँड्दै कतिको खाम थोत्रियो, कतिका सेमिनार प्रेजेन्ट गर्ने दिन आइपुगे तर तथ्याङ्क आइपुगेन। आज पाँचौ वर्षमा बुझाइएका सय पेजभन्दा मोटो थेसिस हेर्ने हो भने थोरैमा मात्र टेबल, ग्राफ वा चार्ट भेटाइएला।
संविधानमा मात्र सार्वभौँमसत्तासम्पन्न हामी जनता आफ्नै देशमा भने धेरैजसो ठाऊँमा हेपिन्छौँ। कुनै विद्यार्थी रिसर्चका लागि तथ्याङ्क उपलब्ध गराइपाउने निवेदनसहित आएको छ भने हाम्रा सरकारी कार्यालयहरू रुखोगरी व्यस्त भइदिन्छन्। सोर्सफोर्स भएकाहरूले केही न केही हात पार्छन्, नत्र धेरैजसो चाहिँ तीतो अनुभवसहित 'अब यस्तो विषयमा त मरेपनि गर्दिनँ' भन्दै फर्कन्छन्। म आफैँले कतिपय ठाऊँमा कलेजको चिठी काम नलागेपछि पत्रकारको परिचयपत्र निकालेर एक पाना तथ्याङ्कका लागि झगडा गरेकी छु। सरकारी निकायका वेवसाइट न कहिल्यै अध्यावधिक हुन्छन्, न त्यहाँ नम्बर दिइएका फोन नै उठ्छन्। ईख लिएर कार्यालयमै जानेहरू दिनभरि पर्खेर पनि रित्तै हात फर्कन्छन् भने कुनचाहिँ विद्यार्थीमा राम्ररी रिसर्च गर्ने जोश बाँकी रहन्छ?
खै पढ्ने ठाऊँ?जमलमा नयाँ खुलेको विश्वज्योति मलअगाडि एउटा बुढो सेतो घर छ। यो बुढो घरको नाम केन्द्रिय कानून पुस्तकालय हो जसलाई कानून पढ्ने र कानुनी क्षेत्रसँग सरोकार राख्ने केहीले मात्र चिन्छन्। जेठ १२ को भूकम्पले कतै चर्किएको त कतै चोइटा उप्किएको यो घरमा हरियो स्टिकर कसैले खोज्दैन, किनभने कानूनको यत्तिको पुस्तकालय अन्त छैन। मान्छेको चाप पातलो छ, बाक्लो थेग्न सक्ने न पुस्तकालयको क्षमता छ न चाहना नै। एक वर्षअघि भनसुन गर्दा वाईफाईको पासवर्ड पाइन्थ्यो, अहिले इन्टरनेट चलाउनु परे पुस्तकालयकै पाँचवटा कम्प्युटरको सहारा लिनुपर्छ। रेष्टुरेन्टहरूले समेत सित्तैमा दिने वाईफाई विद्यार्थीलाई दिन पुस्तकालयले किन कन्जुस्याँइ गरेको हो बुझ्न सकिन्न। बाहिर पढेर वा देखेर आउनेहरूले दिनरात खुल्ला रहने, कफिको समेत व्यवस्था गरिएका विशाल, शान्त लाइब्रेरीका कुरा गरिरहँदा हाम्रा लागि भने सामान्य सुविधा भएको र आदरपूर्वक पढ्न पाइने पुस्तकालय समेत अझै सपनै छन्।
कानूनको त यत्तिको भएपनि छ, अरू विषयको त यति पनि होला नहोला। पार्टीका घोषणापत्रमा मेट्रो रेलहरूभन्दा साना सपना अटाउँदैनन्। रिसर्चको पहिलो खुड्किलो भनेकै लिटरेचर रिभ्यू हो। हाम्रा सरकारी कलेजका लाइब्रेरीमा किताब जति पुराना छन्, त्योभन्दा बढी पुराना त्यहाँका कर्मचारीका 'एटिच्युड' छन्। प्राइभेट कलेजका लाइब्रेरी वेबसाइटमा मात्रै चम्किन्छन्, बिल्डिङमा भने कुनै अँध्यारो कुनामा हराउँछन्। इन्टरनेटमा किनेर पढ्नुपर्ने सामग्रीको पहुँच नभएपछि विद्यार्थीले थेसिसमा विकिपेडियाबाट नसारे कहाँबाट सार्छन् त?
डिग्रीको लोभ र एकराते पढाइ हरेक सालजसो, विशेष गरी स्नातकको परीक्षा फर्म खुल्ने बेला सरकारी कलेजमा फर्म बुझाउनेहरूको लामो लाइन लाग्छ। आर्ट्सका धेरैजसो विषयको परीक्षा दिन कक्षामा उपस्थित हुन जरूरी पनि छैन। मसँगै बीए.एल्एलबी पढेका कतिपय साथीहरूले समानान्तर रूपमा बी.ए.को जाँच पनि दिए। अझै पनि धेरै भाइबहिनीहरू यसरी सँगसँगै दुईतिर स्नातक पढ्दैछन्, जबकि हामीले पढिरहेको कोर्समा बी.ए. र एल्.एल्.बी. दुवै छ। हामीमा डिग्रीको यतिसाह्रो लोभ देख्ता लाग्छ, यस्तै लोभ र भोक ज्ञानका लागि किन जागेन?
जो नियमित कक्षा जाँदैनन्, उनीहरूको परीक्षाको भर पुस्तक पसलमा पाइने अरूका नोट्स र गेस पेपर हुन्। जसका अधिकांश पाना परीक्षा केन्द्रको शौचालयमा खात लागेबाटै थाहा हुन्छ एकरातमा ती पुरै पढेर भ्याइएनन्। परीक्षा सकिएसँगै आयु सकिने यस्तो पढाइ फेसबुकको वालमा 'अबाउट' लम्ब्याउन बाहेक अन्त काम लाग्दैन। नत्र आवरणमा पढाइ र डिग्रीको लामो बखान राखेका लेखकहरूका पुस्तकमा नकलटाँसका लाजलाग्दा उदाहरण देखिने थिएनन्।
नियमित कक्षा नबस्ने विद्यार्थीले पढ्दै पढ्दैनन् भन्ने मेरो आशय होइन। संसारमा कतिपय विषयहरूमा अन्य विश्वविद्यालयभन्दा खुला विश्वविद्यालय प्रभावकारी भएका उदाहरण पनि छन्। तर खुला विश्वविद्यालय र हाम्रो एकराते पढाइका बीच पढाइने तौरतरिकादेखि गुणस्तरसम्म आकाश जमीनको फरक छ। नामका पछि झुण्ड्याउन बाहेक काम नलाग्ने स्नातकको बलमा 'मास्टर्स पनि गर्दिराखौँ न त' भनेर पढ्ने विद्यार्थीबाट ६ महिना खर्चेर कुनै गम्भीर विषयमा थेसिसको अपेक्षा गर्नु कत्तिको सुहाउँदो कुरा हो?
लिगबाहिर हाम्फालेको शिक्षामाथि औँल्याइएका समस्या त छामरै पत्ता लाग्ने बाहिरी रोग मात्र हुन्। तर हाम्रो शिक्षालाई त एक्सरे-एमआरआई नगरी पत्तै नलाग्ने खाले रोग लागेको छ। केही त पक्कै भएको हुनुपर्छ भन्ने शंका हामी सबैलाई छ, तर अस्पताल जानको अल्छीले वा कुनै ठुलै रोग पो देखिने हो कि भन्ने डरले हामी उपचार गर्न हिचकिचाइरहेका छौँ।
केही अघि अमेरिकी शिक्षक तथा लेखक जोन हल्टले करिब पचास वर्षअघि लेखेको किताबको नेपाली अनुवाद 'असफल स्कुल' पढेकी थिएँ। सभ्य, शान्तिप्रेमी, संवेदनशील र इमानदार मानव जन्माउने यात्रामा निस्किएको शिक्षाले बाटो बिराएको थाहा पाउँदा बडो थकथकी लागेको थियो। थेसिस बिक्री काण्डहरू हाम्रो शिक्षा गलत दिशातर्फ गइरहेको एउटा सूचकबाहेक अरू केही पनि होइनन्।
हामी मास्टर्सको थेसिस चोरीमा विकृति देखिरहेका छौँ। बुद्धिजिवीहरूको पी.एच्.डी. थेसिसमा भेटिएका प्जेजरिजमका उदाहरण दिएर नैतिकताका कुरा गरिरहेका छौँ। तर ती बाबुआमा के जो परीक्षा दिएर फर्केका छोराछोरीलाई ‘परीक्षा कस्तो भयो?’ को सट्टा ‘आज कत्तिको टाइट थियो?’ भनेर सोध्छन्? ती शिक्षकहरू के जो एस्.ई.ई. दिन जाने विद्यार्थीलाई आफ्ना साथीहरूको 'ख्याल गर्न' र तलमाथि केही भइहालेमा उत्तर पुस्तिकाको नम्बर टिपेर ल्याउन अह्राउँछन्?
अनि भन्न कर लाग्छ, समस्या हाम्रो शिक्षाप्रतिको बुझाइमा छ। शिक्षालाई हामीले किताब, जाँच र डिग्री मात्र भनेर बुझ्यौँ। यसलाई समाज र समयदेखि निरपेक्ष राखेर हेर्न खोज्यौँ। समस्या विद्यार्थीले थेसिस चोर्नु वा सार्नुमा देख्यौँ, तर थेसिसको लागि विषय वा शीर्षक छान्न नसक्नुमा देखेनौँ। मैले कतै पढेकी थिएँ, सिर्जनशीलताको जन्म संवेदनशीलताबाट हुन्छ। र संवेदनशीलता जन्माउने भनेको मानिसको चासोले हो, चिन्ताले हो। आज हामी हरेक क्षेत्रमा बिहान उठेदेखि राति नसुतुन्जेलसम्म समस्यै समस्याले घेरिएका छौँ, अझै पनि हाम्रा विद्यार्थीसँग थेसिस गर्ने विषयवस्तु छैन, जाँगर छैन, समय छैन, प्राथमिकता छैन। आफ्नो क्षमता तिखार्ने, सुरूदेखि अन्त्यसम्म कति तिखारिएछ भनेर जाँच्ने अनि त्यसप्रति खुलेर गर्व गर्न सक्ने एउटा गजबको सम्पत्तिलाई नचिनेर हामीले त उल्टो पैसा तिरेर अर्काको पोल्टामा सुम्पिदियौँ। एउटा यस्तो माल, जसलाई न सुम्पनेले चिन्यो, न सुम्पिइनेले नै। एकअर्कालाई ठगेँ भनेर मख्ख परेका हामीलाई यसो गर्दा आफूले गुमाएको स्वाभिमान र आत्मसम्मानको भने हेक्कै भएन।
थेसिस चोरिन्छन्, किनिन्छन्, मागिन्छन् वा झारा टारिन्छन् किनकी हामीकहाँ थेसिसको कुनै मूल्य छैन, महत्त्व छैन। विश्वविद्यालयका लागि थेसिस विद्यार्थीको रिजल्ट अड्काइदिने एउटा फगत क्राइटेरिया मात्र भएको छ। सुपरभाइजरका लागि थेसिस (अपवाद बाहेक) प्रमोसनका लागि प्वाइन्ट्स बढाउने माध्यम मात्र हो।कुनैकुनै कलेजका लागि रिसर्च कमिटीले आफ्नो स्वविवेकीय अधिकार प्रयोग गरेर मन नपरेका विद्यार्थीलाई 'देखिस्, मैले के गर्न सक्छु' भन्ने अस्त्र पनि होला। विद्यार्थीका लागि थेसिस आफूलाई घोचिरहेको, पिरोलिरहेको वा आफूले राम्ररी बुझ्न चाहेको विषयमा अझ धेरै खोतल्ने वा सिर्जनशील हुने मौका होइन, बस् एउटा झन्झट हो। एउटा यस्तो पट्यारलाग्दो झन्झट, जसको मार्क्सबाहेक अरूसित गोरू बेचेको साइनो पनि छैन। कानून नै पढाइ हुने उपत्यकाकै एउटा ल कलेजले थेसिसलाई क्रेडिटबाट नन क्रेडिटमा झारिदिनासाथ त्यहाँका विद्यार्थीको थेसिसलाई हेर्ने नजर पुरै परिवर्तन भएबाट पनि यो कुराको पुष्टि हुन्छ।
र थेसिस अवसरबाट झन्झट बन्नुमा न त विद्यार्थीको दोष छ न त शिक्षक मात्रको। दोष यदि कसैको छ भने हाम्रो शिक्षण पद्धतिको छ जसले विद्यार्थीको क्षमता र शिक्षकको सफलता नाप्ने एउटैमात्र आधार परीक्षाको नतिजा बनाइदियो। हिसाब नजान्नेलाई लद्दु, धेरै प्रश्न सोध्नेलाई बकबके, कक्षामा हँसाउनेलाई फटाहा र हाँस्नेलाई घुसघुसे बनाइदियो। त्योभन्दा डरलाग्दो त विज्ञान र गणितमा राम्रो वा नराम्रो गरेकै भरमा विद्यार्थीलाई अल्छी र मिहिनेतीको क्याटेगोरीमा यसरी विभाजन गरिदियो, न 'अल्छी'ले कहिल्यै 'मिहिनेती' बन्ने जाँगर भेट्न सक्यो, न 'मिहिनेती'ले म 'मिहिनेती' होइन, चलाख मात्र हुँ भन्न सक्यो।आज कतिवटा संकायमा मास्टर्स थेसिसका भाइभा गम्भीरतापूर्वक गरिन्छन्? कतिजना प्रा.डा. वा सहायक प्राध्यापकहरूले थेसिसकर्ताका कुरा साँच्चिकै ध्यान दिएर, चासो लिएर सुन्छन्? छ महिना लगाएर गर्नुपर्ने भनिएको थेसिसको लागि विश्वविद्यालयले कति मिनेटको भाइभा तोकेको छ? कतिजना प्राध्यापक वा सुपरभाइजरहरूले 'बाबु तिम्रो यो गज्जब भो तर यो चाहिँ अल्लि पुगेन है, त्यसका लागि यहाँ जाऊ' भन्दिन्छन्? सार्वजनिक सरोकारका मुद्धाहरूको दुरुपयोग कम गर्न मैले न्यायालयलाई दिएका सुझावहरू फेरि यही विषयमा थेसिस गर्ने भाइबहिनीबाहेक पल्टाएर कसले हेर्छ? अनि मलाई थेसिसमा मिहिनेत गरिनस् भन्ने अधिकार कसको छ? जब मेरा लागि थेसिस चिसो पानीमा भाँडा माझ्ने वा भारी बोक्नेजत्तिकै अत्यासलाग्दो काम बन्छ भने अलिकति पैसा तिरेर म काम किन नसकूँ? यतातिर किन कसैको ध्यान जाँदैन?
थेसिस बिक्री काण्ड मिडियामा आएपछि लागेको थियो, अब चाहिँ गलत दिशामा गइरहेको हाम्रो शिक्षाबारे बहस थालिनेछ। तर हामी त बारी जोत्दा गोरूले कान्लाको घाँस लम्कियो भनेर गोरूलाई घाँस हाल्नाको साटो कोक्रो बुन्ने उपाय खोज्नतिर पो लाग्यौँ। सुन्नमा आएको छ, थेसिसमा विकृतिबारे छानबिन गर्न विश्वविद्यालयले समिति बनाएको छ र समिति थेसिस नै हटाएर त्यसको विकल्प खोज्नुपर्ने सुझावसमेत दिने तयारीमा छ।
एउटा सामाजिक विज्ञानको विद्यार्थीको अनुभवमा थेसिस विद्यार्थीलाई समाज र दुनिँयाका समस्यासँग साक्षात्कार गराउने सबैभन्दा प्रभावकारी माध्यम हो। गाडी चलाउनेहरू किन ट्राफिकलाई देखेपछि मात्र सिट बेल्ट बाँध्छन् वा काठमाडौँका इनारहरू किन सुक्तैछन्, हरेक प्रश्नको उत्तर खोज्ने उत्कृष्ट काइदा रिसर्च नै हो। रिसर्चको अभावमा नितीनियमदेखि चुवावका उम्मेद्वारसम्म फेल खाएका उदाहरण हाम्रै सामु छन्।
सरोकारवालाहरूले बुझ्नुपर्छ, थेसिसको सट्टा अरू जुनसुकै विकल्प ल्याएपनि जबसम्म फुल स्टपदेखि सेमिकलनसम्म घोकिदिन सक्ने विद्यार्थी जन्माउने प्रवृत्तिमा फुल स्टप लाग्दैन, तबसम्म सिर्जनशील जनशक्ति अपवादमा मात्रै भेटिइरहन्छन्।
जबसम्म सरकारी सेवामा छिर्ने पहिलो खुट्किलो को कत्तिको घोक्न सक्छ भन्ने हुन्छ, तबसम्म थेसिसहरू झारा टारिइरहन्छन्।
जबसम्म मेरो कामको मूल्याङ्कन नै नगरी वा मूल्याङ्कनमा म खरो उत्रिन नसके पनि फल पाउनुपर्छ (भलै मूल्याङ्कन गर्ने पद्दति आफैँमा पूर्ण नभएको होस्) भन्ने शिक्षकहरूले नैतिक शिक्षा पढाइरहन्छन्, तबसम्म थेसिसहरू सारिइरहन्छन्, किनिइरहन्छन्।
अब तपाई आफैँ विचार गर्नुस्, थेसिसमा विकृति रोक्न चोरी पत्ता लगाउने सफ्वेयर भित्र्याउनुहुन्छ कि लिगबाट हाम्फालेको शिक्षालाई लिगमा उकाल्नुहुन्छ।